+
+
Shares

नेपालवादले सार्वजनिक गर्‍यो उम्मेदवारलाई सोध्ने १९८ प्रश्न

नेपालवादले उम्मेदवारलाई सोध्ने विभिन्न १८ क्षेत्रका ११/११ वटा प्रश्नको सूची सार्वजनिक गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १६:५२

११ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी १९८ प्रश्न सूची सार्वजनिक गरिएको छ ।

नेपालवादले उम्मेदवारलाई सोध्ने विभिन्न १८ क्षेत्रका ११/११ वटा प्रश्नको सूची सार्वजनिक गरेको हो ।

नेपालवादका परिकल्पनाकार खेम शर्माले काठमाडौंमा पत्रकार सम्मेलान गरी प्रश्नहरूको सूची आइतबार सार्वजनकि गरेका हुन् ।

शर्माले अब उम्मेदवारले ‘हामी गर्छौं’ भनेर मात्रै नपुग्ने भन्दै ‘कहिले ?’, ‘कति ?’, ‘कसले ?’, ‘कसरी ?’ भन्ने प्रश्नको उत्तर आउनु पर्ने बताए ।

प्रश्न सार्वजनिक गर्दै उनले भने, ‘त्यसैले आज हामी ‘बुक’ मात्र होइन, प्रश्न सार्वजनिक गर्दैछौँ, किनकि परिवर्तन किताबबाट होइन, प्रश्नको संस्कारबाट सुरु हुन्छ । जब प्रश्नको संस्कार बस्छ, भाषण छोटो हुन्छ र काम ठूलो हुन्छ । जब प्रश्न बलियो हुन्छ, संस्था बलियो हुन्छ । जब प्रश्न सभ्य हुन्छ, लोकतन्त्र बलियो हुन्छ ।’

उनले आम नागरिकले उम्मेदवारहरूलाई मुख्यगरी पाँच कुरालाई आधार बनाएर प्रश्न सोध्नुपर्ने बताए ।

‘पहिलो – मिति : यो काम कहिलेदेखि सुरु हुन्छ ?  दोस्रो- लक्ष्य : कति हुन्छ र कति पुर्‍याउने उद्देश्य छ ? तेस्रो, जिम्मेवारी : कसले गर्छ, जिम्मेवार को हो ? चौथो, मापन: कसरी नापिन्छ, सूचक के हो ? पाँचौँ, रिपोर्ट : कहिले र कहाँ सार्वजनिक हुन्छ ? यी पाँच कुरा नआएसम्म योजना भाषणमै सीमित रहन्छ’, उनले भने ।

शर्माले यी पाँच कुरा आएपछि मात्र परिवर्तन आँखाअगाडि देखिने र परिवर्तन नागरिकको दैनिकीमा प्रवेश गर्ने दाबी गरे ।

प्रेस वक्तव्यको पूर्णपाठ :

नेपालमै बसेर पसिना बगाइरहनुभएका, र विदेशमा बसेर पनि देशकै चिन्ता बोकेर बसिरहनुभएका सम्पूर्ण आदरणीय आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीहरूलाई म सादर सम्मान गर्छु। किसान, मजदुर, उद्यमी, व्यापारी, चालक–परिवाहक, होटल–पर्यटनका श्रमिक, निर्माण क्षेत्रमा खटिने कामदार, सेवा–उद्योगका कर्मठ कर्मचारी, मिडियाकर्मी, वकिल, इन्जिनियर, चिकित्सक, नर्स, शिक्षक, प्राविधिक, कलाकार, खेलाडी, समाजसेवक, स्वयंसेवक, सरकारी–निजी क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, युवा, गृहिणी—जीवनका हरेक पेशामा खटिनु भएका सम्पूर्ण नेपाली दाजु–दिदीहरूलाई धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थित सम्मानित पत्रकार मित्रहरू तथा आदरणीय आम नागरिकलाई विशेष धन्यवाद छ।

आजको यो भेटघाट सामान्य बहसका लागि गरिएको होइन । आजको भेटघाट कसैलाई जित–हारको तराजुमा तौल्नका लागि पनि गरिएको होइन। आजको भेटघाट नागरिकको एउटा अधिकारलाई सार्वजनिक अभ्यासमा ल्याउनका लागि गरिएको हो। आजको भेटघाट ‘प्रश्न’ लाई सार्वजनिक मापदण्ड बनाउने अभ्यास सुरु गर्नका लागि गरिएको हो। हामीले धेरै पटक ठूला–ठूला घोषणा सुनेका छौँ, र धेरै पटक ‘गर्छौँ’ भन्ने शब्दमै भरोसा राखेका छौँ। तर भोलिपल्ट फेरि उही लाइन हुन्छ, उही ढिलाइ हुन्छ, उही लापरवाही हुन्छ, र उही असुरक्षा हुन्छ। अनि हामी जनता फेरि सोध्छौँ—अब के हुन्छ? आज हामी त्यसै ‘अब के हुन्छ?’ भन्ने प्रश्नलाई ढाँचा बनाएर सार्वजनिक गर्दैछौँ, र प्रश्नलाई भावना होइन मापदण्ड बनाउँदैछौँ।

आजभन्दा २४ दिनअघि, जनवरी १ बाट, नेपालवादले एउटा स्पष्ट काम सुरु गर्‍यो। हामीले हरेक दिन एउटा क्षेत्र छान्यौँ। त्यो क्षेत्रको आजको अवस्था नागरिकको आँखाबाट हेर्यौँ। अब के गर्नुपर्छ भन्ने कुरा तथ्यबाट निकाल्यौँ। कस्तो हुनुपर्छ भन्ने कुरा मापदण्ड बनायौँ। अनि त्यसैसँगै, उम्मेदवारलाई नागरिकले सोध्ने विषयगत प्रश्न सार्वजनिक गर्‍यौँ। यी प्रश्नको उत्तर ‘हामी गर्छौँ’ मा मात्रै पुग्दैन। यी प्रश्नको उत्तर ‘कहिले?’, ‘कति?’, ‘कसले?’, ‘कसरी?’ मा आउनुपर्छ। त्यसैले आज हामी ‘बुक’ मात्र होइन, प्रश्न सार्वजनिक गर्दैछौँ, किनकि परिवर्तन किताबबाट होइन, प्रश्नको संस्कारबाट सुरु हुन्छ। जब प्रश्नको संस्कार बस्छ, भाषण छोटो हुन्छ र काम ठूलो हुन्छ। जब प्रश्न बलियो हुन्छ, संस्था बलियो हुन्छ। जब प्रश्न सभ्य हुन्छ, लोकतन्त्र बलियो हुन्छ।

आजको कार्यक्रमको उद्देश्य स्पष्ट छ। आगामी चुनावमा उठ्ने उम्मेदवारलाई नागरिकले सोध्ने विषयगत प्रश्नलाई सार्वजनिक कार्यक्रमको केन्द्रमा ल्याउनु हाम्रो उद्देश्य हो। एउटै मानक बनाउनु हाम्रो उद्देश्य हो। सबैलाई एउटै तराजुमा राख्नु हाम्रो उद्देश्य हो। नतिजा देखिने राजनीति सुरु गराउनु हाम्रो उद्देश्य हो। यसका लागि हामीले एउटा सरल मापदण्ड अघि सारेका छौँ, जुन सबैले सम्झिन सक्छन् र सबैले भन्न सक्छन्। पहिलो, मिति: यो काम कहिलेदेखि सुरु हुन्छ? दोस्रो, लक्ष्य: कति हुन्छ, र कति पुर्‍याउने उद्देश्य छ? तेस्रो, जिम्मेवारी: कसले गर्छ, जिम्मेवार को हो? चौथो, मापन: कसरी नापिन्छ, सूचक के हो? पाँचौँ, रिपोर्ट: कहिले र कहाँ सार्वजनिक हुन्छ? यी पाँच कुरा नआएसम्म योजना भाषणमै सीमित रहन्छ। यी पाँच कुरा आएपछि मात्र परिवर्तन आँखाअगाडि देखिन्छ, र परिवर्तन नागरिकको दैनिकीमा छिर्छ।

यो प्रश्न कसैलाई अपमान गर्न बनाइएको होइन भन्ने कुरा म स्पष्ट रूपमा भन्न चाहन्छु। यो प्रश्न कसैलाई घेराबन्दी गर्न बनाइएको पनि होइन। यो प्रश्न देशलाई बलियो बनाउन बनाइएको हो, र नेतृत्वलाई पनि बचाउन बनाइएको हो, किनकि स्पष्ट उत्तरले नेतृत्वलाई पनि भरोसा दिलाउँछ, र जनतालाई पनि। हामीले उठाएका विषयहरू किताबका शीर्षक होइनन्, हाम्रो दैनिक जीवनका आधारभूत आवश्यकता हुन्। राष्ट्रिय सुरक्षा बलियो भयो भने सीमा सुरक्षित हुन्छ, साइबर जोखिम घट्छ, र संकटमा राज्य छिटो उठ्न सक्छ। आन्तरिक सुरक्षा सुध्रियो भने राति पनि निर्धक्क हिँड्न सकिन्छ, उजुरी समयमै सुन्ने राज्य बन्छ, र न्याय छिटो मिल्छ। परराष्ट्र नीति स्पष्ट भयो भने राष्ट्रिय हित बलियो हुन्छ, र विदेशमा रहेका श्रमिकका अधिकार सुरक्षित हुन्छन्। अर्थनीति बलियो भयो भने महँगी नियन्त्रण हुन्छ, रोजगारी बढ्छ, र कर न्यायपूर्ण हुन्छ।

उद्योग र ऊर्जा सुध्रिए मात्र उत्पादन चल्छ, बिजुली भरपर्दो हुन्छ, र हानी घट्छ। पूर्वाधार र यातायात व्यवस्थित भए सडक सुरक्षित हुन्छ, दुर्घटना घट्छ, र यात्रा सम्मानजनक हुन्छ। शिक्षा र स्वास्थ्य सुध्रिए छोराछोरीको भविष्य सुरक्षित हुन्छ, र परिवारको जीवन सहज हुन्छ। स्थानीय विकास, खानेपानी–सरसफाइ, वन–वातावरण, कृषि, श्रम–रोजगारी मजबुत भए गाउँमै अवसर आउँछ, गाउँमै सेवा आउँछ, र गाउँमै सम्मान आउँछ। संस्कृति–पर्यटन र नागरिक उड्डयन सुध्रिए पहिचान पनि बलियो हुन्छ, आम्दानी पनि बढ्छ, र सुरक्षा पनि मजबुत हुन्छ। डिजिटल शासन ठीक भयो भने सेवा छिटो हुन्छ, दलाल घट्छ, काम पारदर्शी हुन्छ, र नागरिकको समय बचत हुन्छ। सामाजिक विकास र युवा–खेलकुद बलियो भयो भने अवसर निष्पक्ष हुन्छ, प्रतिभा पलायन होइन देशमै फुल्छ। त्यसैले नागरिकका प्रश्न पनि यिनै विषयमा छन्, र उत्तर पनि यिनै विषयमा चाहिन्छ।

हामी मतदाताले धेरै पटक नेताहरूलाई कहिले भगवान बनायौँ, कहिले राक्षस बनायौँ। यसको कारण एउटै छ—बीचको सबैभन्दा जरूरी कुरा छुट्यो, त्यो हो प्रश्न सोध्ने बानी। जब हामी प्रश्न गर्दैनौँ, हामी भावनाले मात्र निर्णय गर्छौँ। भावनाले निर्णय गर्दा कसैलाई आकाशमा चढाउँछौँ, र निराश हुँदा त्यही व्यक्तिलाई जमिनमा पछार्छौँ। तर देशलाई भगवान–राक्षसको कथा होइन, स्पष्टताको संस्कार चाहिन्छ। त्यसैले अब हाम्रो नयाँ संस्कृति यस्तो हुनुपर्छ—सम्मानपूर्वक, आँखा जुधाएर, शिष्ट भाषामा, तर कडा मापदण्डसहित सोध्ने: ‘कहिले?’, ‘कति?’, ‘कसले?’, ‘कसरी?’ अनि उत्तर प्रस्ट आएन भने, त्यही प्रश्न फेरि फर्काउने। यही तरिका सभ्य नागरिकता हो, र यही तरिका लोकतन्त्रको शक्ति हो।

अब म तीन समूहसँग तीन आग्रह राख्न चाहन्छु। पत्रकार मित्रहरूलाई मेरो आग्रह के हो भने, ‘कति राम्रो बोल्यो?’ होइन, ‘कति स्पष्ट भयो?’ भन्ने कुरालाई हेडलाइन बनाइदिनुहोस्। जब कसैले ‘गर्छौँ’ मात्र भन्छ, त्यहीँ रोकिदिनुहोस् र सोधिदिनुहोस्—’कहिलेदेखि सुरु हुन्छ?’, ‘कति भित्र पूरा हुन्छ?’, ‘जिम्मा कसको हो?’ मिति, लक्ष्य, जिम्मेवारी नखुलाउने उत्तरलाई फोलो-अपले फेरि सोधिदिनुहोस्, किनकि अस्पष्ट उत्तर भनेको जनताको समयमाथि खेलवाड हो। तपाईंहरूको तथ्य-आधारित, निरन्तर र संयमित प्रश्नले नै भाषणलाई प्रतिबद्धतामा बदल्छ, र प्रतिबद्धतालाई नतिजामा पुर्‍याउँछ। तपाईंहरूको प्रश्न नै लोकतन्त्रको अक्सिजन हो, र सार्वजनिक सेवाको सबैभन्दा ठूलो रक्षा हो।

युवा साथीहरूलाई मेरो आग्रह के हो भने, अब तपाईंहरूको शक्ति बहस मात्र होइन, भेरिफिकेसन हो। आज स्टेजको वाचा भन्दा ठूलो कुरा भोलिको प्रमाण हो। त्यसैले सामाजिक सञ्जालमा गाली होइन, सभ्य शैलीमा मापदण्ड मागौँ—’समयसीमा के हो?’, ‘लक्ष्य कति हो?’, ‘असफल भए जवाफदेही को हो?’ आजको वाचा स्क्रिनसट राखौँ, मिति नोट गरौँ, ३० दिनपछि सोधौँ, ९० दिनपछि रिपोर्ट मागौँ, ६ महिनापछि परिणाम खोजौँ। सही काम भयो भने खुलेर तारिफ गरौँ, गलत भयो भने प्रमाणसहित प्रश्न गरौँ। यही हो नयाँ नागरिकता—नारा होइन, नाप्ने बानी, र भावनामा होइन प्रमाणमा आधारित दबाब हो।

आम नागरिकसँग मेरो आग्रह के हो भने, यी प्रश्नहरू गाउँ–टोलको चौतारीमा लगौँ, परिवारको भान्सामा लगौँ, कार्यालयको काउन्टरमा लगौँ, समुदायको बैठकमा लगौँ, जहाँ जहाँ हाम्रो जीवन चल्छ त्यहीँ लगौँ। अबदेखि ‘मेरो मान्छे’ भन्ने पुरानो बानी होइन, ‘मेरो सेवा’, ‘मेरो अधिकार’, ‘मेरो देश ठीक’ भन्ने भाषा बलियो बनाऔँ। प्रश्न गर्नु अपमान होइन, जिम्मेवारी हो। प्रश्न गर्नु कमजोरी होइन, लोकतन्त्रको संस्कार हो। र जब नागरिकले सम्मानपूर्वक आँखा जुधाएर स्पष्टता माग्छ, शासनको शैली बदलिन थाल्छ, र त्यहीँबाट परिवर्तन सुरु हुन्छ।

अब ‘भोलिबाट के हुन्छ?’ भन्ने कुरा पनि म स्पष्ट गर्न चाहन्छु। यो आजबाट सुरु हुने नियमित अभ्यास हो, र यसलाई हामी एकदिनको कार्यक्रम बनाएर छोड्ने छैनौँ। फेब्रुअरी २ मा नेपालवादले अर्को दस्तावेज सार्वजनिक गर्नेछ, जुन नागरिकको जिम्मेवारी र अनुगमनसँग सम्बन्धित हुनेछ। त्यही दिन हामी त्यसपछि के गर्ने भन्ने अर्को स्टेप पनि घोषणा गर्नेछौँ, ताकि यो मापदण्ड निरन्तर सार्वजनिक अभ्यास बनोस्। उत्तरदायी शासन एक्लैले बनिँदैन भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ। नेतृत्वले उत्तर दिनुपर्छ, नागरिकले जिम्मेवार भएर अनुगमन गर्नुपर्छ, र प्रेसले सार्वजनिक मानक जोगाउनुपर्छ।

अन्त्यमा, म एउटा वाक्यलाई सम्मानपूर्वक तर स्पष्ट रूपमा चुनौती दिन चाहन्छु। हामीले धेरै पटक सुनेका छौँ—’नेपाल त सतीले सरापेको देश।’ तर मेरो नजरमा यो सरापको कथा होइन, यो थाकेको मनले बोकेको बहानाको छाता हो। काम गर्न नसक्दा दोष भाग्यलाई दिन सजिलो हुन्छ, असफल हुँदा दोष इतिहासलाई दिन सजिलो हुन्छ, र ढिलाइ हुँदा दोष संस्कारलाई दिन सजिलो हुन्छ। तर देश भाग्यले चल्दैन। देशलाई चलाउने कुरा जवाफदेहिता हो, इमानदारी हो, र परिणाम हो। मानौँ सतीदेवीले साँचिकै सरापेकै रहेछिन् भने पनि, अब हाम्रो लक्ष्य त्यो सरापलाई फिर्ता लिन बाध्य बनाउने हो। हामी यति पारदर्शी भएर काम गरौँ कि उहाँलाई लागोस्—यी मानिसहरू अब बहाना होइन, प्रमाणमा बोल्छन्। हामी यति समयबद्ध भएर काम गरौँ कि उहाँलाई लागोस्—यी मानिसहरू अब ढिलाइलाई संस्कृति मान्दैनन्। हामी यति नतिजामुखी भएर काम गरौँ कि ‘नेपाल त यस्तै हो’ भन्ने वाक्य बोल्न पनि लाज लागोस्। र त्यो सम्भव हुन्छ, जब नागरिकमा जिम्मेवारी बन्छ, र प्रश्न गर्ने संस्कार बस्छ।

त्यसैले आज हामी यहीँबाट सुरु गर्छौँ। आज हामी सरापको कथाबाट होइन, परिवर्तनको प्रमाणबाट सुरु गर्छौँ। आज हामी तालीको राजनीतिबाट होइन, स्पष्टताको राजनीतिबाट सुरु गर्छौँ। आज हामी बहानाको देशबाट होइन, जवाफदेहिताको देशबाट सुरु गर्छौँ। अब प्रश्न गरौँ। अब स्पष्टता मागौँ। अब कामको मिति तय गरौँ। अब लक्ष्य नापौँ। अब जिम्मेवारी तोकौँ। र अब नेपाललाई सकारात्मक परिवर्तन गर्न बाध्य बनाऔँ। धन्यवाद।

खेम शर्मा
सचेत नागरिक नेपालवाद

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?