+
+
Shares

ओलीलाई ‘फुटबलको पेले’ ठान्ने कृष्णगोपालले छाडे साथ, भने- उहाँबाट पीडित भएँ

उनले भने, ‘मदन भण्डारीको विचारले विकास भएको नेकपा एमालेभित्र विद्या भण्डारी अटेन । यो भन्दा अपराध र क्रुरता के हुन्छ ? उहाँजस्तै म पनि थिएँ । तर म पनि अट्न सकिनँ । उहाँको व्यवहारिक पक्षबाट अत्यन्तै पीडित भएँ ।’

दिनेश गौतम दिनेश गौतम
२०८२ मंसिर २९ गते १४:४६
Listen News
0:00
0:30
🔊

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा सचिव पदमा आफ्नो दाबी अघि सारेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेको घोषणा गरेका छन् ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले आफू ओलीको व्यवारिक पक्षबाट अत्यन्तै पीडित भएको घोषणा समेत गरे ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उनले आफ्नो उम्मेदवारी दर्ता गराइरहेको टेलिफोन सम्पर्कका क्रममा उनले जानकारी गराए ।

‘समयकाल परिस्थित अनुसार पार्टीको अहिलेको सन्दर्भमा आवश्यकता अनुसार मैले आफूलाई धेरै ठूलो पनि भनिनँ, सचिवमा चाहीँ जानुपर्छ भन्ने मेरो माग थियो,’ श्रेष्ठले भने, ‘मलाई उपाध्यक्षमा पनि प्रस्ताव आएको थियो । म उपाध्यक्षमा चाहीँ तयार भइनँ । सचिवमा आफूलाई अहिलेलाई यो पालि उपयुक्त छ भनेर अघि सारेँ । सचिवको नोमिनेशनका लागि नाम दर्ताका लागि लाइनमा बसिरहेको छु ।’

उनले आफू पार्टीको चौथो महाधिवेशनदेखि निरन्तर लागिरहेको भन्दै त्यतिबेला पनि सचिवमा उठ्छु भन्दा नाम काटिएको गुनासो समेत गरे ।

‘अहिलेको सान्दर्भिकतालाई हेरेर, पार्टीमा चौथो महाधिवेशनदेखि निरन्तर लागिरहेको छु । अहिलेसम्म यो त्यो भनेको छैन ।  नवौं महाधिवेशनमा नै मैले सचिवमा उठ्नुपर्छ भनेर अध्यक्षज्यूले प्रस्ताव गर्नुभएको थियो । त्यो बेलामा पनि मेरो नाम काटियो । दशौं महाधिवेशन पनि त्यस्तै त्यस्तै भयो,’ उनले भने ।

मदन भण्डारीको विचार अघि बढेको पार्टीमा विद्या भण्डारी समेत नअटेको भन्दै उनले गुनासो गरे ।

‘त्यो ठाउँमा पुर्‍याउनका लागि भूमिका खेल्नेहरूले यसबारे बुझ्दा हुन्छ । म भन्दा धेरै नजिक त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्थ्यो,’ उनले भने, ‘मदन भण्डारीको विचारले विकास भएको नेकपा एमालेभित्र विद्या भण्डारी अटेन । यो भन्दा अपराध र क्रुरता के हुन्छ ? उहाँजस्तै म पनि थिएँ । तर म पनि अट्न सकिनँ । उहाँको व्यवहारिक पक्षबाट अत्यन्तै पीडित भएँ ।’

अहिले कुनै पनि व्यक्तिलाई भगवान मान्ने कुरा नभएको उनको भनाइ थियो ।

‘अहिले कुनै व्यक्तिलाई भगवान मान्ने कुरा छैन । पार्टी भनेको सामुदायिक पहलबाट अघि बढ्ने हो,’ उनले भने । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि बचाउमा उनी अरो रुपमा प्रस्तुत भएका थिए ।

त्यतिबेला उनी शिक्षामन्त्री समेत थिए ।

ओलीको प्रतिरक्षामा त्यतबेला उनले दिएको एउटा प्रसंग निकै चर्चामा थियो । उनले भनेका थिए, ‘कोही माइकललाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने ? यो दुनियामा कोही माइकललाल जन्मेको छैन । केपी ओली इज् केपी ओली । फुटबलको पेलेजस्तै हो  ।’

तर उनै श्रेष्ठ एमालेको ११ औँ महाधिवेशनमा आइपुग्दा ओलीको कित्ता छोडेका छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?