+
+
Shares

उपत्यकाको टिकट वितरण : थातथलोमै खुम्चियो नेवार समुदाय

कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपा जस्ता प्रमुख दलले नै काठमाडौंको टिकट वितरणमा नेवार समुदायलाई खुम्च्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १९:२८

१३ माघ, काठमाडौं  । काठमाडौं उपत्यकामा नेवार समुदायको बाहुल्य छ । तर प्रमुख दलहरूले त्यही समुदायलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन कञ्जुस्याइँ गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी(नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) जस्ता प्रमुख दलले काठमाडौंको टिकट वितरणमा नेवार समुदायलाई खुम्च्याएका छन् ।

कांग्रेसले उपत्यकाका १५ क्षेत्रमध्ये जम्मा तीन क्षेत्रमा मात्रै नेवार समुदायबाट उम्मेदवार उठाएको छ । काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमा त यो समुदायको प्रतिनिधित्व गर्ने एक जना मात्रै कांग्रेस उम्मेदवार छन् ।

कांग्रेसले काठमाडांै–१ मा प्रबल थापा, २ मा कविर शर्मा, ३ मा रमेश अर्याल, ४ मा सचिन तिमल्सिना, ५ मा प्रदीप पौडेल, ६ मा सबुज बानियाँ, ७ मा प्रमोदहरि गुरागाईं, ८ मा सपना राजभण्डारी, ९ मा नानु बास्तोला र १० मा हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ । जसमध्ये काठमाडौं–८ मा उम्मेदवार रहेकी राजभण्डारी मात्रै नेवार समुदायबाट प्रतिनिधित्व गर्छिन् ।

ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये कांग्रेसले दुई वटामा भने नेवार उम्मेदवार उठाएको छ । ललितपुर–२ मा प्रेमकृष्ण महर्जन र ३ मा जितेन्द्रकुमार श्रेष्ठ नेवार समुदायबाट प्रतिनिधित्व गर्छन् । ललितपुर–१ का उम्मेदवार उदय शमशेर जबरा भने खसआर्य समुदायका हुन्  ।

कांग्रेसले भक्तपुर–१ मा किरण न्यौपाने र २ मा कविर राणालाई उम्मेदवार बनाएको छ । दुवै खसआर्य समुदायबाट प्रतिनिधित्व गर्छन् ।

एमालेले उपत्यकाका १५ मध्ये ६ क्षेत्रमा नेवार समुदायबाट उम्मेदवार बनाएको छ । एमालेले काठमाडौं जिल्लाका १० मध्ये पाँच क्षेत्रमा नेवार समुदायकै नेतालाई उठाएको छ । जसमा काठमाडौं–६ मा अमनकुमार मास्के, ७ मा प्रकाश श्रेष्ठ, ८ मा राजेश शाक्य, ९ मा अजयक्रान्ति शाक्य र १० मा विनोद श्रेष्ठ छन् ।

एमालेबाट काठमाडौं–१ मा मोहनराज रेग्मी, २ मा मणिराम फुयाल, ३ मा रामेश्वर फुयाल, ४ मा राजन भट्टराई र ५ मा ईश्वर पोखरेल उम्मेदवार छन् । उनीहरू सबै खसआर्य समुदायबाट प्रतिनिधित्व गर्छन् ।

यो दलले भक्तपुरका दुवै क्षेत्रमा नेवार उठाएको छैन । भक्तपुर–१ मा सोमप्रसाद मिश्र र २ मा महेश बस्नेत एमाले उम्मेदवार छन् ।

उता, ललितपुरका तीन सिटमध्ये ललितपुर–२ मा मात्रै एमालेले नेवार समुदायका प्रेमबहादुर महर्जनलाई उम्मेदवार बनाएको छ । ललितपुर–१ मा चेतनाथ सञ्जेल र ३ मा सन्दन थापा मगर उम्मेदवार छन् ।

नेकपाले अन्य दलको तुलनामा उपत्यकामा बढी नेवार समुदायबाट उम्मेदवार उठाएको छ । नेकपाले उठाएका १५ उम्मेदवारमध्ये ८ मा नेवार समुदायकै प्रतिनिधि समावेश छन् ।

नेकपाले काठमाडौं–१ मा मेनुका भण्डारी, २ मा नितेश पौडेल, ३ मा निरज लामा, ४ मा इन्द्रकुमार भुसाल, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा वसन्तप्रसाद मानन्धर, ८ मा सुमन सायमी, ९ मा राधाकृष्ण महर्जन र १० मा रुपा महर्जन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनीहरूमध्ये क्षेत्र नम्बर ७ का मानन्धर, ८ का सायमी, ९ का महर्जन र १० का श्रेष्ठ नेवार समुदायबाट प्रतिनिधित्व गर्छन् ।

भक्तपुरका दुई क्षेत्रमध्ये नेकपाले १ मा उठाएका हरिराम लवजू नेवार समुदायबाट प्रतिनिधित्व गर्छन् । भक्तपुर–२ मा भने रामप्रसाद सापकोटा नेकपा उम्मेदवार छन् ।

यस्तै, ललितपुरका तीन वटै क्षेत्रमा नेकपाले नेवार समुदायबाट उम्मेदवार उठाएको छ । ललितपुर–१ मा सुनिल महर्जन, २ मा राजेन्द्र अमात्य र ३ मा रामकाजी महर्जन उम्मेदवार छन् ।

नेवार समुदायबाट प्रतिनिधित्व गराउन सबैभन्दा बढी कञ्जुस्याइँ रास्वपाले गरेको छ । उपत्यकाका १५ सिटमा उसले जम्मा दुई जना मात्रै नेवार समुदायका उम्मेदवार उठाएको छ  ।

रास्वपाले काठमाडौं–१ मा रञ्जु न्यौपाने (दर्शना), २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदीप विष्टलाई उठाएको छ । काठमाडौंका १० उम्मेदवारमध्ये क्षेत्र नम्बर ८ का रास्वपा उम्मेदवार श्रेष्ठ मात्रै नेवार समुदायबाट प्रतिनिधित्व गर्छन् ।

रास्वपाले ललितपुर–१ मा नेवार समुदायबाट उम्मेदवार बनाएको छ, जहाँ बुद्धरत्न महर्जन उम्मेदवार छन् । ललितपुर–२ मा जगदीश खरेल र ३ मा डा. तोसिमा कार्की उम्मेदवार छन् । दुवै खसआर्य समुदायबाट प्रतिनिधित्व गर्छन् ।

यस्तै, भक्तपुर–१ मा रुपेक रञ्जित र २ मा राजीव खत्री रास्वपा उम्मेदवार छन् ।

अर्को पुरानो दल राप्रपाले भने उपत्यकाका कुनै पनि क्षेत्रमा नेवार समुदायबाट उम्मेदवार बनाएको छैन । उसले काठमाडौं–१ मा रविन्द्र मिश्र, २ मा कुन्तीदेवी पोखरेल, ३ मा सुन्दरराम बोहरा, ४ मा सुरेन्द्रराज भण्डारी, ५ मा कमल थापा, ६ मा उद्धवराज भेटुवाल, ७ मा लालकुमार लामा, ८ मा नवीन शाही, ९ मा दिलकुमार कार्की र १० मा बलराम थापालाई उम्मेदवार बनाएको छ ।

भक्तपुर–१ मा भरतबहादुर खड्का र २ मा विक्रम थापा राप्रपा उम्मेदवार छन् भने ललितपुर–१ मा सजिना कार्की, २ मा रघुवरराज थापा र ३ मा सविनकुमार खड्कालाई टिकट दिएको छ ।

प्रमुख दलका उम्मेदवारमा मात्र होइन, कुल उम्मेदवारीमा पनि उपत्यकामा नेवार समुदायबाट कम उम्मेदवार बनेको देखिन्छ । काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमा कूल २५३ उम्मेदवारमध्ये ६३ जना मात्रै नेवार समुदायका छन् ।

ललितपुरमा कूल ७१ उम्मेदवारमध्ये २४ र भक्तपुरका ५७ उम्मेदवारमध्ये १८ जना मात्रै नेवार समुदायबाट उम्मेदवार बनेका छन् ।

यसरी आफ्नै थातथलोबाटै नेवार समुदाय उम्मेदवारीमा पछि परेपछि असन्तुष्ट आवाज पनि सुनिन थालेका छन्  । कतिपय प्रमुख दलमा भित्रभित्रै आवाज पनि उठ्न थालेको छ ।

नागरिक अगुवा मल्ल के सुन्दर यसलाई दलहरूले नेपालको राष्ट्रिय सामाजिक संरचनाको मौलिक स्वरूप आत्मसात नगर्दाको परिणाम भनेर टिप्पणी गर्छन्  ।

‘यो केवल नेवार समुदायको मात्रै कुरा होइन, मुलुकका सबै जाति, धर्म–समुदाय, भूगोलका जनताप्रति दलीय संवेदनाको कुरा हो,’ उनी भन्छन्, ‘महिलाकै हकमा पनि कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ । त्यसलाई पनि दलहरूले पालना गरेको देखिँदैन ।’

दलहरूले लोकतन्त्र, संघीयता र गणतन्त्रलाई सबै समुदायको साझा व्यवस्था अनुभूत गराउन नसके त्यसले समस्या सिर्जना गर्ने उनको धारणा छ । ‘लोकतन्त्रमा समावेशी चरित्र नभए, त्यसले सामाजिक संरचना प्रतिबिम्वित नगरे त्यो प्रभावकारी हुन्न । त्यसको परिणाम राष्ट्रियता मजबुत हुन सक्दैन । अहिले भएको त्यही हो,’ सुन्दरले भने ।

अहिले बसाइँ सरेर आएको अन्य समुदायको बाहुल्यता पनि उपत्यकामा बाक्लो छ । दलहरूले सोही कारण पनि नेवार समुदायलाई कम चासो दिएको देखिन्छ । यस्तोमा नागरिक अगुवा सुन्दरको बुझाइ फरक छ ।

‘प्रतिनिधित्वको सवालमा जसको थातथलो जहाँ हो, त्यहीँबाट प्रतिनिधित्व सुनिश्चित गर्नैपर्छ । अन्य समुदायको व्यवस्थापन पनि सोही अनुसार हुनुपर्छ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?