+
+
Shares
गोकर्णराज विष्टसँग वार्ता :

‘निर्वाचनमा चर्का कुरा गर्ने धेरै हुन्छन्, मैले काम गरेरै देखाएको छु’

जति समय श्रममन्त्री भएर रहेँ, मैले गरेरै देखाएँ। श्रम गर्न निःशुल्क जान पाउनुपर्छ। आउने-जाने टिकटदेखि सम्पूर्ण खर्च सम्बन्धित देशका कम्पनीले बेहोर्नुपर्छ। बिरामी हुँदा उपचार पाउनुपर्छ भनेर अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएँ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १४:१४

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष गोकर्णराज विष्ट गुल्मी–२ बाट उम्मेदवार छन्। चुनावी अभियानका क्रममा आफ्नै निर्वाचन क्षेत्र पुगेका विष्टले मतदातासँग एमालेले अगाडि बढाएको एजेन्डा सँगसँगै आफूले गुल्मेली जनताका निम्ति गरेका कामहरूबारे बताइरहेका छन्। यसै सन्दर्भमा विष्टसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश:

एमाले महाधिवेशन तपाईंका निम्ति बलियो परीक्षा नै देखियो, अहिले फेरि आमजनतासँगको परीक्षामा हुनुहुन्छ। कत्तिको सहज लागिरहेको छ ?

सूर्य चिह्नमा मतदान गरेर विगतमा पनि मलाई जनताका भावना र समस्याहरू संसद्‌मा प्रतिविम्बित गराउन पठाउनुभएको हो। यसपटक पनि उहाँहरूलाई भेटिरहेको छु। उहाँहरू अत्यन्त खुसी हुनुहुन्छ, स्वागत गर्नुभएको छ।

पार्टीभित्रको चुनावभन्दा आम चुनावमा सजिलो भइरहेको छ ?

विगतमा गरेका कामहरू सम्झँदै बाँकी कामहरू पूरा गर्ने गरी ‘हामी तपाईंलाई साथ दिन्छौँ’ भनिरहनुभएको छ। यसले मलाई थप आत्मविश्वास जगाएको छ।

कार्यकर्ताले त्यसो भनिरहेका हुन् कि आम मतदाताले ?

पार्टीकै आयोजनामा घरदैलोमा पुगिरहेका छौँ। पाका उमेरका बुवाआमादेखि युवा साथीहरूसम्मले सहयोग र आशीर्वाद दिइरहनुभएको छ। जनताले नै हामीलाई स्वागत गर्नुभएको छ। विगतका निर्वाचनमा उहाँहरूको सहयोगले हामी निर्वाचित भएका छौँ। जनताको सेवा गर्ने मौका पाएका छौँ। अहिले अझ उत्साहका साथ उहाँहरूले आशीर्वाद दिनुभएको छ।

तर पटक–पटक चुनाव लडिराख्ने मान्छेलाई फेरि जिताउने कि नजिताउने भन्ने पनि कुरा सुनिन्छ नि ?

विपक्षका कतिपय साथीहरूले यो प्रश्न उठाइरहनुभएको छ। तर जनताले भने हामीले जिताएर पठाएको मानिसले (मेरै नामै लिएर) हाम्रा समस्याहरू सम्बोधन गर्ने र विकास निर्माणलाई अगाडि बढाउने परीक्षामा पास भएको रूपमा बुझ्नुभएको छ। व्यक्तिमाथि प्रश्न उठाउने कुरा ठीक छैन भन्ने कुरा मैले बोल्न परेको छैन, दाजुभाइ दिदीबहिनीहरूले नै जवाफ दिनुभएको छ। जहाँसम्म पटक–पटक अनुमोदनको कुरा छ, एक ढंगले भन्ने हो भने नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायत अरू कतिपय नयाँ पार्टीमा आस्था राख्ने सबै जनताको म साझा उम्मेदवार जस्तो हुँ। यो पार्टी र त्यो पार्टीको नाममा आजसम्म मैले पक्षपातपूर्ण व्यवहार गरेको छैन। सबै जनताको साझा उम्मेदवारको रूपमा मैले भूमिका निर्वाह गरेको छु। निर्वाचित हुँदा पनि मैले त्यही भूमिका निर्वाह गरेँ, आज पनि म त्यही भन्न चाहन्छु। म जनताको साझा उम्मेदवारको रूपमा र साझा प्रतिनिधिको रूपमा उहाँहरूका चाहना, भावना र आकांक्षाहरू पूरा गर्ने गरी अगाडि बढ्छु। यसकारण, मलाई आशीर्वाद दिनुहुन्छ, सूर्य चिह्नमा मतदान गर्नुहुन्छ र फेरि जनताको बीचमा सेवा गर्ने मौका दिनुहुन्छ।

मतदाताले तपाईंलाई फेरि जिताउने भन्छन् ?

अत्यधिक बहुमतले विजयी गराउने गरी सहयोग गरिरहनुभएको छ, प्रतिक्रिया दिनुभएको छ।

गरेका राम्रा कामहरू चाहिँ के–के हुन्, संक्षेपमा भनिदिनुस् न ?

पहिलो पटक निर्वाचित हुँदा मेरो क्षेत्रमा बिजुलीको नाममा एउटा चिम (बल्ब) पनि थिएन। अहिले सबै घरमा बिजुली पुगेको छ। टुकीको युगबाट विद्युतीकरणमा आएका छौँ। ट्र्याक्टर खोलामा गुड्थ्यो, सडक नै थिएन। अहिले टोल–टोलमा धुले सडक भए पनि (४,२०० किमीभन्दा बढी) निर्माण भएको छ। स्वास्थ्य चौकीहरू थिएनन्, अहिले प्रत्येक वडामा स्वास्थ्य चौकीका भवन छन्। प्रत्येक पालिकामा अस्पताल बनिरहेका छन्। सदरमुकाममा ६ तले भवनसहितको अस्पताल निर्माण भएको छ। सम्भवतः दुई–तीन वटा ठूला अस्पतालमध्ये गुल्मीमा बनाइरहेका छौँ, ताकि गाउँबाट उपचारका लागि बुटवल वा काठमाडौँ आउन नपरोस्। दुई–चार घरमा निजी धारा थिए होलान्, अहिले ७० प्रतिशत घरधुरीमा निजी धारा पुगिसकेको छ।

नयाँको नाममा नेपाली दाजुभाइ दिदीबहिनीहरूले अराजकता, अस्थिरता, विध्वंश र अन्योलतालाई अनुमोदन गर्ने प्रश्न नै आउँदैन। पक्कै पनि, पुराना पार्टीहरूमा कमीहरू होलान्। काम गर्दा गल्ती भए होलान्। तर हाम्रा कमजोरीहरूमा औँला ठड्याउनुपर्छ।

तथ्याङ्क विभागको सन् २०२१ को रिपोर्ट अनुसार, नेपालका १६५ वटा निर्वाचन क्षेत्रमध्ये पाइपबाट पिउने पानी पुगेको हाम्रो क्षेत्र चौथो स्थानमा पर्छ। ४३ मध्ये दुई वटाबाहेक सबै वडालाई कालोपत्रे सडकले छुने गरी (कतिपय ठाउँमा टेन्डर भएको छ, कतिपयमा भइसक्यो) काम भइरहेको छ। २४–२५ वटा सार्वजनिक विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ, ताकि गरिब बालबालिकाले पनि अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने स्थिति बनोस्। म पहिलो पटक निर्वाचित हुँदा मेरो निर्वाचन क्षेत्रमा एउटा पनि पुल थिएन। अहिले ७० वटाभन्दा बढी पक्की पुलहरू (निर्माण भइसकेका, भइरहेका र टेन्डर भएका) छन्।

सिँचाइको व्यवस्था गरिएको छ। म आफैँ श्रममन्त्री भएको बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत (कम्तीमा तीन महिना मात्रै भए पनि) रोजगारीका अवसरहरू सिर्जना गर्यौँ। योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत नेपालभित्र काम गर्ने वा वैदेशिक रोजगारीमा जाने युवा साथीहरूको सुरक्षाका लागि सामाजिक सुरक्षा योजना सुरु गर्‍यौं। यसमा २७ लाख व्यक्तिहरूले लाभ प्राप्त गरिरहनुभएको छ। तर अझ धेरै कुरा गर्न बाँकी छ। ती अधुरा कुराहरू पूरा गर्ने गरी आउँदा दिनहरूमा ध्यान केन्द्रित गर्छौँ।

२०७९ सालको निर्वाचनमा हामीले ०८४ सालसम्मका लागि यो काम गर्छौँ भनेर प्रतिबद्धता दिएका थियौँ। तर आधा समय बित्न नपाउँदै प्रतिनिधि सभा विघटन भयो। ती सबै काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। अर्कोतिर, लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाउने कुरामा हामीले ध्यान दिनुपर्नेछ। देशको साम्प्रदायिक सद्भाव जोगाउने, राष्ट्रको गरिमा माथि उठाउने र सार्वभौमसत्तालाई बलियो बनाउन ध्यान दिनुपर्ने छ।

तर संसारभर पुगेका युवाहरूले ती देशमा जे देखेका छन्, त्यसलाई हेरेर नेपालमा भइरहेका कामहरू प्रति चित्त बुझाएको देखिँदैन। उनीहरूको कुरा कसरी सम्बोधन गर्नुहुन्छ ?

परम्परागत कृषि खेतीमा युवाहरूको आकर्षण छैन। पर्याप्त उद्योगधन्दाहरूको विकास गर्न सकिएको छैन। यस्तो अवस्थामा रोजगारीको अभावमा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनुहुन्छ। हामीले सूचना प्रविधिको माध्यमबाट लाखौँ युवालाई देशभित्रै रोजगारी सिर्जना गर्न गम्भीरताका साथ ध्यान दिनु जरुरी छ। शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार्न जरुरी छ। र, देशभित्र जे सम्भावना छ, त्यसैमार्फत रोजगारी सिर्जना गर्नुपर्छ।

लोकतन्त्र बलियो भयो भने मात्र देश बलियो हुन्छ, संविधानको रक्षा भयो भने मात्र युवाहरूको भविष्य पनि बलियो हुन्छ भन्ने कुरा नवयुवा साथीहरूले पनि बुझ्नुभएको छ।

दोस्रो, वैदेशिक रोजगारीमा जाने युवा साथीहरूको हित हुने गरी काम गर्न जरुरी छ। ठगिने, अन्यायमा पर्ने र सर्त अनुसारको पारिश्रमिक नपाउने अवस्था अहिले पनि छ। जसले विदेशमा जोखिमपूर्ण काम गरेर देशको अर्थतन्त्रलाई टेवा पुर्याइरहनुभएको छ, उहाँहरुकै सुरक्षा नहुनु विडम्बना हो। म श्रममन्त्री हुँदा वैदेशिक रोजगारीमा गएका साथीहरूका समस्याहरू सम्बोधन गर्न सरकारको तर्फबाट धेरै अडान राख्यौँ। मलेसिया लगायत देशहरूसँग नेपाली श्रमिकहरूका हितलाई उल्लेख गर्दै सम्झौताहरू गर्‍यौँ। तर ती पर्याप्त छैनन्। वैदेशिक रोजगारीमा गएका युवा साथीहरूले प्राप्त गर्ने सुविधालाई सुनिश्चित गर्नुपर्ने र उहाँहरूको सुरक्षा गर्नुपर्ने आवश्यकता छ। साथै, वैदेशिक रोजगारीमा गएका नेपालीहरूले मतदान गर्ने अवसर कसरी मिलाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेछ।

नयाँ भनेर आएका शक्तिहरूले ‘पुरानाले गरेनन्, त्यसैले हामी गर्छौं’ भन्दैछन् नि ?

जति समय श्रममन्त्री भएर रहेँ, मैले गरेरै देखाएँ। श्रम गर्न निःशुल्क जान पाउनुपर्छ। आउने-जाने टिकटदेखि सम्पूर्ण खर्च सम्बन्धित देशका कम्पनीले बेहोर्नुपर्छ। बिरामी हुँदा उपचार पाउनुपर्छ भनेर अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएँ। श्रम सम्झौता गर्दा यही प्रकारका प्रावधान राख्न जोड दिएँ। प्रावधान राखियो पनि। कतिपय ठाउँमा श्रम सम्झौता गर्न बाँकी थियो, कतिपय ठाउँमा कार्यान्वयन गर्न नपाउँदै हामी हट्यौँ।

तपाईंले भनेजस्तै कुरा अरूले पनि भन्लान् नि ?

मन्त्री हुँदा जे भनेको थिएँ, आज पनि त्यही भन्दैछु। देशभित्र काम गर्ने श्रमिक हुन् अथवा देशबाहिर, उहाँहरूको जीवन रक्षा र योगदानको कदर गर्ने वातावरण बनाउन लागिरहन्छु। त्यसका निम्ति नीतिगत सुधार होस् चाहे सम्झौतामार्फत कार्यान्वयन गर्न मैले प्रयत्न गरेको छु। ज्याला नपाएर पीडित श्रमिकलाई ज्याला प्राप्त गर्ने कुरा प्रत्याभूत गर्न, न्यूनतम पारिश्रमिक वृद्धि गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा मार्फत श्रमिकहरूको जीवनमा एउटा सुरक्षा प्रदान गर्ने सन्दर्भमा काम गरेको छु।

आफ्नो काम विगतमै पुष्टि भइसकेको छ भन्ने हो ?

बोल्ने कुराको मात्र त कुनै अर्थ हुँदैन। निर्वाचनको बेलामा सबै पार्टीहरू बोल्छन्। अझ धेरै चर्का कुरा पनि गर्लान्। तर सरकारमा पुगेर कसले कति काम गर्‍यो भन्ने महत्त्वपूर्ण हुन्छ। मैले श्रममन्त्री र ऊर्जामन्त्री भएर गरेका सुधारका कामहरू एउटा अन्तर्वार्तामा सबै व्याख्या गर्न सकिँदैन।

एमालेले यो चुनावलाई जनमत संग्रह भनिरहेको छ, नयाँहरूले पनि त्यही भनिरहेका छन्। यो चुनाव नियमित संसदीय अभ्यास मात्र होइन भन्ने नै हो ?

देशको लोकतन्त्र समृद्ध पार्न चाहन्छौँ। संविधानका महत्त्वपूर्ण उपलब्धि जोगाउँदै जनताको जीवनलाई रूपान्तरण गर्न र राष्ट्रलाई बलियो बनाउन चाहन्छौँ। नेपाललाई अझ उन्नत स्तरमा विकास गर्न चाहन्छौँ। आज लोकतन्त्र जोगाउने र कमजोर पार्न चाहनेहरू बीचमा, नेपाल निर्माण गर्न चाहने र आगो लगाउनेहरू बीचमा, संविधानका महत्त्वपूर्ण उपलब्धिहरू कार्यान्वयन चाहने र मुलुकलाई अस्तव्यस्त पार्नेहरू बीचमा यो एक प्रकारले जनमत संग्रह नै हो।

यसकारण नयाँको नाममा नेपाली दाजुभाइ दिदीबहिनीहरूले अराजकता, अस्थिरता, विध्वंश र अन्योलतालाई अनुमोदन गर्ने प्रश्न नै आउँदैन। पक्कै पनि, पुराना पार्टीहरूमा कमीहरू होलान्। काम गर्दा गल्ती भए होलान्। तर हाम्रा कमजोरीहरूमा औँला ठड्याउनुपर्छ। त्यसलाई सच्याएर आउँदा दिनहरूमा उन्नत र समृद्ध हिसाबले अगाडि बढ्ने, लोकतान्त्रिक अभ्यासलाई सबल बनाउने, जनताका विकास निर्माणका चाहनालाई बढाउन जरुरी छ। तर ठूला कुरा गर्ने, अनि आफ्नो जीवनमा चाहिँ थुप्रै फोहोर बोकेर आउने प्रवृत्तिहरूको कुनै तुक रहँदैन।

देश बनाउने भनेर एमालेले आफैँलाई भनिरहेको छ, जलाउने भनेर रास्वपालाई भनिरहनुभएको हो ?

सिंहदरबारमा पुरातात्त्विक ऐतिहासिक दस्तावेजहरू थिए। नेपाल र अरू देशको सिमानाका प्रमाणिक दस्तावेजहरू थिए। नेपाल उत्पत्तिदेखि अहिलेसम्मका महत्त्वपूर्ण दस्तावेजहरू थिए। राष्ट्रको गौरव झल्किने स्मरणहरू थिए। सर्वोच्च अदालतमा लाखौँ मुद्दाहरू थिए। तर मिसाइलहरू जलाएर, संसद् भवन, राष्ट्रपति भवन, पुरातात्त्विक संरचनाहरूमा आगो लगाएर देश बलियो हुन्छ? देशको गौरवमा आगो लगाएर खरानी बनाउँदा खुसी मान्ने कुनै शक्तिले राष्ट्र र जनताको हित गर्न सक्छ? परिवर्तनको चाहनालाई सम्बोधन गर्न सक्छ? इतिहासलाई समाप्त पारेर भविष्यको जग बलियो हुन सक्छ? यो कुरामा सम्पूर्ण नेपालीहरू गम्भीर हुन जरुरी छ।

तर यसो भनिरहँदा अघिल्लो दिन देख्नुभएन भन्ने त फेरि प्रश्न उठिहाल्छ, जहाँ युवाहरू र तिनको भावनामाथि दमन हुँदै थियो ?

म आफैँ युवा आन्दोलनबाट आएको हुँ। युवाहरूमा तीव्र परिवर्तनको चाहना हुन्छ। युवाहरू समाज बदल्न चाहन्छन्। त्यसप्रति सम्मान नै गर्छौँ। तर के सुशासन र भ्रष्टाचार नियन्त्रणको माग गर्ने युवाहरूले देशलाई खरानी बनाउने चाहना राख्नुभएको थियो र ? कदापि थिएन। घुसपैठ भयो। आर्थिक, सामाजिक र राजनीतिक हिसाबले देशलाई ध्वस्त बनाएर अस्तव्यस्त बनाउने यस्तो कार्यप्रति सम्पूर्ण नेपाली साथीहरू गम्भीर हुनुपर्छ।

लोकतन्त्र बलियो भयो भने मात्र देश बलियो हुन्छ, संविधानको रक्षा भयो भने मात्र युवाहरूको भविष्य पनि बलियो हुन्छ भन्ने कुरा नवयुवा साथीहरूले पनि बुझ्नुभएको छ।

घटनाक्रम हेर्दा नवयुवालाई फकाउनुपर्ने राम्रै दबाब एमालेमाथि परिरहेको छ, होइन ?

नवयुवा साथीहरूले प्रतिक्रिया छिटो व्यक्त गर्ने कुरा स्वाभाविक हो। त्यसप्रति विमति राख्नुपर्ने कुरा छैन। लोकतन्त्रलाई अझ सफल पार्न उहाँहरूले अन्तर्राष्ट्रिय अभ्यासका सकारात्मक कुरालाई आत्मसात् गर्नुहुन्छ र हामीलाई सुझाव पनि दिनुहुन्छ। परिचित पार्टीहरू, जसले आउँदा दिनमा समेत अगुवाइ गर्न सक्दछन्, ती पार्टीका कतिपय कमीलाई सच्याएर अझ बलियो होस् भन्ने चाहना युवा साथीहरूमा छ। यो कुरालाई मैले पार्टीको तर्फबाट पनि र उम्मेदवारका तर्फबाट पनि सम्मान गर्नुपर्छ।

पार्टीभित्र देखिएका कमजोरी सच्याउँछौँ भनेर बारम्बार भन्दै हुनुहुन्छ। त्यस्तो सामर्थ्य राख्नुहुन्छ ?

पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई सफल बनाउँछौँ। र, समग्र देशभित्रको लोकतान्त्रिक अभ्यासलाई पनि आवश्यकता अनुसार सुधारेर लैजान्छौँ। आवश्यकता बमोजिम १० वर्षमा संविधान कार्यान्वयनको परीक्षण गर्ने संवैधानिक व्यवस्था नै छ। हामीले संविधानको कार्यान्वयन र त्यसबाट प्राप्त परिणामको अवस्था के रह्यो भन्ने कुरालाई समीक्षा गर्दै संविधानमा पनि कतिपय कुराहरू सुधार गर्नुपर्नेछ।

एउटा सेवक हुँ, जनताका समस्याहरू बोक्ने भरिया हुँ। मैले एउटा इमानदार सेवकको हिसाबले गर्नुपर्ने अधुरा कामहरू छन्।  विकास निर्माणका अधुरा कामहरू पूरा गर्नुपर्नेछ।

हाम्रा कतिपय नीति र कार्यक्रमहरूलाई परिमार्जन गरेर अझ उन्नत ढंगले अगाडि बढ्नुपर्नेछ, जुन कुरा घोषणापत्रमार्फत सार्वजनिक गर्छौँ। घोषणापत्रमा उल्लेख हुन सकेन भने पनि आउँदा दिनमा नयाँ ढंगले जाने कोसिस गर्छौँ। जे चलिरहेको छ, त्यसमै सीमित भएर आजका आवश्यकता र चाहनाहरू पूरा गर्न सकिँदैन। आजका आवश्यकता र चाहनाहरू पूरा गर्न एक कदम अगाडि बढेर सम्बोधन गर्न जरुरी छ।

निर्वाचन क्षेत्रकै कुरा गर्दा तपाईंलाई गुल्मीका जनताले चाहिँ कुन रूपमा बुझ्नुपर्छ ?

एउटा सेवक हुँ, जनताका समस्याहरू बोक्ने भरिया हुँ। मैले एउटा इमानदार सेवकका हिसाबले गर्नुपर्ने अधुरा कामहरू छन्। पिउने पानी, सिँचाइ, अझ गुणस्तरीय विद्युतीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारीमा जाने युवाहरूको हकहितका मुद्दाहरूमा आवाज उठाउनुपर्नेछ। विकास निर्माणका अधुरा कामहरू पूरा गर्नुपर्नेछ।

अन्त्यमा, तपाईंलाई मत किन दिने ?

दाजुभाइ दिदीबहिनीहरूको नजरमा म सधैँ उत्तीर्ण भएको छु। उहाँहरूको सहयोग र आशीर्वाद प्राप्त गरेको छु। आउँदा दिनमा अझ धेरै जिम्मेवार र इमानदार भूमिका निर्वाह गर्नेछु। यसकारण गुल्मी–२ का दाजुभाइ दिदीबहिनीहरूसँग सहयोग र आशीर्वादको अपेक्षा राख्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?