+
+
Shares

स्टिभ जब्सको त्यो फोनकल, अनि गुगलले बदल्यो पहेँलो रङ

स्टिभको यो कुरा सुनेर विक गुन्डोत्रा निकै अचम्मित भए । एउटा अक्षरको रङले कसरी कसैलाई यति धेरै चिन्तित बनाउन सक्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २००८ मा स्टिभ जब्सले गुगलका पूर्वउपाध्यक्ष विक गुन्डोत्रालाई गुगलको लोगोमा रहेको दोस्रो ‘ओ’ अक्षरको पहेँलो रंङ सुधार्न आग्रह गरे।

प्रविधि जगतमा स्टिभ जब्सलाई केवल एक सीईओका रूपमा होइन प्रविधिका महान् उस्तादका रूपमा पनि स्मरण गरिन्छ । उनी आफ्नो क्षेत्रका एक पूर्ण व्यक्ति थिए । कुनै पनि कुराको सानोभन्दा सानो विवरणमा समेत गहिरो ध्यान दिन्थे । यसैसँग जोडिएको सन् २००८ को एउटा रोचक घटना आज पनि निकै चर्चित छ । त्यो घटना गुगलका पूर्वउपाध्यक्ष विक गुन्डोत्राले शेयर गरेका हुन् ।

यो घटना त्यतिबेलाको हो, जब स्टिभ जब्सले स्थापना गरेको एप्पल कम्पनीले भर्खरै आइफोन बजारमा ल्याएको थियो । त्यस्तै आइतबारको एक बिहान स्टिभ जब्सले गुगलका एकजना वरिष्ठ अधिकारीलाई फोन गरे । त्यो फोन गर्नुको कारण थियो, गुगलको लोगोमा उनले देखेको एउटा सानो तर महत्वपूर्ण त्रुटी ।

आखिर त्यो फोन कलमा स्टिभ जब्सले गुगललाई के सुझाव दिएका थिए ? गुगलले त्यो सुझावलाई कसरी स्वीकार गर्‍यो ? यसबारे जानौं

त्यो अर्जेन्ट कल

गुगलका पूर्वउपाध्यक्ष विक गुन्डोत्राले आफ्नो एउटा अन्तर्वार्तामा बताएका अनुसार सन् २००८ जनवरी महिनाको एक आइतबार बिहानै उनलाई स्टिभ जब्सको फोन आयो । फोनमा कुरा गर्दै जब्सले एउटा अत्यन्तै जरुरी समस्या भएको र जसलाई तुरुन्तै समाधान गर्न आवश्यक रहेको बताए।

यो कुरा सुनेर विक गुन्डोत्रालाई कुनै ठूलो प्राविधिक समस्या उत्पन्न भएको होला भन्ने लाग्यो । तर स्टिभले अगाडि भने, ‘म आईफोनमा गुगलको लोगो हेरिरहेको छु र म यो आइकनसँग खुसी छैन । गुगलको दोस्रो ‘ओ’ को पहेँलो रङ ठीक छैन ।’

स्टिभको यो कुरा सुनेर विक गुन्डोत्रा निकै अचम्मित भए । एउटा अक्षरको रङले कसरी कसैलाई यति धेरै चिन्तित बनाउन सक्छ ? स्टिभले थपे, ‘यो रङ ठीक देखिँदैन । म भोलि नै मेरो टिमका ग्रेगसँग मिलेर यसलाई सुधार गरिदिन्छु । के तिमीलाई यसमा कुनै आपत्ति छ ?’

विक गुन्डोत्रा सम्झन्छन्– स्टिभ जब्सले केवल एउटा सानो तर महत्वपूर्ण कमजोरी पहिचान मात्र गरेनन्, त्यसलाई समाधान गर्न आफ्नै टिमको सहयोग पनि प्रस्ताव गरे। रोचक कुरा के छ भने, आज पनि गुगलको लोगोमा रहेको दोस्रो ‘ओ’ अक्षर स्टिभले सुझाएको रंङअनुसार नै देखिन्छ । यद्यपि समयसँगै गुगलले आफ्नो ब्रान्डिङलाई ‘जी’ अक्षरमा केन्द्रित गरेको छ । तर क्रोम र अन्य प्लेटफर्महरूमा आज पनि गुगलको पूरा लोगो देख्न सकिन्छ।

सूक्ष्म विवरणमै सफलताको बाटो

यो घटनाले स्टिभ जब्सको सफलताको रहस्य पनि उजागर गर्छ । स्टिभको विश्वास के थियो भने यदि साना-साना कुराहरूलाई मिलाइयो भने ठूला कुरा आफैँ उत्कृष्ट बन्छन्। सन् २००४ को एउटा अन्तर्वार्तामा जब्सले भनेका थिए, ‘नवप्रवर्तन प्रायः बाहिर हुने अनौपचारिक भेटघाटहरू वा राति साढे १० बजे आउने फोन कलहरूबाट जन्मिन्छ ।

विक गुन्डोत्राका अनुसार स्टिभका लागि सिर्जनशीलता भनेको केवल ठूला आइडियामात्र थिएन । उनी त्यस्ता समस्याहरूमा ध्यान केन्द्रित गर्थे, जुन अरूको नजरबाट सजिलै छुट्थ्यो । जब्सको यो व्यवहार आफ्ना लागि ठूलो पाठ रहेको विक गुन्डोत्राको भनाइ छ । उनी भन्छन्, ‘सीईओले आइतबारको विदाको दिनमा समेत यस्ता सुक्ष्म कुराहरूमा ध्यान दिनु र चासो राख्नु कति आवश्यक हुन्छ भन्ने कुरा त्यो दिन मैले स्टिभबाट सिकेँ।’

एक दूरद्रष्टाको अन्त्य

वास्तमा स्टिभ जब्स त्यस्ता व्यक्तित्व थिए टेक जगतमा उनको उचाइलाई अहिलेसम्म कसैले पनि छुन सकेको छैन । उनको काम गर्ने शैली र व्यक्तित्व बिल गेट्सजस्ता अन्य प्रविधि महारथीहरूभन्दा पूर्णरूपमा फरक थियो । उनी आफूलाई सबैभन्दा पहिले एक कलाकारका रूपमा हेर्थे । उनले हरेक पिक्सेललाई अत्यन्तै सूक्ष्मताका साथ परिमार्जन गर्दथे।

क्यान्सरसँगको लामो संघर्षपछि ५६ वर्षको उमेरमा ५ अक्टुबर २०११ मा स्टिभ जब्सको निधन भयो । प्रतिस्पर्धी कम्पनी गुगलमाथि आरिस नगरी उल्टै राम्रो सुधारका लागि सुझाव दिन उनले गरेको त्यो फोन कल आज पनि प्रविधि उद्योगका लागि एउटा उदाहरण बनेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?