News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सञ्जालमा नक्कली अकाउन्टहरूको संख्या ह्वात्तै बढेको छ, जसले ठगी, मिथ्या जानकारी फैलाउने र व्यक्तिगत विवरण चोरीको जोखिम बढाएको छ।
फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरूले हामीलाई विश्वसँग जोड्छन् । तर अहिले यी प्लेटफर्महरूमा एउटा समस्या देखिन थालेको छ । त्यो भनेको नक्कली अकाउन्टहरूको संख्या ह्वात्तै बढ्नु हो ।
मुलत: यस्ता अकाउन्टहरूबाट ठगी हुने, मिथ्या जानकारी फैलाउने वा व्यक्तिगत विवरण चोरी गर्ने जस्ता जोखिमहरू हुन्छन् । आसन्न निर्वाचनको छेको पारेर यस प्रकारका अकाउन्टहरूको संख्या ह्वात्तै बढेको भनी सार्वजनिक वृत्तमा कुरा हुन थालेको छ ।
सामान्यतया: नक्कली अकाउन्टहरू बट (स्वचालित सफ्टवेयर/प्रोग्राम) वा मान्छेहरूबाटै अर्कै फरक उद्देश्यका लागि बनाइएका हुन्छन् । तर, यस्ता अकाउन्टहरूमा केही संकेत हुन्छन्, जसबाट यी नक्कली हुन् हैनन भनेर चिन्न सकिन्छ ।
१. भेरिफाइड ब्याजको जाँच गर्ने
आधिकारिक अकाउन्टहरूमा सामान्यतया नीलो वा हरियो चिन्ह (अकाउन्टको प्रकृतिअनुसार) हुन्छ । त्यसमार्फत हामीले उक्त अकाउन्ट वास्तविक र आधिकारिक हुन् भन्ने विश्वास गर्न सक्छौं । यदि यस्तो चिन्ह छैन र त्यस्तै देखिने गरी इमोजीहरू प्रयोग गरिएका छन् भने ती नक्कली हुने सम्भावना बढी हुन्छ ।
२. प्रोफाइल फोटो र बायो हेर्ने
प्रोफाइल फोटोमा यदि वास्तविक मान्छेको फोटो छैन भने सर्तक हुनुपर्छ । कतिपय वास्तविक अकाउन्टमा व्यक्तिको फोटो नराखेर अन्य फोटोहरू पनि राखिरहेका हुन्छन् । तर, त्यसलाई रिभर्स इमेज सर्च (जस्तै, गुगल लेन्स)मार्फत खोजेर अन्य अकाउन्टमा प्रयोग गरेको भेटिए त्यस्ता अकाउन्ट नक्कली हुन सक्छ ।
त्यस्तै यदि बायो अथवा व्यक्तिगत जानकारी अधुरो वा सामान्य छ, त्यसमा नाम, पेशा, स्थान जस्ता विवरणहरू स्पष्ट पारिएका छैनन् भने पनि ती नक्कली हुन सक्छन् ।
३. फलोअर र फलोइङको अनुपात हेर्ने
नक्कली अकाउन्टहरूमा प्रायः धेरै फलोइङ (उनीहरूले फलो गरेका) हुन्छ । तर फलोअर (उनीहरूलाई फलो गर्ने) को संख्या कम हुन्छ । यसबाहेक फलोअर बढी भएर इन्गेजमेन्ट (लाइक्स, कमेन्ट) अत्यन्तै न्यून छ भने त्यो पनि नक्कली अकाउन्टनको संकेत नै हो । यदि हजारौं फलोअरहरू छन् तर पोस्टहरूमा कुनै कमेन्ट वा लाइक छैनन् अथवा कमेन्टमा इमोजीहरू मात्र छन् अनि कमेन्ट पोस्टसँग सम्बन्धित छैन भने पनि त्यो नक्कली अकाउन्ट हुन सक्छ ।
४. पोस्टको विश्लेषण गर्ने
यदि उक्त अकाउन्टमार्फत गरिएका पोस्टहरूमा हिज्जे, व्याकरण गलत छन् अथवा स्टक इमेज, मिमहरू मात्र शेयर गरिएका छन् भने पनि नक्कली अकाउन्ट हुन सक्ने सम्भावना हुन्छ ।
त्यस्तै अकाउन्ट बनाएको मिति नयाँ छ तर पोस्टहरू धेरै छन् भने पनि सतर्क हुनुपर्छ । यीसँगै सबैभन्दा मुख्य भनेको ‘ओरिजिनल’ पोस्ट भएका छन्/छैनन् हेर्नुपर्छ।
५. इन्टरएक्सन र कनेक्सन हेर्ने
वास्तविक अकाउन्टहरूमा फ्रेन्ड वा फलोअर सान्दर्भिक हुन सक्छन् । भन्नुको अर्थ, एउटा थिएटर कलाकारको फेसबुक अकाउन्टमा बढी जसो कला क्षेत्रकै व्यक्तिहरू साथी हुन्छन् । तर, नक्कली अकाउन्टमा त्यस्तो कमै हुन्छ । त्यस्तै वास्तविक अकाउन्टमा मेसेज पठाउँदा उत्तर आउन सक्छ । कुराकानी हुन सक्छ । तर, नक्कली अकाउन्टकाले सोझै पैसा माग्ने, लिंकहरू पठाउने वा अन्य कुराहरू पठाउने गर्छ ।
प्रतिक्रिया 4