+
+
Shares

ओली-बालेनलाई कन्काईको बाँसेपुल तर्न लाग्नेछ सय रुपैयाँ

ओली बालेन र अरु उम्मेदवारका लागि यो आम चुनावमा कन्काई पुलको बाँकी काम चुनावी एजेन्डा पक्कै बन्ने छ । तर यसको कार्यान्वयन भने अझै पनि शंकाको घेरामा रहेको स्थानीयको गुनासो छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन ५ गते ८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काइ माइखोलामा १४ वर्षदेखि अलपत्र परेको पुलको पुनर्निर्माणमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरेको छ।
  • स्थानीय सुमन माझीले भाटे पुलबाट मोटरसाइकल यात्रुबाट १०० रुपैयाँ, साइकलबाट ५० रुपैयाँ र पैदल यात्रुबाट २० रुपैयाँ शुल्क उठाउने काम निरन्तरता दिएका छन्।
  • रतुवा नदीमा १७ वर्षपछि बनेको पुलले स्थानीय आवतजावत सहज बनाएको छ भने कन्काइ पुलको बाँकी काम आगामी चुनावको एजेन्डा बनेको छ।

५ फागुन, झापा । हुलाकी सडक अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काइ माइखोलाको अलपत्र पुलमुनी बाँसको भाटे पुल छ । पुलमा मोटरसाइकल र साइकल यात्रुको चाप छ, भाटे पुलको छेउमा बसेर यात्रुसँग पैसा उठाइरहेका छन्, सुमन माझी (१७)

सुमनले आफ्ना बुबा सुदानन्द, हजुरबुबा ईश्वरले गरेकै कामलाई निरन्तरता दिएका हुन् । अहिले बुबा र हजुरबुबालाई उनले पालो दिएका छन् ।

भाटे पुल तर्दा मोटरसाइकल र यात्रुसँग १०० रुपैयाँ उठाउँछन् । साइकलको ५० रुपैयाँ र हरेक व्यक्तिसँग २० रुपैयाँ उठाउँछन् । गत वर्षसम्म मोटरसाइकलको ५० रुपैयाँ थियो । यो वर्षपछि १०० रुपैयाँ उठाइरहेका छन् ।

१०० रुपैयाँ तिर्दा दिनभर जतिपटक यात्रा गरे पनि पैसा नलाग्ने नियम उनले बनाएका छन् । उक्त भाटे पुल हुँदै दैनिक २०० बढी मोटरसाइकल आवतजावत गर्ने स्थानीयहरू बताउँछन् । सुमन भने ३०-४० वटा मात्रै आउजाउ गर्ने दाबी गर्छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली यसै आसपासका मतदाताबाट निर्वाचित भएर चार पल्ट त प्रधानमन्त्री नै बने । भावी प्रधानमन्त्री भन्दै रास्वपाको उम्मेदवार बालेन शाहलाई पनि यतैतिरका मतदाता मनाएर मत तान्नुछ ।

पुलमा उनीहरू पुगे भने पनि सय रुपियाँ नतिरी सुमनसहितले पुल तर्नै दिँदैनन् ।

सुमनले सानै हुँदा यहाँ पक्की पुल निर्माणको सुरु गरेका थिए ।तर त्यो पुरा भउको छैन । ‘हजुरबुबाले यही काम गर्नु भएको थियो, त्यसपछि बुबाले , अहिले म पनि खटिएको छु,’ उनले भने,‘ अहिले पुल छ हामीले बनाएको, बर्खामा नाउ (डुंगा) चलाउँछौं ।’ पुल भन्दा केही पर नाउ राखिएको छ ।

हुलाकी सडकले गौरीगञ्ज गाउँपालिका-१ लाई छुन्छ । यो वडा झापा क्षेत्र नम्बर ४ मा पर्छ । गौरीगञ्जको ३, ४, ५, ६ वडा पूर्वप्रधानमन्त्री शर्मा ओली निर्वाचित हुँदै आएको झापा-५ मा पर्छ ।२०४८ सालदेखि ओली निरन्तर (२०६४ बाहेक) यो क्षेत्रबाट चुनाव जित्दै आएका छन् ।

महेन्द्र राजमार्ग स्तरउन्नतीका कारण हुलाकी सडकमा सवारी चाप छ । पुल नहुँदा यात्रु महंगो शुल्क तिरेर यात्रा गर्न बाध्य छन् । चर्को शुल्क अशुल्ने गरी सुमनका हजुरबुबा ईश्वरले ठेक्का लिएका हुन् । गौरीगञ्ज गाउँपालिकाले टेण्डर निकालेर ईश्वर माझीलाई ठेक्का दिएको गौरीगञ्ज १ का वडाध्यक्ष कात्तिकलाल राजवंशीले जानकारी दिए ।

‘पालिकाले बर्खामा दुई वटा नाउ चलाउनका लागि ठेक्का दिएको छ हिउँदमा उहाँहरुले नै पुल बनाउनु हुन्छ,’ उनले भने,’ पालिकाले मोटरसाइकलमा आउजाउ गरेको ८० रुपैयासम्म लिनेगरी ठेक्का दिएको हो ।’

१०० रुपैयाँ लिने गरेको गुनासो आएपछि आफूले ठेकेदारलाई सम्झाएको उनी बताउँछन् । ‘मैले गुनासो नआउने गरी शुल्क उठाउनू भनेको छु,’ उनले भने,’ पालिकाले नाउ चलाउने ठेक्का लगाएको हो, धेरै पैसा लियो भनेर गुनासो आउँछ बेलाबेलामा ।’

हुलाकी सडकअन्तर्गत कन्काइमाई नदीमा पुल निर्माण सुरु गरेको १४ वर्ष बित्यो । यो पुलले झापा ५ पर्ने गौरीगञ्ज गाउँपालिकालाई छुन्छ ।

पुलछेउमा भेटिएका गौरीगञ्ज बजारका इन्द्रप्रसाद ताजपुरिया खोला वारपार गर्न दुःख भएको बताउँछन् । ‘झापा बजार जाँदा दु:ख पाइन्छ, पुल बन्न थालेको १४ वर्ष भयो,’ उनले भने,‘ बाँसको पुलमा हिँड्दा एउटा मान्छे र बाइकको १०० रुपैयाँ लाग्छ ।’

उनका अनुसार एक महिना हिँड्दा ३ हजार तिर्नुपर्छ । ‘जनतालाई सुविधा होस्, पुल बनोस, बर्खामा महेन्द्र राजमार्ग हुँदै घुम्नुपर्ने हैरानी छ,’ उनले भने,‘ यो बाटो बन्यो भने सजिलो हुन्छ ।’

२०६८ सालमा पप्पु–महादेव–खिम्ती जेभीले ठेक्का लिएको यो पुलको करिब आधा खण्ड निर्माण भएको छ । पाँचपटक म्याद थप्दा पनि काम नभएपछि गत मंसिर ११ गते तत्कालीन सरकारले ठेक्का सम्झौता तोडेको थियो ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पुर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ २६ असोजमा स्थलगत निरीक्षणका लागि यहाँ आएका थिए । उनकै निर्देशनअनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु भएको थियो ।

सात सय मिटर लामो पुल १ जेठ ०६८ मा पप्पु र महादेव– खिम्ती जेभीले २९ जेठ ०७२ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । पाँचौँपटकको म्याद थप गर्दा ५६ प्रतिशत मात्र काम सकिएपछि ठेक्का सम्झौता तोडिएको थियो ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासका अनुसार नयाँ पुल निर्माणको ठेक्का प्रक्रियाअघि बढाउन अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताका लागि पठाएको फाइल अस्विकृत भएको छ ।

अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता नगरेका कारण पुलको पुन: ठेक्का प्रक्रिया अन्योल बनेको छ । ‘नयाँ पुल ठेक्काका लागि १६५ करोड सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल गएको थियो, उनले भने,’ हामीले नयाँ पुल निर्माण गर्ने भनेका छौं, अहिलेको संरचना प्रयोग गर्न मिल्ने नमिल्ने परीक्षण भएको छैन ।’

रतुवामा बन्यो पुल

झापामा रहेका ठूला दुई नदी कनकाइ र रतुवा ।रतुवाको पुल भने १७ वर्षपछि बन्यो । १७ वर्षमा बनेको पुलको उद्‌घाटन गत असार २९ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरे । यो पुलले झापाको गौरीगञ्ज र मोरङको रतुवामाइ नगरपालिका जोड्छ ।

विस २०६४–६५ मा सुरु भएको पुलको काम रोकिएपछि २०७९ सालमा नयाँ ठेक्का लागेको थियो । पुल नहुँदा स्थानीयबासी बर्खामा डुङ्गा र हिउँदमा बाँसको पुलबाट यात्रा गर्न बाध्य थिए । पुल बनेपछि भने रतुवाको अवस्था सामान्य बनेको छ । कन्काइ पुलको ठेक्का सम्झौता तोडिएपछि ठेकेदार अदालत पुगेका छन् । नयाँ टेण्डरका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगर्दा अन्योल भएको छ ।

आसन्न आम चुनावमा कन्काइ पुलको बाँकी काम चुनावी एजेन्डा बन्न थालेका छन् । तर यसको कार्यान्वयन भने अझै पनि शंकाको घेरामा रहेको स्थानीयको गुनासो छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?