News Summary
Generated by OK AI. Editorially reviewed.- भाइरल शब्दको अर्थ मूलतः चिकित्साबाट आएको हो, जसले छिटो फैलिने रोग वा संक्रमण जनाउँछ।
- १९९० को दशकमा कम्प्युटर भाइरस र इन्टरनेटको विकाससँगै भाइरल शब्दले डिजिटल सामग्री छिटो फैलिने अर्थ पायो।
- सामाजिक सञ्जाल र युट्युबको उदयपछि भाइरल शब्द लोकप्रिय भयो र अहिले नेपाली भाषामा समेत व्यापक प्रयोगमा छ।
जब तपाईं कसैलाई लक्षित गरेर भिडियो खिच्न सुरसार गर्नुहुन्छ तब मान्छेहरू भन्न थाल्छन्, ‘लु अब फलानो भाइरल हुने भो ।
भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि ‘भाइरल’ हुन्छ वा हुनुपर्छ भन्ने आम मनोविज्ञान छ । हुन पनि कोही कराएर, कोही नबोलेरै, कोही उफ्रिएर, कोही रोएर भाइरल भएका छन् । असल कुरा गरेर होस् वा कसैको चर्को आलोचना गरेर, मान्छेहरू भाइरल भएका छन् ।
भाइरल हुनु भनेको के हो ? यसको परिभाषा त दिइरहनु पर्दैन । किनभने तपाईं वा तपाईंको बोली सामाजिक सञ्जालमा व्यापक भइदिनु नै ‘भाइरल’ हुनु हो । भाइरल भएर के हुन्छ ? यसको उत्तर पनि दिइरहनुपर्दैन । किनभने भाइरलले नाम र बदनाम दुवै गराउँछ । त्यो भन्दा पनि गाँठी कुरा, भाइरल भएपछि अहिले डिजिटल प्लेटफर्ममा विकाउ हुन्छ । भाँती पुर्याएर भाइरल गराउँदा द्रव्यलाभ पनि मिल्छ ।
त्यसैले यतिबेला धेरैलाई भाइरल हुनुपरेको छ । जे गरेर हुन्छ, जसरी हुन्छ मान्छेहरू भाइरल हुने दौडमा छन् । वास्तवमा भाइरल शब्द कुनै नेपाली शब्दकोषमा भेटिंदैन ।
भाइरल भनेको के हो ? ठ्याक्कै यसको शाब्दिक अर्थ पनि धेरैलाई थाहा छैन । तर, भाइरल भन्ने कुराको मोटामोटी भावार्थ भने सबैले बुझेका छन् । चाहे त्यो दूरदराजका किसानले होस् वा शहरको व्यस्त गल्लीमा चिया बेच्ने व्यापारीले ।
मान्छेहरू यतिबेला जानेर भाइरल भएका छन्, कोही नजानेर । कोही चाहेर भाइरल भएका छन्, कोही नचाहेरै । हाम्रो समाजमा भाइरल शब्दको भाइब्रेसन यति धेरै छ कि यदि त्यस्ता कन्टेन्टबारे अपडेट भइएन भने मान्छेहरू भन्छन्, ‘हैट त्यो पनि हेरेको छैन ? अलि अपडेट हुने गर है ।’
वास्तवमा भाइरल शब्द कहाँबाट आयो ? किन आयो ? कसरी यो आयतीत शब्दले समाजलाई यति धेरै हल्लाइदियो ?
भाइरलको मूल अर्थ चिकित्साबाट सुरु
जब इन्टरनेटको जमाना थिएन, भाइरल शब्दको अर्थ थियो-भाइरसबाट फैलिने रोग वा ज्वरो ।
‘भाइरल’ अंग्रेजी ‘भाइरल’ शब्दबाट आएको हो, जसको जरा ल्याटिन भाषाको ‘भाइरस’सँग जोडिएको छ । प्राचीन ल्याटिन भाषामा ‘भाइरस’को अर्थ ‘विषाक्त तरल पदार्थ’, ‘हानि गर्ने चिप्लो पदार्थ वा सोझो अर्थमा ‘विष’ हुन्थ्यो ।
यो शब्द १४औं शताब्दीमा अंग्रेजीमा आएको थियो, तर आधुनिकमा ‘भाइरस’ को अर्थ हुनजान्छ (संक्रामक जीवाणु), जुन धेरै पछिको हो । यसले छिटो र संक्रामक रूपमा फैलिने कुरालाई जनाउँछ ।
१९औं शताब्दीको अन्त्यतिर वैज्ञानिकहरूले सूक्ष्म जीव पत्ता लगाएपछि ‘भाइरलको’ रूपमा विशेषण हुन थाल्यो ।
सन् १९४० को दशकमा चिकित्सकहरू मौसमी फ्लुलाई ‘भाइरल फिभर’ वा ‘भाइरल संक्रमण’ भन्दै भाइरसबाट फैलिने रोग वर्णन गर्थे । यो शब्दको सबैभन्दा मजेदार विशेषता थियो, एकबाट अर्कोमा छिटो–छिटो सर्ने गुण । भाइरस आफैं हिँड्दैन, तर वस्तु वा श्वास-प्रश्वासको सहारामा तीव्र गतिमा फैलिन्छ । यही ‘तीव्र फैलावट’ को मजेदार गुण नै पछि डिजिटल कन्टेन्टसँग जोडियो ।
रोचक कुरा, खेल पत्रकारितामा पनि यो ‘ज्वरो’को उपमा पुरानै समयदेखि प्रयोग हुन्थ्यो । जस्तै, विश्वकपमा ठूला म्याचहरूका उत्साहलाई फुटबल फिभर वा गोल फिभर भनिन्थ्यो ।
ज्वरो झैं छिटो फैलिने उत्साह । यो उपमाले पनि केही हदसम्म भाइरलको आधार बनायो । किनकी, समाचार वा उत्साह भाइरसजस्तै फैलिन्थ्यो ।
चिकित्सामा प्रयोग हुने भाइरल शब्द जब ‘डिजिटल’ प्लेटर्फममा सर्यो
१९८० को दशकमा ‘कम्प्युटर भाइरस’ आएपछि यो उपमा थप रमाइलो बन्यो । कम्प्युटरहरू नयाँ–नयाँ थिए, इन्टरनेट पनि राम्रोसँग फैलिएको थिएन । त्यतिबेला डाटा आदान-प्रदान गर्न फ्लपी डिस्क (सानो चक्का जस्तो डिस्क) प्रयोग हुन्थ्यो । यदि एउटा डिस्कमा कम्प्युटर भाइरस थियो भने अर्कोमा स्वत सर्थ्यो । यो गुण ठयाक्कै चिकित्सकले भन्ने गरेको संक्रमण हुँदा सर्ने भाइरससँग मेल खाने भएकाले ‘कम्प्यूटर भाइरस’ नाम दिइयो ।
यो बेलासम्म भाइरस भन्नेबित्तिकै मानिसमा एक किसिमको त्रास थियो । जसले शरीरमा प्रवेश गरे शरीर र कम्प्यूटरमा प्रवेश गरे कम्प्यूटरको प्रणाली बिगार्थ्यौं । अब कुरा बदलियो १९९० को दशकतिर ।
यो दशकमा भाइरस ‘डिजिटल’ प्लेटर्फममा बामे सर्न थाल्यो । यो जमाना इन्टरनेटको थियो । जब इन्टरनेट र इमेलको जमाना सुरु हुँदै थियो । तब, सन् १९९६ मा लन्च भयो, हटमेल ।
मार्केटिङ गर्नेहरूले एउटा नयाँ तरिका सोचे, किन महँगो विज्ञापन गरेर प्रचार गर्ने ? मान्छेहरू आफैंले प्रचार गरिदिए भने महँगो शुल्क पनि नलाग्ने, ग्राहक पनि बढ्ने सम्भावना देखे ।
तरिका सोच्दै जाँदा एउटा जुक्ति निक्लियो, त्यो हो (पुरानो फ्री इमेल सेवा) ले हरेक इमेलको अन्त्यमा लेखिदियोः ‘गेट योर फ्रीमेल एयाट हटमेल ।’ प्रयोगकर्ताले इमेल पठाउँदा यो सन्देश आफैं फैलिन्थ्यो । महँगो विज्ञापन बिना नै, हटमेलको १८ महिनामै १ करोड २० लाख प्रयोगकर्ता पुगे ।
यो देखेर मार्केटरहरू खुसी भए । उनीहरूले हाँसेर प्रतिक्रिया दिए, ‘यो त भाइरसजस्तै फैलियो ।’
यो भाइरसझैं फैलिने शैली देखेर उनीहरूले नाम राखे– भाइरल मार्केटिङ । यो भाइरल मार्केटिङको पहिलो सबैभन्दा क्लासिक र कम खर्चिलो विज्ञापनको उदाहरण बन्यो ।
विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञहरूले कुनै सन्देश, ब्रान्ड वा प्रचार सामग्री यदि मानिसहरूले आफैं एक–अर्कालाई बाँड्दै लगे भने त्यसलाई जैविक भाइरसजस्तै छिटो फैलिएको भनेर तुलना गर्न थाले ।
यही वर्षको अन्तिममा फास्ट कम्पनी म्यागेजिमा जेफ्री रिर्पोटको लेख ‘द भाइरस अफ मार्केटिङ नै प्रकाशित भयो । जसमा यो अवधारणाको चर्चा गरियो । यसको दुई वर्ष नपुग्दै भेन्चर क्यापलिस्ट ड्रेपर र स्टिभ जर्भेटसनले हटमेलको यो तरिकालाई भाइरल मार्कोटिङ भनेर औपचारिक नाम दिइयो ।
यही सन्दर्भमा अमेरिकन इगल (एइ)भाइरल मार्कोटिङ भन्ने शब्द प्रचलनमा आयो । यसको अर्थ थियो, ठूलो बजेट बिना, प्रयोगकर्ताकै सहभागिताबाट सन्देशलाई व्यापक बनाउने रणनीति ।
यसरी, इन्टरनेटमा ‘भाइरल’ शब्द मार्केटिङबाट सुरु भई सामग्रीको व्यापक फैलावट हुनुलाई अर्थ्याउन थालियो ।
इन्टरनेटको पहिलो ‘भाइरल स्टार’ : डान्सिङ बेबी
सन् १९९६ मा भाइरल मार्केटिङसँगै अर्को भाइरल कन्टेन्ट देखियो । त्यो बेला इन्टरनेटको पहिलो ठूलो कन्टेन्ट आयो– ‘डान्सिङ बेबी’ । यो ३डी एनिमेसनमा नाच्ने एउटा सानो बच्चाको भिडियो थियो । यो इमेल चेन र प्रारम्भिक इन्टरनेट फोरमहरूबाट फैलियो, सबैले हाँस्दै फर्वार्ड गरे ।
पछि टिभी शो ‘एली एमसीबील’मा पनि देखाइयो । यो अनौठो, रमाइलो र सजिलै शेयर गर्न मिल्ने भएकाले रातारात विश्वभरि फैलियो । अन्जानमै सही यो नै इन्टरनेटको पहिलो ठूलो भाइरल कन्टेन्ट (मिम) मानिन्छ ।
हटमेलको भाइरल मार्केटिङ र डान्सिङ बेबीको भाइरल कन्टेन्ट दुवै सन् १९९६ मा नै सुरु भएका हुन् । एउटा योजनाबद्ध गरिएको मार्केटिङ र अर्को अनौठो कन्टेन्टको स्वतः फैलावट । दुवैले ‘भाइरल’ को अवधारणालाई मजबुत बनाए । यो समय इन्टरनेटको प्रारम्भिक युग थियो, जहाँ इमेल नै मुख्य शेयरिङ माध्यम थियो ।
सामाजिक सञ्जाल आएपछि
युट्युब सन् २००५ फेब्रुअरीमा स्थापना भयो र मेमा बेटा संस्करण लन्च भयो । डिसेम्बर २००५ मा पूर्णरूपमा सार्वजनिक भयो । यसअघि १९९० को अन्त्यदेखि २००५ सम्म ‘भाइरल’ शब्द मुख्य रूपमा भाइरल मार्केटिङमा मात्र प्रयोग हुन्थ्यो । जस्तै:- हटमेलको इमेल सिग्नेचर र कन्टेन्ट इमेल चेन वा फोरमबाट फैलिन्थ्यो ।
भिडियो सजिलै अपलोड र शेयर गर्ने केन्द्रीय प्लेटफर्म थिएन, त्यसैले ‘भाइरल भिडियो’ भन्ने अवधारणा सीमित थियो । युट्युब आएपछि सबै कुरा बदलियो । सन् २००५ अक्टोबरतिर नाइकीको विज्ञापन भिडियो ‘रोनाल्डिनो : टच अफ गोल्ड अपलोड भयो, जसमा ब्राजिलियन फुटबलर रोनाल्डिन्होले बल जुगलिङ गर्छन् । यो युट्युबको पहिलो भिडियो बन्यो जसले १० लाख भ्यूज पार गर्यो । यो प्लेटफर्मको पहिलो ठूलो ‘भाइरल भिडियो’ मानिन्छ ।
सन् २००५ डिसेम्बरमा अमेरिकी टिभी शो ‘लेजी सनडे’को क्लिप युट्युबमा अपलोड भयो । यो छोटो समयमै लाखौं भ्यूजमा पुग्यो र युट्युबको ट्राफिक ८३ प्रतिशतले बढायो। यही समयदेखि ‘भाइरल भिडियो’ र गोइंग भाइरल भन्ने वाक्यांश दैनिक भाषामा प्रचलित हुन थाल्यो ।
‘भाइरल’ शब्दलाई सामाजिक संजालका कन्टेटसँग कसले जोड्यो ?
कुनै एक व्यक्तिले होइन, यो स्वाभाविक रूपमा विकास भयो । मार्केटर, मिडिया र ब्लगरहरूले युट्युबमा छिटो फैलिने भिडियोलाई ‘भाइरल भिडियो’ भन्न थाले । सन् २००६ मा युट्युबले नै ‘धेरै हेरिएको’ र ‘धेरै चर्चा भएको’ जस्ता सेक्सन राखेर यस्ता भिडियोलाई प्रोत्साहन दियो ।
यसअघि ‘भाइरल’ मार्केटिङमा मात्र सीमित थियो, तर युट्युबले यसलाई सामान्य मानिसको रमाइलो, हाँस्य वा अनौठो भिडियो पनि भाइरल कन्टेन्ट हुनसक्छ भनेर लोकप्रिय बनायो ।
केही रमाइला उदाहरण :
२०१२ मा गाङ्नम स्टाइल जो कोरियाली गायक एकथको हो । यो भिडियोले विश्वलाई नै नचायो, घोडा चढेजस्तो नाच र रमाइलो संगीतले व्यापक भ्यूज पायो । युट्युबमा १ बिलियन अर्थात १ अर्क भ्युज पार गर्ने पहिलो भिडियो बन्यो ।
२०१३ मा हर्लेम शेकको एउटा छोटो गीतमा उनी पहिला एक्लै नाच्ने, अनि सबै जना अचानक नाच्न थाल्ने । विश्वभरि लाखौंले आफ्नो भर्सन बनाए– अफिसदेखि आर्मीसम्म । यो बेला भाइरल कम तर ‘ट्रेन्डिङ’ वा ‘पपुलर’ बढी भनिन्थ्यो, २०१० पछि को दशकमा टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूले छोटा भिडियोहरूलाई तीव्र फैलाउने बनाए ।
कुनै भावनात्मक भिडियो, हास्य सामग्री, चकित पार्ने समाचार वा विवादास्पद अभिव्यक्ति केही घण्टा वा केही दिनमै लाखौं मानिससम्म पुग्न थाल्यो । प्रयोगकर्ताहरूले सिके यस्ता सामाग्री शेयर गर्न ।
आजकल त मिमहरू नै भाइरलको राजा छन् । छोटा, हाँसोउठ्दो तस्बिर वा भिडियो सेकेन्डमै फैलिन्छन् । र, अहिले बच्चादेखि वृद्धसम्मको मुखमै झुण्डिएको छ ‘भाइरल’ शब्द ।
नेपाली भाषामा पनि स्वीकार्य हुँदै
यसरी ‘भाइरल’ शब्द जो नकारात्मक जैविक अर्थबाट सुरु भई अहिले सकारात्मक सामाजिक अर्थ पायो, पहिले रोगसँग जोडिएको शब्द आज लोकप्रियता, प्रसिद्धि र प्रभावको सूचक बनिसकेको छ ।
समग्रमा हेर्दा, ‘भाइरल’ शब्दको यात्रा चिकित्सा विज्ञानबाट सुरु भई डिजिटल संस्कृतिसम्म आइपुगेको छ । यसको मूल भाव, ‘छिटो फैलिंने’ भन्ने अवधारणा-समय र सन्दर्भअनुसार रूपान्तरित हुँदै गएको हो ।
आज ‘भाइरल’ शब्द केवल शब्द मात्र होइन, यो आधुनिक सञ्चार, सूचना प्रवाह र सामाजिक व्यवहारलाई बुझ्ने एउटा महत्वपूर्ण अवधारणा बनिसकेको छ ।
रमाइलो कुरा त यो हो कि ‘भाइरल’ शब्द नेपाली शब्दकोशमा अझै दर्ता भएको पाइँदैन । भाषाविद्हरूका अनुसार यो आयातीत शब्द हो, तर बारम्बार प्रयोगले भाषालाई समृद्ध बनाउँछ । यो ल्याटिन हुँदै अङ्ग्रेजी भाषाबाट आएको शब्द हो, जसले कुनै सामग्री छिटोछिटो फैलिने अवस्थालाई जनाउँछ ।
भाइरल शब्द चर्चामा आउनु डिजिटल प्लेट फर्मको देन रहेको भाषाविद् माधव प्रसाद लुँइटेल बताउँछन् । ‘भाइरल शब्द कुनै बेला रोगमा प्रयोग हुने डरलाग्दो शब्द थियो भने आज जो चर्चामा छ, त्यसलाई भाइरल भनिन्छ’ लुइँटेल भन्छन् ।
यो शब्द बारम्बार प्रयोग भइरहँदा नेपाली शब्दकोषमा समेत राख्नुपर्ने र आयतीत शब्दलाई स्वीकार्नुपर्ने उनको भनाइ छ ।
‘भाइरलको सोझो अर्थ नेपालीमा सर्वव्यापक हुन जान्छ, ‘ लुइँटेल भन्छन्, ‘तर सर्वव्यापक भन्दा भाइरल शब्द नै सबैले बोल्ने र बुझ्ने शब्द बनेको छ । शब्दकोशमा पनि यस्ता नयाँ शब्दहरू तर बारम्बार प्रयोग भई ट्रेन्ड सेटअप नै बनेको छ भने यी शब्दलाई समावेश गर्दै भाषालाई समृद्ध बनाउनुपर्ने देखिन्छ ।’
भाइरलको कमाल : लुगादेखि व्यापारसम्म, साधारण मान्छेलाई सेलिब्रेटी
सामाजिक सञ्जालमा कुनै भिडियो वा फोटो भाइरल भयो भने त्यसले कस्तो चमत्कार गर्छ ?
लुगाफाटोदेखि हरेक सामानको व्यापारलाई सजिलो बनाइदिन्छ । नेपालमा टिकटक, इन्स्टाग्राम र फेसबुकको कारण फास्ट फेसनको लहर चलेको छ । साना ब्रान्डहरूले पनि भाइरल रिल्स र इन्फ्लुएन्सरहरूको मद्दतले राम्रो बजार पाइरहेका हुन्छन् ।
इन्फ्लुएन्सरहरूले लगाएको ड्रेस वा टिसर्ट देखेर युवाहरूले तुरुन्तै किन्न थाल्छन् । यो भाइरल मार्केटिङले ई–कमर्सलाई उकासेको छ । पहिला महँगो विज्ञापन चाहिन्थ्यो, अहिले एउटा भाइरल पोस्टले लाखौं ग्राहक पुग्छ, बिक्री बढ्छ अनि ब्रान्डको नाम फैलिन्छ ।
यो भाइरलले व्यापार मात्र होइन, साधारण मान्छेलाई पनि सेलिब्रेटी बनाउँछ । नेपालमा धेरै उदाहरण छन्– भिटेन को गीत २०१७मा ‘चुरोट’ भाइरल भएर उनी रातारात स्टार बने । आयुष गौचनको ‘माया’ गीत टिकटकमा फैलियो अनि उनी चर्चित गायक भए ।
चर्चित सेलिब्रेटीदेखि साधारण व्यक्तिहरू सम्तले घरमै बसीबसी भिडियो बनाउँछन्, भाइरल हुन्छन् । वास्तवमा, भाइरलले नेपालको फेसन र व्यापारलाई नयाँ उचाइ दिएको छ ।
भाइरल सधैँ राम्रो हुँदैन
रचनात्मक भिडियो वा उपयोगी जानकारी सर्वव्यापी बन्नु भाइरल हुनु हो । तर, वास्तवमा भाइरल हुनु सधैं राम्रो हुँदैन । किनकी, यसको सही सदुपयोग गर्दा समाजमा जागरण ल्याउन सकिन्छ, तर दुरुपयोग गर्दा मर्यादा बिग्रन्छ ।
गलत सूचना, घृणात्मक भाषण वा अफवाह जो छिटो फैलिन्छन्, यसलाई पनि भाइरल भन्न थालियो, जसले समाजमा नकारात्मक असर पार्न सक्छ । भाइरल हुने चक्करमा केही व्यक्ति उच्छृङ्खल गतिविधि गर्छन्, अश्लील शब्द प्रयोग गर्छन् वा अनावश्यक नग्नता प्रदर्शन गरी ध्यान आकर्षण गर्न खोज्छन् । यस्ता कार्यले सामाजिक सञ्जाललाई अतिरञ्जित बनाउँछ र समाजमा नराम्रो प्रभाव पार्छ ।
यो भाइरल शब्द एक उदाहरण हो, जो प्रविधिको विकासले भाषा कसरी प्रविधि र संस्कृतिसँग अनुकूलित हुन्छ भनेर देखाउँछ । भाइरसको जैविक फैलावटबाट सुरु भएको शब्दले डिजिटल युगमा सूचना र मनोरञ्जनको फैलावटलाई प्रतिबिम्बित गर्छ । आजको सामाजिक सञ्जाल युगमा ‘भाइरल’ हुनु सफलताको मापदण्ड बनेको छ, तर यसले गलत सूचनाको जोखिम पनि बढाएको छ ।
प्रतिक्रिया 4