+
+
Shares

गुल्मीमा हेभीवेटसँग नयाँ दलको परीक्षा

आगामी प्रतिनिधिसभा निर्वाचनमा गुल्मी जिल्लाका दुवै निर्वाचन क्षेत्रमा अनुभवी, स्थापित र नयाँ नेताहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

अनिल खत्री अनिल खत्री
२०८२ माघ ७ गते ७:००

७ माघ, गुल्मी । हेभिवेट उम्मेदवारको भिडन्तले गुल्मीको जुनसुकै निर्वाचन रोचक हुने गर्छ । नयाँ दलहरूको आगमनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन थप रोचक हुने देखिएको छ ।

गुल्मीमा दुई वटा निर्वाचन क्षेत्र छन् । दुवै क्षेत्रमा चुनाव लड्न चाहने उम्मेदवारले  मंगलबार मनोनयन दर्ता गराइसकेका छन् । गुल्मीमा यसपटक पुराना अनुभवी नेता र नयाँ उदाउँदा अनुहारहरूबीच प्रतिस्पर्धा हुने प्रारम्भिक आकलन गरिएको छ ।

गुल्मी–१

गुल्मी–१ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारी यसपटक पनि चुनावी मैदानमा उत्रिएका छन् । २०६४ सालदेखि निरन्तर निर्वाचनमा सहभागी हुँदै आएका भण्डारी २०७० र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

गुल्मी जिल्लामा अनुभवी र स्थापित नेताका रूपमा परिचित भण्डारीको पुन: उम्मेदवारीले कांग्रेसको संगठनात्मक बल देखाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी नेकपा एमालेबाट पूर्वमन्त्री प्रदीप ज्ञवाली उम्मेदवार बन्ने भएका छन् ।

गुल्मीको राजनीतिमा लामो समयदेखि सक्रिय ज्ञवाली २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा सम्पन्न निर्वाचनमध्ये २०५६, २०६४ र २०७४ सालमा निर्वाचित भएका थिए । दुईपटक मन्त्रीसमेत भइसकेका ज्ञवाली कांग्रेस नेता डा. चन्द्र भण्डारीसँग पालैपालो निर्वाचित हुने नेताका रूपमा चिनिन्छन् ।

उनको उम्मेदवारीले क्षेत्र नम्बर-१ मा पुन: रोचक प्रतिस्पर्धा हुने संकेत गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीबाट लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बराल उम्मेदवार बनेका छन् ।

बराल २०६४ सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । जिल्लामा अनुभवी र पुराना नेताको रूपमा परिचित बरालको उपस्थितिले वाम मत विभाजनमा समेत प्रभाव पार्ने आकलन गरिएको छ ।

यसपटक नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बलियो उपस्थिति जनाउने तयारी गरेको छ । २०७९ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका सागर ढकाल गुल्मी-१ बाट उम्मेदवार बन्ने भएका छन् ।

गुल्मी जिल्लावासी भए पनि यस क्षेत्रमा नयाँ अनुहारका रूपमा देखिएका ढकालको उम्मेदवारीले विशेषगरी युवा र परिवर्तन चाहने मतदातालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । उनको प्रवेशसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा झनै रोचक बन्ने देखिएको छ ।

गुल्मी–२

गुल्मी-२ मा पनि पुराना र नयाँ नेताबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ उम्मेदवार छन् । कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका श्रेष्ठ तत्कालीन तम्घास गाविस अध्यक्षसमेत थिए ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा पराजित भए पनि संगठनमा राम्रो पकड भएका कारण उनी यस क्षेत्रका पुराना र परिचित उम्मेदवार मानिन्छन् ।

नेकपा एमालेबाट पूर्वमन्त्री तथा पार्टी उपाध्यक्ष गोकर्ण बिष्ट उम्मेदवार बनेका छन् । गुल्मी–२ मा तीनपटक जितेर बलियो पकड बनाएका बिष्ट २०५६ सालदेखि सम्पन्न निर्वाचनमध्ये २०६४ सालमा मात्रै पराजित भएका छन् । अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिने बिष्टलाई यस क्षेत्रको बलियो दाबेदार मानिन्छ ।

नेपाली कम्युनिस्ट पार्टीबाट श्रीराम महत चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । महत २०७९ सालको स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकामा तत्कालीन नेकपा एकीकृत समाजवादीबाट उपप्रमुख पदमा पराजित भएका थिए ।

पूर्वएमालेका विद्यार्थी नेता रहेका महत पार्टी विभाजनपछि नेकपा एसमा गएका हुन् । युवा र नयाँ उम्मेदवारका रूपमा प्रस्तुत भएका महतले यसपटक पुराना नेताहरूलाई चुनौती दिएका छन् ।

त्यसैगरी, रास्वपाबाट गोविन्द पन्थी उम्मेदवार बन्ने भएका छन् । नेपाल प्रहरीका पूर्वडीएसपी तथा अधिवक्तासमेत रहेका पन्थी यस क्षेत्रका स्थानीय बासिन्दा हुन् । नयाँ अनुहार भए पनि प्रशासनिक अनुभव र कानुनी पृष्ठभूमिका कारण उनको उम्मेदवारीले गुल्मी-२ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने आकलन गरिएको छ ।

समग्रमा हेर्दा, आगामी प्रतिनिधिसभा निर्वाचनमा गुल्मी जिल्लाका दुवै निर्वाचन क्षेत्रमा अनुभवी, स्थापित र नयाँ नेताहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार जिल्लामा कुल २ लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् ।

तीमध्ये निर्वाचन १ नम्बर क्षेत्रमा १ लाख २२ हजार १८६ र निर्वाचन २ मा १ लाख ७ हजार ३६३ जना मतदाता छन् । जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदानस्थल तोकिएको छ ।

निर्वाचनलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?