News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा जम्मा १.२ प्रतिशतले बढेको छ।
- २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।
- चालु आवको कात्तिकसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.३ प्रतिशतले बढेको छ, विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ।
२९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा जम्मा १.२ प्रतिशत बढेको छ ।
चालु आर्थिक वर्षमा साउनदेखि कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले ६५ अर्ब ४ करोड थप कर्जा विस्तार गरेका छन् । कात्तिक मसान्तसम्म कुल ५५ खर्ब ६२ अर्ब ७५ करोड कर्जा प्रवाह भएको छ ।
गत आवको यसै अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह १ खर्ब २८ अर्ब ४७ करोड भएको थियो । गत आवको चार महिनामा कर्जा प्रवाह २.५ प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत छ । गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ र ३५.९ प्रतिशत थियो ।
चालु आवको कात्तिकसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.३ प्रतिशतले बढेको छ, तर विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ । २०८१ कात्तिक मसान्तमा यी धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ र ६६.० प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ ।
त्यसैगरी कृषि क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत र वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले घटेको छ । चालु आवको सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ३.९ प्रतिशत, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.४ प्रतिशत, क्यास क्रेडिट कर्जा १.८ प्रतिशत, हायर पर्चेज कर्जा १.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.१ प्रतिशत र आवधिक कर्जा ०.९ प्रतिशतले बढेको छ ।
अधिविकर्ष कर्जा ४.९ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा २.१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया 4