६ माघ, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ बयलडाँडामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मधेश प्रदेश–०३–००२ ख ०९०६ नम्बरको टिपर सडकबाट करिब ३०० मिटर तल खस्दा सहचालकको मृत्यु भएको हो ।
दुर्घटनामा टिपरका सहचालक गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ चारपाला निवासी करिब १८–१९ वर्षका विजय खड्काको अस्पतालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार दिउँसो टुन्दी बिदारी कन्स्ट्रक्सनद्वारा निर्माण भइरहेको इन्द्रगौडा–शान्तिपुर भित्री कच्ची सडक खण्डमा माटो अनलोड गर्ने क्रममा टिपर सडकबाट तल खसेको थियो । दुर्घटनामा सहचालक खड्का गम्भीर घाइते भएका थिए । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । तर डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रकोट गुल्मीबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर विकको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनापछि टिपर चालक धादिङको धुलीबेसी नगरपालिका–३ निवासी करिब २६–२७ वर्षका किशोर मगर फरार रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4