+
+
Shares

एप्पलबाट धमाधम प्रतिभा पलायन

च्याट जीपीटीको गोप्य एआई डिभाइस के हो ?

लामो समयदेखि एप्पलका प्रमुख उत्पादनहरू जस्तै आइफोन, एयरपोड्स र एप्पल वाचमा काम गरेका अनुभवी इन्जिनियर र डिजाइनरहरू एकपछि अर्को गर्दै कम्पनी छाडेर च्याट जिपिटी निर्माता ओपन एआईतर्फ आकर्षित भइरहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १३:५४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलका अनुभवी इन्जिनियर र डिजाइनरहरू ओपन एआईको नयाँ एआई हार्डवेयर परियोजनामा सहभागी हुन कम्पनी छाड्दैछन्।
  • ओपन एआईले जोनी आइभसँग सहकार्यमा स्क्रिनविहीन, हत्केलामा अट्ने एआई डिभाइस दुई वर्षभित्र बजारमा ल्याउने तयारी गरिरहेको छ।
  • एप्पलका केही वरिष्ठ अधिकारीहरू पनि कम्पनी छाड्दैछन् र मेटाले आफ्नो एआई परियोजनाका लागि कर्मचारी भित्र्याएको छ।

२९ मंसिर, काठमाडौं। विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी एप्पलभित्र पछिल्ला केही महिनायता सामन्य लाग्ने तर गहन हलचल देखिएको छ।

लामो समयदेखि एप्पलका प्रमुख उत्पादनहरू जस्तै आइफोन, एयरपोड्स र एप्पल वाचमा काम गरेका अनुभवी इन्जिनियर र डिजाइनरहरू एकपछि अर्को गर्दै कम्पनी छाडेर च्याट जिपिटी निर्माता ओपन एआईतर्फ आकर्षित भइरहेका छन्।

वाल स्ट्रिट जर्नलका अनुसार, एप्पलको स्मार्ट वाच डिजाइन गर्ने वैज्ञानिक टोली र गोप्य रोबोटिक्स परियोजनामा संलग्न थुप्रै प्राविधिकहरूले हालै ओपन एआई कम्पनीमा प्रवेश गरेका छन्।

सोसल मिडिया प्लाटफर्म लिङ्क्डइनका प्रोफाइलहरूले पनि एप्पलबाट भईरहेको यस्तो प्रतिभा पलायनलाई पुष्टि गरेको छ। यद्यपि एप्पल आफैंले भने यस्ता आन्तरिक गतिविधिहरुका विवरण सार्वजनिक गरेको छैन।

विश्वकै सर्वाधिक मूल्यवान कम्पनी एप्पलमा राम्रो तलब तथा सेवा सुविधा र सम्मानसहित काम गरिरहेका ती कर्मचारीहरू किन ओपन एआईमा गए त ?

समाचारहरुका अनुसार एप्पलबाट भईरहेको यस्तो प्रतिभा पलायनको मूख्य कारण चाहीँ ओपन एआईले आगामी वर्ष सार्वजनिक गर्ने तयारी गरिरहेको एउटा नयाँ हार्डवेयर डिभाइस नै हो।

हुनत ओपन एआईले उक्त उपकरणबारे हालसम्म कुनैपनि आधिकारिक जानकारी दिएको छैन। तथापि ओपन एआईको सो हार्डवेयर प्रोजेक्ट यति रोमाञ्चक बनिरहेको छ कि एप्पलमा निर्णायक भूमिका निभाएका इन्जिनियरहरू समेत यसप्रति तानिएका छन्।

ओपन एआईको नयाँ एआई डिभाइस के हो?

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो पहिलो एआई हार्डवेयर एप्पलका पूर्व प्रमुख डिजाइनर जोनी आइभसँगको सहकार्यमा विकास गरिरहेको बताइएको छ। परियोजना हाल ‘प्रोटोटाइप चरण’मा पुगेको छ । आइभका अनुसार दुई वर्षभित्र यो डिभाइस बजारमा आउन सक्छ।

सो डिभाइस परम्परागत स्मार्टफोन वा कम्प्युटरभन्दा नितान्त फरक हुनेछ जुन सायद हत्केलामा अट्ने र सम्भवतः स्क्रिनविहीन हुने दाबी गरिएको छ। उक्त डिभाइसमा क्यामेरा, माइक्रोफोन र सेन्सरको मद्दतले वरिपरिको वातावरण बुझेर रियल-टाइम प्रतिक्रियाहरू दिने क्षमता रहने चर्चा समेत चलेको छ।

ब्लूमबर्गका अनुसार यसभित्र सानो प्रोजेक्टर पनि हुन सक्छ, जसले आवश्यक परेमा नजिकैको सतहमा डेटाहरु प्रोजेक्ट गर्नेछ। डेस्कमा राखेर प्रयोग गर्न मिल्ने र बोकेको बेला हल्का हुने डिजाइन यसको मूख्य विशेषता हुने बताइएको छ।

अरु पनि बाहिरिँदैछन् एप्पलबाट

एकातिर एप्पलका वरिष्ठ तथा काबिल इन्जिनियर र डिजाइनरहरु ओपन एआईतिर जाँदै छन् भने अर्कोतिर एप्पलका केही वरिष्ठ अधिकारी पनि कम्पनीबाट विदा हुँदैछन्। हालै मेटाले एप्पलका केही कर्मचारीलाई आफ्नो एआई र स्मार्टग्लास परियोजनाका लागि भित्र्याएको छ।

लामो समय एप्पलसँग जोडिएका डिजाइनर एलन डाइ मेटा कम्पनीतर्फ लागिसकेका छन्। साथै केट एडम्स, लिसा ज्याक्सन र जोन जिएनान्ड्रिया लगायतका एप्पलका वरिष्ठ व्यवस्थापकहरुले पनि कम्पनीबाट सेवा निवृत्त हुने कर्मचारीहरुले घोषणा गरिसकेका छन् ।

एआई केन्द्रित कम्पनीहरूमा भविष्य खोज्दै प्रतिभाहरू

पछिल्लो ट्रेण्डले के देखाएको छ भने इन्जिनियर र डिजाइनरहरू एआई केन्द्रित भविष्यतर्फ सर्दैछन्। ओपन एआई, गुगल डीप माइन्ड तथा मेटा एआई जस्ता संस्थाहरू आज प्रतिभालाई आकर्षित गर्ने ‘ट्यालेन्ट म्याग्नेट’ बनेका छन्।

विशेषगरी ओपन एआईको तीव्र प्रगति र महत्वाकांक्षी परियोजनाले एप्पलजस्ता कम्पनीहरूको प्रतिभा टिकाउने रणनीतिमाथि दबाब बढाइरहेको छ। एक समय विश्वभरका उत्कृष्ट इन्जिनियरहरूको पहिलो रोजाइ बनेको एप्पल अब एआई दौडमा आफ्ना शीर्ष प्रतिभा जोगाउन चुनौतीको सामना गरिरहेको छ।

विज्ञहरुका अनुसार एप्पलबाट ओपनएआईतर्फ भइरहेको प्रतिभा पलायन केवल कम्पनी परिवर्तन मात्र होइन यो प्रविधि उद्योगको दिशानिर्देश नै बदलिँदै गएको सङ्केत हो।

ओपन एआईको गोप्य एआई उपकरण सफल भएमा आगामी वर्षहरूमा प्रविधि क्षेत्रको परिदृश्य फेरिने मात्र होइन मानव-प्रविधि अन्तरक्रियाको शैली नै पुनर्परिभाषित गर्नसक्ने विज्ञहरुको भनाई छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?