News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर क्षेत्र नम्बर २ मा आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
- २०७९ को चुनावमा कांग्रेसका दुर्लभ थापाले २४ हजार २३९ मत ल्याएर विजयी भएका थिए भने एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका थिए।
- यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता छन् र ११४ मतदान केन्द्रमा मतदान हुनेछ।
२० माघ, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ नेमकिपा, कांग्रेस र एमालेले आलोपालो जित्दै आएको क्षेत्र हो । तर यसपटक नयाँ उम्मेदवारहरू प्रतिस्पर्धामा आएसँगै पुराना भर्सेस नयाँको प्रतिस्पर्धा हुने देखिएको छ ।
यो क्षेत्रमा २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका जगन्नाथ आचार्यले चुनाव जितेका थिए । २०५१ सालमा भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का आशाकाजी बसुकलाले जिते ।
२०५६ सालमा पुन: नेपाली कांग्रेसका लेखनाथ न्यौपाने विजयी भए । २०६४ सालमा नेमकिपाले कमब्याक गर्यो । नेमकिपाका सुनिल प्रजापति सांसद बने ।
२०७० सालमा फेरि कांग्रेसले पासा पल्टायो र रामेश्वरप्रसाद ढुंगेल सांसद बने ।
यो क्षेत्रमा २०७४ सालमा भने एमालेका उम्मेदवार महेश बस्नेत विजयी भए ।
२०७९ मा कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए । थापाले २४ हजार २३९ मत प्राप्त गर्दा बस्नेतले २३ हजार २८२ मत ल्याएका थिए । तर २०७४ को चुनावमा भने बस्नेत विजयी भएका थिए । बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६८७ मत ल्याएका थिए ।
यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी र रास्वपाको पनि राम्रो मत छ । २०७९ को चुनावमा तेस्रो स्थानमा नेमकिपा, चौथोमा रास्वपा र पाँचौंमा राप्रपा थिए । उनीहरूले ल्याएको मत क्रमश: ७ हजार १२७, ४ हजार ९८ र २ हजार ५६९ थियो ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारहरूले फेरि मत मागिरहेका छन् । यो क्षेत्रमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, नेमकिपा, उज्यालो र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
३२ जना उम्मेदवार प्रतिस्पर्धामा
२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एमाले सचिव महेश बस्नेत, कांग्रेसका कविर राणा, नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा (दीपशिखा), रास्वपाका राजीव खत्री, राप्रपाका विक्रम थापा, नेमकिपाका रमेश वैद्य, उज्यालो नेपाल पार्टीका जितराम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जन्मदेव जैसीलगायत ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
२०७९ को चुनावमा पराजित भएका एमालेका उम्मेदवार बस्नेत यसपटक ‘कमब्याक’ हुने दाउमा छन् । सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा बस्नेत २०५४ को स्थानीय निकाय चुनावमा गुन्डु गाविसको अध्यक्षमा निर्वाचित भएपछि चर्चामा आएका उम्मेदवार हुन् । उनी कान्छा गाविस अध्यक्ष थिए ।
२०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री बनेका बस्नेत २०७४ देखि २०७९ सम्म भक्तपुरको विकासमा आफूले योगदान पुर्याएको दाबी गर्छन् ।
‘पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा देखिएको तीव्र प्रगति योजनाले मात्र होइन, दृढ इच्छाशक्ति र निरन्तर मेहेनतले सम्भव भएको हो,’ उनले भने, ‘भूकम्पले ढालेका विद्यालयहरू फेरि उठे । ऐतिहासिक सम्पदा पुनर्जीवित भए । मठ–मन्दिर, पाटी–पौवा पुनर्निर्माण भए । म केवल नीति बनाउने नेता होइन, समृद्ध भक्तपुर बनाउने सारथि बन्न चाहन्छु ।’
२०७९ का विजयी उम्मेदवारलाई जोगाउने रणनीतिमा कांग्रेस छ । यसपटक कांग्रेसले कविर राणालाई अगाडि सारेको छ । राणा भक्तपुर कांग्रेस जिल्ला समिति सदस्य हुन् ।
२०४८ सालमा सम्पन्न पहिलो स्थानीय निकाय निर्वाचनमा बालकोट–लोकन्थली क्षेत्रबाट जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए उनी । यसपटक उनले विकास र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।
‘बढ्दो बेरोजगारी गम्भीर समस्या बनेको छ, यसको समाधान गर्न आवश्यक छ । भक्तपुरमा अझै धेरै विकास निर्माणका काम बाँकी छन्,’ उनले भने, ‘खानेपानी र सिँचाइको समस्या गम्भीर छ । त्यसको दीर्घकालीन व्यवस्था गर्नुपर्छ । अझै पनि धेरै नगरपालिका र वडामा बाटोघाटोको समस्या छ, त्यसलाई समाधान गर्नुपर्छ ।’
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटा युवा–विद्यार्थी राजनीति र माओवादी आन्दोलनबाट उदाएका नेता हुन् । ‘बाचा होइन, विश्वासको राजनीति तपाईंको साथले सम्भव छ,’ उनले मतदातालाई भने ।
भक्तपुरलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र ठिमीलाई कला तथा संस्कृतिको सहरका रूपमा स्थापित गर्ने उनको योजना छ । भक्तपुरका परम्परागत सीप, विशेषगरी विश्वमै दुर्लभ मानिने माटोका भाँडा बनाउने पेशालाई प्रविधिसँग जोडेर आत्मनिर्भर बनाउने योजना उनको छ ।
‘जहाँ मतदाताको समस्या छ, त्यहीँ म उभिन्छु,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री नयाँ अनुहारका रूपमा प्रतिस्पर्धामा छन् । सांसदले बाटो, घाटो र भवन निर्माण जस्ता काम प्रत्यक्ष रूपमा नगरे पनि ती कार्यका लागि आवश्यक नीतिगत सहजीकरण गर्ने योजना उनको छ ।
‘भदौ २३ गतेको जेन–जेड आन्दोलनको त्यो दिन सम्झनुहोस्,’ उनले मतदातालाई भनिरहेका छन् । यो निर्वाचन उम्मेदवारहरूको मात्र परीक्षा होइन, मतदाताको पनि परीक्षा रहेको उनको भनाइ छ ।
नेमकिपाका उम्मेदवार रमेश वैद्यले शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्ने योजना सुनाउँदै मत मागिरहेका छन् ।
‘योग्यताअनुसारको काम, कामअनुसारको ज्यालाको व्यवस्था गर्न, उत्पादनका मुख्य साधनहरूको राष्ट्रियकरण गर्न, युवालाई देशमै रोजगारी दिन, नवयुवालाई सैनिक तालिमको व्यवस्था गर्न र सबैखाले विदेशी अतिक्रमणविरुद्ध आवाज बुलन्द गर्न,’ वैद्यले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।
यही क्षेत्रबाट उज्यालो नेपाल पार्टीका उपाध्यक्ष जितराम लामा पनि प्रतिस्पर्धामा छन् ।
‘शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र खुला दिसामुक्त क्षेत्र बनाउन काम गरेको छु । २० वर्षदेखि यही क्षेत्रमा बसेको छु,’ उनले भने ।
उनी गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्षसमेत हुन् । एमाले छोडेर उनी उज्यालो नेपाल पार्टी निर्माणमा जुटेका हुन् ।
‘संसदमा भक्तपुर–२ का समस्या र जनजीविकाका सवाल सशक्त रूपमा उठाउन उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि र आर्थिक विकासमा योगदान दिने एजेन्डा छ । गरिब तथा पिछडिएका वर्गको आवाज बन्न उम्मेदवारी दिएको हुँ ।’
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जन्मदेव जैसी पनि नयाँ अनुहार हुन् । ‘भक्तपुरलाई केवल ऐतिहासिक सहरका रूपमा होइन, उत्पादन, रोजगारी र सुशासनको नमुना क्षेत्र बनाउने स्पष्ट दृष्टिकोणका साथ अघि बढेको छु । यसपटकको चुनाव पुरानै अनुहार होइन, नयाँ सोचका लागि हो,’ श्रमजिवी पत्रकारको आन्दोलनमा अगुवाइ गर्दै आएका उनले भने ।
राप्रपाका उम्मेदवार विक्रम थापा भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धतासहित मतदातासँग मत मागिरहेका छन् ।
मतदाता ९८ हजार, मतदान केन्द्र ११४
३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता छन् । जसमा ४८ हजार ७४ जना पुरुष, ५० हजार २७७ जना महिला र ५ जना अन्य मतदाता छन् ।
यहाँ ३९ वटा मतदान स्थल र ११४ वटा मतदान केन्द्र छन् । यस क्षेत्रमा मध्यपुर थिमी नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाका १० वटा वडा पर्छन् ।
प्रतिक्रिया 4