News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कर्जा दिलाइदिन्छु भन्दै बिचौलिया सक्रिय र भ्रष्टाचार हुने बताएका छन्।
- गभर्नर पौडेलले बैंकिङ क्षेत्रमा कर्जा र धितो बिक्रीमा भ्रष्टाचार हुने गुनासो आएको र राष्ट्र बैंकले यसलाई क्षम्य नलिने बताए।
- पौडेलले आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीतिमा परिमार्जन गरेको र बैंकका शाखा बन्द गर्ने बाटो खोलिदिएको जानकारी दिए।
२१ मंसिर, कठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाबाट कर्जा दिलाइदिन्छु भन्दै बिचौलिया सक्रिय छन् भने त्यहाँ भ्रष्टाचार हुने बताएका छन् ।
पछिल्लो समय कर्जाका लागि पनि बिचौलियाले पैसा मागेर कर्जा मिलाइदिने अभ्यास देखिएको पौडेलले बताए ।
कर्जाका लागि बिचौलिया मार्फत जानुपर्ने विषयमा राष्ट्र बैंकमा गुनासो आएको उनको भनाइ छ ।
‘मधेश प्रदेशमा जाँदा एउटा गुनासो आयो, ऋण मिलाइदिन्छु भन्दै बैंकका शाखा प्रबन्धककोमा हिँड भन्ने बिचौलियाहरू सक्रिय भएको सुनियो,’ उनले भने ।
केन्द्रीय बैंक त्यसलाई सम्बोधन गर्ने रणनीतिको तयारीमा लागेको उनले बताए । ‘बैंकिङ क्षेत्रमा कर्जा र धितो बिक्रीमा भ्रष्टाचार हुने धेरै गुनासो आउने गरेको छ,’ पौडेलले भने, ‘कर्जाको धितो बिक्री गर्दा लो प्राइस बिक्री गरेको भन्ने र लोन मिलाइदिन्छु भनेर पैसा माग्नु भनेको भ्रष्टाचार हो ।’
सरकारी बैंकहरूका हकमा यस्ता सरकारी निकायले नै हेर्ने भए पनि निजी क्षेत्रका हकमा केन्द्रीय बैंकले गम्भीर रूपमा लिने गभर्नर पौडेलको भनाइ छ ।
बैंकिङ प्रणालीको कर्जा एकदमै स्वच्छ, सफा र अनुशासित वातावरण मार्फत योग्यले पाउनुपर्ने उनको भनाइ छ । कुनै पनि व्यक्तिले अर्काको कोल्याटरल (धितो) सस्तोमा बेचेर फाइदा उठाउने, अप्ठ्यारोमा पार्ने, आर्थिक स्थिति अप्ठ्यारो भएको व्यक्तिसँग फाइदा उठाउन खोज्नु भ्रष्टाचार ठहर्ने उनले बताए । ‘राष्ट्र बैंकले यसलाई क्षम्य रूपमा लिने छैन,’ उनले भने ।
त्यस्तै आर्थिक गतिविधि चलायमान बनाउन राष्ट्र बैंकले विभिन्न नीति परिमार्जन गरेको गभर्नर पौडेलले बताए । ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउन सहज बनाएका छौं,’ उनले भने, ‘महानगरमा रहेका धेरै बैंकका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौं ।’
बैंकहरूका हकमा हामीले राम्रो नाफा र लगानी गरेर डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिमा सहयोग पुगोस् भनेर नै राष्ट्र बैंकले काम गरिरहेको गभर्नर पौडेलले बताए ।
‘बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिइरहेका छौं, तर यसमा सही के हो र गलत के हो भनेर पोलिसी तयार पार्छौं,’ उनले भने, ‘सबैको गुनासो हेरेर हामी अगाडि बढ्ने गरेका छौं ।’
बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पैसा लगानी गर्न राष्ट्र बैंक केन्द्रित रहेको उनले बताए ।
‘अर्थतन्त्रको मुभमेन्ट मास साइकोलोजीमा भर पर्छ, गएको १० वर्षमा धेरै परिवर्तन भएको छ,’ गभर्नर पौडेलले भने, ‘यो बीचमा हिमालयन जाभादेखि आईटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ, विभिन्न ठाउँमा सडक तथा पूर्वाधारमा राम्रो प्रगति भएको छ ।’
श्रीलंका अप्ठ्यारो अवस्थामा पुगेर पनि सुधारको गति समातेकाले नेपालले पनि गति समात्नेमा गभर्नर पौडेलले आश्वासन दिए ।
अहिले मनोबल कमजोर रहेकाले यसलाई उकास्नुपर्ने आवश्यकता रहेको पौडेलले बताए । ‘हामी आर्थिक नीतिहरूमा बलियो छौं तर मनोबल कमजोर छ, कमजोर मनोबल उकास्न राम्रा विषयमा केन्द्रित रहनुपर्छ,’ उनले भने, ‘निर्यातमा राम्रो गरिरहेका अलैँची जस्तालाई बढावा दिनुपर्छ, जे चाहिन्छ त्यसका लागि हामी राम्रा लाइनमा जान सकिन्छ ।’
सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिले समेत नेपालमा केही नहुने भन्दै आफ्ना सन्तान विदेश पलायन गराएको गभर्नर पौडेलको आरोप छ ।
‘एक दशकभन्दा बढी यो देशमा केही हुँदैन भनेर छोराछोरी सबैलाई विदेश पठाइयो,’ नेपाल आर्थिक पत्रकार संघको साधारणसभामा आइतबार गभर्नर पौडेलले भने, ‘उनीहरू सबैलाई फर्काएर ल्याउनुपर्छ तर उनीहरूलाई ल्याएर मन्त्री बनाउने र राजनीतिक दौडमा लैजान हुँदैन ।’
कुनै पनि कुरा रातारात गर्छु भन्ने कुनै फर्मुला नहुने भएकाले बिस्तारै गर्दै जानुपर्ने गभर्नर पौडेलको भनाइ छ । ‘फेलियर’ हुनु भनेको ‘पार्ट आफ बिजनेस’ नभएकाले नराम्रो होइन, राम्रो स्टोरीहरूको प्राथमिकता दिनुपर्ने उनले बताए ।
‘म मीनबहादुरजीलाई हेर्छु, उहाँले दुई महिनामा गरेर देखाउँछु भन्नुभएको थियो, त्यस अनुसार उहाँले गरेर देखाउनु समेत भयो,’ गभर्नर पौडेलले भने ।
कालोसूचीको व्यवस्थाबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको उनले बताए । ‘हाम्रोमा धेरै कालोसूचीमा परेका छन्, निर्माण उद्योगमा माइक्रोफाइनान्स जस्तो मोडेल भइरहेको छ,’ उनले भने, ‘एउटाले राम्रो गरेन भने सबैलाई राखेजस्तो भएको छ ।’
प्रतिक्रिया 4