संसदीय चुनावमा भाग नलिने प्रतिबद्धता विपरीत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिए । तर, शुक्रबार उनले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय पनि गरे । उनले किन उम्मेदवारी दिए र अन्तिममा फिर्ता लिए ? उम्मेदवारी मात्रै फिर्ता लिएको हो कि राजनीतिबाट विश्राम पनि लिने ? यो निर्वाचनमा अब कसलाई सघाउने ? कतै चुनावपछि कुनै राजकीय भूमिका लिने सहमति भएको छ ?
अनलाइनखबरका लागि बसन्त बस्नेतले यिनै प्रश्नहरूको जवाफ खोजेका छन् ।
तपाईंले आफ्नो उम्मेदवारी किन फिर्ता लिनुभयो?
मैले सुरुमा उम्मेदवारी नदिने नै सोच बनाएको थिएँ। तर पछिल्लो समय देशको राष्ट्रियता र स्वाधिनता सम्बन्धी प्रश्न, संविधान संशोधनको आवश्यकता, सत्य निरुपण तथा मेलमिलाप आयोग र जेनजी विद्रोहपछिका सम्झौता कार्यान्वयन गराउने लगायतका विषयहरूमा संसदभित्रैबाट भूमिका निर्वाह गर्नु उपयुक्त होला भन्ने लागेर मैले उम्मेदवारी दिएँ । त्यसक्रममा विभिन्न दल र पक्षका साथीहरूले मलाई भेटेर तपाईँजस्तो व्यक्तित्व एउटा पार्टीका लागि मात्र चुनाव लड्नुभन्दा साझा महत्वपूर्ण विषयहरूमा सल्लाह-सुझाव दिने अभिभावकको भूमिकामा बस्नु नै उपयुक्त हुन्छ भन्ने आग्रह गर्नुभयो । त्यसपछि मैले अहिलेको संविधानमा टेकेर अग्रगमनको दिशामा जान र वैकल्पिक शक्तिहरूलाई प्रवर्द्धन गर्न नै भूमिका निर्वाह गरेको हुनाले भित्र बाहिर जहाँ रहे पनि ठिकै हुन्छ । तर पनि मूल रूपमा राष्ट्रिय एकताको वातावरण बनोस् र त्यसलाई सघाउँछु भनेर नै मैले उम्मेदवारी फिर्ता लिएको हुँ।
तपाईंले अरू कुनै उम्मेदवारलाई समर्थन दिन लाग्नुभएको हो ?
मैले अहिले नै कसैको नाम घोषणा गरेको छैन। तर मेरो समर्थन राम्रा र असल ती उम्मेदवारलाई हुनेछ, जो संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा उभिन्छन्, सुशासन र समृद्धिको कार्ययोजनामा प्रतिबद्ध छन्। विशेषगरी जटिल भू-राजनीतिक सन्तुलन मिलाउँदै देशलाई समृद्ध बनाउन क्रियाशील रहने र शान्ति प्रक्रियाका बाँकी काम (सत्यनिरूपण तथा मेलमिलाप) हुँदै जेनजी आन्दोलनका सहमति कार्यान्वयन गर्न प्रतिबद्ध व्यक्तिलाई मेरो साथ रहनेछ।
गोरखा-२ का अरू उम्मेदवारहरूमध्ये तपाईंले व्याख्या गरेअनुसार काम गर्न सक्ने योग्य पात्र को होलान् ?
अहिले मैले त्यसरी टुंगो लगाइसकेको छैन । मसँग हिजो सहकार्य गरेका प्रगतिशील लोकतान्त्रिक पार्टीका साथीहरू पनि देशका विभिन्न भूभागबाट उठिरहनु भएको छ । त्यस्तै, रास्वपाका साथीहरूले पनि आग्रह गरिरहनुभएको छ। विभिन्न पार्टीमा रहेका स्वच्छ छविका नेताहरूले पनि आग्रह गरिराख्नु भएको छ । म मैले उठाएका मुद्दामा केन्द्रित हुनेहरूलाई नै सघाउने मेरो प्रतिबद्धता रहन्छ ।
२०७४ सालमा तपाईँले वाम गठबन्धनका लागि त्याग गर्नुभएको थियो। यसपालि पनि तपाईँको त्याग माओवादी केन्द्रकै लागि त होइन?
त्यस्तो होइन। २०७४ सालको सन्दर्भ अर्कै थियो; त्यतिबेला संविधान नै धरापमा पर्ने हो कि भन्ने डरले म गठबन्धनमा सामेल भएको थिएँ। अहिले म कुनै खास गठबन्धनमा छैन। मेरो संघीय लोकतान्त्रिक गणतन्त्र न्यूनतम बटमलाइन भइहाल्यो । जटिल भूराजनीतिको छ, त्यसको सन्तुलन गर्दै राष्ट्रिय स्वाधीनताको प्रश्नमा म कसैसँग सम्झौता गर्दिनँ। अहिले तत्काल सत्य निरुपण तथा बेपत्ता आयोगको काम र अहिले जेनजी आन्दोलनसँग जोडिएका मागहरूलाई कार्यान्वयन गर्ने कुरा रहन्छ । छिटो आर्थिक विकासको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने मुद्दामै केन्द्रित भएर मैले सहयोग गर्छु ।
तपाईंले २०७९ मा “संसदीय चुनाव लड्दिनँ” भन्नुभएको थियो। अहिले ७० वर्ष पुग्न लाग्दा फेरि किन उम्मेदवारी दिनुभयो ?
यो परिस्थिति किन आयो भने, पछिल्लो चरणमा खासगरी भदौ २४ देखि २७ गतेसम्म भएको जेनजीविद्रोहले झण्डै ‘राज्यविहीनता’ को अवस्था सिर्जना गरिदियो। त्यस परिदृश्यले मलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य पार्यो- नेपालको इतिहासमा यहाँको सार्वभौमसत्ता यति कमजोर कहिल्यै थिएन र भू-राजनीतिक चासो पनि यसरी मडारिएर आएको थिएन। यस्तो संकटपूर्ण घडीमा हामीजस्तो लामो अनुभव भएका परिपक्व व्यक्तित्वहरूले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नीति निर्माणका विषयमा संसदभित्रैबाट भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई महसुस भयो।
अर्कोतर्फ, १० वर्ष पुगेपछि संविधानको पुनरावलोकन गर्ने कुरा छ र जेनजी आन्दोलनका क्रममा पनि यी मागहरू उठेका छन्। संविधानको एक निर्माता भएको नाताले, ती मुद्दाहरूलाई सही दिशा दिन संसद नै उपयुक्त थलो भएकाले त्यहाँबाटै आफ्नो भूमिका निर्वाह गर्नु श्रेयस्कर हुन्छ भन्ने मलाई लागेको हो। तर त्यसको निम्ति विभिन्न पक्षसँग सहमति बनाएर जानुपर्ने हुन्छ । अहिले चुनावकै क्रममा सहमति हुने दलहरूमा देखिएन । सबै आफ्नै तालमा हिंडिरहेको स्थितिमा मैले एक्लैले संसदभित्रबाट भन्दा बाहिरै रहेर पनि सल्लाह-सुझाव दिन सक्छु भन्ने पनि लाग्यो र कतिपय दलहरूले अभिभावकीय भूमिकामै रहनुपर्छ । भोलि पनि राज्य सञ्चालनमा तपाईंहरुको अनुभव बाँड्नुपर्छ भन्नुभएकोले मलाई संसदमै रहिरहनुपर्छ भन्ने लागेन । यस्तोमा म ७० नाघेको भन्दा नयाँ पुस्ताको साथीहरू आउनुहुन्छ भनेर चुनावी प्रतिस्पर्धामा होमिन चाहिनँ । म सबैको साझा अभिभावकको रूपमा बाहिरै रहेर भूमिका निर्वाह गर्छु भन्ने निष्कर्षमा पुगेँ ।
तपाईंका निर्णयहरूमा पटक-पटक असङ्गति देखियो भन्ने आरोप छ नि? कहिले कुन पार्टी, कहिले संरक्षक त कहिले स्वतन्त्र, किन यस्तो?
हैन, यसलाई त्यसरी नबुझौँ। म अहिले पनि औपचारिक रूपमा कुनै पनि पार्टीको सदस्य छैन। हिजोको ‘नयाँ शक्ति’ र अरू साथीहरू मिसिएर बनेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ ले मलाई संरक्षक भनेको छ। संरक्षक हुनुको अर्थ पार्टीको प्रत्यक्ष अनुशासनमा बस्नु पर्दैन, तर आवश्यक सल्लाह र सुझाव भने दिनुपर्छ।
अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का साथीहरूले पनि मलाई बारम्बार ‘अभिभावकीय भूमिका’ निर्वाह गरिदिनु पर्यो भनिरहनुभएको छ। आज मात्रै पनि उहाँहरूले बाहिर एउटा वक्तव्य नै जारी गरेर मलाई अभिभावकको रूपमा रहन आग्रह गर्नुभएको छ। त्यस अर्थमा म अहिले एउटा साझा भूमिकामा छु।
मेरो वैचारिक प्रतिबद्धता सधैँ ‘अग्रगमन’ नै हो। नेपाल जस्तो जटिल भू-राजनीति भएको, आर्थिक रूपमा विपन्न र जातीय-क्षेत्रीय विविधता भएको देशमा अग्रगामी एवं प्रगतिशील लोकतान्त्रिक सोच नै सही हुन्छ भन्ने मेरो दृढ मान्यता छ। म आफ्नो विचारमा अडिग छु, तर दलगत रूपमा यही विचारको वरिपरि रहने नयाँ र वैकल्पिक शक्तिहरूको साथमा रहन्छु। त्यसैले, संसदभित्र हुनु वा बाहिर रहनु भन्ने कुरा प्राविधिक पक्ष मात्र हुन्, यसमा मेरो कुनै वैचारिक असङ्गति छैन।
तपाईंले यसपालि प्रचण्डको आग्रहमा उम्मेदवारी फिर्ता लिनुभएको हो कि रास्वपाको आग्रहमा?
मलाई धेरैतिरबाट आग्रह त आएकै हो, तर यो आग्रहको मात्र कुरा होइन। मैले चाहेको कुरा के हो भने- अहिले नेपालको भू-राजनीतिक जटिलता यति बढेको छ कि यसलाई सही ढंगले व्यवस्थापन गरेर देशको स्वायत्तता रक्षा गर्ने प्रश्न विगतभन्दा धेरै चुनौतीपूर्ण भएको छ। यस्तो संवेदनशील विषयमा कुनै एउटा दल विशेष मात्र होइन, एउटा साझा ‘राष्ट्रिय सहमति’ बन्नुपर्छ भन्ने मेरो दृढ धारणा छ।
अर्को कुरा, हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा केही कमजोरी हुन सक्छन्, तिनलाई कसरी सुधारेर लैजाने र व्यवस्थालाई ‘डिरेल’ हुनबाट कसरी जोगाउने भन्ने प्रश्न छ। यसका लागि पनि बहुपक्षीय समझदारी अनिवार्य छ। साथै, शान्ति प्रक्रियाका बाँकी काम र अहिले जेनजी आन्दोलनले उठाएका मागहरू पनि बृहत् सहमतिबिना टुङ्गिदैनन्।
त्यसैले, कुनै एक पक्षसँग मात्र लाग्नुभन्दा यी मुद्दाहरूमा समान सोच राख्ने शक्तिहरूसँग मेरो सहकार्य र सहयोग रहन्छ। नयाँ दल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का साथीहरूले मलाई सक्रिय रूपमै अभिभावकीय भूमिकाको लागि आग्रह गरिरहनुभएको छ भने प्रगतिशील लोकतान्त्रिक पार्टीका साथीहरूले औपचारिक रूपमै संरक्षक तोक्नुभएको छ। म सबैसँग ‘समदूरी’ मा रहेर सघाउँछु। तर मेरा लागि ‘प्रतिगमन’ र ‘राष्ट्रघात’ सधैँ ‘लक्ष्मण रेखा’ हुनेछन्, जसमा म कुनै सम्झौता गर्दिनँ।
तर, प्रतिगमन र राष्ट्रघात कसलाई भन्ने? विगतमा बुढीगण्डकी आयोजनाको सन्दर्भमा प्रचण्डले राष्ट्रघात गरेको आरोप त तपाईंले नै लगाउनुभएको थियो । अहिले रास्वपामाथि त्यस्तै आरोप छ । तपाईंको झुकाव कता बढी हुन्छ ?
राष्ट्रघातलाई हामीले धेरै हल्का बनायौँ। कुनै व्यक्तिले गर्ने सानो कमजोरी वा प्राविधिक गल्तीलाई राष्ट्रघात भनिहाल्न मिल्दैन। मेरो बुझाइमा ‘राष्ट्रघात’ भनेको देशको सार्वभौमिक स्वाधीनता र भौगोलिक अखण्डतामा नै आँच पुर्याउने कार्य हो। कसैले कुनै विषयमा कमजोरी गर्यो, अपारदर्शी काम गर्यो वा भ्रष्टाचारजन्य कार्य गर्यो भने त्यो निश्चित रूपमा दण्डनीय अपराध हो, तर त्यसलाई राष्ट्रघात नै भन्नु चाहिँ अतिशयोक्ति हुन्छ। हामीकहाँ हरेक कुरालाई राष्ट्रघात भनिदिने जुन चलन छ, त्यसरी नबुझियोस् भन्ने मात्र मेरो आशय हो।

यो पटकको चुनावमा पूर्व प्रधानमन्त्रीहरूको संख्या निकै कम हुने देखियो। शेरबहादुर देउवा, तपाईँ आफैँ र झलनाथ खनाल लगायतका नेताहरू मैदानमा नहुँदा यो चुनाव ‘पूर्व प्रधानमन्त्रीविहीन’ जस्तो हुने भयो, हैन त?
हामीमध्ये धेरैजना ७० वर्ष काटिसक्यौँ, कतिपय त ८० को हाराहारीमा हुनुहुन्छ। त्यसैले यो स्वाभाविक प्रक्रिया पनि हो। यद्यपि, उमेरले नै सबै कुरा निर्धारण गर्छ भन्ने मान्यता म राख्दिनँ; राजनीतिमा उमेरभन्दा पनि ‘विचारसहितको अनुभव’ को हिसाब हुनुपर्छ। उमेर पुगेका मान्छेहरूले पनि अभिभावकीय भूमिकाबाट उस्तै योगदान दिन सक्छन्। तैपनि, शारीरिक अवस्था अलि कमजोर हुने र चुनावी दौडधुपमा धेरै मिहिनेत गर्न नसकिने हुँदा यसलाई मैले स्वाभाविक रूपमा लिएको छु। चुनावी मैदानमा हाम्रो संख्या थोरै हुनुलाई अन्यथा मान्नु पर्दैन।
यो पटकको संसदीय चुनाव भए पनि स्वरूप चाहिँ ‘प्रधानमन्त्रीय प्रणाली’ को चुनाव जस्तो देखिँदै छ। केपी शर्मा ओली, गगन थापा र बालेन शाहले अघि सारेका उम्मेदवारहरूले आफूलाई केवल एउटा क्षेत्रको सांसद मात्र नभई ‘भावी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गरिरहेका छन्। एक पूर्वप्रधानमन्त्रीको नाताले यसलाई कसरी हेर्नुहुन्छ?
सामान्यतया हाम्रो जस्तो संसदीय प्रणालीमा ‘अप्रत्यक्ष निर्वाचन’ हुन्छ। यहाँ मतदाताले आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधि छान्छन् र ती प्रतिनिधिहरूले संसद्मा बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्ने परम्परागत चलन छ।
यद्यपि, विश्वका कतिपय ठाउँमा चुनावकै क्रममा भोलिको प्रधानमन्त्री को हो भनेर प्रस्तुत गर्ने अभ्यास पनि छ। यसले जनतामा आकर्षण बढाउन र नेतृत्वलाई बलियो देखाउन मद्दत गर्छ। त्यसैले अहिले भइरहेको यो अभ्यासलाई अन्यथा मान्नु पर्दैन, तर हाम्रो प्रणालीको नियमित चलन भने यो होइन।
अब तपाईंको आफ्नै राजनीतिक जीवनको कुरा गरौँ। तपाईँको सक्रिय राजनीति अब बिस्तारै विश्रामतर्फ जान लागेको हो कि भविष्यमा फेरि अर्को चुनावमा तपाईँलाई देख्न सकिन्छ?
हेर्नुस्, म राजनीतिलाई ‘सत्तादेखि सत्तासम्म’ को खेल मान्दिनँ। म त सधैँ ‘रुपान्तरणकारी परिवर्तन’ को राजनीतिमा थिएँ र छु। मेरो लागि चुनाव भनेको एउटा तत्कालीन प्रश्न मात्र हो; आवश्यकता अनुसार कहिले भाग लिइन्छ, कहिले लिइँदैन। तर मेरो रुपान्तरणको राजनीति त आजीवन कायम रहन्छ। त्यसैले यसलाई विश्राम भन्न मिल्दैन, केवल भूमिकाको परिवर्तन मात्र हो।
अघिल्लो पटक तपाईँको लगाव प्रचण्डतिर देखिएको थियो, यसपालि रास्वपातिर ढल्किनुभएको हो? के भोलि सरकारमा नभए पनि कुनै कार्यकारी भूमिका वा विकास योजनाको जिम्मेवारी पाउने गरी भित्र कुनै ‘अन्डरस्ट्यान्डिङ’ भएको छ?
हामीकहाँ कुनै पनि निर्णयको पछाडि के स्वार्थ लुकेको होला भनेर शङ्का गर्ने एउटा ‘कन्स्पिरेसी’ सिर्जना गर्ने चलन छ। तर लोकतन्त्रमा सबै कुरा खुलै हुन्छ। मैले सक्ने, जानेको, बुझेको र अनुभव हासिल गरेको कुरा देशको लागि आवश्यक पर्दा जोसुकैलाई पनि सघाउन तयार छु, चाहे ऊ सरकारमा होस् वा बाहिर।
विशेषगरी अहिलेका नयाँ र उदाउँदो दलका साथीहरूसँग ‘स्टेट क्राफ्ट’ (राजकाज) र अन्तर्राष्ट्रिय सम्बन्धका कतिपय विषयमा अनुभवको कमी छ। उहाँहरूले त्यस्ता विषयमा मबाट सल्लाह र सहयोगको अपेक्षा गर्नुभएको छ।
पछिल्लो समय रास्वपाका साथीहरूले त एउटा खुल्ला वक्तव्य नै जारी गरेर मलाई अभिभावकीय भूमिकाको लागि आग्रह गर्नुभएको छ। त्यसैले, जसले देशको हितका लागि मेरो सल्लाह चाहनुहुन्छ, म उहाँहरू सबैलाई सरसल्लाह दिन तयार छु।
अन्तिममा, यो चुनावलाई लिएर तपाईँको केही विशेष टिप्पणी छ?
यो चुनाव स्वतन्त्र, निष्पक्ष र समयमै सम्पन्न होस्। यसले स्वच्छ छवि भएका, योग्य र समावेशी प्रतिनिधित्व भएका प्रतिनिधिहरू चयन गरोस् भन्ने मेरो चाहना छ। अहिले हाम्रो लोकतन्त्र अलिकति धर्मराएको अवस्थामा छ, यो चुनावले त्यसलाई जोगाएर समुन्नत लोकतन्त्रको दिशामा अगाडि बढाओस्। मेरो इच्छा र शुभकामना यही नै छ ।
प्रतिक्रिया 4