११ माघ, काठमाडौं । ओस्कार विजेता सङ्गीतकार एआर रहमानले बलिउडमा साम्प्रदायिक कारणले गर्दा आफूले कामको अवसर गुमाउनु परेको हुन सक्ने भनी दिएको अभिव्यक्तिमा रामायणका अभिनेता तथा भाजपा सांसद अरुण गोविलले कडा प्रतिक्रिया दिएका छन् । गोविलले भारतीय चलचित्र उद्योग साम्प्रदायिक पूर्वाग्रहमय नभएको दाबी गरे।
शुक्रबार साँझ ‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज’ र ‘सिने आर्टिस्ट वेलफेयर ट्रस्ट’ द्वारा आयोजित एक कार्यक्रममा बोल्दै गोविलले भने, ‘विगतमा हामीसँग दिलीप कुमारजस्ता अभिनेता हुनुहुन्थ्यो, जो आफ्नो समयमा यस उद्योगका राजा हुनुहुन्थ्यो। आज पनि शाहरुख, सलमान र आमिर खानहरू सुपर स्टार हुनुहुन्छ। यदि यहाँ साम्प्रदायिक भेद्भाव हुन्थ्यो भने उनीहरू कसरी स्टार बन्न सक्थे ?’
संसद्मा चलचित्र क्षेत्रका मुद्दाहरू उठाएकोमा सम्मानित भएका गोविलले थपे, ‘हाम्रो उद्योगमा धर्मका आधारमा कसैले काम नपाएको उदाहरण छैन । यहाँ हरेक धर्मका मानिसहरूले मिलेर काम गरेका छन् । वास्तवमा, चलचित्र उद्योग नै यस्तो एउटा क्षेत्र हो जहाँ साम्प्रदायिक पूर्वाग्रहको कुनै स्थान छैन ।’
रोचक कुरा के छ भने नितेश तिवारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘रामायण’ मा अरुण गोविल र एआर रहमान दुवै आबद्ध छन् ।
सन् १९८७ को चर्चित टेलिभिजन शृङ्खला ‘रामायण’ मा रामको भूमिका निर्वाह गरेका गोविलले यस नयाँ चलचित्रमा राजा दशरथको भूमिका निभाउँदै छन् ।
अर्कोतर्फ एआर रहमानले हलिउडका दिग्गज सङ्गीकार हन्स जिमरसँग मिलेर यस चलचित्रको सङ्गीत तयार पार्दै छन्।
रहमानले हालै एक अन्तर्वार्तामा भनेका थिए, ‘म ब्राह्मण विद्यालयमा पढेको हुँ र मलाई रामायण र महाभारतको कथा राम्रोसँग थाहा छ। हन्स जिमर यहुदी हुनुहुन्छ, म मुस्लिम हुँ र रामायण हिन्दू धर्मको महाकाव्य हो।’
एउटै परियोजनामा काम गरिरहेका दुई हस्तीबीचको यो वैचारिक भिन्नताले अहिले सञ्चारमाध्यममा निकै चर्चा पाएको छ।
प्रतिक्रिया 4