News Summary
Generated by OK AI. Editorially reviewed.- विदेश अध्ययनका लागि भाषा, व्यक्तिगत विकास, सांस्कृतिक, प्राविधिक र व्यावसायिक सीपहरू सिक्नु आवश्यक हुन्छ।
नयाँ दृष्टिकोण, ज्ञान र अनुभवका लागि विदेश अध्ययन ठूलो अवसर हो । तर, यो यात्रा खर्चिलो र चुनौतीपूर्ण पनि हुन जान्छ । अहिले नेपालबाट विदेश पढ्न जाने लहर धेरै देखिन्छ । तर, व्यावहारिक सीपहरू नहुँदा विदेशी भूमिमा धेरै विद्यार्थीहरूले दु: ख पाइरहेको खबर पनि बेलाबेला सुनिन्छ ।
केही उपयोगी सीप सिकेर विदेश अध्ययनमा गइयो अध्ययनमा सफलता मिल्नुका साथै भविष्यको करियरमा फाइदा पुग्न सक्छ ।
यस लेखमा हामीले भाषा, व्यक्तिगत विकास, सांस्कृतिक, प्राविधिक र व्यावसायिक रूपमा वर्गीकरण गरेर विदेश अध्ययनमा जाने विद्यार्थीहरूले सिक्नुपर्ने उपयोगी सीपहरूबारे चर्चा गर्नेछौं:
भाषा सम्बन्धी सीप
विदेश अध्ययनको पहिलो र सबैभन्दा महत्वपूर्ण सीप भाषा हो । धेरै देशहरूमा अंग्रेजी भाषाले नै काम गर्छ तर कतिपय देशहरूमा स्थानीय भाषा नै सिक्नु पर्ने हुन सक्छ । ती भााषमा हामी जति अब्बल भयौं त्यति नै पढाइमा राम्रो गर्न सक्छौँ । कुनै काम गर्नुपर्दा समेत भाषा राम्रो जानेकै आधारमा काम समेत पाइने हुन्छ ।
अंग्रेजी भाषा विद्यालय तहदेखि नै पढाइ हुने भएकाले यो सिक्न अरूमा जस्तो धेरै जोड लगाइरहनु पर्दैन । नेपालका धेरै जसो ठाउँमा अंग्रेजी सिकाउने ठाउँ हुन्छन् । अथवा इन्टरनेटको प्रयोगमार्फत पनि यो भाषा सिक्न सकिन्छ । तर विदेश अध्ययनका लागि जाने भएपछि अङ्ग्रेजी भाषाका परीक्षा (आईएल्स आदि)हरू पास गर्नु मात्र पर्याप्त हुँदैन, तपाईं दैनिक कुराकानी, लेक्चर सुन्ने र असाइनमेन्ट लेख्न सक्ने हुनुपर्छ ।
यसका लागि अनलाइन कोर्सहरू (डुअलिङ्गो, कोर्सेरा, युट्युब)बाट अभ्यास गर्न सकिन्छ। उदाहरणका लागि, अमेरिका वा अष्ट्रेलियामा गएपछि स्थानीय उच्चारण बुझ्न गाह्रो हुन सक्छ । त्यसैले जुन देश जाने त्यहाँको विभिन्न एक्सेन्टका अडियो सुन्ने अभ्यास गर्नु उपयोगी हुन्छ ।
यदि जर्मनी, फ्रान्स वा जापान जस्ता देशहरूमा पढ्न जाने हो भने, जर्मन, फ्रेन्च वा जापानी जस्ता भाषाहरू सिक्नुपर्छ । यसले दैनिक जीवनमा सजिलो बनाउँछ । विदेश गएपछि किराना पसलमा जाने, सार्वजनिक यातायात प्रयोग गर्ने वा स्थानीय साथीहरू बनाउने कुरामा भाषाको ज्ञान छैन भने समस्या पर्छ ।
व्यक्तिगत विकास र स्व-व्यवस्थापन सीप
विदेशमा एक्लै बस्नुपर्ने हुनाले स्वतन्त्रता र जिम्मेवारी सिक्नु अनिवार्य हुन्छ । नेपालमा परिवारको सहयोग हुन्छ, तर विदेशमा सबै कुरा आफैं गर्नुपर्छ । नेपालमा छँदा घरमा केही नगरेका युवा-युवती विदेशमा गएर सबै आफूले गर्नुपर्ने हुँदा समस्यामा परेको अत्तिने गरेको कुरा पनि धेरै सुनिन्छ । त्यसैले विदेश जाने तयारी गर्दा आफ्ना कामहरू आफैँ गर्ने बानी बसाल्नु राम्रो हुन्छ ।
यसमा अर्को सबैभन्दा महत्त्वपूर्ण सीप भनेको समय व्यवस्थापन हो । अध्ययन, पार्ट-टाइम जागिर, घरको काम र मनोरञ्जनलाई सन्तुलनमा राख्नु पर्छ । यदि यो समय मिलेन भने पूरा दिन अस्तव्यस्त हुन्छ ।
त्यस्तै बजेट व्यवस्थापन पनि निकै महत्त्वपूर्ण पाटो हो । किनकि स्वभाविक रूपमा विदेशमा महँगो जीवनशैली हुन्छ । खर्च ट्र्याक गर्ने, बचत गर्ने र अनावश्यक खर्च कटाउने सीप सिक्नुपर्छ । खासमा त मिन्ट अथवा एक्सेलमा नेपालबाट नै मासिक खर्चको योजना बनाउनु उचित हुन्छ ।
त्यसबाहेक खाना पकाउने, कपडा धुने र घर सफा गर्ने जस्ता आधारभूत घरेलु सीपहरू सिक्नुपर्छ । विदेशमा नेपाली खाना नपाइने हुन सक्छ, त्यस्तोमा सरल नेपाली र स्थानीय रेसिपीहरू सिक्नु उपयोगी हुन्छ । यसले स्वास्थ्य राम्रो राख्छ र पैसा बचाउँछ ।
यसका साथै तनाव व्यवस्थापन अर्को ‘सफ्ट स्किल’ हो । किनकि विदेशमा एक्लोपन वा कल्चर शक हुनसक्छ । यसका लागि ध्यान, योगा वा जर्नलिङ जस्ता सीपहरू सिक्नुपर्छ।
सांस्कृतिक सीप
विदेश अध्ययन भनेको नयाँ संस्कृति, परम्परा र मूल्यमान्यताहरू बुझ्ने अवसर पनि हो । यसो हुनाले सांस्कृतिक सीपहरू सिक्नुपर्छ । भनेको, विभिन्न देशहरूका रीतिरिवाज, खानपान र सामाजिक नियमहरू बुझ्नुपर्छ । उदाहरणका लागि, पश्चिमी देशहरूमा व्यक्तिगत स्पेस महत्वपूर्ण हुन्छ, जबकि नेपालमा सामूहिकता बढी छ । यसबारे इन्टरनेटमा कल्चरल गाइडहरू हेर्नु उपयोगी हुन्छ ।
त्यस्तै तपाईं जाँदै गरेको देशको अथवा अन्तर्राष्ट्रिय साथीहरू बनाउने र सम्बन्ध कायम राख्नु पनि छुट्टै सीप हो । लिङ्कडिन जस्ता सामाजिक सञ्जाल अथवा त्यहाँ हुने विभिन्न कार्यक्रममार्फत तपाईंले सम्बन्ध बढाउन सक्नुहुन्छ । विदेशमा विभिन्न जाति, धर्म र लिंगका मानिसहरूसँग काम गर्नुपर्छ । यसो हुनाले तपाईंले आफूभित्र भएको पूर्वाग्रह हटाउने र सम्मान गर्ने सीप पनि विकास गर्नुहुन्छ । यी कुराले भविष्यसम्मै फरक पार्छन् ।
प्राविधिक र डिजिटल सीप
आजको डिजिटल युगमा प्राविधिक ज्ञान अनिवार्य छ । विदेशका विश्वविद्यालयहरूमा अनलाइन स्रोतहरू अत्याधिक प्रयोग हुन्छ । यसो हुनाले माइक्रोसफ्ट अफिस, गुगल वर्कस्पेस अथवा एडीबी सुट जस्ता टुलहरू चलाउने आधारभूत सीप सिक्नुपर्छ । यसभित्र पनि प्रेजेन्टेसन बनाउने, डेटा एनालिसिस गर्ने वा कोडिङको आधारभूत ज्ञान राख्नु राम्रो मानिन्छ । त्यस्तै एकेडेमिक जर्नल, प्लेजरिजम चेक गर्ने टुलहरू, साइबर सुरक्षाको ज्ञान, रिमोट लर्निङ सम्बन्धी ज्ञान भए तपाईंको अध्ययनलाई सजिलो बनाउँछ ।
व्यावसायिक सीप
विदेश अध्ययनको मुख्य उद्देश्य राम्रो करियर हो । त्यसैले अध्ययनसँगै व्यावसायिक सीपहरू सिक्नु पर्छ । अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा सीभी लेख्ने, लिङ्कडिन जस्तो व्यावसायिक सामाजिक सञ्जालमा प्रोफाइल अपडेट गर्ने, इन्टरभ्यूको तयारी गर्ने जस्ता व्यावसायिक सीप पनि सिक्नुपर्छ ।
यसका साथै इन्टर्नसिप होस् या पार्ट-टाइम जागिर, विदेशमा काम गर्ने नियमहरू बुझिरहनु पर्छ । र, कस्टमर सर्भिस, टिमवर्क वा लिडरसिप जस्ता सीपहरू विकास गर्नु पर्छ । सँगसँगै तपाईं कुन देश जाँदै हुनुहुन्छ, त्यहाँको भिसा नियमहरू, स्वास्थ्य बीमा र आपतकालीन अवस्थामा बारे जानकारी राख्ने सीप विकास गर्नु आवश्यक छ ।
कानुनी ज्ञान
कुनै पनि देशमा जाँदा त्यहाँको नियम कानुनबारे ज्ञान लिनु अनिवार्य कुरा हो । यदि त्यहाँको कानुनी पक्षबारे जानिएन भने अन्जानमै कानुनी झमेलामा फस्न पुग्छौँ । नेपालका जुन कुरालाई हामी सामान्य मानिरहेका हुन्छौँ, हामी जाँदै गरेको देशमा त्यो कानुनीरूपमा अपराध ठहर्न सक्छ ।
देश तथा आफू कुन ठाउँमा बस्ने हो त्यहाँको स्थानीय कानुनको बारेमा समेत जानकारी राख्नु राम्रो हुन्छ । कतिपय अवस्थामा विदेश पठाउने एजेन्ट तथा कन्सन्टेन्सीहरूले पनि यसबारे सिकाउने गर्छन् । आफैं इन्टरनेटमा खोजेर पढ्न, जान्न पनि सकिन्छ । यदि आफूले चिनेका व्यक्तिहरू पहिल्यैदेखि ती ठाउँमा छन् भने उनीहरूलाई सोधेर जानकारी लिन सकिन्छ ।
प्रतिक्रिया 4