
News Summary
Generated by OK AI. Editorially reviewed.- गत ७ सेप्टेम्बरमा बेलायतको रोयल कोर्ट्स अफ जस्टिसको भित्तामा ब्याङ्क्सीले न्यायाधीशले प्रदर्शनकारीलाई आक्रमण गरेको स्प्रे चित्र बनाएका थिए।
- माइकेल एन्जेलोको सिस्टिन च्यापलको 'द लास्ट जजमेन्ट' चित्रमा धार्मिक विवादपछि १६औं शताब्दीमा लुगा थपिएको थियो।
- नेपालमा २०७२ सालको भूकम्पपछि बनेको काष्ठमण्डपको म्यूरल मेटिएपछि काठमाडौं महानगरपालिकाले नयाँ चित्र बनाएको छ।
गत ७ सेप्टेम्बरमा बेलायतको रोयल कोर्ट्स अफ जस्टिसको भित्तामा ब्याङ्क्सीले एउटा स्प्रे चित्र बनाएका थिए । जसमा एक न्यायाधीशले प्रदर्शनकारीलाई आक्रमण गरिरहेको चित्रण गरिएको थियो । तर बनाइएको तीन दिनपछि नै त्यो चित्र हटाइयो ।
त्यसको एउटै कारण थियो– चित्रको विवरण । किनकि न्यायलयलाई चित्रमार्फत क्रूर ढंगले देखाइएको थियो । न्यायको प्रतिक मानिने ह्यामरले प्रदर्शनकारीलाई न्यायाधीशले आक्रमण गरेको देखाउनु आफैंमा शक्तिशाली बिम्ब थियो ।
भनिहालुँ ब्याङ्क्सी आफ्नो म्युरल (भित्तामा बनाइने कला) को माध्यमबाट समाजमा रहेका विसङ्गती, युद्ध, पूँजीवाद, राजनीति र मानव अधिकारजस्ता विषयहरूमा तीखा टिप्पणी गर्दै आइरहेका गुमनाम कलाकार हुन् ।
तर ब्याङ्क्सीको जस्तै चित्र मेटाइएको यो कुनै नयाँ घटना होइन ।
इतिहासमा कानुन र सत्ताको बलमा कलालाई निमोठिएको उदाहरण प्रशस्त पाइन्छ । ८औं र ९औं शताब्दीको बाइजेन्टाइन साम्राज्यमा आइकनहरू भत्काइनेदेखि लिएर आज ब्याङ्क्सीको व्यङ्ग्यात्मक कला मेटिँदासम्म यस्तो घटना दर्जनौं पटक घटिसकेको छ ।
सन् १५४१ मा पूरा भएको माइकेल एन्जेलोको प्रसिद्ध भित्तेचित्र ‘द लास्ट जजमेन्ट’ भ्याटिकनको सिस्टिन च्यापलको पर्खालभरि फैलिएको थियो । तर चित्रमा नंनता रहेको भन्दै त्यो चित्र विवादमा पर्यो।
चित्रमा येशूको दोस्रो आगमनपछि आत्माहरू स्वर्ग र नर्कतर्फ जाने दृश्य चित्रण गरिएको थियो । तर सन् १५६३ मा ‘वासनालाई उत्तेजित गर्ने सौन्दर्यले सजिएका’ चित्र भनेर धार्मिक गुरुहरूले प्रश्न उठाए । चित्रमा सन्त क्याथरीनलाई नाङ्गै देखाइएको थियो ।
उक्त विवादपछि इटालियन शैलीकार डानियल दा भोल्टेरालाई चित्रका पात्रहरूमा लुगा थप्ने जिम्मा दिइयो । यसकारणले उनले ‘कट्टु बनाउने’ चित्रकारको उपनाम नै कमाएका थिए ।
तर त्यस कामले माइकल एन्जोलोको मौलिक कला विरूप भयो । पछि सन् १९८०-९० को दशकमा भोल्टेराको १६औं शताब्दीको ‘सुधार’लाई हटाउन कोसिस गरिएको थियो । यद्यपि अझै पनि माइकल एन्जोलोको चित्रमाथि उनका हस्तक्षेपहरू यथावत छन् । त्यस्तै एक कलाकार फ्रान्स फ्लोरिस पनि यस्तै मारमा परेका थिए ।
सन् १५५४ मा बनाइएको ‘फल अफ द रिबेल एन्जल’ नामक उनको शानदार चित्र थियो । त्यसमा एउटा सन्तले राक्षसहरूको समूहलाई बाहिर निकालिरहेको दृश्य थियो । तर केही धर्म सुधारक मान्छेहरूले सन् १५६६ मा त्यस चित्रमाथि आक्रमण गरे ।
चर्चमा राखिएका चित्र तथा मूर्तिहरूले मानिसहरूलाई ईश्वरबाट विचलित गर्ने तर्क गर्दै उनीहरूले कलाकृतिमा आक्रमण गरेका थिए । फलस्वरुप तीन भागमा बाँडेर बनाइएको उक्त चित्रको दुई भाग पूर्णक्षति भयो भने मुख्य भाग बच्यो ।
घटनाको २० वर्षपछि बचेको भागलाई फेरि बनाइएको थियो ।
तर, यी यस्ता धार्मिक वा कानूनी कारणबाहेक पनि इतिहासमा कलामाथि कडा सेन्सर गरिएका थिए । सन् १८१५ मा स्पेनका प्रसिद्ध चित्रकार फ्रान्सिस्को डे गोयाले एउटै महिला र मुद्राको दुई वटा चित्र बनाएका थिए । एउटामा पूर्णनग्न, अर्कोमा लुगा लगाएको । जसलाई आज ‘द टु माजास’ भनेर चिनिने गरिन्छ ।
अनि त्यस चित्रका मालिक थिए, तत्कालीन समयको स्पेनका प्रधानमन्त्री म्यानुएल गोदोय । उनी सन् १८०८ मा सत्ताच्युत भए । त्यसपछि उनीसँग रहेको उक्त चित्र पनि जफत भयो । कारण दिइएको थियो, चित्रले शिष्टता र सार्वजनिक नैतिकताको कानुन तोडेको छ ।
त्यसपछि चित्रहरूका सम्बन्धमा अनुसन्धान सुरु भयो। तर कुनै निष्कर्ष निकालिएन । चित्रलाई कुनै पनि क्षति गरिएन । नष्ट पनि गरिएन । बरु लामो समयसम्म सबैबाट चित्रलाई लुकाएर राखियो । पछि सन् १९०१ मा ती चित्रहरूलाई म्याड्रिडको प्राडो संग्रहलायलाई हस्तान्तरण गरियो । आज पनि यी चित्रहरू यही संग्रहलायमा रहेका छन् ।
यता नेपालमा क्यानभासमा बनाएका चित्रहरू पश्चिमा जगतको जस्तो सेन्सरमा परेको इतिहास त्यति छैन । यद्यपि सडकमा बनाइएका केही भित्ते चित्रहरू भने सेन्सरमा परेका थिए । केही वर्षअघि कलाकार लक्ष्मण श्रेष्ठले काठमाडौंको वीर अस्पताल अगाडिको भित्तामा बनाएका ‘सरकार ?’, ‘डेड सरकार’ शीर्षकका चित्रहरू पनि मेटिएका थिए ।
तीबाहेक पुरानो बानेश्वर क्षेत्रमा टोलका अवस्थति घरका भित्ताहरूमा एउटै रङ लगाउने बहानामा आफ्ना आधा दर्जन बढी भित्ते चित्रहरू मेटिएको उनले सुनाए । कलाकार श्रेष्ठबाहेक अन्य कलाकारहरूले बनाएका केही भित्तेहरू समेत मेटिएका छन्।
२०७२ सालको भूकम्पबाट काष्ठमण्डपमा ध्वस्त भएको थियो । त्यसैको सम्झनामा करिब ३० जना कलाकारले दुईहप्तापछि २५ फिट चौडाई तथा ५४ फिट लम्बाईमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिल अगाडि काष्ठमण्डपको म्यूरल बनाएका थिए । तर, त्यसलाई पनि मेटियो । अहिले त्यहाँ काठमाडौं महानगरपालिकाको पहलमा नयाँ चित्र बनाइएको छ ।
प्रतिक्रिया 4