+
+
Shares

बालविवाह अन्त्यका लागि अन्तरमन्त्रालय संवाद सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र जीएनबी नेपालले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२ सम्बन्धी छलफल कार्यक्रम आयोजना गरेका छन्।

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा बालिका दुलही होइन राष्ट्रिय सञ्जाल(जीएनबी) नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ‘जीएनबी’ नेपालका अध्यक्ष प्रकाश खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । राष्ट्रिय रणनीति तथा कार्ययोजनालाई प्रदेश तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा संघीय रणनीतिलाई प्रदेश सरकारसँग जोड्न यो अन्तर मन्त्रालयीय संवाद महत्वपूर्ण हुने विश्वास खतिवडाले व्यक्त गरे ।

कार्यक्रममा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। पहिलो कार्यपत्र जीएनबी नेपालको सचिवालय कार्यक्रम प्रबन्धक इलावती केशीले प्रस्तुत गरेका थिए । उनले नेपालमा बालविवाह अन्त्यका लागि हाल भइरहेका प्रयासहरू तथा वर्तमान अवस्थाको विश्लेषण प्रस्तुत गरेका थिए ।

दोस्रो कार्यपत्र मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले प्रस्तुत गरेका थिए । उनले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२ मा समेटिएका व्यवस्थाहरूको जानकारी गराएका थिए । बालविवाह अन्त्य गर्नका लागि प्रदेश सरकार र सरोकारवालाहरूको भूमिका कस्तो हुन सक्छ भन्ने विषयमा उनले चर्चा गरेका थिए ।

उनले सातै प्रदेश सरकारले बालविवाह अन्त्यसम्बन्धी प्रादेशिक कार्यान्वयन कार्ययोजना निर्माण गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेट्दै बालविवाह मुक्त स्थानीय तह घोषणा गर्न बाल संरक्षण प्रणाली सुदृढीकरणतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको बाल संरक्षण तथा बालविवाहको अवस्थाबारे जानकारी प्रस्तुत गरेका थिए ।

राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रा देवी ढकालले परिषदले नेपाललाई बालविवाह मुक्त देश बनाउन निरन्तर कार्य गरिरहेको बताए । बाल संरक्षण प्रणालीको व्यवस्थापन गर्दै आएको र जीएनबी नेपालसँगको सहकार्यमा बालविवाह मुक्त स्थानीय तह घोषणा निर्देशिका निर्माणको कार्य भइरहेको जानकारी दिए ।

यसैक्रममा परिषद्को संरक्षण समितिका संयोजक सुस्मा पोखरेलले किशोरीहरू घरभित्र पनि सुरक्षित नभएको यथार्थ उदाहरणसमेत प्रस्तुत गरेकी थिइन् । उनले किशोरीहरूलाई सशक्त बनाउँदै आत्मरक्षा तथा सुरक्षासम्बन्धी सीप प्रदान गर्नुपर्ने आवश्यकता औंल्याइन् । परिषद्का अधिकृत रामबहादुर चन्दले बालविवाह र उमेर नपुगेको विवाहबीचको भिन्नता स्पष्ट पार्दै बालविवाहका असर र परिणामबारे समुदायस्तरमा चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको अन्त्यमा मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले सहभागीहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए । उनले राष्ट्रिय रणनीतिलाई सफल बनाउन सबै सरोकारवाला निकायले समन्वय र सहकार्यका साथ आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?