११ माघ, सुर्खेत । पूर्वी सुर्खेतका नवीन विक (१४) पछिल्लो समय एक्लै स्कुल जान्छन् । उनका मिल्ने साथी महेन्द्र विक अहिले उनीसँग छैनन् । साथीले विद्यालय छाडेपछि नवीनलाई पनि स्कुल जान त्यति मन लाग्दैन ।
‘हामी राति सुत्ने बेला मात्रै आ–आफ्नो घर जान्थ्यौँ । नत्र स्कुल जाने, खेल्ने, रमाइलो गर्ने, जहाँ गए पनि महेन्द्र र म सँगै जान्थ्यौँ,’ उनले भने, ‘साथी नभएपछि त सबै कुरा न्यास्रो लाग्ने रहेछ । आजभोलि त स्कुल जान पनि मन लाग्दैन ।’
गुर्भाकोट नगरपालिका–८, मेहेलकुनाका नवीन र महेन्द्र नजिकैको सूर्य ज्योति माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्थे । गत असोजमा दशैं मनाएर महेन्द्रका बुवा आमा रोजगारीका लागि काला पहाड (भारत) गए । यो पटक महेन्द्र पनि बा–आमासँगै काला पहाड गए । ‘पहिला महेन्द्रका बुवामात्रै जानुहुन्थ्यो । उसको आमा र ऊ यहीँ बस्थे,’ नवीनले भने, ‘यो पटक बुवाले आमालाई पनि लिएपछि महेन्द्र यहाँ कोसँग बसोस् । ऊ पनि गयो ।’
उनका अनुसार महेन्द्र गाउँमै बसेर पढ्न चाहन्थे । तर घरको आर्थिक अवस्था कमजोर भएपछि बुवाआमासँगै कला पहाड हिँडेका थिए ।
मेहेलकुना नजिकै रहेको खडाङ्ग गाउँका धेरै बालबालिकाहरू यसरी नै बिचैमा स्कुल छोडेर काला पहाड गएका छन् ।
खडाङ्ग गाउँकै १६ वर्षीय युवराज विकले पनि कक्षा ७ मा पढ्दापढ्दै स्कुल छाडे । आर्थिक अवस्था कमजोर भएको उनको परिवार जीविका चलाउन रोजगारीका लागि काला पहाड गएपछि युवराज पनि परिवारसँगै गए । ‘घरमा खाने अन्न थिएन । समूहको ऋणले परिवार नै डुबेको थियो,’ स्थानीय इन्द्र विक (३६)ले भनिन्, ‘पैसा कमाएर ऋण तिर्ने भन्दै सबै जना काला पहाड गए । बच्चाको पढाइ पनि छुट्यो ।’
मेहेलकुना बजारको मध्य भाग हुँदै गएको छ, जाजरकोट–डोल्पा सडक खण्ड । त्यही सडक छेउछाउमा छन् केही विपन्न बस्तीहरू । बजारको मध्य भागमा रहेको ५५ वर्ष पुरानो सूर्य ज्योति माविमा पढ्नेहरू तीनै विपन्न बस्तीका बालबालिकाहरू हुन् । ‘हाम्रो विद्यालयमा करिब ७० प्रतिशत विद्यार्थी दलित र जनजाति समुदायबाट छन्,’ विद्यालयका प्रधानाध्यापक हिकमत बुढाले भने, ‘विभिन्न कारणले तीनै समुदायका बालबालिकाहरू बढी विद्यालय छोड्छन् ।’

प्रधानाध्यापक बुढाका अनुसार वैशाख–जेठमा भरिभराउ हुने कक्षा कोठाहरू अन्तिम परीक्षा दिने समय फागुन–चैतमा आइपुग्दा आधा खाली हुन थाल्छन् । ‘कक्षा ८ देखि १० सम्मका करिब २० प्रतिशत विद्यार्थीहरूले स्कुल छोड्ने गरेको विद्यालयको तथ्यांक छ,’ प्रधानाध्यापक बुढाले भने ।
उनका अनुसार सूर्य ज्योतिमा कक्षा १ देखि ५ सम्म ८ प्रतिशत, ६ देखि ८ सम्म ९ प्रतिशत र कक्षा ११–१२ मा १७ प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेको विद्यालयको तथ्यांक छ । यो विद्यालयमा हाल १ देखि १२ सम्म ८८४ जना विद्यार्थी रहेका छन् ।
‘धेरैजसो बालबालिका अभिभावकसँगै भारत जान्छन् । कतिपय त भर्ना गर्छन् पछि परीक्षा दिन मात्रै आउँछन्,’ उनले भने । परीक्षा दिनका लागि मात्र आएकाहरू माथिल्लो कक्षामा जान सक्दैनन्, उनीहरू पनि उमेर बढ्दै गएपछि विद्यालय छाडने गरेको उनले बताए ।
****
लेकबेसी नगरपालिका₋८, का नार्जलेका एक युवक कक्षा १० मा पढ्दापढ्दै काला पहाड हानिए । कक्षा ८ मा पढ्दादेखि नै लागुऔषध दुर्व्यसनीमा फसेका उनी परिवारको दबाबले १० कक्षासम्म पुगेका थिए । तर त्योभन्दा माथि पढ्न नसक्ने भन्दै उनीसहित केही युवाहरू बिचैमा पढाइ छोडेर मजदुरीका लागि भारत गएको स्थानीय बताउँछिन् ।
स्थानीय एक महिलाका अनुसार गाउँका अधिकांश युवा लागुऔषध दुर्व्यसनीमा फसेका छन् । मगर समुदायको बाहुल्य रहेको यो बस्ती पढाइ छाड्नेहरूको लर्को छ । कक्षा ८₋१० पास गरे नेपाली र भारतीय सेनामा जागिर खान पाइने भन्दै अधिक युवाहरू पढाइ छोडेर सेना प्रहरीको तयारी थाल्छन् ।
‘अलि धेरै पढ्नुपर्छ । पढेर राम्रो जागिर खानुपर्छ भन्ने हाम्रो ठाउँमा मोटिभेसन नै छैन,’ ती स्थानीयले भनिन्, ‘सानैदेखि अत्यधिक मदिरा सेवन गर्ने, ठूलो भएपछि लागुऔष्धमा फस्ने गर्छन् । जसले गर्दा बिचैमा पढाइ छोड्ने समस्या अलि बढी नै देखिन्छ ।’
लेकबेसी–७ को गंगटे बजार नजिकै छ, पशुपति माध्यमिक विद्यालय । कक्षा १० सम्म पढाइ हुने यो विद्यालयमा पनि अधिकांश विद्यार्थीहरू पढाइ छोड्ने गरेको प्रधानाध्यापक भानु पौडेलले जानकारी दिए । उनका अनुसार कक्षा ८ मा पढ्ने एक छात्रा तीन साता अगाडि मात्रै स्कुल आउन छोडिन् ।
‘किन स्कुल छोडिन् त भनेर अभिभावकलाई फोन गरेँ । तर अभिभावकले पनि त्यस्तो ठुलै समस्या केही नभएको बताउनु भयो,’ प्रधानाध्यापक पौडेलले भने, ‘आफैं–आफैं स्कुल जान मान्दिनन् । किन छोडेको भन्दा पढ्न मन लाग्दैन रे ।’
ती छात्राको समस्या पहिचान गरी पन: स्कुल फर्काउनका लागि परामर्श गरिरहेको प्रधानाध्यापक पौडेलले बताए । गरिबी, अभाव, कुलत, बेरोजगारी आदि जस्ता कारण देखाउँदै विद्यालय छोड्ने गरेको उनको ठहर छ ।
दुर्व्यसनी प्रमुख कारण
गुर्भाकोट–८, मेहेलकुना र मेहेलकुना आसपासका खटाङ, सुन्दर खाली, घारी मेहेलकुना, सृवानी लगायत गाउँहरूमा अभाव, अशिक्षा र गरिबी मात्रै छैन त्यहाँ पछिल्लो समय लागु औषध दुर्व्यसनीको समस्या पनि भित्रिएको छ ।
‘चार–पाँच जनाका फरक–फरक समूह हुन्छन् । हेर्दा कलिला स्कुले अनुहार दिउँसै नसामा लठठ् अवस्थामा भेटिन्छन्,’ स्थानीय शिक्षक शशिराम विक भन्छन्, ‘१४ देखि १८ वर्षका अधिकांश बालबालिकाहरू स्कुल छोडेर कुलतमा फसेको देखिन्छ । उनीहरुको हरकतले परिवार, समाज नै दिक्क भइसकेको छ ।’
उनका अनुसार खटाङ र घारी मेहेलकुनाबाट मात्रै पछिल्लो पाँच महिनामा ११ जना युवा र बालबालिकालाई प्रहरीले पक्राउ गरेर लागु औषध सम्बन्धी मुद्दा दायर गरेको छ । ती पक्राउ पर्नेहरूमा अधिकांश ७–८ कक्षा पढेर छोडेका, एसईई दिएर बसेका, फेल भएकाहरु रहेको शिक्षक शशिरामले बताए ।

‘आफैंले पढाएका, आफ्नै स्कुलका कतिपय विद्यार्थीहरू दिउँसै झुलेको, लागु औषधमा फसेको देख्छु । नसा खाने पैसा नपुगेर चोरी डकैतीमा पनि लागेको देखिन्छ,’ सरस्वती आधारभूत विद्यालयका शिक्षक समेत रहेका शशिरामले भने, ‘आफ्नै विद्यार्थी कुलतमा फसेको देख्दा मन रुन्छ । तर एउटा शिक्षकको के नै लाग्ने रहेछ र ?’
यहाँका बालबालिकाहरू यसरी कुलतमा फस्न थालेको भने दुई–तीन वर्ष मात्रै भएको उनले बताए । ‘पहिला यो ठाउँमा लागु औषधको त्यस्तो समस्या थिएन । तर पछिल्लो समय एकाएक बढ्न थाल्यो,’ उनले भने, ‘पढाइ पुरा गर्न सक्दैनन्, भने जस्तो रोजगारी पाइँदैन । दैनिक आवश्यकता र चाहना बढ्दा छन्,’ शिक्षक शशिरामले भने, ‘असफलता र आवश्यकताबिचको बेमेल हुँदा उनीहरूमा फ्रस्टेसन बढ्दो छ । अनि नसाको कुलतमा फस्छन् ।’
‘उनीहरूलाई फिर्ता ल्याऔं’ अभियान सुरु
पूर्वी सुर्खेतमा विद्यालय छोड्ने बालबालिकाहरूको दर बढेपछि युवाहरूको संस्था फ्यूचर नेपालले ‘उनीहरूलाई फिर्ता ल्याऔँ’ नामक अभियान सुरु गरेको छ । सार्वजनिक शिक्षाको जवाफदेहीताका लागि नागरिक समाजको सशक्तीकरण (सिएसई) कार्यक्रम अन्तर्गत कारखाना समूहसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो ।
अभियान अन्तर्गत पहिलो चरणमा गुर्भाकोट र लेकबेसी नगरपालिकाका केही विपन्न बस्ती र विद्यालयहरूमा विद्यालय छोड्ने विद्यार्थीहरूबारे अध्ययन, अनुसन्धान गरिरहेको अभियन्ता रचना पन्थीले जानकारी दिइन् । अभियन्ताहरुले दुई स्थानीय तहका १० दलित, जनताति र वादी समुदायको बाहुल्य बसोबास रहको बस्तीमा पुगेर विद्यालय छोड्ने बालबालिकाहरूबारे मसिनो गरी अध्ययन गरेको छ ।
साथै गुर्भाकोटको सूर्यज्योति माध्यमिक विद्यालय र लेकबेसीको पशुपति माध्यमिक विद्यालयमा सहडिजाइन कार्यक्रम मार्फत समस्या पहिचान गरिएको छ । विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र नागरिक समाजका अगुवा लगायतलाई एकै ठाउँमा राखेर विद्यालय छोड्ने समस्या बारे छलफल गरिएको छ ।

विद्यार्थीहरूले किन र के कारणले विद्यालय छोड्छन् ? विद्यालय छोडेका विद्यार्थीहरूलाई कसरी पुन: स्कुल फर्काउन सकिन्छ भन्नेबारे सहडिजाइन मार्फत समस्याको गहिराइमा पुग्ने प्रयास गरिएको अभियन्ता पन्थीले जानकारी दिइन् । ‘उक्त अभियान मार्फत हामी स्कुल छोड्नेहरूको पहिचान गर्छौं, समाधानका लागि सम्बन्धित निकायलाई पहल गर्छौं,’ अभियन्ता पन्थीले भनिन्, ‘हामीले अनुसन्धानको निष्कर्ष पनि केही समय भित्र सार्वजनिक गर्छौं ।’
विद्यालय छोड्नुको प्रमुख कारण भने आर्थिक अभाव, बालविवाह र लागु औषध दुर्व्यसनी जस्ता समस्या अनुसन्धानको क्रममा देखिएको अभियन्ताहरू बताउँछन् । केही दृष्टिविहीन बालबालिकाहरू पनि पहुँचयोग्य शैक्षिक संस्था नहुँदा माथिल्लो कक्षामा जान नसकेको देखिएको छ ।
त्यस्तै आर्थिक अभाव भएका बालबालिकाहरूलाई शैक्षिक सहायता नभएको, स्वरोजगार मूलक शिक्षा नहुँदा पढाइमा वितृष्णा बढेको, पढाइ सम्बन्धी उत्प्रेरणा दिने गतिविधि नभएको र सरकारका कुनै पनि निकायसँग विद्यालय छोड्ने विद्यार्थीहरूलाई पुन: कक्षाकोठा फर्काउने कार्यक्रम नहुँदा पनि यसको दर बढेको सहडिजाइनमा सहभागीहरूको निष्कर्ष थियो ।
उक्त अभियान मार्फत दोस्रो चरणमा विद्यालय छोडेका बालबालिका, अभिभावक, स्थानीय अगुवा, जनप्रतिनिधि लगायतलाई एकै ठाउँमा राखेर पढाइप्रति प्रेरणा दिन ‘बिसाउन चौतारी’ नामक कार्यक्रम गरिने अर्की अभियन्ता भावना रानाले जानकारी दिइन् ।
प्रदेशमै बढ्दो छ विद्यालय छोड्नेको दर
कर्णालीमा माध्यमिक तह (१५–१९ वर्ष) मा पुगेपछि विद्यालय छोड्ने दर राष्ट्रिय औसत भन्दा उच्च छ । राष्ट्रिय जनगणना २०७८ मा आधारित नेपालमा शिक्षा र समावेशिता प्रतिवेदन अनुसार ५–९ वर्ष उमेर समूहका करिब ७–८ प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएको देखिन्छ ।
१५–१९ वर्ष उमेर समूहका करिब १८–१९ प्रतिशत बालबालिकाहरूले पढाइ छोडिसक्ने गरेको देखिन्छ । यही उमेर समूहबाट नै विद्यार्थी घट्ने, ड्रप आउट सुरु हुने चरण रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै २०–२४ वर्ष उमेर समूहका युवाहरूको विद्यालय/कलेज उपस्थितिदर तीव्र रूपमा घट्ने गरेको देखिन्छ ।
समग्रमा, उमेर र तह बढ्दै जाँदा विद्यालय छोड्ने दर बढेको प्रतिवेदनमा उल्लेख छ । कर्णालीमा ६ देखि १० वर्ष, १३ देखि १८ वर्ष उमेर समूहमा विद्यार्थीहरूको उपस्थितिदर उच्च देखिन्छ ।
उक्त प्रतिवेदन अनुसार देशैभर पाँच वर्षको उमेरपछि विद्यालय जाने दर उच्च भए पनि माध्यमिक तहपछि विद्यालयमा उपस्थितिदर भने तीव्र रूपमा घटेको छ ।
१५–१९ वर्ष उमेर समूहका प्रत्येक चारमध्ये एक जना विद्यालयभन्दा बाहिर रहेको तथ्यांकमा उल्लेख छ । जसमा छात्राहरूको हकमा यो समस्या अझ बढी देखिन्छ ।
राष्ट्रिय स्तरमा ५–१७ वर्ष उमेर समूहका करिब १० प्रतिशत अर्थात् ७ लाख ७० हजार बालबालिका विद्यालय बाहिर छन् । तीमध्ये करिब आधा कहिल्यै विद्यालय नगएका छन् भने आधा विद्यालय छोडेका छन् ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कर्णालीका ७.१ प्रतिशत बालबालिका विद्यालय पहुँचबाहिर छन् । मन्त्रालयका अनुसार डोल्पा र जुम्लामा १३.६ प्रतिशत बालबालिका विद्यालय जान पाएका छैनन् ।
त्यस्तै सुर्खेतका ६.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । हुम्लामा ११.६ प्रतिशत, मुगुमा ९.३ प्रतिशत, दैलेखमा ६.९ प्रतिशत, सल्यानमा ६.८ प्रतिशत, जाजरकोटमा ६.७ प्रतिशत तथा कालिकोट र रुकुम पश्चिममा ६.२ प्रतिशत बालबालिका विद्यालय गएका छैनन् ।
प्रतिक्रिया 4