+
+
Shares

भोट दिन्छौँ, काम देऊ

प्रधानमन्त्री, मन्त्री र नेता बिरामी हुँदा विदेश लगेर उपचार हुन्छ । तर जनता सिटामल नपाएर मर्नुपर्ने तितो यथार्थले उनहरूलाई पोल्छ ।

दिनेश गौतम पूर्णिमा कार्की दिनेश गौतम, पूर्णिमा कार्की
२०८२ फागुन ८ गते १३:२३

मेरो पहिलो भोट शृङ्खला–४

एकै पटकमा आमूल परिवर्तन हुँदैन । तर, एक पटक गरेको सही निर्णयले परिवर्तन सम्भव छ । त्यो निर्णय गर्ने समय अहिले आएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार स्क्वायरमा भेटिएका युवाहरूको विश्लेषण हो यो ।
वसन्तपुरमा भेटिएकी सोनिया सुवेदी देशमै उज्यालो भविष्य देख्छिन् ।

‘इमानदारिताका साथ काम भयो भने विकास हुन्छ । विकास एकै पटकमा हुँदैन । यो त विस्तारै हुने प्रक्रिया हो,’ उनले भनिन् ।

देशमा केही नभएको हो त ? होइन ।

यहीँ छन् विश्वसम्पदा सूचीमा सूचीकृत धरोहरहरू ।  मूर्त-अमूर्त सम्पदा संस्कृति । हिमाल, पहाड, तराई ।

‘यी हाम्रा पूँजी हुन् जसलाई विश्वसामु चिनाउनु छ । तर चिनाउने सही प्रतिनिधि नभएका हुन्,’ उनीहरूको निष्कर्ष छ ।

मेरो पहिको भोट शृङ्खलाको लागि गोधुली साँझमा अनलाइनखबरको टिम वसन्तपुर पुगेको थियो ।

जहाँ आइपुगेका थिए– देशका कुनाकाप्चाबाट युवाहरू । आफूले चाहेको प्रतिनिधिबारे उनीहरूले खुलेर मत राखे । उनीहरू यो मत आवाजमा मात्र होइन यस पटक ब्यालेटमा पुर्‍याउने योजनामा छन् ।

प्रतिनिधि बदल्छौं, परिवर्तन ल्याउँछौँ

विकासको सपनालाई यथार्थमा बदल्न प्रतिनिधि पनि बदल्ने मनस्थितिमा देखिए, युवाहरू ।

‘बाउबाजेको पालामा जस्तो अवस्था सधैं दोहोरियो । अब यस पटक केही फरक होला भन्ने लाग्छ,’ प्रकाशले खत्रीले भने, ‘हामी परिवर्तन पर्खिरहेका छौं ।’

चुनाव आउँदा सबै आउने, सकिएपछि नफर्किने परम्पराको अन्त्य खोजेका छन् उनीहरूले । ‘सडक वर्षौंसम्म बन्दैन । तर चुनाव आउँदा डोजर र एक्साभेटर सबै आउँछ । पछि कसैले वास्ता गर्दैनन् । यसमा परिवर्तन गर्ने प्रतिनिधि चाहिएको छ,’ उनले भने ।

पहुँचको आधारमा होइन आवश्यकताको आधारमा बजेट विनियोजनमा सहजीकरण गर्ने प्रतिनिधि युवाले चाहेका छन् । ‘पहिले फन्डहरू सही रूपमा उपयोग नभएको देखियो । अब सही प्रतिनिधि आउनुपर्छ । आवश्यकताको आधारमा विनियोजन हुनुपर्छ,’ उनले भने ।

सरिना घिमिरे भाषण मात्र होइन काम गर्ने नेतृत्व खोजिरहेकी छिन् । ‘बोल्नेभन्दा काम गर्ने नेतृत्व चाहिन्छ,’ उनले भनिन् ।

यसमा सहमति जनाउँछन् पवन केसी । ‘प्रचारमुखी धेरै भयो । विज्ञापनमा धेरै कुरा गरिन्छ । तर क्षेत्रमा प्रगति निकै कम छ । अब काम गर्ने प्रतिनिधिलाई भोट दिने हो,’ उनले भने ।

नेता मात्र होइन जनता पनि सुध्रन आवश्यक देख्छन् उनीहरू । देशमा विकास नहुनुमा नेता मात्र होइन जनता पनि उत्तिकै जिम्मेवार रहेको निचोड उनीहरूको छ । ‘परिवर्तन सम्भव छ, तर जनता र नेता दुवै इमानदार हुनुपर्छ,’ सोनियाले भनिन् ।

विकासका लागि नेता र जनता एक अर्कामा परिपूरक मान्छन् युवाहरू । ‘माथिल्लो तहले तल्लो तहका लागि काम गर्नुपर्छ र तलबाट पनि सहयोग हुनुपर्छ,’ सरिनाले भनिन् ।

काम देऊ, देशमै बस्छौं

युवाले आश्वासनका पोका र भाषण मागेका छैनन् । देशमै परिवारसँग बसेर काम गर्ने वातवरण मागेका छन् । विदेशिने रहर उनीहरूलाई छैन । अवसरको खोजीमा उनीहरू विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका हुन् । अब काठमाडौंबाट विदेश उड्न बाध्य नपार्न नेताहरूलाई सचेत गराउँछन् ।

‘अहिलेसम्म विदेश जाने सोच छैन । यदि नेपालमै विकास भयो भने किन विदेश जाने ? तर अवसर भएन भने बाहिर जाने विकल्प त रहन्छ नि,’ पवनले भने ।

पेमा विदेश गएकी थिइन् तर चुनावको लागि नेपाल फर्किइन् । देशमै केही गर्छु भनेर फर्किएकी हुन् उनी । ‘यो चुनावले केही परिवर्तन ल्याउँछ कि भनेर फर्किएको हुँ,’ आशावादी हुँदै उनले सुनाइन्, ‘यदि फेरि उही अवस्था दोहोरियो भने बाहिर जान सक्छु । राम्रो भयो भने देशमै केही गर्ने सोच छ ।’

भोट फर राइट पर्सन’

एक मतले कतै सही उम्मेदवार हार्ने त होइन ? यस पटक उनीहरू सचेत देखिएका छन् । रोजगार, शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा भिजन बोकेको व्यक्तिलाई रोज्ने उनीहरूको योजना छ ।

‘भोट फर राइट पर्सन,’ प्रकाशले भने, ‘आफन्त हेरेर होइन । योग्यता हेरर भोट दिनुपर्छ ।’ देशको स्वास्थ्य प्रणालीमा पनि उनले प्रश्न उठाए ।

एउटा प्रधानमन्त्री, मन्त्री र नेता बिरामी हुँदा विदेश लगेर उपचार हुन्छ । तर जनता सिटामल नपाएर मर्नुपर्ने तितो यथार्थले उनलाई पोल्छ ।

‘प्रधानमन्त्री, मन्त्री र नेताहरू उपचार गर्न विदेश जान्छन् । तर आम नागरिकले उपचार पाउँदैनन् । यो अवस्था दुःखद अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने । देशमै दक्ष चिकित्सक सहितको अस्पताल हुनुपर्ने आवाज उनीहरूको छ ।

यद्यपि, पहिलो पटक मत दिन भने उनीहरू उत्साहित छन् । ‘पहिलो पटक भोट गर्दै गर्दा एक्साइटेड छु । केही परिवर्तन आउँदैछ भन्ने महसुस भइरहेको छ । आफ्ना प्रतिनिधिले अब केही परिवर्तन ल्याउलान् कि भन्नेमा म आशावादी छु । माथि प्रतिनिधित्व राम्रो भयो भने तलसम्म पनि राम्रो प्रभाव पर्छ भन्ने विश्वास छ,’ सोनियाले भनिन् ।

उनीहरू पहिलो पटक मत दिन २१ फागुन पर्खिरहेका छन् ।

नयाँ पुस्तालाई हस्तान्तरण

पटक–पटक मत माग्न आएर संसद् पुगेकालाई यस पटक आराम गर्न उनीहरूले अनुरोध गरे । अब देशको अवस्था सुधार गर्न नयाँ पुस्तालाई मौका दिनुपर्ने तर्क उनीहरूको छ ।
‘अहिले पुरानाभन्दा नयाँ नेतृत्वलाई समर्थन गरिरहेका छौं । पुरानाले अपेक्षाअनुसार काम गरेनन्,’ भुवनबहादुर बुढाले भने, ‘जनताको समस्या बुझ्ने र काम गरेर देखाउने प्रतिनिधि हुनुपर्छ ।’

प्रेमबहादुर बोगटी पनि नयाँ पुस्तालाई मौका दिनुपर्नेमा जोड दिन्छन्  ।

‘देशको मुहार फेर्न हाम्रो भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले नयाँ नेतृत्व छान्नु पर्छ । नयाँ नेतृत्वले साँच्चै काम गर्छ कि गर्दैन भन्नेमा पूर्ण भरोसा त छैन । तर मौका दिनैपर्छ,’ उनले भने, ‘भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्न यस पटक प्रतिनिधि बदल्नु पर्छ ।’

नयाँ–पुराना सबै दलबाट नयाँ प्रतिनिधि उनीहरूले खोजेका हुन् । ‘पुराना नेताहरूले आफ्नै स्वार्थ मात्रै हेरे । गाउँ–ठाउँको विकास हेरेनन् । अब आउने नयाँ नेतृत्वले केही गर्छ कि भन्ने आशा र विश्वास लिएका छौँ,’ उनीहरूले भने ।

तस्वीर-भिडियो : शंकर गिरी/कमल प्रसाईं अनलाइनखबर

मेरो पहिलो भोट शृङ्खला-१

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

मेरो पहिलो भोट शृङ्खला-२

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

मेरो पहिलो भोट शृङ्खला-३

पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट 

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

पूर्णिमा कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?