+
+
Shares

दक्षिण अफ्रिकामा किन मरे ६० हजार पेन्गुइन ?

पेन्गुइनको प्रमुख आहारको रुपमा रहेको सार्डिन माछा झण्डै लोप हुँदा त्यसले पेन्गुइनको अस्तित्व नै खतरामा पारेको हो। साथै जलवायु परिवर्तन र अत्यधिक माछा मार्ने कामले गर्दा समुद्रको प्राकृतिक जैविक सन्तुलन बिथोल्दा पेन्गुइनको जीवन नै संकटमा परेको विज्ञहरुले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाको सामुद्रिक तटबाट ६० हजारभन्दा बढी अफ्रिकी पेन्गुइन भोकका कारण मरेका छन्।
  • सार्डिन माछाको संख्या घट्दा पेन्गुइनको अस्तित्व संकटमा परेको छ र सन् २०२४ मा 'अति संकटापन्न सूची'मा राखिएको छ।
  • दक्षिण अफ्रिकाले पेन्गुइन संरक्षणका लागि माछा मार्ने प्रतिबन्ध र कृत्रिम गुँड निर्माण गर्ने उपायहरू लागू गरेको छ।

काठमाडौं। दक्षिण अफ्रिकाको सामुद्रिक तटबाट पछिल्ला केही वर्षमा ६० हजारभन्दा बढी अफ्रिकी पेन्गुइन चरा भोकका कारण मरेका छन्। एउटा नयाँ अनुसन्धानले यस्तो भयानक तथ्यको खुलासा गरेको हो।

पेन्गुइनको प्रमुख आहारको रुपमा रहेको सार्डिन माछा झण्डै लोप हुँदा त्यसले पेन्गुइनको अस्तित्व नै खतरामा पारेको हो। साथै जलवायु परिवर्तन र अत्यधिक माछा मार्ने कामले गर्दा समुद्रको प्राकृतिक जैविक सन्तुलन बिथोल्दा पेन्गुइनको जीवन नै संकटमा परेको विज्ञहरुले बताएका छन् ।

शोधकर्ताहरुका अनुसार सन् २००४ देखि २०१२ को बीचमा पेन्गुइनका मूख्य वासस्थानको रुपमा रहेका दुई दक्षिण अफ्रिकी टापु डासेन र रोबेनबाट ९५ प्रतिशत भन्दा बढि पेन्गुइन मरेका छन्। प्वाँख फेर्ने अर्थात् मोल्टिङको समयमा खानेकुरा नपाउँदा धेरै पेन्गुइन मरेको बताइएको छ।

पेन्गुइनको सरीरमा वर्षमा एकपटक पुराना प्वाँख झरेर नयाँ प्वाँख पलाउँछन्। यो प्रक्रिया करिब २१ दिनसम्म चल्छ। यस अवधिमा उनीहरू समुद्रमा जान सक्दैनन्। त्यसैले मोल्टिङ अघि शरीरमा उर्जाको भण्डारको रुपमा बोसो जम्मा हुनु जरुरी हुन्छ। तर समुद्रमा पर्याप्त खानेकुरा नपाउँदा पेन्गुइनले प्वाँख फेर्नुअघि मनग्गे खाएर बोसो जमाउन पाउँदैन । जसका कारण मोल्टिङको उपवास अवधिमा पेन्गुइनको सरीरलाई आवश्यक पर्ने उर्जा प्राप्त हुँदैन र पेन्गुइन भोकले मर्दछ।

जलवायु परिवर्तनले खल्बलिँदै सामुद्रिक पर्यावरण

वैज्ञानिकहरुका अनुसार समुद्रको तापक्रम बढ्नु र नुनिलोपनाको सन्तुलन बिग्रनुले गर्दा पेन्गुइनको आहाराको रुपमा रहेको सामुद्रिक माछा सार्डिनको प्रजनन क्षमतामा असर परिरहेको छ। जसको कारणले गर्दा उक्त माछा प्रजातिको संख्या घटिरहेको छ। अर्कोतर्फ समुद्रमा ठूला जहाजहरुबाट जथाभावी माछा पक्रिनाले पनि सार्डिन माछा लोप हुने अवस्थामा पुगेको छ।

अनुसन्धानअनुसार, २००४ पछि दक्षिण अफ्रिकाको पश्चिमी सामुद्रिक क्षेत्रमा सार्डिन माछाको संख्यामा ७५ प्रतिशतले गिरावट देखिएको छ।

माछा भोजनको अभावमा पेन्गुइनको अस्तित्वमाथि संकट मडारिएको छ । अफ्रिकी पेन्गुइनलाई सन् २०२४ मा ‘अति संकटापन्न सूचीमा राखिएको छ। विश्वभर हाल केवल १० हजार प्रजननयोग्य पेन्गुइन जोडी मात्रै जिवित छन् । पछिल्ला ३० वर्षमा पेन्गुइनको संख्या ८० प्रतिशतले घटेको छ।

पेन्गुइन बँचाउने पहल

पेन्गुइनको अस्तित्वमाथि प्रश्नचिह्न उठेसँगै दक्षिण अफ्रिकाले यस प्रजातिलाई जोगाउन कडाइका साथ उपायहरु अबलम्बन गर्न थालेको छ। जस अनुसार देशका ६ वटा ठूला पेन्गुइन वासस्थानको वरिपरि व्यवसायिक रुपमा माछा मार्ने काम गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

साथै पेन्गुइनका बच्चा सुरक्षित राख्न कृत्रिम गुँड निर्माण गर्ने, कमजोर र बिरामी पेन्गुइनको उद्दार र स्याहार गर्नुका साथै सिल र साङ्को जस्ता सिकारी जीवहरूलाई पेन्गुइनको बासस्थानबाट टाढा राख्ने प्रयास पनि गरिएको छ।

वैज्ञानिकको चेतावनी

युनिभर्सिटी अफ एक्जेटरका शोधकर्ता डा. रिचर्ड शर्लेका अनुसार सन् २०११ सम्म देखिएको नोक्सानीपछि अवस्था झन् बिग्रिएको छ। माछाको भण्डार चाँडै सुधार भएन भने अफ्रिकी पेन्गुइन केही वर्षमै लोप हुन सक्छन्।

दक्षिण अफ्रिकी सामुद्रिक जीवविज्ञ प्राध्यापक लोरियन पिचेग्रू भन्छन्- यो पेन्गुइनको मात्रै समस्यामा परेको होइन। धेरै प्रकारका प्रजातिहरु एउटै खाद्ष शृंखलामा निर्भर छन्। सानो माछा जोगाउन नसके समुद्री पारिस्थितिकी तन्त्र नै ध्वस्त हुन सक्छ।

केप टाउनको बोल्डर्स बीच पनि सुनसान

कुनै समय हजारौँ पेन्गुइनका बथान देखिने केपटाउनस्थित बोल्डर्स बीचपनि अहिले सुनसानजस्तै छ। त्यहाँ केवल केही सयको संख्यामा मात्रै पेन्गुइन देख्न सकिन्छ। पेन्गुइनको त्यस्तो गिरावट प्रकृतिको ठूलो चेतावनी सन्देश रहेको भन्दै वैज्ञानिकहद्ये समुद्रको संरक्षण नगरेमा कुनैपनि प्रजाति नबच्ने बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?