+
+
Shares

गोठाले र अपर्णा

उनका पात्रहरू यति स्थानीय र निकट छन् कि आफ्नोपनको भावले मुटु नढुकढुक्याइ छाड्दैन।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ माघ २३ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोविन्दबहादुर मल्ल गोठाले को दोस्रो उपन्यास अपर्णामा नेपाली मनोविज्ञान र स्थानीय संस्कृतिको गहिरो चित्रण गरिएको छ।

गोविन्दबहादुर मल्ल ‘गोठाले’ का केही कथाहरू सानै उमेरमा अध्ययन गर्ने मौका मिल्यो । ती उच्च तहको नेपाली विषयका पाठ्यक्रममा राखिएका थिए भने केही पत्रिकाहरूमा छापिएका पनि हुन्थे । तर ती मनोविज्ञानको अधिष्ठानमा टेकेर लेखिएका हुन्थे । तसर्थ, कथाको रोचकता कथाशिल्पभन्दा कथावस्तुमा अधिक हुने उमेरमा त्यस किसिमका कथाहरू बुझ्नु मेरा लागि फलामको चिउरा चपाउनुसरह साबित हुन गयो।

पछि कलेज पढ्ने क्रममा गोठालेका कृतिले पहिलोपटक मुटु छोएको अनुभव दिए । अस्तित्व चिन्तन र मनोविज्ञानमा फ्रान्सेलीपना (वा सरलीकृत तरिकामा पाश्चात्य प्रभाव) को व्याधिले सताइरहेको बेलामा गोठालेले नेपाली मनोविज्ञानको चित्रण कस्तो हुन्छ भन्ने देखाए ।

केही समयअघि विजय मल्लको कृति ‘मान्छेको नाच’ पढ्दै थिएँ । यस किताबलाई दिग्गज साहित्यकार अविनाश श्रेष्ठले सम्पादन गर्नुभएको हो । किताबको भूमिकामा एउटा रोचक कुरा छ । गोठाले र विजय मल्ल घरमा पनि कथाबारे र प्लटहरूबारे छलफल गरिरहन्थे । दुई सहोदर दाजुभाइ एउटै परिवेश र संस्कारमा हुर्केर, लगभग एउटै कथावस्तुमा आधारित भएर पनि पृथक्–पृथक् आख्यान कोरे।

यसमा साहित्यको बडो महत्त्वपूर्ण सत्य गर्भित छ । इन्द्रबहादुर राईले ‘आज रमिता छ’ उपन्यासको प्राक्कथनमा भनेका थिए– ‘एउटै दृष्टिले लेखिएका सय भिन्न विषयवस्तुका उपन्यास एउटै मात्र उपन्यास हो, तर सय भिन्न दृष्टिले लेखिएको एक विषयवस्तुको उपन्यास सयवटा उपन्यास हो ।’ आफ्नो शिल्पले कथाका कुन आयामद्वारा जीवनको सत्य प्रदर्शन गर्ने चेष्टा राख्ने भन्ने विषयले कति प्रभाव पार्दोरहेछ भन्ने कुरा इन्द्रबहादुर राई–विजय मल्ल–गोठालेबाट साहित्य अनुरागीहरूले बुझ्नुपर्छ ।

अब मूल विषयवस्तुमा प्रवेश गरौँ । कुरा हो गोठालेको दोस्रो उपन्यास ‘अपर्णा’ को बारेमा। कसैले यसलाई लघु–उपन्यास भन्छन् त कसैले उपन्यासिका । तर कथा, उपन्यासिका र उपन्यासको भेदलाई छुट्याउने प्रस्ट रेखा कहाँ छ ? कुनै कथाहरू तन्किएर उपन्यास भन्दा लामा हुन्छन् त कथाभन्दा छोटा आख्यान उपन्यास भइदिन्छन् ।

जहाँसम्म मलाई लाग्छ– विषयवस्तुलाई लेख्दै जाँदा कति व्यापकतासाथ लेख्न सकिन्छ अर्थात् सरल काइदाले भन्दा सानो स्ट्रोकमा पनि कति वैविध्य, बहुआयाम र गहिराइका साथ लेख्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण होला । यो प्रश्नलाई कुनै साहित्य समालोचककै जिम्मामा छाडिदिनु उपयुक्त होला । ‘अपर्णा’ लाई जे भने पनि भयो, तर आकार–आयतन र विषयका आयामको कसीमा ‘उपन्यासिका’ भन्नु उपयुक्त होला ।

गोठालेको लेखाइमा बेग्लै किसिमको हरक भेटिन्छ । केही वाक्य पढ्नेबित्तिकै यो पक्कै गोठालेले नै लेखेको हुनुपर्छ भनेर ठम्याउन गाह्रो पर्दैन। उनी भद्धा वाक्यहरूको अत्यन्त कम प्रयोग गर्छन्, गर्दैनन् भने पनि अत्युक्ति हुँदैन ।

साहित्यको वैशिष्ट्य भनौँ वा चमत्कार, यहाँ एउटा मात्र पात्रको बारेमा बयान गरिन्छ, तर समग्र समाज चित्रित हुन्छ र भिन्न–भिन्न अन्य पात्रहरू पनि सम्बोधित हुन्छन्, मानौँ तिनले प्रतिनिधि पात्र पाएका छन् । प्रगतिशीलताका स्वघोषित तत्त्ववेत्ताहरूले साहित्यलाई आत्मकेन्द्रित, काल्पनिक र अपुग ठाने पनि एउटा साहित्यिक पात्र नै काफी हुन्छ मानिसभित्र सदाबहार र जीवन्त प्रभाव पार्न । ‘अपर्णा’ त्यस्तै चरित्र हो । एकपटक पढिसकेपश्चात् त्यो नाम शिलाखण्डमा कोरिएको नामझैँ अमिट हुन्छ।

अपर्णा राजधानीको नेवार संस्कृतिभित्र हुर्किएकी पात्र हो । त्यसकारण ऊ पनि त्यस संस्कृतिका कर्तव्य र विधान पूरा गर्नुपर्ने सदस्य बन्न पुग्छे । कथाको सुरुवात नै उसको विवाहको प्रसङ्गबाट हुन्छ । आरम्भमै व्यक्त गरिएको छ कि अपर्णाभित्र कुनै रहस्य छ र ऊ त्यही रहस्यका साथ कर्मघरमा भित्रिँदैछे। खासमा भन्नुपर्दा– यस्ता अव्यक्त रहस्यहरू कस्ता–कस्ता परिस्थितिबाट गुज्रिएर हाम्रो कल्पनाले कहिल्यै नसोचेको स्थितिमा पुगेर प्रकट हुन्छन् भनेर देखाउनु नै यस उपन्यासिकाको केन्द्र हो।

गोठालेले किताबको प्राक्कथनमा उल्लेख गरेका छन्– उनले यो किताब विं.सं.२०१५ तिरै उतार्न प्रयास गरेका थिए । तर यो किताब उनको पहिलो उपन्यासिका नभई अन्तिम बन्न पुग्यो ।  यसबाट अनुमान गर्न सकिन्छ– गोठालेलाई यो कुरामा प्रस्टता थियो कि उनले के लेख्न खोजेका छन्, तर उक्त रहस्यको प्रकटीकरणबारे उनमा स्पष्ट बोध थिएन ।

उनीभित्र उपन्यासिकाले जन्म लिएको थियो, तर त्यो काँचो थियो । रहस्योद्‍घाटनको विविध प्रक्रियाबारे अवगत हुन उनलाई लामो समय लाग्यो । गोठालेको यो अनुभव र रचना–प्रक्रिया लेखक बन्न उत्साहित मानिसहरूका लागि मूल्यवान् साबित हुन जान्छ । सिर्जनाको जन्म पनि प्रसवपीडाझैँ हुन्छ । लेखकहरूले आफ्ना प्रभावहरू काँचै व्यक्त गर्न खोज्दा सिर्जना विकृत हुन पुग्छ ।

अपर्णाको बिहेको समयमा गोठालेले एउटा महत्त्वपूर्ण महिला मनोविज्ञानको उल्लेख गरेका छन् । जन्मघरबाट आफ्नो कर्मघरतिर लाग्दै गर्दा उसलाई आफ्ना आमाबुबाको असाध्यै माया लाग्छ । बुबाको हातबाट आफ्नो हात छुट्दै गर्दा उसलाई लाग्छ– यो नै अन्तिम स्पर्श हो । पूर्वस्मृति मस्तिष्कभित्र चलमल गर्न थाल्छ ।

लोग्नेको घर गएपछि पनि उसलाई बिरानोपनले असाध्य आक्रमण गर्छ । उसका जीवनका अभ्यासबाट नछोइएका कुराहरूसँग तालमेल बनाउनुपर्ने हुन्छ । कताकता ऊ जीवनको यो स्वाभाविकतालाई पनि सँगाल्न खोजेझैँ गर्छे । तर जब ऊ संस्कृतिको रीत पूरा गर्न फेरि माइत जान्छे, माइतीघरमा केही परिवर्तन छैन, सबै व्यवस्था र आयोजना पूर्ववत् छन् । आमाबुबा पनि उही नै हुन् । तर उसले त्यहाँ पनि बिरानोपनको आघात सहन्छे । विवाह, जो बाहिरबाट हेर्दा एउटा सामान्य सामाजिक रीत हो, त्यसले कसरी मानिसको मनोलोकमा बेग्लै प्रभाव पार्छ भन्ने कुराको सफल प्रकाशन हो यो उपन्यासिका ।

अपर्णाको विवाहपछिको जीवन भने झन् उथलपुथल आउँछ । अपर्णा आफूलाई उसकी भाउजूसँग बारम्बार तुलना गरिरहन्छे । मानिसको युयुत्साभाव सामाजिकता र नैतिक परिधिभित्र कस्तो तरिकाले रूपायित हुन्छ भन्ने कुरा गोठालेले स्त्रीजनित ईर्ष्याभावलाई पक्रिएर देखाउन खोजेका छन् । अपर्णा आफूलाई भाउजूको चम्किलो आभायुक्त अनुहारको अगाडि निस्तेज पाउँछे । उसले भाउजूलाई आफ्नो निस्तेजताको बदलामा अनेकन मानसिक चोटहरू दिने परोक्ष प्रयत्नहरू गर्छे । तर भाउजूको व्यस्तता र परिपक्वताले त्यस्ता कुराहरूलाई आफ्नो चिन्तनमा राख्दिनन् । जसको परिणतिस्वरूप अपर्णा आफैँ क्षोभमा परेकी हुन्छे ।

अपर्णा र उसको लोग्नेको सम्बन्ध पनि आफैँमा अनौठो विषय छ । उनीहरूको सम्बन्धमा प्रेम सम्मिलित छ कि छैन, त्यो आफैँमा दुबिधाको विषय छ । अपर्णा आफ्नो लोग्नेको सुधोपनसँग परिचित छे, त्यसकारण उसप्रति करुणा नदेखाउनु उसका लागि असम्भव छ। तर कताकता लागिरहन्छ– अपर्णाले दयावश प्रेम गरिरहेकी छ ।

त्यसको सबैभन्दा सफल अभिव्यक्ति त्यसबेला देखिन्छ, जब अपर्णाले छोरी पाउँछे । त्यतिबेला उसले आफ्नो जिजीविषाको एकमात्र स्रोतको रूपमा आफ्नी छोरीलाई लिन्छे । समयक्रममा छोरीप्रतिको उत्सर्गभावमा क्रमिक परिवर्तन आउँदै जान्छ तर यो तथ्यले अठ्याउन छाड्दैन कि अपर्णा दयावश प्रेम गरिरहेकी छ ।

पारिवारिक कलहको उल्लेख पनि उपन्यासिकामा छ । आफ्ना मतभेद, अरुचि, क्षोभ र अन्य नकारात्मक भावनाहरू आवृत गर्दै जाँदा, कचपचिँदै जाँदा अपर्णा अचानक विस्फोटित हुन्छे । आफ्नो विस्फोटदेखि आफैँ जिल्लिन्छे पनि, मानौँ कि उक्त विस्फोट असत्य हो, केवल भ्रामक कल्पना हो । यस्तै अर्को मनको विस्फोटमा अपर्णाको आफ्नो रहस्य उद्‍घाटन भइदिन्छ ।

उक्त रहस्योद्‍घाटन उसको हृदयको भारीपन त विलीन हुन्छ, तर त्यस क्षण उसको जीवनको नयाँ घुम्ती भइदिन्छ । जीवनको यस विचित्रपना– जहाँ सुख र दुःख संयुक्त भएर आउँछन्– लाई, प्रारब्धका नबुझिने लेखा र खेलालाई गोठालेले कतैकतै संकेत पनि गरेका छन्, जसलाई पाठकले आफ्ना आँखा धारिला नपारी बोध गर्न सहज छैन ।

अर्को ध्यान दिनुपर्ने कुरा के हो भने अपर्णाले भित्रभित्रै लुकाउँदै गरेका हरेक पिल्स्याइहरू एउटा अनुक्रममा सल्किँदै सल्किँदै गइरहेका छन्, सो सल्काइ नै विस्फोटमा परिवर्तित हुँदै जान्छ । यस अर्थमा दमनलाई विस्फोटको समार्थक मान्नुपर्छ ।

अब कुरा गरौँ गोठालेको लेखनशैलीबारे । गोठालेको लेखाइमा बेग्लै किसिमको हरक भेटिन्छ । केही वाक्य पढ्नेबित्तिकै यो पक्कै गोठालेले नै लेखेको हुनुपर्छ भनेर ठम्याउन गाह्रो पर्दैन । उनी भद्दा वाक्यहरूको अत्यन्त कम प्रयोग गर्छन्, गर्दैनन् भने पनि अत्युक्ति हुँदैन । उनी जब आफ्ना पात्रहरूको शारीरिक गठन र क्रियाहरूको बयान गर्छन्, त्यहाँ पात्रहरूको मानस पनि सँगै टाँसिएर आउँछ । यो उनको स्वत्वको पहिचान हो। सामान्य मानिने क्रियाहरूको सहायताद्वारा नै गाम्भीर्यको अन्वेषण गर्नु उनको हरेक कृतिको विशेषता हो।

र सबैभन्दा प्रमुख विशेषता हो– उनको लेखाइ विशुद्ध नेपाली हो, उनको मनोविज्ञान नेपाली हो, उनको अस्तित्विक सङ्कट नेपाली हो । उनका पात्रहरू यति स्थानीय र निकट छन् कि आफ्नोपनको भावले मुटु नढुकढुक्याइ छाड्दैन । यो व्याख्या सस्तो भावुकताले बुनेको देशप्रेममा उभिएर गरिएको विशेषता–व्याख्या होइन ।

यदि हामीसँग आफ्नो देश र स्थानीयताबाट पोषण पाएको ज्ञान छैन भने हामी कुनै साहित्यलाई पनि बुझ्न सक्दैनौँ । टेक्ने भुइँ नभएको ज्ञानको उडान र अवतरण दुवै खतरनाक साबित हुन्छन् । त्यसकारण नेपालीहरूले आफ्नो माटोमा नटेकी पखेटा र लिस्नु मात्रको महत्त्वाकाङ्क्षा राख्नबाट जोगिन गोठाले र अन्य नेपाली साहित्य नपढी धरै छैन ।

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?