+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
मध्य–मीमांसा :

आश्रममा भेटिए ‘जनयुद्ध’का जनगायक– १

कालीकोटका पाण्डव देउडा र ठाडी भाकामा ख्यातनामी रहेछन् । उनको प्रसिद्धि ‘क्यासेट प्लेयर’ हुँदै डिजिटल क्लाउण्डसम्म छ्यापछ्याप्ती रहेछन् । कुराकानीको फेरो फैलिंदै जाँदा उनले हृदय खोलेर आदिम जस्ता लाग्ने आततायी यादहरू बिसाउन पुगे – ‘म जनयुद्धको भूमिगत गायक हो सर । सामना सांस्कृतिक परिवारको केन्द्रीय सदस्य ।’

विश्वास खड्काथोकी विश्वास खड्काथोकी
२०८२ मंसिर २० गते ८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीकोटका पाण्डव विष्ट जनयुद्धका भूमिगत गायक र सामना सांस्कृतिक परिवारका सदस्य थिए जसले जनवादी गीतमार्फत जनतालाई जागरुक बनाए।
  • २०५६ सालमा माओवादीको सांस्कृतिक कार्यक्रममा पाण्डवले पहिलोपटक गीत गाएर नेतृत्वबाट प्रशंसा पाए र त्यसपछि उनी सांस्कृतिक फाँटमा सक्रिय भए।
  • २०५८ सालको मंगलसेन आक्रमणमा पाण्डवले प्रत्यक्ष युद्ध देखे र त्यसपछि माओवादी सांस्कृतिक परिवारमार्फत जनतामा युद्धका कथा र विचार प्रवाह गरे।

लाल झुपडीका मान्छेहरू, महासमरका यात्रीहरू
एउटा सुन्दर सपना बोकी तुफानसँग कुद्दैछन्
हर चुनौतीको सामना गर्दै
झन् उचाइमा पुग्दैछन् …

बन्दुक गोलीसँग खेल्दै, मुक्तिको गीत गाउँदै
कठोर पीडा अप्ठ्यारोलाई, धैर्यताले कुल्चिंदै
लाखौं दुःखी जनताको न्यानो माया पाएर
हजार गाउँ–बस्तीको आस्थाको पुल बनेर
लाल झुपडीका मान्छेहरू …

लाल झुपडीका मान्छेहरू अचेल हलालपछिका हालतमा छन् । उनीहरू जीविकाको सपना बोकी बालुवाखानीको तातो वायुसँग जुध्दैछन् । झुपडीहरू राहदानी विभागमा लामबद्ध हुँदै लालबाट हरिया भइसकेका छन् । कमरेड पाण्डव मानवसेवा आश्रमको बेसहारा शिविरमा किबोर्डसँग खेल्दै बेला–बेला झस्किएर आफ्नै गीतको लय हाल्छन् – लाल झुपडीका मान्छेहरू…

पुस्तक लेख्ने हुटहुटीको त्यान्द्रो समाउँदै आश्रमका चिसा मनहरूसँग छाँद मार्दा एक माधुर्य स्वरको सर्सराहट हिर्काउन आइपुग्यो । त्यो स्वर कहिले सानो साधना कोठामा किबोर्डको धुनसँगै एक्लै सुनिन्थ्यो त कहिले आश्रितहरूका बीचमा ताली सँगसँगै गुञ्जिन्थ्यो । अगाडि उभिंदा समस्याग्रस्त कुप्री परेको ढाडबाट उँधोमुन्टो उठाउँदै उनले भनेका थिए – ‘नमस्ते, म देउडा गायक पाण्डव विष्ट ।’

कालीकोटका पाण्डव देउडा र ठाडी भाकामा ख्यातनामी रहेछन् । उनको प्रसिद्धि ‘क्यासेट प्लेयर’ हुँदै डिजिटल क्लाउण्डसम्म छ्यापछ्याप्ती रहेछन् । कुराकानीको फेरो फैलिंदै जाँदा उनले हृदय खोलेर आदिम जस्ता लाग्ने आततायी यादहरू बिसाउन पुगे – ‘म जनयुद्धको भूमिगत गायक हो सर । सामना सांस्कृतिक परिवारको केन्द्रीय सदस्य ।’ त्यसपछि एकपछि अर्को गर्दै जनवादी गीतहरू गाउनमा तल्लीन भए उनी–

हजार माइलको बाटो पनि मान्छेले पहिलो पाइलाबाटै शुरू गर्छ…,
यात्रा हाम्रो लामो छ है…,
अरुण तरेर नाना तमोर तरेर…

उनलाई तत्कालीन युद्धरत माओवादीका दर्जनौं गीतका एक–एक हरफ याद छन्, हरेक खिड्का कण्ठ छन् । जंगल, गाउँ र बस्तीहरूमा जनताका बीच भोकभोकै हार्माेनियमको सुरमा गाएका जोशिला जागरूक स्वरहरू तर्साउन आइपुग्छन् । सांगीतिक समारोहकै बीच सेना–प्रहरीको हमलाबाट बचेर आफ्नै ज्यान जोगाएका र धड्कन रोकिएका रगताम्य साथीहरूको अन्तिम बिदाइका अनगिन्ती क्षण आँखा अगाडि नाचिरहन्छन् ।

यद्यपि उनलाई ती कठोर संघर्षका दिनहरूप्रति कुनै पश्चात्ताप छैन । बरू फेरिएका र पतनोन्मुख नेतृत्वप्रति असन्तुष्टि छ । उनी चर्को स्वरमा बोल्छन्– ‘हामी त परिवर्तनको खातिर बलिदानीका निम्ति खुकुरीको धार र बन्दुकको नालमा हाँसीहाँसी जीवन अर्पण गरेका मान्छे हौं सर !’

यति गहकिलो र गौरवशाली विरासतको भारी बिसाएर क. पाण्डव आश्रमतिर कसरी !

उनी मानसिक रूपमा विक्षिप्त भएर वा राजनीतिक उथलपुथलको परिणामले यो हालतमा पुगेका होइनन् । शान्ति प्रक्रिया र त्यसपछि बनेको सरकारका माओवादी नेता मन्त्रीहरूबाट सान्निध्यता नपाएका पनि होइनन् । जादुमयी डोटेली स्वरका कारण नबनेका पनि होइनन् लाखौंका प्रिय । तर, मदिराको मदहोसमा जीवनको गति गुमाएपछि आश्रम नै उनका लागि आधार शिविर बन्न पुग्यो । अब रक्सीको नशाले उनीबाट लुट्नको लागि सुशील स्वर मात्र बाँकी राखेको छ । पाण्डव स्वयम् स्वीकार्छन्, ‘रक्सी खाएपछि मैले संसार बिर्सन्छु ।’

 

खैर ! रक्सी, अम्मल, रासलीला र आश्रमका जिजीविषाको कहानीभन्दा रसिला छन् उनका भूमिगत जनवादी गायनयात्रा । रुमानी कल्पना जस्ता लाग्छन् उनका कहालीलाग्दा जंगल, ओडार र युद्धभूमिका रातहरू । कुनै ग्रन्थमा भनिएका दैवी शक्ति जस्ता लाग्छन् मृत्युशालामा लामबद्ध उनका सहयात्री योद्धाहरूका धीरता । एकादेशका कथा जस्ता लाग्छन् कमरेडहरूका भूमिगत प्रेम ।
पुनश्चः यी परिघटना तपाइँ–हाम्रै देशको माटोमा केही वर्षअघि घटित हकिकत हुन् ।

०००

कालीकोटको रापिलो लुलु गाउँमा अन्नपातको राम्रो उब्जाउ हुन्थ्यो । खानको उतिसारो चिन्ता नभए पनि लगाउन र नुनको लागि टिनको भाँडाभरी घिउ बोकी १०/१२ दिन हिंडेर कर्णाली चिसापानीसम्मको यात्रा तय गर्नुपर्थ्यो । एकाध भूमिपति बाहेक सबैको आर्थिक अवस्था दुःखदायी थियो । गाउँ भन्नु ओत लाग्न पुग्ने स–साना खरका झुप्राहरूको संग्रह न थियो । पाण्डव सिउसिउ गर्दै सुरुवाल र थोत्रै कपडामा करिब एक घण्टाको बाटो उक्लेर साथीहरूसँग स्कूल पुग्थे ।

खरीपाटीमा अक्षर चिनेर उनी ६ कक्षा पुग्दासम्म गाउँ युवाविहीन बनिसकेको थियो । उनकै शब्दमा भन्दा माहोल छताछुल्ल, उथलपुथल र भताभुंग थियो । गृहयुद्धले राजधानीबाट साढे ५०० किलोमिटर सुदूरको गाउँ जर्जर थियो । प्रायः युवाहरू रोजीरोटीका लागि भारत पुगेका थिए भने बाँकी रहेकाहरू पुलिसको डरले सशस्त्र माओवादीतर्फ ।

काँडेदार लौरीसँग खुकुरी भिरेर माओवादी राति–राति बस्तीमा आउँथे र खाना माग्दै भन्थे, ‘हामी गरिब, उत्पीडित, निमुखाहरूको गाँस, बास, कपासको ग्यारेन्टीका लागि लडेका हौं । हामी तपाइँको स्याहार गर्नको लागि युद्धमा लागेका हौं ।’ गाउँलेहरू डरले थर्थर काप्दै खानेकुरा टकार्थे । प्रहरी गस्तीमा आएपछि माओवादी भन्दै गाउँलेको हत्या गर्थ्यो । खाना लिन आएका माओवादीलाई बाटो ढुकेर गोली हान्थ्यो । शुरुमा चोर र लुटेरा भनेर तर्सिने गाउँले पछि प्रहरीको आतंकले माओवादीतर्फ एकोहोरिन थाले ।

कक्षामा पहिलो हुने पाण्डव विद्यालयको शुक्रबारे अतिरिक्त क्रियाकलापहरूमा पनि तेज थिए । १४ वर्षीय पाण्डवको गायिकी क्षमताको विद्यालय र विद्यालय बाहिर थुप्रै प्रशंसक बनेका थिए । त्यही बेला उनका बाबा–आमाको निधन भयो । विद्यालयको नियमित पढाइमा धक्का पुग्यो । उनका कतिपय शिक्षकहरू नै जनताको मुक्तिका लागि भन्दै जंगल पसिसकेका थिए । अन्ततः उनले पनि त्यही बाटो समाए । देश परिवर्तन गर्छु, सत्ता पल्टाउँछु भनेर होइन, गीत गाउन पाउने लालसाले ।

२०५६ साल जेठ महिनाको अन्तिम हप्ता । झमझम पानी परिरहेको थियो । रात परेपछि पानीमा रुझ्दै आफूभन्दा जेठी भतिजीसँग छामछाम छुमछुम गरी पाण्डव कोटखर्कतर्फ लागे । उनी मात्र होइन गाउँबाट एक धुइरो मान्छेहरू लेकतर्फ उक्लिएका थिए । दुई घण्टा उक्लिएपछि डाँडा काटेर उनीहरू कोटखर्कको एउटा गोठमा पुगे । त्यहाँ दुई सयभन्दा बढी मानिसहरू जम्मा थिए ।

५०/६० जना जतिले हतियार भिरेका थिए । जुम्लाको राराली र अछामको विनायक प्रहरी चौकीमाथिको आक्रमण सफल पारेपछि लडाकु र माओवादी कार्यकर्ताहरू त्यो गोठमा भेला भएका थिए । बाहिर चकमन्न अँध्यारो थियो । मट्टीतेल टुकीको गोधूलि प्रकाशमा खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले दिएको चिर्कटो खोलेर पाण्डवले गीत गाउन थाले :

खबर सुन हे साथी हो
राराली र विनायक हानियो
आयो छापामार
युद्ध अब रोकिन्न
बढ्छ लगातार…

यस्ता कार्यक्रमहरूमा पाण्डव त्यसअघि पनि सहभागी नभएका होइनन् । तर, बत्ती र राँकोको उज्यालोमा भएको कार्यक्रममा उनको पहिलो सहभागिता थियो । त्यसअघि माओवादीले रात छिप्पिएपछि जंगलको बीच या थोत्रा गोठहरूमा चकमन्न अँध्यारोमै आफ्नो कार्यक्रमहरू तय गर्दथे । उज्यालो देखेपछि प्रहरीले आक्रमण गर्ने भयले गाउँलेलाई भेला पारेर सन्नाटाका बीच राजतन्त्र, सामन्त विरुद्धका चर्का भाषण र जनवादी गीत सुनाउँथे । गीत यस्ता हुन्थे– गोली वर्षायो, संगीन तेर्सायो, निहत्था जनताको रगत बगायो, गाउँ–बस्तीमा आतंक मच्चायो, गरिब जनतालाई धरधरी रुवायौ…, चरा मारे झैं जनता मारिए, पशु बेचे झैं देशै बेचियो … ।

यस पटक भने क. क्षितिजले लेखेर दिएको पूर्वनिर्धारित गीत गाएपछि पाण्डवले तारिफ पाए । कार्यक्रममा जिल्लास्तरका नेताहरू प्रकाण्ड तत्कालीन जिल्ला नेता, भरत बम ‘रणवीर’, महेन्द्रबहादर शाही ‘प्रज्वल’लगायत नेताका अगाडि कला प्रदर्शन गरे । नेताहरूले भन्न थाले– ‘भाइलाई अब छोड्नुहुँदैन, हामीसँगै राख्नुपर्छ । हामीसँगै पढ्नुहुन्छ, सांस्कृतिक अभियानमा लाग्नुहुन्छ ।’ त्यसपछि पाण्डव विष्ट कलिलो उमेरमै ‘कमरेड पाण्डव’मा रूपान्तरित भए ।

कार्यक्रम पश्चात् आगो फुकेर ठूलो ताउलोमा पानी बसालियो । माओवादीले गाउँबाट उठाएर ल्याएको मकैलाई घट्टमा पिंधेर पीठो बनाएका थिए । उम्लेको पानीमा पीठो हालेर ढिंडो तयार पारियो । ढिंडो खाएपछि सबै गोठमै लस्करै सुते । गउँलेहरू मिर्मिरे झर्नुअघि नै गाउँ फर्किए । पाण्डव भन्छन्, ‘म उनीहरूको बीचमा घुस्रिएपछि जाडो भएन । त्यसपछि म घर फर्किइनँ, जंगलतिरै रहें । ओडारतिरै बास भयो ।’

परिवर्तन जनसांस्कृतिक परिवार भेरी–कर्णालीको सबैभन्दा कान्छा सदस्यको रूपमा क. पाण्डव गाउँ–बस्ती र जंगल चहार्न थाले । कलाकार र नेताहरू सँगै जनताको घरदैलो अभियानमा सरिक भए । उनी क. बलवानको नेतृत्वमा संगीता, सृजना, निर्मला लगायत सांस्कृतिक टोलीमा अनुबन्धित थिए । कहिले घरमा, कहिले ओडारमा त कहिले जंगलमै रात बिताए । भेटाउँदा केही अन्न पेटमा हाले नत्र भोकभोकै भए पनि गाउँ–बस्तीका गोरेटो पछ्याए ।

उनीहरूलाई ‘जनमुक्ति सेना’ले पहरा दिन्थे । नेतृत्वको निर्देशनमा सांस्कृतिक कार्यक्रम तय हुन्थ्यो । दुई, तीन महिनासम्म लामा–लामा अभियानहरू चल्दथे । कार्यक्रमअघि दुश्मनको खतराबारे निक्र्योल गरी जनमुक्ति सेनाको सेल्ट्री ग्रुप पठाएपछि कलाकार र नेताहरू पुग्थे । मेसमा कार्यकर्ता र गाउँलेहरू खाना बनाउँथे, सेनाको घेराभित्र पाण्डवहरूले जनवादी गीत गाउँथे :

जेल तोडियो पर्खाल फोडियो
केन्द्रीय सत्ता कब्जाको पहिलो अभ्यास हो
सदरमुकाम डोल्पाको दुनै कब्जा भो

तकसेरा, पाँचकटिया, दोरम्बा र ठोकर्पा
भोर्लेटार, झ्याउखोला, भर्छेउ र कोटबाडा
देशै हल्लियो लालसेनाले ठोक्दा चौकीमा
घाम लाग्यो दुश्मनको बल्ल घैंटोमा …

पण्डवको सक्रियता र लगनशीलताले चाँडै नै उपक्षेत्रीय कलाकारबाट जिल्ला कलाकार चुली जनसांस्कृतिक परिवार मार्फत जिल्लाभरिका कार्यक्रममा सहभागिता जनाउन थाले । उनीबाट युद्धमा गायनको महत्त्वबारे प्रवाहको धारा छुट्छ, ‘विज्ञानले संसारलाई परिवर्तन गर्छ भने कलाले मान्छेलाई । मलाई अनुभूति छ, आमा नमस्कार भन्यो भने माओवादी भनेर हेर्दैनथे, मेरो कानका सुन होइनन्, पित्तलका हुन् भन्थे ।

कुनै घरमा माग्न गयो भने पकाएको खाना लुकाउँथे । किनकि माओवादीहरूले चोर्छन्, लुट्छन्, आतंककारी हुन् भन्ने थियो । तिनीहरूलाई नजिक ल्याउनको लागि हामीले के गर्नुपर्थ्यो ? मादल बजाउनुपर्थ्यो , गीत गाउनुपर्थ्यो । त्यसपछि उनीहरू हेर्न आउने गर्थे । त्यतिबेला उनीहरूलाई वैचारिक प्रशिक्षण दिन्थ्यौं, हामी लुट्ने मान्छे होइनौं भन्थ्यौं । विस्तारै जनता हामीतर्फ आकर्षित हुन थाल्थे ।’

बस्तीमा दुश्मनले छापा मार्ने डरले जनतालाई सूचना दिएर उनीहरू ओडार र लेकहरूमा डुलिहिंड्थे । मोही, रोटी, तरकारी जस्ता खानेकुरा बोकेर गाउँले त्यहीं आइपुग्थे । २२ भदौ २०५६ मा पाण्डव सहित १२ जना कमरेडहरू लेकको घोडेकोट ओडारमा बस्न पुगेका थिए । सात जना कलाकार र पाँच जना जनमुक्ति सेना । गाउँबाट करिब तीन घण्टाको पैदल दूरीमा रहेको त्यो भीरको ओडार माओवादीका लागि सुरक्षित सेल्टर थियो । पानी र चिसो नछिर्ने त्यो गहिरो ओडारमा सेनाहरूले बारुद र बम समेत बनाउँथे ।

अरूले सुइँको पाउने डरले रातको समयमा बत्ती वर्जित थियो । छेउछाउमा गोठालाहरूसँग मोही र रोटी खाएर तातो पेटसँग उनीहरू ओसिलो र कालो ओडारमा उक्लिएका थिए । उनीहरू चुंगी ओढेर ढुंगाको विस्तारामा निदाए । कलाकारहरूले गाउँमा पुगेर खाना खाने र पाँच जना त्यहीं खाएपछि भेटेर अर्को गाउँमा पुग्ने योजना अनुरुप पाण्डवहरू गाउँतर्फ लागे । गाउँमा नपुग्दै उनीहरूले बन्दुक र बमको धमाका सुने । उनीहरू भागेर जंगलतर्फ लुक्न दौडिए । पाण्डवहरूलाई गोठालाहरूले पछि वास्तविकता सविस्तार सुनाए ।

कलाकारहरू गाउँ हिंडेपछि कटक कुँवर ‘बलभद्र’ खाना लिनको लागि ओडार बाहिर घाँसे मैदानमा लखरलखर हिंड्दै थिए । केही माथि डाँडामा २०–२५ जना प्रहरीको भीड देखिए । बलभद्रतर्फ प्रहरीले फायर खोल्यो । गोलीबाट बचेर दौडिंदै गरेको कटकलाई प्रहरीले समाएर साथीहरूबारे रेकी गरे । पाण्डव सुनाउँदै जान्छन्, ‘भन तेरो मान्छेहरू कहाँ छन्, नत्र यहीं मारिदिन्छु । तर, उसले कमरेडहरूको बारेमा सूचन दिएन होला, त्यसपछि छाती र टाउकोमा गोली हानेर उसको हत्या गरिदियो ।’

ओडारमा बसेकाहरूले जब बन्दुकको आवाज सुने प्रहरी नजिकै आएको ठानेर आफूसँग भएका सकेट बम बर्साए । पाँच सात वटा बम केही छिनमै सकिएपछि सन्नाटा छायो । त्यसपछि प्रहरीले ओडारलाई घेरा हाल्यो । ओडारबाट गोलीको आवाज नबाहिरिएपछि गोठालाहरूलाई खर ल्याउने निर्देशन दिएर प्रहरी नजिक पुग्यो । ओडारको दुलोलाई खरले बुझो लगाएर आगो बाल्यो ।

त्यतिले नपुगेर आगोमाथि खुर्सानीको धुलो छर्कियो । कुहिरीमण्डल पिरो धुवाँको भार थेग्न नसकेर भोकाएका गोपाल विष्ट, रत्नमान विष्ट, मीन विष्ट र अतिरूपा विष्ट खोक्दै र आँखा मिच्दै ओडारबाट बाहिरिए । २० देखि २५ वर्ष उमेर समूहका उनीहरूको अगाडि प्रहरीले राइफल तेर्सायो र गोली दाग्यो । पाण्डवकै गाउँका सुराकी वीरेन्द्रबहादुर शाहीको सूचनालाई पछ्याउँदै प्रहरी घोडेकोटसम्म पुगेको थियो ।

पछि माओवादीले प्रहरीको सुराकी वीरेन्द्रबहादुरको पनि उसरी नै हत्या गरे । यसरी घण्टाको फरकले पाण्डव चिहानमा पुग्नबाट जोगिए । यी कथा सुनाउँदा अहिले पनि उनको धड्कन तेज–तेज भएर भड्किन्छ । संयोगले ज्यान जोगाएका ती कलाकार दोस्रो दिन नै कालीकोटकै मालकोटमा पुगेर किबोर्ड, मादल र खैंजडी ठोके:

तिमी झन् आगो बन्नु, लक्ष्य नपुग्दै म ढलेछु भनें
तिमी झन् चट्टान बन्नु, बाजको पञ्जामा म परेछु भनें

संसार बदल्ने यो महान् यात्रा भुलेर घात गरेछु भनें
जनताको बीचमा खाएको कसम, तोडेर ज्यूँदै मरेछु भनें
तिमी झन् साहसले बढ्नु, शहीदको रगत सम्झेर अनि
तिमी झन् भेल तर्नु, लाखौं चुनौती सहेर पनि

कमरेड पाण्डव सानो र तिख्खर स्वरका कारण सबैका प्रिय बनेका थिए । जनार्दन शर्मा र नेत्रविक्रम चन्दहरूले बोकेर खोला तारेको सम्झिंदा अहिले पनि न्यानोपनको महसूस गर्छन् ।

पाण्डवहरूको ड्युटी भन्नु गीतको सृजना र अभ्यास गर्नु, घरदैलो अभियानमा खटिनु र सांस्कृतिक कार्यक्रमहरूमा सशक्त उपस्थिति देखाउनु थियो । उनीहरू जतिबेलै त्रसित मनस्थितिमा रहन्थे तर मृत्युलाई बलिदानीको रूपमा सहर्ष स्वीकार गर्थे । कुनै युद्धमा सहभागिता जनाउँदैनथे । यद्यपि पाण्डव पछि–पछि लागेर पहिलो पटक २०५८ सालमा भएको अछामको मंगलसेन शाही नेपाली सेनाको ब्यारेक आक्रमणको भीषण युद्धमा पुगेका थिए । उनले प्रत्यक्ष नियालेको पहिलो र अन्तिम युद्ध त्यही थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सत्ता हातमा लिएर देशमा संकटकाल घोषणा गरिसकेका थिए । साँफेबगर र मंगलसेन सैनिक ब्यारेकमा एकै समय रातको नौ बजे आक्रमण गर्ने माओवादीले योजना बनाएको थियो । तर, सेना गस्तीमा निस्किएकाले रणनीति परिवर्तन गरेर रातको ११ बजे नन्दकिशोर पुन ‘पासाङ’को कमाण्डमा माओवादीले धावा बोल्न शुरू गर्‍यो । उता माओवादीले साँफेबगर कब्जा गरिसकेको थियो ।

बिहान अबेरसम्म निरन्तर चलेको युद्ध सफल पारेपछि माओवादीले सेनाको हतियार मात्र नभएर मंगलसेन दरबार र बैंकबाट बाकसका बाकस बहुमूल्य सुनचाँदी र पैसा समेत कब्जा गरेको पाण्डवलाई याद छ । युद्धको तयारीबारे उनी भल्छन्, ‘विजयपछि सामानहरू बोक्नको लागि जनता लगिएका हुन्थे । युद्धमा कति मान्छे मर्छन् भन्ने कुनै टुंगो हुँदैनथ्यो, त्यसैले घाइतेलाई बोक्ने, डोको–नाम्लो र डोलाहरू बोक्ने छुट्टै ग्रुप हुन्थ्यो ।

मृतकलाई खाडल खनेर अन्तिम संस्कार गर्नेको सप्लाइको ग्रुप छुट्टै हुन्थ्यो । गाड्नका लागि कोदाली, गैंती, बेल्चा बोक्ने र खाडल खन्ने ग्रुप छुट्टै । कतिपय खाल्डा पहिल्यै खनिएका हुन्थे । घाइतेलाई उपचार गर्ने स्वास्थ्यकर्मीको टिम छुट्टै हुन्थ्यो । एक–डेढ महिना लामो सर्भे र तयारीपछि मात्र आक्रमणको मिति तय हुन्थ्यो । हाम्रो भनेको जति जना मान्छे मरे पनि आन्दोलन सफल पारौं भन्ने हुन्थ्यो ।’

मंगलसेनमा सेनाले सबैभन्दा ठूलो क्षति बेहोर्‍यो । ५३ जना सेना र ५९ प्रहरीले युद्धमा ज्यान गुमाए भने माओवादीका २५ देखि ३० जना त्यही माटोमा मिले । बिहान भएपछि सेनाले सिल गरेका नाकामा लडेर पछ्याउँदै, हवाई फायरबाट बच्दै उनीहरू अगाडि बढे । डोकोमा बोकिएका कति घाइते लडाकुहरूले बाटोमै अन्तिम सास फेरे तर, त्यहीं गाडिए । पाण्डवहरू सातु र बजारबाट जफत गरेका बिस्कुट, चाउचाउ र चिउरा खाँदै अछाम, कालीकोट हुँदै दैलेख प्रवेश गरे । पूर्व निर्धारित योजना अनुरूप कोही लडाकुहरू जुम्ला र जाजरकोटतर्फ लागे । आक्रमणपछि पाण्डवको गाउँमा पुगेर शाही नेपाली सेनाले ४० भन्दा बढी घर जलाएर खरानी बनायो । त्यसपछि पाण्डवले गीत लेखे:

गाउँ–बस्ती रगताम्य भए, गोली र संगीनले
झुप्रा र छाप्रा जलाइदियो, फासिस्ट शासनले
जंगल, खोला, वन–पाखामा लासहरू गन्हाए
सयौंको सिन्दुर पुछियो, विधवा बनाए …

मंगलसेन आक्रमणपछि पाण्डव सांस्कृतिक फाँटमै सक्रिय रहेर भेरी–कर्णाली संगम परिवार हुँदै प्रतिरोध सांस्कृतिक परिवार पश्चिमको सदस्य बनिसकेका थिए । विचार, वीरता, युद्धका सफलता–असफलताका कथालाई गीत र संगीतमा उनेर उनीहरूले गीत र नाच पस्कन्थे । एकीकृत जनप्रतिरोध, छलाङ जस्ता दर्जनौं महिनौं–महिनाको अभियानमा वाद्यवादन बोकेर निस्कन्थे । मृत्युको बाटोमा यात्रारत पाण्डवहरूलाई थुप्रै पटक मृत्युले छेउबाट सुटुक्क छोएर हिंड्यो । थुप्रै पटक उनीहरूका संगीतका धुन गोली र बारुदको धुवाँमा विलीन भए ।

२०५८ सालमा हिउँदे अभियान लिएर उनीहरू अछामको ढाकुर ढुंगाला पुगेका थिए । पाण्डव, उषाकिरण, अनुग्रा, बसन्त लगायतले सामूहिक रूपमा जनवादी गीत र नाचहरू प्रस्तुत गर्दैथिए । समारोह नसकिंदै कोमलबजारको प्रहरी आइपुग्यो र गोली प्रहार गर्न थाल्यो । कार्यक्रम स्थलमा भागदौड मच्चियो । माओवादीहरू भागेर ज्यान जोगाए, सात जना सर्वसाधारणले ज्यान गुमाए ।

यस्ता अन्त्यहीन शृंखलाका अनुभूति उनका मानसपटलमा छापिएका छन् । अछामपछि क. पाण्डव अर्को दर्दनाक घटनाको फेहरिस्त सुनाउन उद्यत भए ।

२०६१ सालको जेठ महिनासम्ममा पाण्डप विशु सांस्कृतिक परिवारको प्रशिक्षकको भूमिकामा पुगिसकेका थिए । त्यतिबेला माइला लामाको नेतृत्वमा गठन भएको १३ सदस्यीय सामना सांस्कृतिक परिवारको केन्द्रीय समूह मध्ये क. पाण्डव पनि एक थिए । अछामको विद्या मन्दिर स्कूलमा माओवादीले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । त्यहाँ जनमुक्ति सेनाको उपस्थिति थिएन बरु जनार्दन शर्मा, लेखराज भट्ट, पारसमणि, शरदसिंह भण्डारी लगायत नेताहरू पुगेका थिए ।

केही थान ग्रिनेटहरू बाहेक माओवादीहरूसँग हतियार थिएनन् । कार्यक्रम दृश्यपानका लागि अछाम, कालीकोट र बाजुराका दुई हजार भन्दा बढी मानिसहरू खनिएका थिए । वरिपरि स्कूलका भवन र जालीले घेरिएको फराकिलो मैदानमा कार्यक्रम आयोजना गरिएको थियो । पाण्डव सहित सामना परिवारका धीरेन्द्र विश्वकर्मा, सचेत बटाला, प्रमोद साउद, वीरता विश्वकर्मा, प्रतिभा रावलहरूले गीतबाट आगन्तुकलाई स्वागत गर्न थाले:

स्वागत गर्छौं हामी यी हाम्रा मुट्ठीहरूले
सम्मान गर्छौं हामी क्रान्तिका गीतहरूले
मालेमा र प्रचण्डपथ बोकी
स्वतन्त्रताको नयाँ बाटो खोजी
अघि बढ्ने देशप्रेमीलाई
गर्छौं स्वागत ….

स्वागत गीत नसकिंदै संगीतमा झुमिरहेका निर्धक्क सहभागीहरूलाई हठात् कानमा गुञ्जन आइपुगेको हेलिकोप्टरको कर्कश ध्वनिले बेचैनतर्फ धकेल्यो । कार्यक्रमस्थल माथि शाही नेपाली सेनाको हेलिकोप्टर फनफनी नाच्न थाल्यो र एक–दुई हवाई फायर हानेर ‘डेमो’ दियो । माओवादीबाट त्यसको कुनै जवाफी फायर नआएपछि हेलिकोप्टर स्वाट्टै नजिक झार्‍यो र गोली वर्षायो ।

विद्यालयको फराकिलो मैदानमा खचाखच दर्शकहरूको भागदौड मच्चियो । त्यति धेरै मानिसको निकासको लागि एउटा मात्र गेट थियो । त्यही गेट पनि कसैले बाहिरबाट चुकुल लगाइदिएपछि मानिसहरूको थप चिलबिल भयो । फलामे जालीका छिद्रबाट अटेसमटेस गर्दै बाहिरिन खोज्दा उनीहरूका कपडा च्यातिए, कपाल लुछिए, शरीरबाट मासुका चोक्टाहरू लाछिए ।

मैदानभरि छोडिएका चप्पल, कपडाका टुक्रा, गोली र रगतका टाटाहरू मात्र देखिन थाले । बल्लतल्ल ढोका फोडफाड गरी मानिसहरूको हुल सुरक्षाको खोजीमा दौडिन थाल्यो । पाण्डव एउटा कुनामा गोलीबाट छेलिन ‘कभर’ लिएर बसेका थिए । गोलीले ढलेका ६ जना सर्वसाधारणको उनकै अगाडि प्राणपखेरु उडे । माओवादीहरू लाखापाखा लागिसकेका थिए । जब हेलिकोप्टरले आफ्नो बाटो समायो माओवादी पुनः फर्किए र लासको सनाखत गरी लालसलाम टक्र्याउँदै अन्तिम संस्कार गरे । जति मृत्यु भएका थिए त्यसमध्ये कोही पनि पूर्णकालीन माओवादी थिएनन् ।

पाण्डव भन्छन्, ‘त्यतिबेला कसरी बच्ने भन्ने मात्र ध्याउन्न हुन्छ । कभर कहाँबाट लिने, कहाँबाट गोली छेक्ने बाहेक दिमागमा केही आउँदैन । किनकि मरे मरियो, बाँचे बाँचियो भनेर जीवनलाई अर्पण गरेका थियौं । जति बेला जे पनि हुनसक्थ्यो भन्नेमा हामी ढुक्क थियौं । यस्ता आक्रमणहरूमा माओवादीहरू भागिहाल्थे सर्वसाधारण जनताकै मृत्यु हुने गर्दथ्यो ।’

यद्यपि जनकलाकार पुनित मगरहरू जस्ताले आफ्नो ज्यान जोगाउन सकेनन् । सिस्ने सांस्कृतिक परिवारमा रहेका पुनित मगरहरूलाई बसिरहेको घर घेरा हालेर सेनाले एकैचिहान बनाएको थियो । अनेकोटमा पनि सात जना कलाकारले उसैगरी सेनाको घेराबन्दीमा परेर ज्यान गुमाएका थिए । रोल्पाको भावाङमा अन्तिम सास फेरेका क. पुनितको रचना पाण्डवले पनि खूब गाएः

मान्छे मान्छे एउटै हो नि फरक किन भो
श्रम चल्छ सीप चल्छ पानी नचल्ने भो

बनाउँछौं हामीले सुन्दर मूर्ति, सजिन्छन् मन्दिर महलहरू
बजाउँछौं हामीले बाजा गाजा, गुञ्जिन्छन् पाखा पखेराहरू
कुन्नि किन आज हामीलाई दलित भनी हेला गर्ने
कुकुर समेत भित्र पस्दा हामीलाई किन बाहिर राख्ने…

माओवादीमा युनिफाइड कमाण्ड चलेपछि कलाकारहरूले पनि हतियार सम्बन्धी तालिम लिन थाले र हतियार बोकेर हिंडे । आफ्नो सुरक्षा आफैं गर्ने रणनीतिका साथ माओवादीले युनिफाइड कमाण्ड चलाएको थियो । जस अन्तर्गत नेता, सेना, कार्यकर्ता सबै कम्ब्याट पोशाकमा हिंड्ने नीतिमा गएको थियो । पछि चौतर्फी सहयोग आउन थालेपछि माओवादीलाई बस्न, खान र लाउनको लागि त्यति ठूलो संघर्ष नगर्ने अवस्थामा पुगेको थियो ।

मंगलसेनको आक्रमणबाट हौसिएको माओवादीले बर्दियाको रम्भापुर, खारा, होलरी, बेनी जस्ता आक्रमणको क्रममा निकै ठूलो क्षति व्यहोर्नु परेको थियो । रम्भापुरमा आधा सेना जंगलमै बसेर लडाइँ गरेपछि माओवादीले आफ्ना साथीहरूको लास बाटोमै पुर्दै कथाहरूको गीत गाउँदै हिंड्नुपरेको थियो जनकलाकारहरूले । पाण्डव भन्छन्, ‘हरेक लडाइँको बारेमा, हार र जितको कुराहरूलाई जनतामा सम्प्रेषण गर्नुपर्थ्यो । सान्त्वना दिनुपर्थ्यो । त्यसैले हरेक लडाइँ र आक्रमणको बारेमा हामीलाई सूचना आउँथ्यो ।’

पार्टीमै युनिफाइड कमाण्ड चलिरहेकै बेला पाण्डवले आफ्नो सुप्रिमो क. प्रचण्डलाई लालसलाम टक्र्याएर जोसिलो ‘ह्यान्डसेक’ गरेका थिए । माओवादीको दीर्घकालीन महत्त्वको रूपमा लिइने रुकुमको चुनवाङ बैठकमा केन्द्रीय नेताहरूको अगाडि पाण्डवहरूले गीत गाएर भावुक बनाएका थिए । उनले त्यतिबेला प्रचण्डले भनेका शब्द बेलाबखत याद आउने बताउँछन्, ‘हामी हाँस्दाहाँस्दै रुनुपर्छ, रुँदारुँदै हाँस्नुपर्छ । हामीले हारभित्र जित देख्न सक्नुपर्छ, जित भित्र पनि कहिलेकाहीं हार देख्नुपर्छ । यो युद्धको नियम हो ।’

पाण्डवले विशु सांस्कृतिक परिवारमा रहेर थुप्रै कलाकारलाई लामो लामो प्रशिक्षण दिए, माओवादीको भूमिगत रेडियो सेती महाकाली गणतान्त्रिक रेडियोबाट आवाज बुलन्द गरे, सामनामा बसेर सांस्कृतिक अभियानहरूमा समेल भए । तर, उनी प्रशिक्षणकै दौरानमा कमरेड छायालाई प्रेम गरेर भगाउँदा उनी कारबाहीमा परे । महिलाले २० वर्ष र पुरुषले २२ वर्षसम्म बिहे गर्न नपाउने माओवादी नीति विपरित १८ वर्षकै उमेरमा १७ वर्षकी प्रेमिका कमरेड छायालाई कार्यक्रमकै बीचबाट भगाएपछि तीन महिना पाण्डवले दार्चुलाका स्कूलका विद्यार्थीलाई जनवादी गीत सिकाउनुपर्ने भयो । उनको प्रेमिका क. छायाले बझाङमा जनताको घरमा गएर उनीहरूको काम गरिदिनुपर्ने भयो । कारबाहीस्वरूप उनीहरूलाई श्रमशिविरमा पठाइयो ।

त्यसपछि के भयो ?

पाण्डव विष्टको भूमिगत प्रेम, युद्धकालीन दिनमा हुने कारबाही, आन्तरिक सञ्चार विधि र हतियार छाडेर आफ्नी प्रेमिकासँग भागेपछिका लामो यात्राको कथा अर्को लेखमा …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?