+
+
Shares

उम्मेदवारका चुनावी प्रचार तीव्र, घोषणापत्र लेखन सुस्त

दलीय लोकतान्त्रिक प्रणालीमा विशेष अर्थ राख्ने एउटा महत्त्वपूर्ण काममा भने दलहरूले आवश्यक ध्यान दिएको पाइँदैन। त्यो काम हो- दलहरूको चुनावी घोषणापत्र सार्वजनिक ।

प्रसुन संग्रौला प्रसुन संग्रौला
२०८२ माघ १३ गते २०:२६

१३ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले आफ्नो प्रचार अभियान तीव्र पारेका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लाटफर्महरूमा आफ्नो प्रचार गरिरहेका छन्।

तर दलीय लोकतान्त्रिक प्रणालीमा विशेष अर्थ राख्ने एउटा महत्त्वपूर्ण काममा भने दलहरूले आवश्यक ध्यान दिएको पाइँदैन। त्यो काम हो- दलहरूको चुनावी घोषणापत्र सार्वजनिक ।

२१ फागुनमा हुने चुनाव ३७ दिन बाँकी रहँदा समेत प्रमुख शक्तिहरू मध्ये कसैले पनि घोषणापत्र सार्वजिनक गरेका छैनन् । यसले मतदातालाई उम्मेदवार चिनाउने मुख्य काम नै अगाडि बढ्न सकेको छैन । जबकि चुनावी तयारी गर्न दलहरूलाई पर्याप्त समय थियो ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारले ६ महिना समय राखेर चुनाव घोषणा गरेको थियो । यो अवधि दलहरूलाई घोषणापत्र तयार पार्न र सार्वजनिक गर्न पर्याप्त हुन्थ्यो।

घोषणापत्र ढिलो आउँदा उम्मेदवारहरूबीच तुलना गर्न मतदातालाई समस्या पर्नेमा भने स्वयं नेताहरू असहमत छैनन् ।

राजनीतिक विश्लेषक सौगात गौतम, प्रधानमन्त्रीका उम्मेदवार तय गरिसकेका दलहरूले घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गर्नलाई राम्रो मान्दैनन् । ‘घोषणापत्र जति छिटो सार्वजनिक हुन्छ, त्यति नै राम्रो,’ गौतम भन्छन्, ‘ढिलाइ भए जनतासँग त्यसलाई गम्भीर रूपमा मूल्याङ्कन गर्ने समय हुँदैन।’

घोषणापत्र ढिलाइप्रति सामाजिक सञ्जालमा पनि आवाज उठ्न थालेको छ । जेनजी अभियन्ता रक्षा बमले सामाजिक सञ्जाल मार्फत दलहरूलाई यथाशीघ्र घोषणापत्र सार्वजनिक गर्न आग्रह गरेकी छन् ।

‘हामी तपाईंहरूको घोषणापत्र पढ्न चाहन्छौं,’ उनले लेखेकी छन्, ‘संसदमा पुगेपछि तपाईं के गर्नुहुन्छ र तपाईंले बनाउन खोजेको नीति कस्तो हो भन्ने कुराको आधारमै जनताले तपाईंलाई मत दिने हुन्।’

लेखिका सृजना पोखरेलले पनि यस्तै खबरदारी गरेकी छन् । ‘खै !  हिजोको दम्भ र आजको अनुहारले नै पुग्ने त होला । घोषणापत्र त कसैलाई नचाहिने रहेछ,’ उनले लेखेकी छन्, ‘जसले हाम्रो विगत हेरेर भोट दिनू भन्छन् उनीहरूको विगत हेरिसक्नु छैन । जसको विगत छैन, केवल परिचयात्मक भिडियो हेरेर तपाईंलाई भोट दिन, तपाईं ब्युटी पेजेन्ट प्रतिस्पर्धी हो ?,’

मंगलबार आयोजित पत्रकार सम्मेलन ।

नेपाली कांग्रेसका नेताहरू पार्टीको घोषणापत्र लेखन कार्य प्रारम्भिक चरणमै रहेको बताउँछन् । ‘हामी अहिले प्रारम्भिक चरणमै छौं र विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छौं,’ कांग्रेसका सभापति गगन थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेल भन्छन् ।

पौडेलका अनुसार घोषणापत्र ढिला भएको होइन, तर चुनावी गतिविधि सुरु भइसकेकाले जनतामा ढिलाइ भएको अनुभूति हुन पुगेको हो ।

‘सामान्यतया घोषणापत्र निर्वाचनभन्दा करिब एक महिना अगाडि मात्रै सार्वजनिक हुन्छ,’ उनी भन्छन् ।

सभापति थापा सर्लाहीको चुनावी अभियानमा रहेकाले फर्किएपछि बैठक राखेर घोषणापत्र सार्वजनिक गर्ने मिति तय हुने उनले बताए । कांग्रेसको घोषणापत्र मस्यौदा तयारीको नेतृत्व स्वयं गगन थापाले गरिरहेका छन् ।

अर्को दल नेकपा एमाले भने घोषणापत्र सार्वजनिक गर्ने अन्तिम चरणमा पुगेको छ । ‘घोषणापत्र लगभग सार्वजनिक गर्न तयार भइसकेका छौं,’ एमालेको प्रचार विभाग संयोजक मीनबहादुर शाही भन्छन् ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालय बैठक । फाइल तस्वीर

उनका अनुसार केही विषयमा थप आन्तरिक छलफल आवश्यक रहेकाले त्यसपछि घोषणापत्र सार्वजनिक गरिनेछ । ‘हामी सकेसम्म चाँडो सार्वजनिक गर्ने प्रयासमा छौं,’ उनले थपे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने १ फागुनमा घोषणापत्र सार्वजनिक गर्ने योजना बनाएको छ ।

‘मस्यौदामाथि छलफल भइरहेको छ र प्रदेशस्तर तथा फिल्ड अध्ययनबाट प्राप्त सुझाव र निष्कर्ष समेटिरहेका छौं,’ पार्टीका प्रवक्ता मनिष झाले भने।

स्वर्णिम वाग्ले/फाइल तस्वीर

पार्टीका उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा क्रान्तिशिखा धिताल, नन्दन यादव, राम गुरुङ, अरनिको पाँडे रहेको टिमले घोषणापत्र मस्यौदा तयार गर्दैछ । यसपालि उम्मेदवारी दर्ता निर्वाचनभन्दा ४५ दिनअघि नै भएकाले घोषणापत्र ढिला भएको अनुभूति जनतामा परेको झाले स्पष्ट पारे । बाचापत्र लेखनमा सक्रिय केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले उग्र महत्त्वाकांक्षी घोषणा नभई पूरा गर्न सकिने व्यावहारिक बाचाहरु सार्वजनिक हुने बताइन् ।

‘असम्भव र अनुत्तरदायी घोषणा होइन, खासगरी युवाहरुको भावना सम्बोधन हुनेगरी बाचापत्र लेखिरहेका छौं,’ धितालले भनिन्, ‘रास्वपाप्रतिको आम अपेक्षा सम्बोधन गर्ने गरी हामी चाँडै आउने छौं । शिक्षा स्वास्थ्य रोजगारी र पूँजी निर्माणका विषयलाई जोड दिनेछौं ।’

घोषणापत्र ढिलो आउँदा उम्मेदवारहरूबीच तुलना गर्न मतदातालाई समस्या पर्नेमा भने स्वयं नेताहरू असहमत छैनन् ।

लेखक
प्रसुन संग्रौला

संग्रौला अनलाइनखबर अंग्रेजीमा कला, संस्कृति, खेलकुद र सामाजिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?