News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ३.६ प्रतिशतले वृद्धि भई ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ।
- गत आवको सोही अवधिमा निजी क्षेत्रमा कर्जा ६.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
- चालु आवमा कृषि क्षेत्रको कर्जा १.१ प्रतिशतले घटेको र उपभोग्य क्षेत्रको कर्जा ९.१ प्रतिशतले बढेको केन्द्रीय बैंकले खुलाएको छ।
१९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जामा कमी आएको छ । अर्थतन्त्रमा छाएको सुस्तताका कारण कर्जा माग नबढेको हो ।
चालु आव पुससम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोडले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ ।
गत आव सोही अवधिमा यस्तो कर्जा २ खर्ब ६५ अर्ब ५६ करोडले बढेको केन्द्रीय बैंकले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
२०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत छ । गत आव सोही अवधिमा यस्तो अंश क्रमश: ६४.२ र ३५.८ प्रतिशत थियो ।
चालु आव पुससम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ३.७ प्रतिशत, विकास बैंक २.९ र वित्त कम्पनीको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।
पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणमा १५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६३.९ प्रतिशत छ । २०८१ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमश: १४.५ र ६४.९ प्रतिशत थियो ।
चालु आव २०८२/८३ पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फ ९.१ प्रतिशत, निर्माण ७.२, यातायात, सञ्चार तथा सार्वजनिक सेवा ६.२, औद्योगिक उत्पादन ४.४, वित्त बीमा तथा अचल सम्पत्ति १.१ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
चालु आव ६ महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको ८.३ प्रतिशत, ट्रस्ट रिसिट (आयात) ७.८, हायर पर्चेज ७.३, क्यास क्रेडिट ३, माग तथा अन्य चालु पूँजी २.९, रियल इस्टेट (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ र आवधिक कर्जा २.४ प्रतिशत बढेको छ भने अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया 4