२३ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिए ।
‘आज एउटा भाष्य के बनाइँदैछ भने सबै पार्टीहरू र सबै उम्मेदवार उस्तै उस्तै हुन् भन्ने भाष्य सिर्जना गर्न खोजिँदैछ । सबैलाई दिनको एउटा पोस्ट लेखेर यसलाई गम्भीरतापूर्वक खण्डन गरौँ । सबै उस्तै हुँदैनन् र होइनौं,’ सापकोटाले भने ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेकासापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताए ।
विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले भन्नुभयो, ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू’ र आफूहरू एउटै नभएको बताए ।
‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर, पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौं,’ उनले भने, ‘कुन वटा कार्यालय कहाँ पर्छ भन्ने जानकारी थाहा नहुनेले के गर्छन् ? यस्तो हाँस्यास्पद कुरा गर्ने र हामीलाई तुलना गरे भने यो कुरा न्यायसंगत हुँदैन ।’
उनले नयाँ उम्मेदवारहरूलाई कुन सरकारी कार्यालय कहाँ पर्छन् भन्ने आधारभुत जानकारी समेत नभएको भन्दै उनीहरूका कुरा हाँस्यास्पद रहेको टिप्पणी गरे ।
‘पहिला पहिला रेडियो नेपालमा हात्तीछाप चप्पल र हात्ती कुन बलियो भनेर विज्ञापनमा बोलेको जस्तो कुरा हो । हात्तीछाप चप्पल र हात्ती उस्तै होइन । हामीले जनतालाई यसबारे बुझाउन जरुरी छ,’ सापकोटाले भने, ‘जोड जोडले ठूलो स्वरले सुन्ने गरीकन भन्नुपर्छ । पार्टीका तर्फबाट गल्ती कमजोर भएका छन् । सबैभन्दा पहिला जनतासँग गएर आत्मालोचना गरेर रुपान्तरणका लागि तयार हुने पार्टी पनि हामी नै हौं ।’
पार्टीका तर्फबाट भएका विगतका कमजोरीहरू स्वीकार गर्दै सापकोटाले जनतामाझ गएर आत्मालोचना गर्न आफ्नो पार्टी तयार रहेको बताए ।
प्रतिक्रिया 4