News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डमाथि कब्जा जमाउने धम्की दिएपछि डेनमार्कका नागरिकहरूले अमेरिकी सामानको अनलाइन बहिष्कार अभियान सुरु गरेका छन्।
- डेनमार्कमा 'ननयूएसए' र 'मेड ओ'मिटर' जस्ता एपहरूले अमेरिकी उत्पादन पहिचान गरी स्थानीय विकल्प देखाउने काम गरिरहेका छन्।
- पछिल्लो सातामा यस्ता एपहरूको डाउनलोडमा ८६७ प्रतिशत वृद्धि भएको छ र नेटफ्लिक्स सदस्यता र अमेरिका भ्रमण योजना पनि रद्द भइरहेका छन्।
डेनमार्कका नागरिकहरूले अमेरिकाविरुद्ध एक अनौठो अनलाइन युद्ध सुरु गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वामित्वमा रहेको ग्रीनल्यान्डमाथि कब्जा जमाउने धम्की दिएपछि युरोपभरि नै अमेरिकाप्रति आक्रोश फैलिएको छ । यसमा अझ डेनिस जनताको आक्रोश उच्च बिन्दुमा पुगेको छ।
ट्रम्पको विरोधस्वरूप डेनमार्कका जनताले अमेरिकी सामानविरुद्ध अनलाइन अभियान थालेका छन् । उनीहरूले अमेरिकी उत्पादनको बहिष्कार सुरु गरेका छन् । अमेरिकी सामान पहिचान गर्न उनीहरूले यस्ता एपको प्रयोग गरिरहेका छन्, जसले कुनै वस्तु कहाँ बनेको हो र त्यसलाई उत्पादन गर्ने कम्पनी कुन देशको हो भन्ने कुरा सजिलै जानकारी गराइदिन्छ।
अचानक बढ्यो ‘एन्टी-अमेरिका’ एपको डाउनलोड
डेनमार्कमा स्मार्टफोनहरूमा एकाएक यस्ता मोबाइल एपहरूको बाढी आएको छ, जसले उपभोक्तालाई कुन सामान अमेरिकामा बनेको हो र त्यसका स्थानीय विकल्प के-के हुन सक्छन् भन्ने कुरा पहिचान गर्न मद्दत गर्छन् । यो बहिष्कार अभियान डेनमार्कमा मात्र सीमित नरही ग्रीनल्यान्ड, नर्वे, स्विडेन र आइसल्यान्डजस्ता देशहरूमा पनि तीव्र गतिमा फैलिँदै गएको छ । यसका कारण युरोपमा अमेरिकी सामानको बिक्री घट्ने र डेनमार्कका उत्पादकहरूको बिक्री बढ्ने आँकलन गरिएको छ ।
बारकोड स्क्यान गरेर अमेरिकी सामान पहिचान
यो अमेरिकाविरोधी अनलाइन संघर्षमा डेनिसहरूले ‘ननयूएसए’ र मेड ओ’मिटर जस्ता एपहरू आफ्नो फोनमा भटाभट डाउनलोड गरिरहेका छन् । ‘ननयूएसए’ एप यो साताको बुधबार डेनमार्कको एप स्टोरमा पहिलो स्थानमा पुगेको छ, जबकि केही दिनअगाडि मात्र यो ४०० औँ स्थानभन्दा पनि तल थियो।
यस एपबाट प्रयोगकर्ताले कुनै पनि सामानको बारकोड स्क्यान गरेर तुरुन्तै त्यो उत्पादन अमेरिकी हो कि होइन भन्ने जानकारी पाउन सक्छन् । यदि सामान अमेरिकी भएको पुष्टि भयो भने यो एपले त्यसको सट्टामा डेनमार्कमा बनेका स्थानीय विकल्पहरूको सूची तुरुन्तै देखाइदिन्छ ।
तथ्यांकअनुसार, पछिल्लो एक हप्तामा यस्ता एपहरूको डाउनलोडमा ८६७ प्रतिशतको भारी वृद्धि भएको छ । यसले मानिसहरू आफ्नो विरोधलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग गरिरहेका छन् भन्ने स्पष्ट देखाउँछ।
नेटफ्लिक्स र बिदा मनाउन अमेरिका जाने योजना समेत रद्द
युरोपेली उपभोक्ताहरूको यो आक्रोश केवल पसलसम्म मात्र सीमित छैन । डेनमार्कका नागरिकहरूले अब नेटफ्लिक्सजस्ता अमेरिकी स्ट्रिमिङ सेवाहरूको सदस्यता पनि रद्द गर्न थालेका छन् । यति मात्र होइन धेरै मानिसहरूले त अमेरिकामा बिदा मनाउने योजना तथा होटल बुकिङसमेत रद्द गरेका छन् । यो आन्दोलनले अहिले अभियानको रूप लिँदै गएको छ। जहाँ मानिसहरूले अमेरिकी अर्थतन्त्रलाई असर पारेर आफ्नो असन्तुष्टि व्यक्त गर्न चाहिरहेका छन् ।
युरोपका स्मार्टफोन प्रयोगकर्ताबीच पछिल्लो समयमा ‘Rejsekort’ जस्ता यात्रा सम्बन्धी एप र अन्य स्थानीय सेवाहरू पनि लोकप्रिय बनिरहेका छन् । यसको कारण मानिसहरूले अब अमेरिकाको सट्टा आफ्नै देश तथा छिमेकी क्षेत्रमा यात्रा गर्न प्राथमिकता दिन थालेका छन्।
यद्यपि डेनमार्कको स्मार्टफोन एप बजार अमेरिका वा चीनको तुलनामा सानो छ तर हाल देखिएको ट्रेन्डले धेरै कुरा संकेत गरिरहेको छ। डेनमार्कमा कुनै एप टप टेनमा पुग्नका लागि केही हजार डाउनलोड नै पर्याप्त हुने गर्छ । तर ‘ननयूएसए’ जस्ता एपहरू अत्यन्तै छिटो समयमा शीर्षस्थानमा उक्लिनुलाई त्यहाँको सामाजिक वातावरणमा आएको ठूलो परिवर्तनको संकेत मानिएको छ।
हुनत डेनमार्कमा अहिले पनि सबैभन्दा लोकप्रिय एपहरूको सूचीमा शपिङ, च्याटजिपिटी र माइक्रोसफ्टजस्ता केही अमेरिकी एपहरू अझै कायम छन् । तर अमेरिका बहिष्कारसँग सम्बन्धित एपहरूको बढ्दो लोकप्रियता र सङ्ख्याले प्रविधि जगतमा नयाँ तरंग उत्पन्न गराएको छ। त्यसैले राजनीतिक तनाव मथ्थर नहुन्जेलसम्म डेनिस बजार र स्मार्टफोनहरूमा अमेरिकी कम्पनीहरूको अवस्था असहज नै हुने देखिन्छ।
एजेन्सी
प्रतिक्रिया 4