+
+
Shares

सुनसरी-३ : विजय गच्छदार र भगवती चौधरी चौथोपटक आमनेसामने

भगवती चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा छिन् । विजय गच्छदार भने गुमेको विरासत फर्काउने प्रयासमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १५:१०

१९ माघ, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर-३ थारू समुदायको बाहुल्य क्षेत्र हो । यो क्षेत्रमा विशेष गरी थारू नेताहरूबीच नै चुनावी भिडन्त हुँदै आइरहेको छ । यो पटक पनि थारू समुदायकै पुराना नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौं पटक चुनावी मैदानमा छन् । विजय गच्छदारसँग टक्कर दिन नेकपा एमालेले पनि थारू समुदायबाटै भगवती चौधरीलाई उम्मेदवार बनाएको छ ।  विजय गच्छदार र भगवती चौधरीबीचको यो प्रतिस्पर्धा चौथो पटक हो । यो क्षेत्रबाट २२ जनाले उम्मेदवारी दिए पनि गच्छदार र भगवतीबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अशोक चौधरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुर्गेश चौधरी, श्रम संस्कृति पार्टीले रामप्रसाद सदा, समावेशी समाजवादी पाटी नेपालले किशोरकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घनश्याम गुरुङलाई उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको छ ।

गच्छदारले २०४८ सालदेखि २०७४ सम्म एकछत्र राज गरेको यस क्षेत्रमा २०७९ सालको संसदीय निर्वाचनमा भने भगवतीले बाजी मारेकी थिइन् । गच्छदारको तीन दशक लामो राजनीतिक विरासत भत्काउँदै भगवतीले जितेकी थिइन् । तर जेनजी आन्दोलनपछि संसद् विघटन भयो । उनले कार्यकाल पूरा गर्न पाइनन् । भगवती फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा छिन् । गच्छदार भने गुमेको विरासत फर्काउने प्रयासमा छन् ।

१२ पटकसम्म मन्त्री भएका गच्छदारले आफ्नो क्षेत्रमा धेरै विकास गरेको दाबी गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, कृषिमा आमूल परिवर्तन गर्ने बाचा दोहोर्‍याउँदै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाताहरू भने आफ्नो क्षेत्रबाट प्रभावशाली नेतालाई जिताएर पठाए पनि देखिने गरी विकासको काम गर्न गच्छदार चुकेको गुनासो गरिरहेका छन् ।

बर्जुका स्थानीय खड्ग उरावकाअुनसार गच्छदारले यही क्षेत्रबाट पटक-पटक जितेर धेरैपटक मन्त्री, उपप्रधानमन्त्री भए, मानसम्मान कमाए । तर उनले जनतामाझ गरेका प्रतिबद्धता कहिलै पूरा नगरेको गुनासो उरावको छ । सडक सञ्जालहरूको अवस्था नाजुक रहेको उनको गुनासो छ । उनी भन्छन्, ‘सामुदायिक स्कुलका अवस्था पनि बेहाल छन् । सुनसरी-मोरङ सिँचाइ आयोजना अन्तर्गतको नहरका शाखाहरू विस्तार भए पनि किसानहरूले धान, मकै र गहुँ उत्पादनका लागि सहजै पानी, मल र बीउ पाउन सकेका छैनन् । मुलुकको सबैभन्दा बढी धान, मकै गहुँ, आलु, उत्पादन हुने कृषियोग्य भूमि यस क्षेत्रमा भए पनि किसानका लागि दिर्घकालीन योजनाहरू गच्छदारले पूरा नगरेको उनको गुनासो छ ।

गच्छदार कांग्रेस छाडेर कहिले मधेशी जनाधिकार फोरमका नेता भए । २०७० मा फोरम फुटेपछि लोकतान्त्रिक जनाधिकार फोरमका नेता बने । फोरमबाट २०७० सालमा उनले चुनाव लडे, यो चुनावमा पनि उनले जिते । २०७४ सालमा भने उनी पुरानै राजनीतिक घर कांग्रेसमा फर्किए । २०७४ को चुनावमा पनि उनको प्रतिस्पर्धी भगवती नै थिइन् । यो पटक पनि उनले अत्यन्तै झिनो मतले जित हात पारे ।

तर २०७९ सालको चुनावमा भने उनी करिब ५ हजार मत अन्तरले भगवतीसँग पराजित भए । गच्छदारको कमजोरीलाई समातेर भगवतीले चौथो प्रयासमा जित हात पारेकी थिइन् । आफूले पूरा कार्यकाल काम गर्न नपाएका कारण मतदाताको चहाना अनुसार विकास निर्माणका काम गर्न नपाएको उनी बताउँछिन् ।

आफूले यस क्षेत्रको विकास र स्थायित्वका लागि पूर्वाधार, सडक, खानेपानी, शिक्षा, ज्येष्ठ नागरिक, महिला, बालबालिका र स्वास्थ्य लगायत विषय सरकारको योजनामा पुर्‍याउन सफल भएको चौधरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?