+
+
Shares

प्रत्यक्षमा पुरानै नेताहरू सिफारिस भएपछि सुजाताको असन्तुष्टि

हरि अधिकारी हरि अधिकारी
२०८२ मंसिर २९ गते १४:१५
फाइल तस्वीर
Listen News
0:00
0:30
🔊

२९ मंसिर, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार सिफारिसप्रति असन्तुष्टि जनाएकी छन् ।

युवाका लागि ठाउँ छाडेको भन्दै प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष उम्मेदवार नबन्ने उनले घोषणा गरेकी थिइन् । तर मोरङ क्षेत्र नम्बर-२ बाट प्रत्यक्षतर्फ पुरानै नेताहरू सिफारिसमा परेपछि नेतृ कोइराला असन्तुष्ट बनेकी हुन् ।

प्रत्यक्ष तर्फ डाक्टर मीनेन्द्र रिजाल, कोशी प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र महिला तर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ । रिजाल २०७४ सालमा सो क्षेत्रबाट निर्वाचित भएका थिए ।

युवाका लागि आफूले ठाउँ छाडे पनि प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ पुरानै नेताहरूको नाम सिफारिस भएको कोइरालाको गुनाासो छ ।

‘मैले चुनाव लड्दिन भनेर डिक्लेयर गरेँ, मेरो ठाउँमा कोही युवाहरू आइदियोस् भन्ने मेरो सोच हो । अनफरचुनेल्टी त्यहाँ (क्षेत्र नम्बर-२ मा) युवाहरू आएनन् । पुरानै मान्छेहरू सिफारिस भएका छन्,’ उनले भनेकी छन्, ‘यो एकदमै दुःख लाग्दो कुरा हो, अब चाहिँ युवाहरूलाई अगाडि बढाउनै पर्छ यसरी भएन ।’

उनले युवालाई सिफारिस गर्न पनि आग्रह गरेकी छन् । कोइरालाको क्षेत्रमा मात्रै होइन्, मोरङका ६ वटै क्षेत्रबाट पुरानै नेताहरूको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । नयाँ र युवाहरू सिफारिस सूचीमा अटाएका छैनन् ।

क्षेत्रिय समितिले सुजाताको नाम समानुपातिक सूचीमा भने राखेर पठाएको छ । २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट कोइराला एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् ।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु क्षेत्रीय समितिले सहमति जुटेको क्षेत्रमा एकल र सहमति नजुटेको क्षेत्रमा आकांक्षीको नाम सिफारिस भएको बताउँछन् । युवाहरूकै समर्थनमा नाम सिफारिस भएको उनको दाबी छ ।

मोरङको क्षेत्र नम्बर ३ र ६ बाट एकल उम्मेदवारको नाम सिफारिस भएको थियो ।

क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालाको एकल नाम सिफारिस भएको छ । सो क्षेत्रबाट समानुपातिक सूचीका लागि राष्ट्रिय सभा संसदीय दलका पूर्वनेता रमेशजंग रायमाझी र डिला संग्रौलासँगै रुक्मिणी कोइराला, प्रमिलाकुमारी गच्छदार, मृदुला कोइराला, सीता पोखरेल र सरिता थापा मगरको नाम सिफारिस भएको छ । २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट कोइराला नै निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर ३ मा मेडिकल व्यावसायी डाक्टर सुनिल शर्माको एकल नाम सिफारिस भएको छ । २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट उनी नै निर्वाचित भएका थिए ।

यो क्षेत्रबाट पूर्वप्रदेश सांसद सूयर्माराज राईको नाम समानुपातिक सूचीमा छ । समानुपातिक सूचीमा बसन्त भट्टराई, अताबुल मन्सुर, भैसीदेवी खवास, पम्फा धिमाल, रुक्मीणी धिमाल र रेखबहादुर तामाङको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री डिकबहादुर लिम्बू र कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो र महिला नेतृ दिव्या बस्नेतको नाम प्रत्यक्ष तर्फ सिफारिस हुँदा समानुपातिक तर्फ सीता कार्की र इन्दुदेवी चौधरीको नाम सिफारिस भएको छ । २०७९ सालको निर्वाचनमा लिम्बू नै विजयी भएका थिए ।

मोरङको क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री महेश आचार्य, दिलीपकुमार गच्छदार, गुरुराज घिमिरे, विनोद बस्नेत र दुर्गा कोइरालाको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ । यो क्षेत्रबाट समानुपातिक तर्फ भक्तीनाथ माझी, विश्वनाथ रिजाल, रामकुमार विश्वकर्मा,  उदय राजवंशी, चन्दन चौधरी, मनोज परियार र विजय माझीको नाम सिफारिस भएको छ ।

मोरङको क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फूलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम प्रत्यक्ष तर्फ सिफारिस हुँदा समानुपातिक तर्फ रामनारायण केवरत, अर्जुन निरौला, सुवोधकुमार सिंह, जंगदेव साह, कमला श्रेष्ठ, आश्विनी मण्डल र मिना मुर्मुको नाम सिफारिस भएको छ ।

मोरङ सभापति भन्छन्- युवा अघि सरेनन्

नेपाली कांग्रेस मोरङ सभापति लिम्बू युवाहरूले दाबेदारी प्रस्तुत नगरेको बताउँछन् । ‘चुनाव लड्ने विषयमा युवाहरू तयार भइसकेका छैनन्, जबरजस्ती उभ्याउने विषय एउटा रहला,’ उनले भने,‘ अलिक परिपक्क र कायकर्ताले विश्वास गरेका साथीहरू नै सिफारिस भएर आउनु भएको छ ।’

हेर्दा युवालाई नदिएको जस्तो देखिए पनि युवाहरू अगाडि आउने परिस्थिति तयार भइनसकेको उनको भनाइ छ । ‘युवाहरू आउने परिस्थिति बनिरहेको छैन, बन्छ विस्तारै,’ उनले भने,‘ युवाहरू राजनीतिमा कति तयार भएका छन् भन्ने मुख्य विषय हो ।’

युवाहरू तयार नभएको अवस्थामा पार्टीका सिनियर नेताको नाम स्वभाविक रूपमा सिफारिस भएको उनले बताए ।

‘विस्तारै विस्तारै चुनाव लड्ने युवाहरू आउँछन्, यस्तै दबाब रह्यो भने अर्को पटक धेरै युवाहरू आउछन्,’ उनले भने,‘ अर्को पटकसम्म धेरै नेताहरूले रिटायरमेन्ट लिनुहुन्छ, म पनि लिन्छु, युवाहरू आउने वातावरण विस्तारै बन्छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?