+
+
Shares

विष्णु खड्का कांग्रेसका सरप्राइज उम्मेदवार

मनोनयन दर्ता गर्ने दिन बिहान १० बजे एकाएक विष्णुकुमार खड्काको नाम सार्वजनिक भयो । जुन नाम आम मतदाताले अपेक्षा गरेभन्दा भिन्न थियो ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ माघ २० गते २०:१०

२० माघ, सुर्खेत । सुर्खेत–१ मा नेपाली कांग्रेसका सरप्राइज उम्मेदवार हुन्, विष्णुकुमार खड्का । मनोनयन गर्ने दिन ६ माघ बिहानसम्म यो क्षेत्रमा कांग्रेसको उम्मेदवार को भन्ने अन्योल नै थियो ।

सबैजसो निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लागिसक्दा सुर्खेत–१ भने होल्डमा राखिएको थियो । कांग्रेसका पूर्वकार्यवाहक सभापतिसमेत रहेका पूर्णबहादुर खड्काले एक्कासि चुनाव नलड्ने घोषणा गरेपछि उनको विकल्पमा आउने व्यक्तिलाई चासोका साथ हेरिनु स्वाभाविक थियो ।

धेरैले हाल गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन र झकबहादुर डाँडी त्यो क्षेत्रको उम्मेदवार बन्ने अनुमान गरेका थिए । मनोनयन दर्ता गर्दाको बिहान १० बजे एउटा नाम सार्वजनिक भयो । जुन नाम आम मान्छेहरूले अपेक्षा गरेभन्दा भिन्न थियो । कांग्रेसले तीनै पूर्णबहादुरका साइला भाइ विष्णुकुमार खड्कालाई उम्मेदवारका रूपमा अगाडि सार्‍यो ।

पूर्णबहादुरले २०४८ यता निरन्तर चुनाव लड्दै आएको सुर्खेत–१ मा उनकै भाइ विष्णुलाई कांग्रेसले उम्मेदवार बनाएपछि विपक्षीहरूले त्यसैलाई हतियार बनाए । ‘पूर्णबहादुरको विरासत धान्न राजनीतिमा आएका विष्णु’ भन्ने भाष्य निर्माण गरे । विष्णुले त्यही कुराको स्पष्टीकरण दिन वीरेन्द्रनगरमा पत्रकार सम्मेलन नै गर्नुपर्‍यो ।

उनले आफूलाई दाइ पूर्णबहादुरसँग जोडेर मात्र नहेर्न आग्रह गरे । ‘मलाई मेरो दाइसँग जोडेर मात्र नहेरिदिनुस् साथीहरू, मेरो विगत पनि केलाइदिनुहोस्,’ उनले भने, ‘म हिजोका व्यवस्था विरोधी आन्दोलनमा ३७ दिन जेलनेल बसेको छु । यातना सहेको छु । पार्टीका हरेक गतिविधिमा अग्रभागमा छु ।’

विगतको जेलनेल भोगेका विष्णुलाई दाइ पूर्णबहादुरसँग जोडेर गरिने तिखा प्रश्नहरूले घोच्छ । दाइ राजनीतिमा आएकै कारण आफू सक्रिय राजनीतिबाट लामो समय टाढा रहेको उनले बताए ।

‘दाइकै कारण स्वार्थको लाभ लियो भन्लान् भनेर मैले विगतको योगदानलाई गौण राखें, पार्टीको पदीय भूमिकाभन्दा बाहिरै बसें । कहिल्यै संसदीय चुनावमा भाग लिइनँ,’ उनले भने, ‘त्यसैलाई मेरो कमजोरी बनाइयो ।’

उनले यो पटक पनि आफूले चुनाव लड्न नचाहेको तर पार्टी जीवनमा आएको फरक परिस्थितिले चुनावी मैदानमा होमिएको बताए । ‘मैले त चुनाव लड्दिनँ भनेकै थिएँ । तर अन्तिम समयमा निर्वाचन क्षेत्रीय कमिटीले जबरजस्ती मेरै नाम सिफारिस गरेर पठायो,’ उनले भने । विष्णुले आफूलाई टिकट पूर्णबहादुर खड्काले नभई पार्टी सभापति गगन थापाले दिएकोसमेत प्रस्ट्याए ।

विष्णु पूर्णबहादुरकै कारण राजनीतिमा सधैं गौण रहेको कांग्रेस सुर्खेतका सभापति खड्ग पोखरेल बताउँछन् । उनका अनुसार विष्णुले दाइ पूर्णबहादुरको राजनीतिलाई सफल बनाउन सहयोगीको भूमिकामा रहेर काम गरेका थिए । सक्रिय राजनीतिभन्दा एक कदम पछि हटेर व्यावसायिक क्षेत्रमा लागे ।

राजनीति कसैको व्यक्तिगत विरासत र सहानुभूतिमा भन्दा बढी काम, विचार र एजेन्डाले निर्माण गर्छ भन्ने यस पटक विष्णु देखाउन चाहन्छन् । सधैं पूर्णबहादुरको व्यक्तिगत विरासतमा जोडेर होइन, निष्ठा र विचारको राजनीति गरेर आफूलाई आफ्नै विरासतमा उभ्याउन चाहेको उनले बताए ।

विष्णुले आफू कहिल्यै राजनीतिबाट टाढा नरहेकोसमेत बताए । ‘पूर्णबहादुरको भाइ भएकै कारण आज पनि व्यक्तिगत सम्बन्धका हिसाबले मात्र हेरिएको छ । म एउटा व्यवसायी हो, हिजो व्यवस्था बदल्ने आन्दोलनको एउटा सिपाही हो । म एउटा छुट्टै नागरिक हो भन्ने पाटोबाट हेरिएको छैन,’ विष्णुले भने ।

सुर्खेत–१ बाट गत २३ मंसिरमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस गरिएको थियो । निर्वाचन क्षेत्रीय कार्यसमिति बैठकबाट आफ्नो नाम सर्वसम्मत सिफारिस गर्न लगाएका पूर्णबहादुर पुन: चुनाव लड्न चाहन्थे । तर ५ माघमा पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि निर्वाचन नलड्ने घोषणा गरेका थिए ।

पूर्णबहादुरले बहुदल पुनर्स्थापना भएपछि २०४८, २०५१ र २०५६ सालको आम निर्वाचन जितेर लगातार सांसद, मन्त्री भए । खड्काले नेकपा (माओवादी)को लहर चलेको २०६४ मा भने संविधानसभामा पुग्ने समानुपातिकको बाटो रोजे । माओवादीको प्रभाव घटेको २०७० सालमा फेरि प्रत्यक्ष निर्वाचन जितेरै दोस्रो संविधानसभामा पुगे ।

२०७४ मा भने उनी एमालेका ध्रुवकुमार शाहीसँग पराजित भए । त्यो बेला वाम गठबन्धनका उम्मेदवार शाहीले खड्कालाई ३ हजार ३८२ मतले पराजित गरेका थिए ।

२०७९ को निर्वाचनमा भने पूर्णबहादुरले एमालेका तिनै शाहीलाई पराजित गरे । खड्काले ४२ हजार ६०७ मत प्राप्त गरेर विजयी हुँदा शाहीले ३० हजार ९८८ मत ल्याएका थिए । यो भन्दा अगाडि दुवै जनाले गठबन्धनको आडमा एक अर्कालाई पराजित गरेका थिए ।

यो पटक तिनै पूर्णबहादुरका पुराना प्रतिस्पर्धी एमाले ध्रुव शाही नै विष्णुका प्रतिस्पर्धी बनेका छन् । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जितबहादुर रानालाई उम्मेदवार बनाएको छ । २०७४ सालमा एमालेका शाहीलाई समर्थन गरेको माओवादीले २०७९ मा कांग्रेसका खड्कालाई समर्थन गरेको थियो ।

त्यस्तै, पूर्वकांग्रेस नेता टेकबहादुर सिंह रास्वपाबाट उम्मेदवार बनेका छन् भने माओवादी पृष्ठभूमिका नेता ठम्बरबहादुर विष्ट एमाले हुँदै अहिले उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । विष्ट पूर्वकर्णाली प्रदेशसभा सदस्य हुन् भने सिंह पनि सोही क्षेत्रबाट प्रदेशसभामा पराजित भएका नेता हुन् ।

यो पटक विष्णुको प्रतिस्पर्धा कुनै दिन एउटै पार्टीमा रहेका टेकबहादुर सिंह, दाइ पूर्णबहादुरका पुराना प्रतिस्पर्धी एमालेका शाही लगायतका नेताहरूसँग हुनेछ ।

को हुन् विष्णु खड्का ?

नेपाली कांग्रेस सुर्खेतका उपसभापतिसमेत रहेका विष्णुबहादुर खड्का पहिलो पटक संसदीय चुनावमा होमिएका नेता हुन् । आमा मायादेवी खड्का र बुवा प्रेमबहादुरका साइला छोरा विष्णु २०२४ साल कात्तिक ६ गते वीरेन्द्रनगर–७, इत्राम्मा जन्मिएका हुन् ।

२०३६ सालमा देशमा बहुदल कि निर्दल भन्ने विषयमा बहस भइरहँदा उनी बहुदलको पक्षमा उभिएका थिए । त्यो बेला देशमा बहुदल चाहिन्छ भन्दै राँके जुलुस गर्ने, भित्ते लेखन गर्ने र बहुदलको पक्षमा पर्चा पम्पलेट छपाएर वितरण गर्ने लगायतका काम गरेका थिए उनले ।

२०४६ सालको जनआन्दोलनमा अग्रभागमा रहेर सुर्खेतमा आन्दोलन थालेका विष्णु त्यो बेला पहिलो पटक ११ दिन र दोस्रो पटक २६ दिन हिरासतमा बसेका थिए ।

व्यावसायिक क्षेत्रमा सक्रिय रहेका उनी दाइ पूर्णबहादुरको चुनावी अभियान र उनको राजनीतिक जीवनका प्रमुख सारथिका रूपमा रहेको उनी निकट नेताहरू बताउँछन् ।

२०४२ सालमा आमाको नामबाट सुर्खेतको वीरेन्द्रनगरमा माया मेडिकल हल नामक व्यवसाय सुरु गरेका विष्णु अहिले माया अस्पतालका सञ्चालन हुन् ।

२०५० सालदेखि सुर्खेतमा पहिलो पटक मध्यपश्चिम यातायात व्यवसायी संघ स्थापना गरेका उनी संघको संस्थापकसमेत हुन् । हाल मध्यपश्चिम यातायात प्रालिको अध्यक्षसमेत रहेका उनी विगत २३ वर्षदेखि यो संस्थाको नेतृत्वमा रहेर काम गर्दै आएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्षसमेत भइसकेका विष्णुले यातायात, अस्पताल, पेट्रोल पम्प, औषधि डिलर लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । र, सोही क्षेत्रबाट करिब ८०० बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको दाबी गर्छन् ।

नेपाली कांग्रेसको १०औं महाधिवेशनमा उनी साविकको वीरेन्द्रनगर नगरपालिका–८ को वडासभापतिमा निर्वाचित भएका थिए । १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका विष्णु पछि नेपाली कांग्रेसको जिल्ला उपसभापतिमा निर्वाचित भएका थिए । उनी पार्टीको साधारण सदस्य, क्रियाशील सदस्य हुँदै जिल्ला उपसभापति बनेका व्यक्ति हुन् ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?