+
+
Shares
अन्तर्वार्ता :

‘एमालेले बहुमत ल्याउँछ, केपी ओली फेरि पनि प्रधानमन्त्री बन्नुहुन्छ’

एमाले सबैभन्दा ठूलो शक्ति हुन्छ र यो मुलुकको फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ। हामी बहुमत ल्याउँछौँ भन्ने आकलनका साथ निर्वाचनमा उभिएका छौं। 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १७:४०

जेनजी आन्दोलनपछि विकसित राजनीतिक कोर्समा नेकपा एमालेले आफूलाई फरक राजनीतिक कित्तामा उभ्याउन खोजेको छ। अरू दलहरूले जेनजी आन्दोलनको भावनालाई सम्बोधन गरेर जाने संकल्प गरिरहँदा एमालेले भने मुलुक प्रतिगमनतिर धकेलिएको प्रचार गरिरहेको छ।

मुख्य गरी २४ भदौको घटनालाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएको एमालेले बहुमत ल्याउने र केपी शर्मा ओलीलाई फेरि पनि प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। बहुमत ल्याउने उद्देश्यसहित एमालेले पार्टी नेताहरूको विशेष कार्यविभाजन नै गरेको छ। र, प्रचार विभागको जिम्मा लगाएको छ- मीनबहादुर शाहीलाई।

उनै शाहीसँग एमालेको चुनावी गतिविधि र राजनीतिक घटनाक्रमबारे अनलाइनखबरकर्मी सइन्द्र राईले कुराकानी गरेका छन्। प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:

चुनाव लक्षित कार्यविभाजनका क्रममा तपाईं एमाले प्रचार विभागको नेतृत्वमा आउनुभएको छ। तपाईंले परम्परागत प्रचार शैलीलाई नै निरन्तरता दिने सोच्दै हुनुहुन्छ कि केही नयाँ हुन्छ?

हिजोको परम्परागत प्रचार शैलीभन्दा अवश्य पनि भिन्न हुन्छ। आज प्रत्येक व्यक्तिले आफ्नो प्रचार शैलीलाई बदल्न सक्छ। किनभने प्रचार सामग्री प्रत्येक मान्छेको हातमा छ। हिजो र आजको प्रचार शैलीमा व्यापक फेरबदल आएको छ। जे परिवर्तन आएको छ, त्यही शैली र प्रविधिको प्रयोग गरी प्रचार कार्यलाई अगाडि बढाउने निधो गरेका छौँ।

पार्टी अध्यक्षले दैनिक १० वटा स्टाटस र कमेन्ट लेख्न निर्देशन दिनुभएको छ, एमाले अलि अल्छी भयो?

एमाले असाध्यै धेरै सक्रिय, सुदृढ र बलियो पार्टी हो। यो पार्टीमा ६ लाखभन्दा बढी संगठित सदस्य छन्। लाखौँ मानिसले आस्था राख्छन्। १४ लाख बढी कार्यकर्ता १६५ निर्वाचन क्षेत्रमा सक्रिय छन्। त्यसकारण एमाले कार्यकर्तालाई अल्छी भन्न मिल्दैन।

पीर नभई त अध्यक्षले निर्देशन दिनुभएको होइन होला नि?

पीर भएर होइन। अझ सक्रियता बढोस्, पहलकदमी बढोस्, अझ बढी रचनात्मक ढङ्गले कार्यकर्ताहरू क्रियाशील होऊन् भनेर उहाँले भन्नुभएको हो।

पार्टी अध्यक्षको फेसबुक पेजमा फलोअर बढाउन बेलाबेला नेताहरूको निर्देशन आउने गर्छ। तर फलोअर बालेनहरूको बढिरहेको छ, त्यही भएर सोधेको नि !

लोकप्रियतावादको कुरा गर्नुभयो, त्यस्तो पपुलिज्ममा हामी विश्वास गर्दैनौँ। पपुलिज्मले मुलुकमा जोखिम निम्त्याउँछ। हामीले ब्रोडर डेमोक्रेटिक फ्रेमवर्कलाई हेर्ने हो। मुलुकको शासन पद्धति डेमोक्रेटिक फ्रेमवर्कभित्रै हुनुपर्छ भन्ने मान्यता विगतमा पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ।

लाइक-कमेन्ट बढाउन निर्देशन दिने, अनि पपुलिज्मको विरोध गर्ने कुरा अमिल्दो भएन र ?

बालेन अथवा जोसुकै भए पनि कसको लाइक कति आउँछ भन्ने ठूलो सरोकारको विषय होइन। हामीले जनताको बीचमा जाँदा नीति र विचारलाई अगाडि सार्दै आएका छौँ। एमालेले ४८ सालको चुनावदेखि नीति र विचारका आधारमा प्रतिस्पर्धा गर्दै आएको हो। जहाँसम्म प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने कुरा छ, आफूलाई कमजोर आकलन गरेका पार्टी वा समूहले बलियो भइन्छ भनेर गरेका हुन्।

तर तपाईंहरूले पनि विगतमा र यसपटक पनि केपी ओलीलाई प्रधानमन्त्री घोषणा गर्नुभएको छ। बिर्सनुभयो ?

हाम्रो पार्टीमा त अध्यक्ष लामो समयदेखि अनुभवसिद्ध हुनुहुन्छ। अनुभवका आधारमा हामीले पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेका हौँ।

 

तपाईंहरूले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्नुहुन्छ भने अरूका उम्मेदवारबारे टिप्पणी गर्नु सहज कुरा हो र ?

असहज रूपमा लिएकै छैनौँ। २०७९ सालमा एमालेविरुद्ध जुन प्रकारको गठबन्धन थियो, त्यसबेला पनि भारी मतका साथ संसद्‌मा उपस्थित भयौँ। अहिले पनि जस्तो घेराबन्दी भइरहेको छ, एमाले आत्तिएको छैन। दृढ इच्छाशक्तिका साथ नेतृत्व प्रदान गरिरहनुभएको पार्टी अध्यक्ष र अरूको बीचमा भिन्नता छ है त हामीले भन्न पायौँ नि। हाम्रो दाबी के हो भन्दाखेरि चुनावपछि एमालेले सरकार बनाउँछ र त्यो सरकारको नेतृत्व अध्यक्षले गर्नुहुन्छ भन्न खोजेका हौँ। हामीले अरूले गर्न मिल्दैन भनेको होइन।

अर्को विरोधाभासकै कुरा गर्दा, अघिल्लो चुनावमा तपाईंहरूले केपी ओली लोकप्रिय छन् भन्नुहुन्थ्यो। अहिले त्यसो भन्नु गल्ती रहेछ भन्ने ठाउँमा पुग्नुभयो ?

पपुलिज्ममा कहिल्यै पनि विश्वास गरेनौँ। तर नेता त लोकप्रिय हुन्छ नि। हाम्रा अध्यक्ष लोकप्रिय हुनुहुन्छ, त्यसमा गर्व छ। मदन भण्डारी लोकप्रिय भएर बित्नुभयो। मनमोहन अधिकारी सबैभन्दा लोकप्रिय प्रधानमन्त्री भएर बित्नुभयो, जसप्रति असाध्यै ठूलो सम्मान र आदर छ।

अरिङ्गाल संगठित र व्यवस्थित प्रजाति हो। कसैलाई आक्रमण गर भनिएको थिएन, व्यवस्थित र संगठित हुन भनिएको थियो। अरिङ्गाललाई चलाएपछि न आक्रमण गर्न जाने हो।

कांग्रेसकै नेता गणेशमान सिंह, बीपी कोइराला लोकप्रिय हुनुभयो। मैले भन्न खोजेको लोकप्रियतावाद र लोकप्रिय हुनुमा फरक छ। लोकप्रिय नभई त कसरी नेता हुन्छ ? नेता लोकप्रिय हुन्छ, तर लोकरिझ्याइँ चाहिँ मुलुकका लागि खतरनाक छ।

जनतालाई तत्काल प्रिय लाग्ने कुरा गरेर लोकप्रिय नहुने, दीर्घकालीन योजनामार्फत प्रिय हुने ?

मास (आमसर्वसाधारण) प्रति हाम्रो उच्च सम्मान छ। तर कहिलेकाहीँ के भइदिन्छ भन्दा लोकप्रियतावादले भ्रममा पारिदिन्छ। त्यो भ्रममा पारेर मुलुकलाई जोखिमको बाटोतिर डोर्‍याउनु हुँदैन भन्ने हो। तपाईंले बहुत राम्रो प्रश्न गर्नुभयो, हाम्रो अध्यक्षका बारेमा। उहाँ त सबैभन्दा लोकप्रिय हुनुहुन्छ। त्यसमा मलाई गर्व छ नि !

अहिले पनि लोकप्रिय हुनुहुन्छ ?

लोकप्रिय हुनुहुन्छ, किन हुनुहुन्न? मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र मुलुकलाई अझ बढी पहिचान दिने सन्दर्भमा हाम्रो पार्टी अध्यक्षभन्दा अरू को लोकप्रिय छ र ? सायदै विरलै होलान्।

लामो इतिहास होला, बलियो शक्तिको अध्यक्षको स्वीकारोक्ति होला। तर पछिल्लो परिस्थिति हेर्दा केपी ओली लोकप्रिय होइनन् कि ?

त्यस्तो पपुलिज्मबाट आएकाहरूको स्वरूप त हामीले छोटै समयमा देख्न पायौँ । २०७९ सालको चुनावमा ‘नो नट अगेन, इनफ इज इनफ’ का शैलीहरू देख्यौँ, त्यस आधारमा पनि पपुलिज्म कदापि स्वीकार्य छैन। जो मान्छेहरू पपुलिज्ममा बढी विश्वास गर्थे, तिनीहरूको परिणाम देख्यौँ नि। आज रविजीको अवस्था हामीले देख्यौँ। जनताले रविजीका जति पनि कर्महरू छन्, ती देखिरहेका छन्। त्यसैले पपुलर हुनु र पपुलिज्ममार्फत स्थापित हुन खोज्नु फरक कुरा हो।

एमालेले पपुलिज्म अथवा उग्रता मन पराउँदैन ?

नम्र शैलीमा व्यवस्थित कामहरूलाई व्यवस्थित रूपमा प्रचार गर्न चाहन्छ।

तर विगतमा अरिङ्गालजस्तो आक्रमण गर्न निर्देशन पनि दिनुभयो र साइबर सेना पनि बनाउनुभयो। पछुतो छैन ?

अरिङ्गाल संगठित र व्यवस्थित प्रजाति हो। कसैलाई आक्रमण गर भनिएको थिएन, व्यवस्थित र संगठित हुन भनिएको थियो। अरिङ्गाललाई चलाएपछि न आक्रमण गर्न जाने हो।

अरिङ्गाल एउटा बिम्ब हो। यस्तो खालको विम्ब प्रयोग गर्दै अगाडि बढ्दा पपुलिज्मले घोडा चढ्यो भन्ने लाग्दैन ?

सुधार गर्नुपर्ने पक्ष हामीसँग छँदै छैन भनेका छैनौँ। हाम्रा सुधार गर्नुपर्ने पक्षहरू थुप्रै होलान्। तर एमाले जसरी संगठित, व्यवस्थित र सुदृढ छ, त्यस आधारमा मुलुकमा शासन होइन, सेवा प्रवाह गर्न योग्य छ भन्ने ठान्दछौँ।

एमालेले पपुलिज्ममा विश्वास गर्दैन भन्दै हुनुहुन्छ। तर चुनाव नजिक छ। यस्तो बेला एमालेका उम्मेदवारहरूले ‘फ्याक्ट’को प्रचार गर्छन् कि ‘फेभर’ को ?

जनताको बीचमा जान हामीसँग फ्याक्ट बेस (तथ्यमा आधारित) सामग्रीहरू छन्। अहिले कर्णालीको औसत आयु ७२.५ वर्ष पुगेको छ। २०५६ सालतिरको कुरा गर्नुभयो भने कर्णालीको औसत आयु ३६ वर्ष थियो। यो ३० वर्षमा कर्णालीको औसत आयु दोब्बरले बढ्यो। यो रफ्तारमा विकास भएको मुलुक देखाइदिनुस् न। केही हुँदै नभएको न्यारेसन डेभलप गरेर मुलुकलाई जोखिमतिर लान खोज्नु भएन नि।

पुरानाहरूले गर्दै गरेनन् भन्ने निष्कर्षप्रति आपत्ति हो ?

आलोचना गर्न पाइयो। तर न्यारेसन गलत छ भन्ने हाम्रो कुरा हो।

नयाँहरूले पुरानालाई व्यवस्था परिवर्तनको योगदानप्रति आभार प्रकट गरेकै सुनिन्छ। अब हामी अगाडि बढाउँछौँ भन्न पाउँदैनन् ?

भन्न पाइयो, त्यसमा हुँदैन कहाँ भनेका छौँ र! हामी बहुलवादमा विश्वास गर्छौँ। तर संविधानभन्दा पर गएर गलत ढङ्गले मुलुकमा विध्वंस मच्चाएर, हिंसा मच्चाएर गरिने कुराप्रति सहमति हुन सक्दैन।

तर आसन्न चुनावबाट लोकतन्त्र संकटमा पर्छ भन्नु त आफ्नो पक्षमा परिस्थिति निर्माण गर्ने कुरा होइन र ?

लोकतन्त्र बलियो बनाउनु हाम्रो कर्तव्य हो। त्यसकारण हामीले डेमोक्रेटिक फ्रेमवर्कभन्दा बाहिर गएर गरिने कुरा स्वीकार्य छैन भन्न खोजेका हौं । निर्वाचनलाई असहयोग गर्छौं भनेका छैनौं । निर्वाचन हुनुपर्छ नै भनेका छौं। तर निष्पक्ष, भयरहित र स्वतन्त्र ढङ्गले नागरिकहरूले मतदान गर्ने वातावरण त सिर्जना गर्नुपर्‍यो।

असंवैधानिक हिसाबले कुल्चेर जसरी संविधानलाई डिरेल गर्ने काम भयो, संविधानलाई लयमा ल्याउने त हाम्रो प्राथमिक मुद्दा हो। तर चुनावमा नजाने त भनेका छैनौँ नि। जनादेश सबैभन्दा ठूलो शक्ति हो।

दोस्रो, सामाजिक सञ्जाल प्रयोग गरेर मान्छेको मानमर्यादामा आँच पुर्‍याउने प्रवृत्ति जे भइरहेको छ, त्यसप्रति सरकारले छानबिन गर्नुपर्‍यो। २४ गतेको विध्वंसका लागि उक्साउने तत्वहरू पत्ता लगाउन छानबिन आयोगले काम गरिरहेको होला, बिस्तारै पर्दाफास होला। तर जसरी जेल तोड्न लगाइयो, कैदीहरू भगाइयो, संसद् भवनमाथि आक्रमण गर्न युवाहरू लगियो, त्यो सही थियो त? 

संसारका कुनै पनि राज्य प्रणालीमा महत्त्वपूर्ण संयन्त्रहरूमा सुरक्षा हुन्छन्। हतियारधारी सुरक्षाकर्मीहरू ती संयन्त्रहरूको सुरक्षामा खटिएका हुन्छन्। अब कुनै पनि व्यक्ति वा समूहले आक्रमण गरे संयन्त्रहरूको रक्षा त गर्नुपर्‍यो। हो, त्यो स्थितिसम्म पुर्‍याउने तत्व कुन हो?

रास्वपा हो ?

मलाई थाहा छैन, त्यो कुरो मैले भनिरहेको छैन।

एमाले जस्तो पार्टीले त देश निर्माणको मार्गचित्र घोषणापत्रमार्फत ल्याउनुपर्ने होला। तपाईंहरू त रास्वपा र बालेनविरुद्ध सार्वजनिक टिप्पणीमै अल्मलिएको जस्तो लाग्दैन ? 

रवि लामिछाने मेरा पुराना मित्र-साथी नै हुन्। तर नख्खुको गेटबाट निस्किँदाको दृष्टान्त हामीलाई थाहा छ नि। जेल तोडेर लगाएको फूलमाला मैले देखेँ नि। हामीले सुनिरहेका छौँ मान्छेका भाषणहरू। भूमिगत शैलीमा लेखिएका स्टाटस कति खतरनाक छन् भन्ने हेरिरहेका छौँ। र, एमाले कसैसँग डराएको अवस्था होइन। जनताको सहानुभूति र माया प्राप्त गर्नेछौँ भन्नेमा विश्वस्त छौँ। त्यसकारणले अरूले गरिरहेको कुराप्रति हामीले धेरै ध्यान दिएका पनि छैनौँ, त्यस्तो फुर्सद पनि छैन।

तर तपाईंका अध्यक्षले आफ्नो फेसबुक पेजमा कमेन्ट लेख्ने हरेकलाई जवाफ फर्काइरहेको पनि देखिन्छ, व्यस्त पनि धेरै होइन जस्तो छ !

उहाँले सबैकोमा रिप्लाई लेखेर बस्नुभएको छैन। उहाँलाई मुलुकको समग्र समृद्धिको सपना पूरा गर्नेमा ध्यान छ। सुख र समृद्धिका राष्ट्रिय आकांक्षाहरू अधुरै छन्। ती आकांक्षा हामीले पूरा गर्नु छ। समृद्ध नेपाल निर्माण गर्ने परिकल्पना बाँकी छ।

जनताका निर्णयप्रति कति विश्वास छ ?

जनताले हामीलाई भोट हाल्छन् भन्ने असाध्यै धेरै विश्वास छ। जनताले सबैभन्दा बढी माया गर्ने लोकप्रिय पार्टी नै एमाले हो।

 

अनि जनताको विश्वास भए संसद् पुनर्स्थापना चाहिँ किन भनिरहनुभएको हो ?

संविधानलाई लयमा ल्याउन प्रतिनिधि सभा पुनर्स्थापनाको एजेन्डा त अझै जीवित छ नि। संवैधानिक सर्वोच्चता, लोकतन्त्र, कानुनी शासन र मानव अधिकारका आधारभूत मूल्य र मान्यताप्रति हाम्रो अटुट आस्था र विश्वास छ।

केपी ओलीलाई प्रस्ट एजेन्डा बोक्ने नेता भनेर पनि चिनिन्थ्यो। तर अहिले दुईवटा ढुङ्गामा खुट्टा राख्नुपर्ने अवस्था आइसक्यो ?

असंवैधानिक हिसाबले कुल्चेर जसरी संविधानलाई डिरेल गर्ने काम भयो, संविधानलाई लयमा ल्याउने त हाम्रो प्राथमिक मुद्दा हो। तर चुनावमा नजाने त भनेका छैनौँ नि। जनादेश सबैभन्दा ठूलो शक्ति हो।

अन्त्यमा, यो चुनावबाट एमालेले कति सिट ल्याउने अनुमान गर्नुभएको छ ?

एमाले सबैभन्दा ठूलो शक्ति हुन्छ र यो मुलुकको फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ। हामी बहुमत ल्याउँछौँ भन्ने आकलनका साथ निर्वाचनमा उभिएका छौं। 

तस्वीर/भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?