११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि मतदान सुरु भएको छ । मधेश प्रदेशबाट रिक्त चार सिटका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।
महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि छुट्टा–छुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ ।
निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार अन्य, महिला, दलित तथा अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूह गरी चार सिटमा निर्वाचन हुँदैछ ।
मधेशमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जसपा नेपालले आफ्ना तीन उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाए पनि उनीहरूको नाम मतपत्रमा भने कायम छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चारवटै समूहमा उम्मेदवारी दिएको छ। जसपा नेपालले ३, नेपाली कांग्रेसले २ तथा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले १–१ सिटमा उम्मेदवारी दिएका छन् ।
लोसपा र जसपा नेपालबीच सहकार्य भएपछि उम्मेदवारी दर्ता गराएका तीन जनाको नाम निष्क्रिय पारिएको हो ।
महिला समूहमा जसपा नेपालकी चन्द्रकलादेवी साह, नेकपा एमालेकी रेखाकुमारी झा र नेकपाकी शमीकुमारी अग्रवाल उम्मेदवार छन् ।
दलित समूहमा जसपा नेपालकी चमेलीदेवी दास, नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, कांग्रेसका रन्जित कर्ण र जसपा नेपालका शैलेशकुमार चौधरी उम्मेदवार रहेका छन् ।
अन्य समूहमा लोसपाका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार छन् ।
मधेश प्रदेशमा १०० जना प्रदेशसभा सदस्य र २६४ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३६४ जना मतदाता छन् ।
प्रतिक्रिया 4