News Summary
Generated by OK AI. Editorially reviewed.- एक व्यक्तिले १४ वर्षको उमेरमा पोर्नोग्राफीको लतमा फसेको अनुभव सुनाए, जसले उनको किशोरावस्थामा ठूलो प्रभाव पारेको थियो।
- उनको लतले व्यक्तिगत जीवनमा समस्या ल्यायो र श्रीमतीसँग सम्बन्ध विच्छेदको जोखिम उत्पन्न भयो, जसपछि उनले काउन्सिलिङ र समूह सहयोग लिए।
- उनी अभिभावकहरूलाई बच्चासँग खुला संवाद गर्न र सुत्ने कोठामा फोन वा कम्प्युटर प्रयोग नदिन आग्रह गर्छन् र पोर्न सामग्रीलाई कडा नियमन गर्नुपर्ने बताउँछन्।
म १४ वा १५ वर्षको हुँदा पोर्नोग्राफीको लतमा फसेको थिएँ । त्यसभन्दा अघि पनि धेरै सानो उमेरमा मैले पोर्न म्यागजिनहरू देखेको थिएँ । तर १४ वर्षको हुँदा त म ‘हाई-स्पीड’ इन्टरनेटमार्फत यसमा पहुँच पुर्याउन थालिसकेको थिएँ ।
१४ वर्षको केटाका लागि त्यो अनौठो अनुभव जस्तो थियो । मैले पहिलो पटक ‘हार्डकोर’ पोर्न भिडियो हेरेको अझै सम्झिन्छु । त्यो शनिबारको दिन थियो । म फुटबल हेर्न जाँदै थिएँ । त्यसपछि मैले त्यो दृश्य आफ्नो दिमागबाट हटाउनै सकिनँ । म उत्तेजित त भएँ, तर सँगसँगै अलमल र स्तब्ध पनि भएँ । मलाई आफू ‘नराम्रो’ लाग्यो, तर म किशोरावस्थामा प्रवेश गर्दै गरेको ठिटो थिएँ र फेरि त्यही हेर्ने चाहना निकै धेरै थियो ।
त्यो पहिलो हेराइको केही समयपछि नै मेरो हरेक सोच ‘पोर्न, पोर्न, पोर्न’ मात्र हुन थाल्यो । म स्कुल जानुअघि र राति सुत्नुअघि पनि हेर्थें । म दिनको पाँच पटकसम्म हस्तमैथुन गर्थें । म चरमोत्कर्षलाई सकेसम्म धकेल्ने प्रयास गर्थें ताकि म त्यही काल्पनिक संसारमा रहिरहन सकूँ । यो धेरै पोर्न हेर्नु भन्दा पनि त्यसपछिको चिन्ता, रिस र तनावबाट बच्ने एउटा प्रयास थियो । यो आफूलाई भावनाशून्य बनाउने एउटा तरिका थियो । मलाई त मेरो यौन इच्छा नै बढी होला भन्ने मात्र लाग्थ्यो ।
समयसँगै मेरो यो लत बढ्दै गयो । कतिपय अवस्थामा मैले मेरो यौन चाहनासँग नमिल्ने र मेरो नैतिक मूल्यमान्यता विपरीतका सामग्रीहरू पनि हेरेँ । मैले बलात्कार, शारीरिक हिंसा, घाँटी थिचेको र वयस्कहरूले बच्चा बनेर अभिनय गरेका पोर्न सामग्रीहरू पनि देखेँ, जुन सबै मुख्यधाराका साइटहरूमै उपलब्ध थिए । नयाँपन र झट्का दिने खालका दृश्यले नै मलाई तानिरह्यो । ‘हार्डकोर’ पोर्न त हेरिसकेकै थिएँ, अब अर्को के त ? अहिले यसलाई नियमन गर्ने प्रयास भइरहेको छ । तर सन् २००० को सुरुवाती ताका मेरो किशोरावस्थामा यो पूर्णरूपमा ‘वाइल्ड वेस्ट’ (अव्यवस्थित) थियो । यसले मेरो आत्मग्लानि झन् बढायो । म जे बनिरहेको थिएँ, त्यो म हुन चाहन्नथेँ, मलाई आफैंप्रति घिन लाग्थ्यो । अहिले मलाई थाहा छ कि आफूलाई घिन लाग्ने काम गर्नु लतमा फसेका व्यक्तिहरूको साझा समस्या हो ।
विश्वविद्यालय पढ्दा मैले यसबाट बच्ने धेरै प्रयास गरेँ । मैले स्मार्टफोन लिइनँ र ल्यापटप वा डेस्कटप पनि आफूसँग नराख्ने निर्णय गरेँ, ताकि काम गर्न पुस्तकालय नै जानुपरोस् । त्यस समयमा सबैसँग कम्प्युटर हुनुपर्छ भन्ने अपेक्षा गरिँदैनथ्यो, अहिलेका विद्यार्थीहरूका लागि यो धेरै फरक होला । कलेज चल्दा त यो जुक्तिले काम गर्यो, तर जब म घर फर्किन्थेँ, म झन् बढी पोर्नमा डुब्थेँ । त्यही समयतिर म चर्चमा पनि आबद्ध भएँ । किनकि प्रार्थना गरेर यो लतबाट मुक्त हुन सकिन्छ कि भन्ने मलाई लागेको थियो । तर त्यसले पनि काम गरेन ।
अन्ततः मैले स्मार्टफोन नलिई सुखै पाइनँ । त्यसपछि त यो सधैं मेरो पहुँचमा भयो । यहाँसम्म कि कार्यस्थल वा साथीहरूसँग बाहिर हुँदा पनि शौचालय खोजेर त्यहाँ गएर पोर्न हेर्थें । कहिलेकाहीँ कसैलाई छोटो लुगामा देख्दा म उत्तेजित हुन्थेँ । तर प्रायः जसो मेरो तनाव र चिन्ता व्यवस्थापन गर्न म यसको सहारा लिन्थेँ ।
मेरो ३० वर्षको उमेरको सुरुवाती समयसम्म यो क्रम चलिरह्यो । कहिलेकाहीँ म दिनको ६ घण्टासम्म पोर्न हेर्थें । मेरो दिनचर्या नै यसैको वरिपरि हुन्थ्यो । हरेक ठाउँमा म सधैं ढिलो पुग्ने हुनाले साथीहरूले मलाई जिस्क्याउँथे । मैले अनेक बहाना सुनाउँथेँ । एकपटक, म आफ्नो मिल्ने साथीको ‘ब्याचलर पार्टी’मा निकै अबेर पुगेँ । कारण भने म पोर्न हेर्दै बसिरहेको थिएँ । अर्को पटक त एउटा भेटघाटमा जाँदै गइनँ । मैले कामको चाप बढी भएको झुटो बहाना बनाएँ ।
२५ वर्षको उमेरमा मैले मेरी श्रीमतीलाई भेटेँ । यो कुरा उनीबाट लुकाउन हरसम्भव प्रयास गरेँ । म निकै रक्षात्मक हुन्थेँ र झुट बोल्थेँ । किनकि मलाई निकै लाज र ग्लानि हुन्थ्यो । मलाई यसबाट घृणा लाग्थ्यो । म जस्तो व्यक्ति बन्न चाहन्थेँ, त्यस्तो बन्न नसकेको महसुस हुन्थ्यो । वर्षौंसम्म म मेरी श्रीमतीबाट यौनिक रूपमा टाढिँदै गएँ । उनले मलाई पोर्न हेरेको मन नपर्ने कुरा स्पष्ट पारेकी थिइन् । तर सायद केही समय उनले थाहा नपाएझैँ गरिन् ।
जब उनले मेरो लतको वास्तविकताबारे थाहा पाइन्, हाम्रो सम्बन्ध विच्छेदको सँघारमा पुग्यो । त्यो स्वभाविक पनि थियो । केही समय त म आत्महत्या गर्ने सोचमा समेत पुगेँ।
मेरी श्रीमतीले मलाई पोर्न हेरिरहेकै अवस्थामा समातेपछि त झन् समस्या भयो । उनले मेरो ‘सर्च हिस्ट्री’ मार्फत यसबारे थप थाहा पाइन् । उनले निकै ठूलो धोका भएको महसुस गरिन् । कारण पोर्न हेर्ने मात्र थिएन । मेरो झुट, कुराहरू लुकाउने बानी र एक्लै बसेर पोर्न हेर्ने जस्ता व्यवाहारहरू पनि थियो ।
सम्बन्ध विच्छेद हुने र बच्चा गुमाउने डर नै मेरो जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । मलाई थाहा भयो कि मलाई सहयोग चाहिन्छ । मेरी श्रीमतीले मैले परिवर्तन चाहेको देखेर एउटा अन्तिम मौका दिने भइन् । त्यसपछि मैले काउन्सिलिङ लिन थाले । सेक्स एडिक्ट्स एनोनिमसमा आबद्ध भए । १० वर्षअघि जब मैले यो लत छुटाउन सहयोग माग्दा मानिसहरूले पोर्नको लतलाई वास्तविक समस्याको रूपमा लिँदैनथे । मलाई पनि यो एउटा बहाना मात्र हो कि जस्तो लाग्थ्यो । तर अहिले हामी यसलाई निकै गम्भीरताका साथ लिन थालेका छौँ ।
आफूलाई के भइरहेको छ भनेर स्वीकार गर्न गाह्रो थियो । मलाई आफू निकम्मा भएको महसुस हुन्थ्यो । यसबारे कुरा गर्न लाज लाग्थ्यो । मलाई डर थियो कि मिटिङहरूमा म अनौठा र नराम्रा मानिसहरूको बीचमा हुनेछु । तर त्यहाँ त लत जित्न खोजिरहेका सामान्य मानिसहरू मात्र थिए । मलाई मात्र यस्तो भएको होइन रहेछ भन्ने बुझ्दा निकै ठूलो राहत महसुस भयो । त्यो चक्रमा हुँदा अरू सबै सामान्य छन् । म मात्र असामान्य छु जस्तो लाग्छ, तर ती मिटिङहरूमा मैले आफूजस्तै अनुभव भएका धेरै मानिसहरू भेटेँ ।
म पोर्नलाई एउटा ‘ट्याबु’ मानिने परिवेशमा हुर्किएँ । यदि यसबारे खुला रूपमा छलफल गरिएको भए सायद म यसको लतमा फस्ने थिइनँ होला । म अहिलेका अभिभावकहरूलाई आफ्ना बच्चाहरूसँग खुला कुराकानी गर्न र उनीहरूलाई सुत्ने कोठामा फोन वा कम्प्युटर प्रयोग गर्न नदिन आग्रह गर्छु । मेरो पालामा यी कुराहरू कहिल्यै गरिएन । त्यतिबेला इन्टरनेटको खतराका बारेमा खासै चर्चा थिएन ।
यो लतबाट सुधार हुनु एउटा लामो प्रक्रिया हो । पूर्णरूपमा यसबाट मुक्त हुन मलाई वर्षौँ लाग्यो । मलाई लाग्दैन कि पोर्नलाई प्रतिबन्ध लगाउनुपर्छ । केही मानिसहरूले यसलाई स्वस्थ रूपमा पनि लिन सक्छन् । तर यस्ता साइटहरूलाई निकै कडा रूपमा नियमन गर्नुपर्छ।
पोर्न मेरो लागि अपरिहार्य बनिसकेको थियो । वर्षौंसम्म शान्त हुन र सामान्य काम गर्नका लागि पनि मैले बिहान उठ्नेबित्तिकै र राति सुत्ने बेला पोर्न हेर्नै पर्थ्यो । यसले मलाई निकै कमजोर बनाएको थियो । यदि मैले पोर्नका कारण गुमाएको त्यो समय फिर्ता पाउन सक्ने भए म बिना कुनै सङ्कोच त्यो फिर्ता लिने थिएँ ।
प्रतिक्रिया 4