
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतका कलाकार पिटर केनार्डले ५० वर्षभन्दा बढी सामाजिक अन्याय, युद्ध र पूँजीवादी शोषणविरुद्ध कलामार्फत आवाज उठाएका छन्।
- उनले आफ्नो कलामा सौन्दर्यभन्दा सन्देशमा जोड दिएर पोस्टर, ब्यानर, टी-शर्ट र सडकमा पनि आफ्नो काम प्रदर्शन गरेका छन्।
- उनका चर्चित कलाकृतिहरूमा 'ब्रोकेन मिसाइल' र इजरायल-हमास युद्धविरुद्धका चित्रहरू छन्, जसले युद्ध र हिंसाको विरोध गर्छन्।
कला सधैं सुन्दर हुँदैन । सौम्य हुँदैन । यो प्रश्न पनि हुन्छ । खबरदारी हुन्छ । सम्भवत: बेलायतका कलाकार पिटर केनार्डले युवावयमै यो कुरा बुझे । र, यसलाई यथार्थ बनाउन लागिपरे ।
आज आइपुग्दा उनले यस कुरालाई वास्तविक बनाएका हुन् । किनकि सामाजिक अन्याय, युद्ध, आणविक हतियार र पूँजीवादी शोषणविरुद्ध कलामार्फत उनले बोल्न थालेकै ५० वर्षभन्दा बढी भइसकेको छ । जसको प्रभाव हजारौंमा परेको छ ।
सन् १९४९ मा लन्डनमा जन्मिएका केनार्डले चित्रकला अध्ययन गरे । तर उनको कला मार्ग चित्रकारिताको परम्परागत ढाँचाभन्दा फरक दिशातर्फ मोडियो । त्यसको पृष्ठभूमि भियतनाम युद्ध बन्न गयो । उनले त्यस युद्धविरुद्ध कलाहरू सिर्जना गरे । तिनलाई प्रदर्शनी गरे । त्यसले उनमा एक प्रकारको राजनीतिक चेतनाको बीउ रोप्यो । त्यसपछि उनले महसुस गरे कि, कला केवल देखाउने होइन केही भन्नुपर्ने माध्यम हो ।
त्यसै बेलादेखि उनले आफ्नो सम्पूर्ण सिर्जनात्मक ऊर्जालाई प्रतिरोध, असहमति र सामाजिक सवालहरूसँग जोड्न थाले । उनले सन्देशहरूलाई नागरिकसम्म पुर्याउने माध्यमका रूपमा कलालाई प्रयोग गरे । किनकि उनका कामहरू (चित्र/फोटोमोन्टाज/इन्स्टलेसन आर्ट) कुनै सुसज्जित ग्यालरीका भित्तामै सीमित रहँदैनन् । ती पोस्टर, ब्यानर, टी-शर्ट, पत्रिका, प्रदर्शन स्थल र सडकमा पनि आउँछन् ।
यसको एउटै कारण, उनले आफ्नो कृतिहरूमा सौन्दर्यभन्दा सन्देशमा जोड दिन्छन् । ‘कलाले संसारलाई बचाउँदैन, तर सोच बदल्न सक्छ,’ यो उनको दर्शन हो । यसबाटै उनको कला के हो बुझ्न सकिन्छ ।
उनको चर्चित कलाकृतिहरूमध्ये ‘ब्रोकेन मिसाइल’, ‘प्रोटेस्ट एन्ड सर्भाइभ’, ‘हेववेन विथ क्रुज मिसाइल’ केही प्रतिनिधि हुन् । यी कलाकृतिहरूले युद्ध र हिंसाको विरोधमा व्यङ्ग्य गरेका छन् ।

उदाहरणका लागि, ब्रोकेन मिसाइलमा क्याम्पेन फर न्युक्लियर डिसआर्ममेन्टको लोगोमा एउटा मिसाइल टुक्रिएको छ । उक्त संस्थाले संसारभर न्युक्लियर हतियार प्रयोग विरुद्ध आवाज उठाउँदै आइरहेको छ । उक्त कृति झट्ट हेर्दा न्युक्लियर हतियारहरू नष्ट गर्नुपर्छ अथवा ती कमजोर छन् भन्ने शक्त सन्देश दिन्छ ।
हालै मात्र उनले इजरायल-हमास युद्धविरुद्ध चित्र बनाएका छन् । अमेरिकाको युद्धप्रतिको मोहमाथि चित्र बनाएका छन् । यही सन्दर्भमा उनले बनाएको एउटा चित्र छ -प्यालेस्टाइन । यो चित्रमा प्यालेस्टाइनको राष्ट्रिय झण्डाको माथिल्लो भागको रातो भागबाट रगत बगिरहेको छ । त्यसमा उनले थपेको चुहिरहेको रगत मात्र हो । तर यसले प्यालेस्टाइनमा के भइरहेको छ, स्पष्ट देखाउँछ ।
त्यस्तै एउटा अर्को छ-अन्डर द फ्ल्याग । जसमा मिसाइलले ध्वस्त बनाएको प्यालेस्टाइनको कुनै भवन छ । जुन सादा छ । तर त्यही भवनको भत्किएको एउटा पिलरमा फरफराइरहेको इजरायलको रङ्गिन झण्डा छ । यो चित्रले इजरायलको क्रुरता देखाएको छ ।
केनार्डले प्राय: आफ्नो सन्देश व्यक्त गर्न फोटोमोन्टाज प्रयोग गर्छन् । यसमा दुई वा दुईभन्दा बढी फोटोहरूलाई जोड्ने काम गरिन्छ । कला निर्माणको यो एउटा प्रचलित विधा हो । यसबारे पनि उनको विचार छुट्टै छ । उनी भन्छन्, ‘जब तपाईं दुई तस्बिरहरूलाई सँगै राख्नुहुन्छ, तब त्यसबाट तेस्रो अर्थ जन्मिन्छ’
ठ्याक्कै उनले भने जस्तै उनका कलाकृतिहरूमा पनि त्यति धेरै फोटोहरू हुँदैनन् । कलामा प्रयोग गरिएका फोटोहरू सबैले कतै न कतै देखिरहेका हुन्छन् । तर जसै उनले तिनलाई आफ्नो सिर्जनाका लागि प्रयोग गर्छन्, त्यसबाट एउटा छुट्टै अर्थ निस्किन्छ ।
उनको कलामा विशेषत: प्रतिरोधको आवाज, सामाजिक सन्देश र जन–सहभागिताको आह्वान हुन्छ । अनि उनका कामहरू प्रायः सस्तो कागज, सामान्य प्रिन्ट सामग्री र घरमै बनाइएका सामग्रीबाट बनाइएका हुन्छन् । तर ती सामान्य सामग्रीहरूमा दिमाग हल्लाइदिने सन्देश लुकेको हुन्छ ।
यसरी एउटा कलाकारले कलामा सुन्दरता मात्र हुन्छन् भन्ने कुरालाई तोडेका छन् । त्योभन्दा माथि गएर मान्छेलाई सक्ने मान्छेका हकर्तहरूविरुद्ध खुलेर बोलिरहेका छन् ।
हेर्नुहोस् उनका कामहरू

प्रतिक्रिया 4