१० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् ।
यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक तनावलाई थप बढावा दिएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्याण्डमा धेरै मानिसहरू बिरामी परेको र उनीहरूको उचित उपचार नभएको दाबी गर्दै जहाज पठाएको बताएका छन्।
यो मिशन लुजियानाका गभर्नर तथा ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूत जेफ ल्यान्ड्रीसँगको समन्वयमा अघि बढाइएको हो ।
सन् २०२५ को अन्त्यदेखि नै ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने इच्छा व्यक्त गर्दै आएका छन्। यसअघि उनले ग्रिनल्याण्ड नदिएमा डेनमार्कमाथि भारी भन्सार शुल्क लगाउने चेतावनी समेत दिएका थिए।
डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूले ट्रम्पको यस प्रस्तावलाई बारम्बार अस्वीकार गर्दै “ग्रिनल्याण्ड बिक्रीका लागि होइन” भन्दै आएका छन् ।
अमेरिकी अस्पताल जहाज कुन आधारमा पठाइएको हो र यसका लागि अनुमति लिइएको छ वा छैन भन्नेबारे डेनमार्कले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
यो घटनालाई विज्ञहरूले ग्रिनल्याण्डमा अमेरिकी प्रभाव बढाउने ‘सफ्ट पावर’ रणनीतिको रूपमा हेरेका छन्। सन् २०२६ को सुरुवातमै ट्रम्पले ग्रिनल्याण्ड नियन्त्रणका लागि बल प्रयोग गर्न सक्ने संकेत दिएपछि नेटो सहयोगी राष्ट्रहरूबीच खैलाबैला मच्चिएको थियो ।
प्रतिक्रिया 4