८ फागुन, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा व्यापक रूपमा लगाइएका आपतकालीन भन्सार शुल्क (ट्यारिफ) अवैध ठहर गरेको छ । शुक्रबार सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पले एकल निर्णयमार्फत विश्वभरका व्यापक मात्रामा ट्यारिफ लगाउँदा संघीय कानुन उल्लंघन गरेको ठहर गरेको समाचार अमेरिकी सञ्चार संस्था सिएनएनले लेखेको छ ।
राष्ट्रपतिको विदेश नीति र आर्थिक एजेन्डाको केन्द्रीय विषय रहेको मुद्दामा ह्वाइट हाउसका लागि यो ठुलो झट्का मानिएको छ । यो निर्णय ट्रम्प प्रशासनले परम्परावादी बहुमत रहेको सर्वोच्च अदालतबाट भोगेको सम्भवत: सबैभन्दा ठुलो हार मानिएको छ ।
गत वर्ष आप्रवासन, स्वतन्त्र निकायका प्रमुखहरूको बर्खास्ती तथा सरकारी खर्चमा गहिरो कटौतीसम्बन्धी आपतकालीन आदेशहरूमा अदालतले पटक–पटक राष्ट्रपति ट्रम्पको पक्ष लिएको थियो ।
मुख्य न्यायाधीश (चिप जस्टिस) जोन रोबर्ट्सले बहुमतको निर्णय लेख्दै ६-३ को मतले ती ट्यारिफहरू कानुनको सीमाभन्दा बाहिर गएको निष्कर्ष निकालेको बताएका छन् ।
‘राष्ट्रपतिले एकल निर्णयमार्फत असीमित रकम, अवधि र दायरामा भन्सार शुल्क लगाउने असाधारण अधिकार दाबी गरेका छन्,’ रोबर्ट्सले अदालतका तर्फबाट लेखेका छन्, ‘त्यस्तो अधिकारको व्यापकता, इतिहास र संवैधानिक सन्दर्भलाई दृष्टिगत गर्दा, त्यसको प्रयोग गर्न स्पष्ट रूपमा कंग्रेस(संसद्)बाट अनुमति प्राप्त भएको देखाउनुपर्छ ।’
ट्रम्पले भर पर्न खोजेको आपतकालीन अधिकार ‘पर्याप्त नभएको’ अदालतले भनेको छ ।
प्रतिक्रिया 4