+
+
Shares

फिनिस वैज्ञानिकको चमत्कार, तारबिनै हावामा दौडियो बिजुली

यो प्रविधि धेरैले कल्पना गर्ने जस्तो जहाँसुकै स्वतन्त्र रूपमा फैलिने वायरलेस बिजुली होइन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिनल्याण्डका वैज्ञानिकहरूले अल्ट्रासोनिक ध्वनि तरंग, लेजर र रेडियो फ्रिक्वेन्सीको संयोजनबाट तारबिनै हावामार्फत बिजुली प्रवाह गर्न सफल भएका छन्।

हामीलाई लाग्छ कि एक ठाउँबाट अर्को ठाउँमा बिजुली पुर्‍याउनका लागि अनिवार्य रूपमा तारको आवश्यकता पर्दछ।

तारहरूमार्फत प्रवाह हुने बिजुलीले बत्ती बल्छ, पंखा घुम्छ र टेलिभिजन चल्छ । पछिल्ला वर्षहरूमा वायरलेस मोबाइल चार्जरको प्रयोग बढे पनि पूर्णरूपमा तारबिनै बिजुली प्रवाह गर्न सकिन्छ भन्ने कुरा हामीलाई असम्भवजस्तै लाग्छ । तर अब वैज्ञानिकहरूले यस्तो मान्यतालाई गलत सावित गरिदिएका छन्।

फिनल्याण्डका वैज्ञानिकहरूले तारको प्रयोग नगरी हावामार्फत बिजुली प्रवाह गर्न सफल भएका छन् । उच्च फ्रिक्वेन्सीका ध्वनि तरंग, लेजर र रेडियो फ्रिक्वेन्सी प्रविधिको संयोजनबाट वैज्ञानिकहरूले यस्तो सफलता प्राप्त गरेका हुन् ।

योसँगै भविष्यमा बिजुलीको प्रवाह र प्रयोगका लागि प्लग, तार र परम्परागत विद्युतीय जडानको आवश्यकता अन्त्य गर्ने लक्ष्य वैज्ञानिकहरूको छ । यदि यो प्रविधि व्यावहारिक रूपमा विस्तार हुन सक्यो भने यसले घर, उद्योग र इलेक्ट्रोनिक उपकरणहरूको स्वरूप नै परिवर्तन गर्न सक्नेछ।

फिनिस वैज्ञानिकहरूले अल्ट्रासोनिक ध्वनि तरंग, लेजर र रेडियो फ्रिक्वेन्सीको सहायताले विद्युत उर्जालाई तारबिनै एक स्थानबाट अर्को स्थानमा सार्न सकिने प्रमाणित गरे । यो प्रयोग हाल ‘प्रूफ अफ कन्सेप्ट’ चरणमा भए पनि यसले भविष्यमा जुनसुकै स्थानमा रहेका उपकरणहरूलाई वायरलेस रूपमा ऊर्जा आपूर्ति गर्न सकिने सम्भावनाको ढोका खोलेको छ।

यस परियोजनाको नेतृत्व हेलसिन्की विश्वविद्यालय र ओउलु विश्वविद्यालयका अनुसन्धान टोलीले गरेका हुन् । उनीहरूले प्रकाशमार्फत ऊर्जा आपूर्ति (पावर–बाइ–लाइट) र रेडियो फ्रिक्वेन्सी ऊर्जा संकलन प्रविधिमा काम गरिरहेका निजी कम्पनीहरूसँग सहकार्य गरेका थिए । भौतिकशास्त्र, इन्जिनियरिङ र अत्याधुनिक प्रविधिको संयोजनबाट गरिएको यस अनुसन्धानले फिनल्याण्डलाई वायरलेस बिजुली प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी राष्ट्रका रूपमा उभ्याएको छ ।

एकुस्टिक वायर के हो ?

यस प्रविधिको केन्द्रमा रहेको अवधारणालाई ‘अकुस्टिक वायर’ भनिन्छ । यसमा उच्च तीव्रताका अल्ट्रासोनिक ध्वनि तरंग प्रयोग गरेर हावामै अदृश्य मार्ग तयार गरिन्छ जसले व्यवहारमा तारजस्तै काम गर्छ । यी ध्वनि–निर्देशित मार्ग हुँदै साना विद्युतीय झिल्काहरू कुनै भौतिक सम्पर्कबिना नै सुरक्षित रूपमा प्रवाह हुन्छन् । यसले स्मार्ट उपकरण र इलेक्ट्रोनिक प्रणालीमा सम्पर्करहित ऊर्जा आपूर्ति सम्भव बनाउँछ ।

के भौतिकशास्त्रका नियम तोडिएका हुन्  ?

वैज्ञानिकहरूका अनुसार यो प्रविधिको विकासले भौतिकशास्त्रको नियम तोडेको भन्नु सत्य हुँदैन । यो प्रविधि धेरैले कल्पना गर्ने जस्तो जहाँसुकै स्वतन्त्र रूपमा फैलिने वायरलेस बिजुली होइन । यहाँ ऊर्जा खुला रूपमा फैलिँदैन बरू विशेष क्षेत्र र मार्गद्वारा सटीक रूपमा निर्देशित हुन्छ । अल्ट्रासोनिक तरंगले हावाको घनत्वलाई निश्चित ढाँचामा परिवर्तन गरी सूक्ष्म विद्युतीय स्पार्कलाई निर्धारित मार्गमा अघि बढाउँछ । लेजर प्रविधिले प्रकाशलाई अत्यन्त सानो मात्रामा बिजुलीमा रूपान्तरण गरेर सुरक्षित रूपमा पुर्‍याउँछ ।

त्यसैगरी रेडियो–फ्रिक्वेन्सी ऊर्जा संकलन प्रविधिले वरिपरिको वातावरणमा पहिलेबाटै रहेका माइक्रोवाट ऊर्जा संकलन गर्छ ।

वैज्ञानिकहरूका अनुसार यो अनुसन्धानको मुख्य उपलब्धि भनेको असीमित बिजुली उत्पादन होइन कि ऊर्जा प्रवाहलाई अत्यन्त सटीक र सुरक्षित रूपमा नियन्त्रण गर्न सक्नु हो।

मोबाइल फोन र साना उपकरणका लागि वायरलेस चार्जिङ विश्वभर प्रचलित भए पनि, वास्तविक बिजुलीलाई हावामार्फत सुरक्षित रूपमा पठाउने प्रयोगमा फिनल्याण्ड अग्रणी देशहरूमध्ये एक मानिन्छ । ध्वनि, प्रकाश र रेडियो तरंगलाई एकैसाथ प्रयोग गरेर ठूलो स्तरमा ऊर्जा पठाउनु अहिलेसम्मको दुर्लभ उपलब्धि हो । अन्य देशहरूले पनि यस्ता अवधारणामा अनुसन्धान गरेका छन्, तर व्यवहारिक सफलतामा फिनल्याण्ड अगाडि देखिएको छ।

यस प्रयोगले बिजुली प्रवाहका लागि अनिवार्य रूपमा तार चाहिन्छ भन्ने पुरानो मान्यतालाई चुनौती दिएको छ । यदि यो प्रविधि थप विकसित हुँदै गयो भने, भविष्यमा घर, उद्योग र औद्योगिक संरचनाहरूमा वायरलेस विद्युत प्रवाहको कुरा वास्तविकतामा परिणत हुन सक्ने सम्भावना देखिएको वैज्ञानिकहरुको भनाइ छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?