+
+
Shares

हामी किन रुन्छौं ? तीन प्रकारका हुन्छन् आँसु

रुनु भनेको मानिसहरू बीचको आपसी सम्बन्धलाई जोड्ने एउटा माध्यम हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानिसको आँसु तीन प्रकारका हुन्छन्: बेसल, रिफ्लेक्स र इमोसनल, जसमा इमोसनल आँसु भावनासँग जोडिएका हुन्छन्।

उदास हुँदा, रिस उठ्दा अथवा धेरै खुसी हुँदा हामी रुने गर्छौं । रुनु एउटा प्राकृतिक प्रक्रिया हो । रोचक तथ्य, मान्छेको आँसु भावनासँग जोडिएपछि मात्र आउने गर्छ । तर, अन्य जनावरहरू रुँदा आवाज निकाल्छन् र कुनै तनाव वा समस्याको संकेत दिन्छन् । तर, भावनासँग जोडिएका आँसु निकाल्न सक्ने दिमागी संयन्त्र उनीहरूसँग हुँदैन ।

वैज्ञानिकहरूलाई आँसु किन आउँछ भन्ने त थाहा छ । मानिस किन रुन्छन् वा उनीहरूमा भावनासँग जोडिएका आँसु किन आउँछन् भन्ने कुरा अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

आँसु आउनुको कारण के हो ?

स्विट्जरल्याण्डको ‘इन्स्टिच्युट अफ ह्युमन बायोलोजी’मा पोस्टडक्टरल फेलो डाक्टर म्यारी ब्यानियर हेलाउएटका अनुसार आँसु पाँचवटा तत्वहरूबाट बनेका हुन्छन् । सिँगान, इलेक्ट्रोलाइट्स, पानी, प्रोटिन र लिपिड ।

यी सबैका फरक-फरक गुण हुने गर्छन् । उदाहरणका लागि, प्रोटिन एन्टिभाइरल र एन्टिब्याक्टेरियल हुन्छन् भने इलेक्ट्रोलाइट्स शरीरको कामका लागि आवश्यक खनिज पदार्थ हुन् ।

आँसु भने तीन प्रकारका हुन्छन् :

१. बेसल टियर्स

यस प्रकारको आँसु हाम्रो आँखाको सतहमा सधैँ हुन्छन् । यिनीहरूले आँखालाई ओसिलो बनाइराख्न सहयोग गर्छ ।

२. रिफ्लेक्स टियर्स

आँखामा कुनै कीरा वा धुलोको कण पर्दा यी आँसु आफैँ बग्न थाल्छन् । आँखाको कर्नियामा रहेका नसाका कोषहरूले यसलाई महसुस गर्छन् । यसले आँखालाई धुलो मैलोबाट जोगाउने काम गर्छ ।

३. इमोसनल टियर्स

यी भावनाका कारण निस्कने आँसु हुन् । कुरा यहीँबाट जटिल बनेको छ ।

ब्यानियर हेलाउएटका अनुसार कर्नियामा शरीरको तुलनामा सबैभन्दा धेरै नसाका कोषहरू पाइन्छन् । यिनले तापमान, मेकानिकल स्ट्रेस र सुख्खापन महसुस गर्न सक्छन् । यी नसाहरूबाट पुग्ने सन्देशलाई ‘ल्याक्रिमल न्यूक्लियस’ भनिन्छ, जसले आँसुलाई नियन्त्रण गर्छ ।

भावनाका कारण निस्कने आँसु

हाम्रो दिमागका भावना प्रक्रिया गर्ने भागहरूले पनि ल्याक्रिमल न्यूक्लियससँग संवाद गर्छन् । नेदरल्याण्ड्सको टिलबर्ग युनिभर्सिटीका मनोविज्ञान विभागका सेवानिवृत्त प्राध्यापक एड विन्गरहोएट्सका अनुसार रुनु कुनै एउटा भावना मात्र नभई भावनाहरूको ‘ओभरलोड’को अभिव्यक्ति हो ।

उमेर बढ्दै जाँदा रुने कारणहरू पनि बदलिन्छन् । बालबालिकामा शारीरिक पीडा रुनुको मुख्य कारण हुन्छ भने वयस्क र वृद्धवृद्धाहरूमा यस्तो कम हुन्छ । उमेरसँगै रुनु ‘एम्प्याथी’ (समानुभूति) सँग जोडिन्छ । हामी आफ्नै पीडामा मात्र होइन, अरूको दु:ख देखेर पनि रुन्छौँ ।

के रोएपछि राहत मिल्छ ?

धेरै मानिस रोएपछि हल्का महसुस भएको बताउँछन् । तर यो कुरा सत्य हो/होइन भन्ने विषयमा बहस जारी नै छ । अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयकी सह-प्राध्यापक लरेन बाल्स्मा मुटुको धड्कन अनुगमन गरेर यो पत्ता लगाउने कोसिस गरिरहेकी छन् ।

उनको प्रारम्भिक नतिजा अनुसार रुन सुरु गर्नुभन्दा ठीक अघि शरीरको ‘सिम्पेथेटिक नर्वस सिस्टम’ (जसले तनावमा प्रतिक्रिया दिन्छ) चरम अवस्थामा पुग्छ । तर, रुन सुरु हुनेबित्तिकै ‘प्यारासिम्पेथेटिक’ गतिविधिमा वृद्धि देखिन्छ, जसले हामीलाई शान्त हुन र आराम गर्न मद्दत गर्छ ।

यद्यपि विन्गरहोएट्सका अनुसार सधैँ रोएर सहज महसुस हुँदैन । विशेष गरी डिप्रेसन वा गहिरो तनावमा भएका बेला रुँदा झन् राम्रो महसुस हुँदैन । तर, हाम्रो नियन्त्रणमा भएका कुराहरूमा हामी रुँदा केही राहत मिल्छ ।

त्यस्तै वरपरका मानिसको व्यवहारले पनि फरक पार्छ । यदि उनीहरूले सहानुभूति दिए भने रुँदा राहत मिल्छ । तर, त्यसको सट्टा उनीहरू रिसाए वा लज्जित भए भने राहत मिल्दैन ।

सामाजिक संकेत

आँसुले अरूको व्यवहारलाई पनि प्रभावित गर्छ । यसबारे इजरायलमा एउटा अध्ययन गरियो थियो । जसमा भावना पोखिएका आँसुहरू पुरुषहरूलाई सुँघ्न दिइएको थियो । तर, जब उनीहरूले आँसु सुँघे, उनीहरूमा आक्रामकता कम देखिएको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार आँसुले ‘मलाई सहयोग चाहिएको छ’ भन्ने सामाजिक संकेत दिन्छ । शिशुहरूको हकमा उनीहरूको रुवाइले वयस्कको दिमागमा हेरचाह गर्ने भावना सक्रिय गराउँछ । विन्गरहोएट्सका अनुसार मानिसमा आँसुको विकास हुनुको एउटा कारण हाम्रो लामो बाल्यकाल पनि हो । त्यो कालखण्डमा हामी आमाबुबामा निर्भर रहन्छौँ।

केही मानिस किन धेरै रुन्छन् ?

बाल्स्माका अनुसार पुरुषहरू औसतमा महिनामा एक पटक रुन्छन् भने महिलाहरू चारदेखि पाँच पटक रुन्छन् । महिलाहरू भावनात्मक रूपमा बढी प्रतिक्रियाशील हुनुमा नसा सम्बन्धी, हार्मोनल र व्यक्तित्वका कारणहरू हुन सक्छन् ।

अनुसन्धानका अनुसार ‘न्यूरोटिक’ (चाँडै चिन्तित हुने) वा ‘एक्स्ट्राभर्ट’ (बाहिर घुलमिल हुने) व्यक्तित्व भएका मानिसहरू र धेरै समानुभूति भएका मानिसहरू बढी रुने सम्भावना हुन्छ ।

जे होस्, रुनु भनेको मानिसहरू बीचको आपसी सम्बन्धलाई जोड्ने एउटा माध्यम हो । विन्गरहोएट्सका अनुसार रुनु एउटा विस्मयादिबोधक चिन्ह जस्तै हो । किनकि यसले यो कुरा साँच्चै महत्त्वपूर्ण छ भन्ने बुझाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?