News Summary
Generated by OK AI. Editorially reviewed.- ५ डिसेम्बर २०२५ को विश्व माटो दिवसले “स्वस्थ माटो, स्वस्थ शहर” भन्ने मूल सन्देश अघि सारेको छ।
- शहरमा कंक्रिट र संरचनाले माटो छोप्दा बाढी, गर्मी र प्रदूषणको जोखिम बढेको छ।
- २०८१ र २०८२ को भारी वर्षापछि माटो संरक्षण र जल निकास व्यवस्थापनले बाढी जोखिम घटाएको छ।
५ डिसेम्बर, २०२५ को विश्व माटो दिवसले “स्वस्थ माटो, स्वस्थ शहर” भन्ने मूल सन्देश अघि सारेको छ, जसले शहरभित्रको माटो पनि गाउँको माटो जत्तिकै महत्वपूर्ण छ भनेर देखाउँछ। नेपालले भने यो दिवस “स्वस्थ माटो, स्वस्थ गाउँ-शहर भन्ने नारा सहित मनाउँदै छ। नारा फरक देखिए पनि भाव एउटै हो, माटो विना न गाउँ स्वस्थ हुन्छ, न शहर।
तर ‘माटो‘ भन्नेबित्तिकै हामी प्रायः गाउँ, खेती र प्राकृतिक भूभागलाई मात्र सम्झिन्छौं। शहरको माटो पनि उत्तिकै जरूरी छ भन्ने कुरा धेरैजसो बिर्सिन्छौं। जबकि शहरमा देखिने सडक, घर र कालोपत्रेको तल पनि माटो हुन्छ। उत्सव मनाउनुअघि हामीले एउटा अलि असहज तर साँचो प्रश्न सोध्नु जरूरी छ- शहरियापनले हाम्रो माटोलाई कति बिगारेको छ ?
एकपटक सोचेर हेरौं, गाउँमा जस्तै शहरमा पनि माटो बिस्तारै हराउँदै, थिचिंदै, ढाकिंदै र प्रदूषित हुँदै गएको छ। सडक, पार्किङ, घर–पसल, उद्योग र अत्यधिक कंक्रिटले जमिनको सतह छोपिंदा माटो खुला रहँदैन। कतै खोला–नाला माथि कंक्रिटका संरचना बनेर प्राकृतिक बहाव नै हराइएको छ, कतै खुला ठाउँहरू पार्किङ वा निर्माणका लागि प्रयोग हुँदै गएका छन्।

टुकुचा जस्तो खोला मासेर संरचना बनाइनु वा रत्नपार्क जस्ता खुला स्थानमा सवारी साधनको पार्किङले माटोको ठाउँ खाइरहनु- यी उदाहरणले शहरको माटोलाई जीवित र सक्रिय रहन नदिएको वास्तविकता देखाउँछन्। यस्तो अवस्थालाई खाद्य तथा कृषि संगठन र संयुक्त राष्ट्रसंघ– पानी जस्ता निकायहरूले सिमेन्ट वा कंक्रिटले माटो छोप्ने/बन्द गर्ने प्रक्रिया भन्ने नाम दिएर शहरलाई झन् बाढी, गर्मी र प्रदूषणको जोखिमतर्फ धकेल्ने कारणका रूपमा औंल्याएका छन्।
अनि हामी प्रायः के गर्छौं ? ‘ठूला–ठूला भवन मेरो, ठूला व्यवसाय मेरो, शहरको फोहोर–प्रदूषण नगरपालिका/राज्यको‘ भन्दै जिम्मेवारी अरूमाथि थोपर्छौं। पानी निकास हुने ठाउँ नछोडिकन घर बनाउँछौं, व्यवसाय गर्छौं, खोलानाला मिच्छौं; अनि बाढी आउँदा राज्यलाई सराप्छौं। यो सोच र अभ्यास दुवै बदल्नैपर्छ, किनकि शहरका धेरै समस्या अन्ततः हाम्रो सामूहिक व्यवहारबाटै जन्मिएका हुन्छन्।
माटोमा जीवन छ भने मात्र शहरमा हरियाली, स्वच्छता, पानीको सन्तुलन र सौन्दर्य सम्भव हुन्छ। माटो खुला र हरियो (घाँस वा बोटबिरुवा भएको) भए यसले शहरलाई नदेखिने तर अत्यन्त आवश्यक सेवा दिन्छ- पानी सोस्छ, गर्मी घटाउन मद्दत गर्छ, कार्बन भण्डारण र हावा सफा बनाउन योगदान दिन्छ। तर माटो सिमेन्ट वा कंक्रिटले छोपिदिंदा यी काम गर्न सक्दैन। माटो ढाकिंदा पानी जमिनभित्र छिर्न पाउँदैन, सतही बहाव बढ्छ, पानीसँगै माटो बग्छ र शहर आफैं बाढी वा डुबानको जोखिममा पर्छ।
शहरमा बनेका अग्ला–अग्ला भवनहरू हेर्दा हामीलाई आधुनिकता र समृद्धि देखिन्छ। तर ती सबै भवन अन्ततः माटोको संरचनामाथि नै उभिएका हुन्छन्। समस्या के छ भने शहरमा एउटै जमिनमा धेरै तला थप्दै जान्छौं, तर त्यो माटो अनुकूल छ कि छैन, संरचनागत रूपमा सक्षम छ कि छैन, पानी छिर्ने/निकास हुने बाटो कस्तो छ, र कति भार थेग्न सक्छ- यी कुरा धेरैजसो बेवास्ता गरिन्छ। माटो कमजोर, थिचिएको वा असन्तुलित भएमा भवनको जगदेखि सडक, ढल, पुल जस्ता पूर्वाधारसम्म जोखिममा पर्न सक्छ।
भारी वर्षा र बाढीका केही दृष्टान्त
यसको असर हामीले पछिल्ला वर्षका भारी वर्षापछि स्पष्ट देखेका छौं। उदाहरणका लागि २०८१ असोज १०–१२ र २०८२ असोज १७–१९ को मुसलधारे पानीपछि काठमाडौं लगायत देशका अन्य ठाउँमा बाढी र डुबान भयो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०८१ को बाढीमा करिब २५० जनाको ज्यान गएको, १७८ जना घाइते भएको, १८ जना बेपत्ता भएको, १० हजार भन्दा बढी परिवार विस्थापित भएको र हजारौं घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएको थियो।
२०८२ मा भने, विशेषगरी काठमाडौंमा, क्षति तुलनात्मक रूपमा कम भयो। नगर निकायहरूको अनुभव अनुसार यसको मुख्य कारण खोलानदी, नहर/नालामा गरिएको निरन्तर बालुवा–माटो/गेग्रान हटाउने, फोहोर सफाइ र पानी निकास खुला राख्ने अभ्यास हो।
यी अभ्यासहरूले बाढीको तीव्रता घटायो, बस्तीको जोखिम कम गर्यो र साथसाथै उपरी भूभागको उर्वर माटो बग्ने गति पनि घटायो। पानीको बहाव अवरुद्ध हुँदा बाढी चर्किन्छ र त्यही बाढीले खेत, बगैंचा र खुला जमिनको माथिल्लो उर्वर तह बगाउँछ। त्यसैले जल निकास व्यवस्थापन र माटो–स्वास्थ्यलाई अलग विषय मान्नु गलत हुन्छ; एउटाले अर्कोको रक्षा गर्छ, र दुवै मिलेर गाउँ–शहरलाई स्वस्थ र सुरक्षित बनाउँछन्।
शहर–केन्द्रित खेती र सूक्ष्म प्लास्टिकको अदृश्य खतरा
अब यहाँ अर्को कुरा जोड्नैपर्छ, जसमा न त गाउँ न शहर, हाम्रो ध्यान पुगिसकेको छ। हुन त शहर–केन्द्रित केही कृषि कर्म पनि छन्, जस्तै नर्सरी, प्लास्टिक टनेलमा तरकारी र फलफूल खेती वा प्लास्टिक छापो। यी अभ्यासले खेती व्यवस्थापनलाई सजिलो बनाउँछन्, उत्पादन छिटो र राम्रो हुन्छ भन्ने किसानको अनुभव पनि छ।
तर समस्या के हो भने प्रयोगपछि धेरै प्लास्टिक यत्तिकै खेतमै छोडिन्छ, घाम–पानी र जोताइले फुट्दै–चुँडिंदै गएपछि ती प्लास्टिकका स–साना टुक्रा सूक्ष्म प्लास्टिक (जसको आकार करिब पेन्सिलको मेटाउने भाग जत्रो हुन्छ) बनेर माटोमा मिसिन्छन्। सूक्ष्म प्लास्टिकका मुख्य स्रोतहरूमा टुक्रिएको प्लास्टिक छापो, ढलका फोहोर र सिंचाइको पानी पर्छन्।
यी स-साना प्लास्टिक टुक्राले माटोमा रहने गँड्यौला र सूक्ष्मजीवहरूको गतिविधिमा प्रत्यक्ष असर पार्छन्-माटोको बनावट, पोषण चक्र र जैविक जीवन कमजोर हुँदा बाली उत्पादन र खाद्य सुरक्षा नै जोखिममा पर्न सक्छ। अझ डरलाग्दो कुरा के हो भने माटो र उत्पादन दुवै दूषित हुँदा हाम्रो खाद्य शृंखला मार्फत मानिसको शरीरमा पनि सूक्ष्म प्लास्टिक पुग्छ।
विभिन्न अध्ययनका अनुसार मानिसले खानपिन र पेय पदार्थबाट मात्रै वार्षिक करिब ४०–५० हजार जति सूक्ष्म प्लास्टिक कण अनाहकमा ग्रहण गरिरहेको हुन सक्छ र यो संख्या सम्भवतः अझ बढी हुन सक्छ। यसले ‘माटो स्वास्थ्य‘को बहसलाई ठ्याक्कै हाम्रो भान्सासम्म, हाम्रो शरीरसम्म ल्याइदिन्छ।
माटो दिवस होइन, माटो संस्कार
न त गाउँ न शहर, खेतीपातीतिर फर्केर हेर्दा एउटै निष्कर्ष उही निस्कन्छ- स्वस्थ माटोले स्वस्थ खाना उत्पादन गर्छ र स्वस्थ खाना नै स्वस्थ समाजको आधार हो। हामी बिरामी हुँदा डाक्टरले उपचार गर्छन्, तर हामीलाई बिरामी नै कम पार्ने काम किसानले गर्छन् – यदि उनीहरूसँग माटोमैत्री, दिगो खेती अपनाउन चाहिने प्राविधिक र आर्थिक सहयोग उपलब्ध छ भने मात्रै। त्यसैले हाम्रो दायित्व केवल ‘माटो दिवस मनाउने‘मा सीमित हुनुहुँदैन; हामीले किसान, समुदाय र शहर–गाउँका हरेक नागरिकलाई माटो जोगाउने दैनिकी अभ्यासमा जोड्नुपर्छ।
खाद्य सुरक्षा र वातावरणीय दिगोपनका लागि माटोको महत्त्वबारे निरन्तर जनचेतना अभियान चलाउनु आवश्यक छ। किनकि जनचेतनाले माटो संरक्षणलाई ज्ञान मात्रै होइन, संस्कृति बनाइदिन्छ – जसले दीर्घकालीन परिवर्तन सम्भव बनाउँछ। आज माटोलाई जोगायौं भने मात्रै भोलि गाउँ र शहर दुवै साँच्चिकै स्वस्थ र सुशोभित हुन सक्छन्।
माटो वैज्ञानिक पाण्डे कृषि प्रणालीमा कार्बन र नाइट्रोजन चक्र सम्बन्धी विषयका विशेषज्ञ हुन्।
प्रतिक्रिया 4