+
+
Shares

नयाँ अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते २१:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोयल स्विडिस एकेडेमी अफ साइन्सको अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश ठहर गरेको छ।
  • विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको सर्वेक्षणमा नेपालले १ दशमलब ३९ अंकसहित पहिलो स्थान पाएको छ।
  • अध्यात्म र धार्मिक आस्थाले मानिसहरूको प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने सर्वाधिक शक्तिशाली तत्व रहेको अध्ययनले देखाएको छ।

नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञान सम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित एक अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश ठहर गरेको हो ।

प्रकृतिसँग देशका जनताको संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्धका विषयमा विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको अध्ययनले नेपालीहरुमा सर्वाधिक प्रकृतिप्रेम रहेको देखाएको छ ।

उक्त सर्वेक्षणमा मानिसको प्रकृतिप्रतिको व्यवहार तथा दृष्टिकोणलाई कसरी सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक पक्षहरूले प्रभाव पार्दछन् भन्ने कुराको समीक्षा गरिएको थियो ।

त्यस क्रममा १ दशमलब ३९ अंक सहित नेपाल पहिलो स्थानमा पर्न सफल भएको छ ।

उक्त सूचीमा १ दशमलब २२ अंक सहित इरान दोश्रो स्थानमा छ भने तेश्रो स्थानको दक्षण अफ्रिकाले १ दशमलब २० अंक पाएको छ।

सर्वाधिक प्रकृतिमैत्री जनता भएका अन्य टपटेन मुलुकहरूमा क्रमशः बंगलादेश, नाइजेरिया, चिली, क्रोएसिया, घाना, बुल्गेरिया र ट्युनिसिया रहेका छन् ।

यसरी प्रकृतिसँग सर्वाधिक जोडिएका शीर्ष १० देशको सूचीमा केवल दुई युरोपेली देश मात्र पर्न सफल भएका छन् । यो सूचीमा अर्को युरोपेली मुलुक फ्रान्स १९औँ स्थानमा रहेको छ ।

प्रकृतिसँग सर्वाधिक जोडिएका देशहरूको शीर्ष सूचीमा अधिकांस एसिया तथा अफ्रिकाका देश रहँदा स्पेन भने यो सूचीको सबैभन्दा पुछारमा रहेको छ । उसको माइनस ० दशमलब ६१ अंक छ। त्यसैगरी जापान अन्तिमबाट दोश्रो स्थानमा छ ।

प्रकृतिसँग सबैभन्दा कम जोडिएका पुछारका १० देशमा रुस, आयरल्याण८, साउदी अरब, बेलायत, नेदरल्याण्ड, क्यानडा, जर्मनी, इजरायल, जापान र स्पेन रहेका छन् ।

ब्रिटिस तथा अष्ट्रियन शोधकर्ताहरूको नेतृत्वमा भएको उक्त अध्ययनले अध्यात्म र धार्मिक आस्थाले मानिसहरूको प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने सर्वाधिक शक्तिशाली तत्व रहेको देखाएको छ ।

रोचक त के भने देशको बजारमैत्री अर्थतन्त्रको स्तर प्रदर्शन गर्ने विश्व बैंकको डोइंग बिजनेस इन्डेक्समा उच्च स्थानमा रहेका देशहरू प्राकृतिक वातावरणसँगको सम्बन्धको हिसाबले कमजोर देखिएका छन् ।

त्यसैगरी सहरीकरणको स्तर, औषत आय तथा इन्टरनेट प्रयोगको दरले पनि प्रकृतिसँगको आबद्धतालाई प्रभाव पार्ने देखिएको रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था गार्जिएनले जनाएको छ ।

प्रकृतिमैत्री देशको सूचीमा केही मुलुकहरूको स्थान यस्तो छ :

  • भारतः ३०औँ
  • चीनः ३६औँ
  • पाकिस्तानः ४२ औँ
  • इटालीः ४४ औँ
  • अष्ट्रेलियाः ४६ औँ
  • अमेरिकाः ४७ औँ
  • स्विट्जरल्याण्डः ५२ औँ
  • ब्राजिलः ११ औँ

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?