News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा खोल्सोमा पुल नहुँदा स्थानीय वर्षायाममा लामो घुमाउरो बाटो हिँड्न बाध्य छन्।
- तीन दशकदेखि कांग्रेस र एमालेको दबदबा रहेको क्षेत्रमा नयाँ दल रास्वपाले पुराना दलप्रतिको असन्तुष्टि बढाएको छ।
- फागुन २१ को निर्वाचनमा कांग्रेसका डा. मिनेन्द्र रिजाल, एमालेका दीलिप बगडिया र रास्वपाका चन्द्रवीर राई मुख्य प्रतिस्पर्धी हुन्।
२१ माघ, विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–६ कैमीका बेचनलाल गोढीको घर छेउमै एउटा खोल्सो (धादरी) छ । उनी सानै छँदा देखेको खोल्सोमा अहिलेसम्म पुल बनेको छैन । बेचनलाल वयस्क भइसकेका छन् ।
सिधा जाँदा ४–५ सय मिटरमै बजार पुगिन्छ, पुल नहुँदा वर्षायाममा यहाँका स्थानीय निकै लामो घुमाउरो बाटो हिँड्न बजार जानु पर्ने बाध्यतामा छन् । समानुपातिक विकासमा नेताहरूको बेवास्ता हुँदा बेचनलालजस्ता स्थानीयले वर्षौंदेखि यो सास्ती खेप्दै आएका छन् ।
बेचनलालको निर्वाचन क्षेत्र त्यही हो, जसले निर्वाचित गरेका नेता पटकपटक मुलुक प्रधानमन्त्री बने, मन्त्री बने ।
हो, यो कथा मोरङको निर्वाचन क्षेत्र नम्बर २ (साविक १)को हो, जसले देशलाई पटक–पटक प्रधानमन्त्री दियो । जनअपेक्षा भने पूरा हुन सकेन ।
२०४८ सालदेखि २०५६ सम्मको अवधिमा मुलुकमा तीनवटा निर्वाचन भए । २०४८ र २०५६ मा आम निर्वाचन हुँदा २०५१ मा मध्यावधि निर्वाचन भयो ।
यी तीनवटै निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट गिरिजाप्रसाद कोइराला निर्वाचित भएका थिए । २०४८ देखि २०५८ सम्मको अवधिमा कोइरालाले तीनपटक मुलुकको बागडोर सम्हाले ।
त्यसयता यो निर्वाचन क्षेत्रबाट आमोदप्रसाद उपाध्याय, डा. मीनेन्द्र रिजाल र ऋषिकेश पोखरेलजस्ता प्रभावशाली नेताहरूले संसदको यात्रा तय गरे । तर, देश हाँक्ने नेता जन्माएको यो क्षेत्रका नागरिक भने अहिले पनि सामान्य खोल्सो तर्न पुल नहुँदा सास्ती खेपिरहेका छन् ।
‘हिउँदमा पानी थोरै हुँदा खोल्सोबाटै तर्छौं, तर बर्खामा नानीहरूलाई बोकेर तार्नुपर्छ,’ बेचनलाल भन्छन्, ‘गिरिजाबाबु–गिरिजाप्रसाद कोइराला)ले तीन पटक, आमोद उपाध्याय, मिनेन्द्र रिजाल र ऋषिकेश पोखरेलले दुई–तीन पटक जितेर गए । तर, विकासको नाममा हाम्रो गाउँमा केही भएन । बजार एरियामा मात्र काम भयो, गाउँलाई हेरिएन ।’

यद्यपि, सबैले विकासै नभएको भने मान्दैनन् । रतुवामाई नगरपालिका–६ सौठाका जयप्रसाद पौडेल गिरिजाप्रसाद कोइरालाको पालामा देखिने काम भएको बताउँछन् ।
‘उर्लाबारी–आमबाडी सडक स्तरोन्नति र गाउँमा विजुली गिरिजाबाबुकै पालामा ५६–५७ सालतिर आएको हो,’ उनी भन्छन् ।
तर, तीन दशकको अवधिमा हुनुपर्ने जति विकास र नागरिकको जीवनस्तर सुधारको काम भएको छैन ।
रतुवामाइको ५ र ६ को सीमा छुट्याउने कट्नु खोलाको पुल भत्किएको वर्षाैं भयो । पुल नभएका कारण ह्युमपाइप राखेर डाइभर्सन बनाइएको छ । स्थानीय गोविन्दप्रसाद खनालका अनुसार पुरानो पुल छेउमा नयाँ पुलका लागि जग उठाएको पनि ३–४ वर्ष भयो ।
तर, पुल निर्माणको काम पूरा भएको छैन । ‘पहिले ट्रक हिड्दा पुल भत्कियो, त्यसपछि बनेको छैन,’ उनी भन्छन्, ‘बर्खामा हिड्न गाह्रो हुन्छ ।’

कांग्रेस एमालेमाथि रास्वपाको चुनौती
तीन दशकदेखि कांग्रेस र एमालेको दबदबा रहेको यो क्षेत्रमा यसपटक नयाँ दल रास्वपा र त्यसका उम्मेदवारको चर्चा गाउँ–गाउँमा छ । स्थानीय मतदातामा पुराना दलप्रतिको असन्तुष्टि प्रस्ट देखिन्छ ।
‘यता त अहिले ओली हराऊ अभियान जस्तै चलेको छ,’ स्थानीय लक्ष्मीप्रसाद घिमिरे भन्छन्, ‘यहाँ ओली त उठेका छैनन्, तर उहाँको कारणले एमालेसँग असन्तुष्टि छ ।’
बेचनलाल पनि गाउँमा नयाँको हल्ला चलेको बताउँछन् । ‘अहिले सबैतिर नयाँ–नयाँ भन्छन्, फेसबुकमा पनि नयाँकै चर्चा छ । हेरौं यसपालि के हुन्छ,’ उनी भन्छन् ।
रंगेली नगरपालिका– ५ का देवनारायण मण्डल नयाँको चर्चा भए पनि कांग्रेसले चुनाव जित्ने दाबी गर्छन् । उनी कांग्रेसका समर्थक हुन् । ‘छोराहरू नयाँ बालेन भन्छन्,’ उनी भन्छन्, ‘हामी त कांग्रेसमा लागेका छौं, रुखमा हाल्छौं ।’
सबैलाई हेरेका सुनवर्षीका भजनलाल पण्डित यो पटक मत फेर्ने मनस्थितिमा छन् ।
डाइनिया बजारकी सुखिया दास गोप्य रुपमा मतदान गर्ने बताउँछिन् । ‘अहिले हामी केही भन्दैनौं, बाहिर भन्ने होइन,’ दास भन्छिन्,‘ हामीले त एमालेमा हालेको पहिले ।’
ओलीसँग चित्त दुखाएका ७८ वर्षे कर्णबहादुर
यसपटक पुराना पार्टी एमालेका प्रतिबद्ध कार्यकर्ताहरू नै नेतृत्वप्रति असन्तुष्ट देखिएका छन् । रतुवामाई–६ सौठाका ७८ वर्षीय कर्णबहादुर बस्नेत यसको एक उदाहरण हुन् ।

जननेता मदन भण्डारीको गाउँका उनी भण्डारीकै प्रभावले माले हुँदै एमाले बनेका पुराना कार्यकर्ता हुन् । तर, यसपटक उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन् ।
२०२८ सालको झापा विद्रोहका क्रममा इश्वरी चुडालको हत्या हुँदा तत्कालीन प्रहरीले निर्दोष गाउँलेलाई पनि पक्राउ गरेको थियो । चुडालका छिमेकी रहेका कर्णबहादुरका दाजु इन्द्रबहादुर पनि त्यतिबेला पक्राउ परे । दाजुको पछिपछि प्रहरी कार्यालय पुगेका उनले त्यतिबेला निकै दु:ख पाए ।
केपी ओली त्यही मुद्दामा १४ वर्ष जेल परे । त्यस घटनाले दिएको दु:खको आलो घाउ कर्णबहादुरको मनमा अझै छ । त्यसमाथि पछिल्लो समय ओलीको राजनीतिक बोली र व्यवहारले उनलाई थप चिढ्याएको छ ।
‘केपी ओलीले दुई पटक किड्नी फेरे, तर उनको बोली फेरिएन,’ आक्रोश पोख्दै कर्णबहादुर भन्छन्, ‘म २०२८ सालदेखिको माले हुँ, सूर्यको क्रियाशील । तर यसपालि चाहिँ फेरौं कि जस्तो लागेको छ ।’
नाति पुस्ताले घण्टीमा भोट हाल्न जोड गरिरहेको उनले सुनाए । ‘यसपालि घण्टीमा हालौं है हजुरबुबा भन्छन्,’ उनले भने, ‘अहिले त २०६४ सालको माओवादीकै जस्तो माहोल छ ।’ गाउँमा पसेको विकासको भोक र नेतृत्वप्रतिको असन्तुष्टिले चुनावी माहोललाई रोचक बनाएको छ ।
फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजाल उम्मेदवार छन् । नेकपा एमालेले रंगेलीका पूर्वमेयर दीलिप बगडियालाई मैदानमा उतारेको छ । २०७४ र २०७९ मा आफ्नो उम्मेदवार नउठाएको –तत्कालीन माओवादी) नेपाली कम्युनिष्ट पार्टीले यो पटक चन्द्रवीर राईलाई मैदानमा उतारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण कार्की उम्मेदवार छन् । राष्ट्रीय ऊर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार छन् । मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी उम्मेदवार छन ।
यसैगरी, जनता समाजवादी पार्टी, नेपालबाट विनोदकुमार सिंह गनगाईं, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिलकुमार साह र बुधु रिषिदेव स्वतन्त्र उम्मेदवार छन् ।
२०४८ सालमा निर्वाचनमा गिरिजाप्रसाद कोइराला निर्वाचित भएका थिए । २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचन पनि उनले नै जिते । गिरिजाप्रसाद मोरङ र सुनसरीका २ क्षेत्रमा जित्दा मोरङ १ छाडेपछि सोही वर्ष उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा पनि कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्याय निर्वाचित भए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा देशभर तत्कालीन माओवादीको लहर आउँदा मोरङ क्षेत्र नम्बर १ मा कांग्रेसले विरासत जोगाएको थियो । त्यहाँबाट कांग्रेसका आमोदप्रसाद उपाध्यायले चुनाव जिते ।
संविधान बनाउन नसकी पहिलो संविधानसभा भंग भएपछि २०७० मा संविधानसभाको दोस्रो निर्वाचन भयो । यसपटक भने कांग्रेसको किल्ला तोडियो ।
उपाध्यालाई पराजित गर्दै नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भए । सो संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गर्यो । त्यसपछि २०७४ सालको निर्वाचनमा कांग्रेसले कमब्याक गर्यो ।

२०७४ को निर्वाचनको निर्वाचनमा मिनेन्द्र रिजालले ३५,८१९ मत ल्याएर जित्दा ऋषिकेश पोखरेलले ३४,०१४ मत पाएका थिए ।
त्यसपछि २०७९ सालमा भएको आम निर्वाचनमा ३३ हजार १४८ मतसहित एमालेका पोखरेल विजयी भए । कांग्रेस उम्मेदवार सुजाता कोइराला ३१ हजार ९४० मत ल्याएर दोस्रो भइन् । रास्वपा उम्मेदवार ठगेन्द्र न्यौपानेले ४ हजार ९८७ मत प्राप्त गरेका थिए ।
कानेपोखरी गाउँपालिकाका १, २, ३, पथरीशनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका १० वटै र सुनवर्षी नगरपालिकाका ९ वटै वडा रहेको क्षेत्र नम्बर २ मा एक लाख २९ हजार १८४ जना मतदाता छन् ।
गत भदौ २३ र २४ को विद्रोहपछि परिवर्तित परिस्थितिमा मुलुक अर्को चुनावको सम्मुख छ । आउँदो २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक कसले बाजी मार्ने हो अहिले नै भन्न सकिने अवस्था छैन । आफ्नो प्रभाव कायम राख्न कांग्रेस सफल हुने हो, एमालेले जितलाई निरन्तरता दिने हो, २०७९ मा कमजोर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सबैलाई चकमा दिने हो या झन्डै दुई दर्जन पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले झण्डा गाड्ने हो अहिले नै भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया 4