+

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

२०८२ मंसिर  २९ गते १५:५३ २०८२ मंसिर २९ गते १५:५३
चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सकहरूले मुख पूरै छोपेर सुत्दा अक्सिजनको मात्रा १५ देखि २० प्रतिशतसम्म कमी हुने र निद्राको गुणस्तरमा असर पर्ने बताएका छन्।
  • यसरी सुत्दा शरीरमा कार्बनडाइअक्साइडको मात्रा बढ्ने, पसिना लाग्ने, छालाका समस्या र श्वासप्रश्वास सम्बन्धी जोखिम हुने चिकित्सकहरूले खुलाएका छन्।

जाडोको समयमा सुत्ने बेला बिछ्याउनामा पस्दा सुरुमा निकै चिसो महसुस हुन्छ । जब हाम्रो शरीरको तापक्रमले ओड्ने, ओछ्याउने तातो हुँदैन तलसम्म हामीलाई न्यानो अनुभव हुँदैन । यस्तो बेला सिरक तथा ओड्नेले पूरै मुख छोपेर सुत्ने बानी कतिपयमा हुन्छ । कसैकसैले सुत्दा अनुहारमा प्रकाश नपरोस् भनेर पनि पूरै अनुहार छोपेर सुत्ने गर्छन् ।

यसरी सुत्दा तत्काललाई केही न्यानो त हुन्छ तर यसरी मुख छोपेर सुत्नु धेरै कोणबाट हानिकारक हुने चिकित्सकहरू बताउँछन् ।

ओड्नेले पूरै अनुहार ढाकेर सुत्दा के हुन्छ त ?

चिकित्सकहरूका अनुसार यसरी मुख छोपेर सुत्दा हामीले श्वास फेर्दा लिने अक्सिजनको मात्रा १५ देखि २० प्रतिशतसम्म कमी हुन्छ । शरीरलाई आवश्यक अक्सिजन ग्रहण गर्नका लागि हाम्रो फोक्सोले धेरै बल लगाउनुपर्छ ।

यसले गर्दा श्वास फेर्न असजिलो महसुस हुने र बेलाबेला निद्रा खुल्ने हुन्छ । निद्राको गुणस्तरमा कमी आउँछ । बेचैनी महसुस हुने, चिडचिडापन हुने, श्वास फुल्ने समस्या हुनसक्छ ।

मुख पूरै ढाकेर सुत्ने बानी निरन्तर भइरहँदा बिहान जिउ भारी हुने, थकान महसुस हुने हुन्छ । यसका साथै टाउको दुख्ने र श्वास–प्रश्वाससम्बन्धी स्वास्थ्य समस्याको जोखिम धेरै हुन्छ ।

सिरकभित्र ताजा हावाको प्रवाह कम हुन्छ । श्वास फेर्दा हामीले फालेको हावा गुम्सिएर भित्रै बसेको हुन्छ । यसो हुँदा एक पटक फालेको हावा फेरि श्वास फेर्दा हामी भित्र तानिरहेका हुन्छौँ ।

यसले गर्दा शरीरमा आवश्यक अक्सिजन नपुग्ने र शरीरमा कार्बनडाइअक्साइडको मात्रा बढ्ने हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने जोखिम हुन्छ ।

यसरी सुत्दा आवश्यकता भन्दा बढी शरीरको तापक्रम बढ्छ । शरीर पसिनाले भिज्न सक्छ । गहिरो निद्राका लागि शरीरले केही चिसो वातावरण खाजेको हुन्छ । सुतेको बेला शरीरमा पसिना आएमा एकछिन पछि त्यही पसिनाका कारण बढी चिसो महसुस हुनसक्छ । शरीरमा पानीको मात्रा कम भएर तिर्खा लाग्न सक्छ ।

पसिनाका कारण कोही व्यक्तिलाई चिलाउने, छालामा दाग बस्ने, बिबिराहरू आउने जस्ता छालाका समस्या पनि हुनसक्छन् ।

यदि दम वा श्वास–प्रश्वास सम्बन्धी रोग भएका व्यक्ति भएमा पूरै मुख छोपेर सुत्ने बानी झनै हानिकारक हुनसक्छ । शरीरमा अक्सिजनको आपूर्ति कम भएर रोगले च्याप्न सक्छ । श्वास–प्रश्वास सम्बन्धी समस्या भएका र बालबालिकामा भने यो बानीले ज्यानै जोखिममा पनि पार्न सक्छ ।

के गर्ने ?

सबैभन्दा मुख्य कुरा पूरै मुख छोपेर सुत्ने बानी तत्काल हटाउनुपर्छ । कतिपयलाई लामो समयदेखि बानी परेकाले अनुहार नछोपी निदाउन केही दिन कठिन हुनसक्छ, बिस्तारै बानी पार्दै जानुपर्छ ।

तातोका लागि नाक, मुख समेत छोपेर सुत्नुको सट्टा कोठालाई न्यानो बनाउने सुरक्षित विधिहरू अपनाउन सकिन्छ । टाउको तथा कानहरू छोप्ने गरी टोपी लगाउने र अनुहार खुल्ला राखेर सुत्दा थप न्यानो र सुरक्षित हुन्छ । सुत्नु भन्दा अगाडि केही मिनेट शरीर तताउने कसरतहरू गरेमा बिस्तारामा पस्दा चिसो महसुस हुँदैन ।

सुत्नेबेला सकेसम्म कोठा अँध्यारो राख्ने । कुनै बाहिरी प्रकाशको कारण निदाउन कठिन परेको छ भने आँखा ढाक्ने मास्कको प्रयोग गर्न सकिन्छ ।

जाडो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’