+
+
Shares

हर्कको पार्टीका यी उम्मेदवार, जो एक्लै घरदैलोमा छन्

सलिम मियाँ सलिम मियाँ
२०८२ माघ २५ गते १८:५९

२५ माघ, प्युठान । २१ फागुनका हुन लागेको निर्वाचनमा उम्मेदवार रहेकाहरू तामझामका साथ मतदाताकहाँ पुगिरहेका छन् । कति ठूलो मास देखाउन सकियो भनेर सामाजिक सञ्जालमा दलीय प्रतिस्पर्धा समेत चलिरहेको छ ।

यस्तोमा चनावी प्रचारमा पृथक शैली अपनाउनेहरू पनि छन् । जो तामझाम भन्दा ज्यादा मतदाताको मन बुझ्ने प्रयासमा देखिन्छन् । यी एक हुन्– प्युठानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द गिरी । गिरी श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका हुन् ।

यो पार्टीका अध्यक्ष हर्क साम्पाङ २०७९ को स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिमा स्वतन्त्र उम्मेदवार थिए । त्यसबेला उनी एक्लै चुनावी प्रचारमा देखिन्थे । सडक छेउमा एक्लै माइकमा बोलिरहेका हुन्थे । आफ्ना एजेन्डा सुनाइरहेका थिए । अहिले साम्पाङको चुनावी प्रचार फेरिएको छ । उनका साथमा प्रचारमा अन्य नेता/कार्यकर्ता खटिइरहेका हुन्छन् ।

तर, श्रम संस्कृति पार्टीबाटै प्युठानमा उम्मेदवार रहेका गिरीको चुनावी प्रचार शैली हर्क साम्पाङको २०७९ सालको चुनावी प्रचारसँग मिल्दोजुल्दो छ ।

अन्य उम्मेदवारहरू ठूला जुलुस, नाराबाजीसहित घरदैलो अभियानमा रहेका बेला गिरी भने एक्लै घरदैलो गरिरहेका छन् । गिरी नागरिकका घर पुग्दा न कुनै प्रचार कार्यक्रमको झल्को आउँछ न कुनै तामझाम वा तडकभडक । गिरीको चुनावी प्रचारमा कार्यकर्ताकै तामझाम छैन भनेपछि अगुवा–पछुवा गाडीको लस्कर हुने कुरै भएन । गिरीले मोटरसाइकल प्रयोग गरेका छन् । एक्लै जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुगिरहेका छन् ।

तर, मानिसहरू जम्मा भएको ठाउँ देखे भने छोड्दैनन् । भिड भएकै ठाउँमा पुग्छन् र आफ्ना राजनीतिक एजेन्डा प्रस्तुत गर्छन् । बाटोमा हिंड्दै गर्दा वा जुनसुकै अवस्थामा वृद्धवृद्धा देखेपछि ढोगेर आशिर्वाद लिन्छन् ।

अर्थात्, उनका प्रचार गतिविधि औपचारिक कार्यक्रमभन्दा प्रत्यक्ष संवादमा केन्द्रित छ । किसान, युवा वा स्थानीय जो कोहीसँग आफैं प्रत्यक्ष भेट्छन् र समस्या सुन्छन् । चुनाव जित्ने गिरीको विश्वास छ । उनी भन्छन्, ‘जनताको साथ छ । म विश्वस्त छु– मेरो जित सुनिश्चित छ ।’

तीन दशकभन्दा बढी समयदेखि सत्ता चलाएका राजनीतिक दलहरूले राष्ट्रका लागि उल्लेखनीय काम गर्न नसकेको उनको निष्कर्ष छ ।

५२ वर्षीय गिरी प्यूठान झिमरुक गाउँपालिका रातामाटाका स्थायी बासिन्दा हुन् । प्युठानबाट गिरीसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेकपा एमालेबाट सूर्यबहादुर थापा क्षेत्री, नेपाली कांग्रेसबाट डा.गोविन्दराज पोखरेल, नेपाली कम्युनिस्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशान्त वैदिक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनेश्वर पण्डित उम्मेदवार छन् ।

२०७९ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा क्षेत्री विजयी भएका थिए । उनी यसपटक पनि उम्मेदवार छन् ।

प्यूठान राष्ट्रिय जनमोर्चाको पनि प्रभाव भएको क्षेत्र हो । यसपटक यो क्षेत्रबाट राष्ट्रिय जनमोर्चाले तिलकबहादुर जिसीलाई उम्मेदवार बनाएको छ । यहाँ प्रलोपाबाट श्यामलाल गहतराज, आम जनता पार्टीबाट रोमबहादुृर थापा मगर, नेपाल कम्युनिस्ट पार्टीबाट सीता विक उम्मेदवार रहेका छन् ।

लेखक
सलिम मियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?