News Summary
Generated by OK AI. Editorially reviewed.- सबाना खातुनले नेपालमा पहिलो महिलामैत्री जिम सबाना फिटनेस स्थापना गरेकी छन्, जसले महिलालाई सहज र स्वतन्त्र रूपमा व्यायाम गर्न अवसर दिन्छ।
सबाना फिटनेस नेपालको पहिलो महिलामैत्री जिम हो । संस्थापक सबाना खातुनले आफ्नो व्यक्तिगत यात्राबाट प्रेरित भएर यो जिम स्थापना गरेकी हुन् । एक समयमा उनको तौल १२० किलो नजिक थियो । तर एक वर्षभित्रै उनले आफ्नो तौल ६० केजीमा झारिन । यो यात्रा केवल शारीरिक परिवर्तन मात्र होइन, जीवनशैलीको पूर्णरूपान्तरण थियो।
व्यक्तिगत फिटनेस यात्रा र परिवर्तन
सबाना खातुनको फिटनेस यात्रा किशोरावस्थाबाट नै सुरु भएको थियो, जब उनी अत्यधिक मोटोपनको शिकार भइन् । परिवारबाट सबै कुरामा समर्थन पाए पनि, शारीरिक रूपमा असुविधा महसुस गर्दै थिइन् । ‘युवा अवस्थाको समयमा घुम्ने, खाने र रमाइलो गर्ने बेला आफ्नो शरीरले साथ नदिँदा आन्तरिक रूपमा धेरै प्रभाव पर्ने रहेछ’ उनी अनुभव सुनाउँछिन् । यसपछि उनले आफ्नो फिटनेस यात्रा सुरु गरिन् ।
कठिनाइहरू आउलान् कि भनेर सुरुमा अलि डराएकी थिइन् । तर सुरु गरेपछि, छोटो समयमै राम्रो नतिजा देखिन थाल्यो । लगभग एक वर्षमा उनले आफ्नो तौल ६० केजीसम्म घटाइन्, जसबाट उनले आफ्नो जीवन नै परिवर्तन भएको महसुस गरिन् । तर एक्कासी आफू निकै दुब्ली भएको जस्तो लाग्यो उनलाई । ‘१२० केजीबाट ५८–५९ पुग्दा खुसी लागे पनि, मजा आएन’ खातुन भन्छिन्, ‘आफू धेरै दुब्लो भएँ जस्तो लाग्यो ।’
यो यात्राले उनमा समर्पण, मेहनत र आत्मविश्वास जगायो । शारीरिक फिटनेसले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्यो । अरूसँग बोल्न, घुलमिल गर्न सहज लाग्न थाल्थ्यो । मानिसहरूबाट प्रशंसा पाउन थालिन् ।
एक वर्षको अवधिमा उनले आफ्नो वर्कआउटलाई प्राथमिकतामा राखिन् । परिवारको समर्थन यसमा महत्वपूर्ण थियो । ‘फिटनेस यात्रा सजिलो छैन, तर परिवारको समर्थनले सहज बनाउँछ’ उनी भन्छिन् । यो अनुभवले उनलाई सोसल मिडियामा आउन प्रेरित गर्यो, जहाँ उनले अरूलाई पनि प्रेरित गर्न थालिन् । उनको प्रेरणाले सकारात्मक नतिजा आएको प्रतिक्रियाहरू आउन थाले । कोहीको तौल घट्यो, कसैलाई परिवारले जिम जान अनुमति दिए । कसैले समस्या आउनुभन्दा पहिले नै जीवनशैली सुधार गर्ने ज्ञान पाए । यो देखेर उनी खुसी हुन्छिन् ।
महिलाहरूका लागि विशेष जिम खोल्ने प्रेरणा
लेडिज जिम खोल्ने विचार उनको व्यक्तिगत अनुभवबाट नै जन्मियो । उनले महिला जिम खोलेको करिब एक दशक भयो । तर नेपालमा महिलाहरूलाई जिम जान धेरै बाधा-अड्चनहरू छन् । धेरै महिलालाई जिम जान परिवारका व्यक्तिले अनुमति दिँदैनन् । बच्चा हेर्ने, घरको कामले आदिले समय मिलाउन समस्या परिरहेको हुन्छ । यस्तोमा महिलाहरूलाई आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दिन पनि उनले लेडिज जिम सुरु गरेको बताउँछिन् ।
उनले खोलेको नेपालको पहिलो महिला जिम हो । यसको मुख्य कारण महिलालाई सहज होस् भन्ने हो । ‘महिला पुरुष मिश्रित जिममा कतिपय महिलाहरू असुविधा महसुस गर्छन्’ सबना भन्छिन्, ‘लुगा, व्यायामको आसन, कसैको हेर्ने नजरहरूले गर्दा समेत महिलालाई असह हुन्छ ।’

पुरुषसँगै जिम गर्दा अधिकांश महिलाहरूले संकोच मानेर जिम गरिरहेका हुन्थे । ती सबै कुरा आफूले भोगेको र महसुस गरेका कारण महिलाका लागि मात्र जिम सञ्चालनमा ल्याएको उनी सुनाउँछिन् । छुट्टै जिम हुँदा महिलाहरू स्वतन्त्र रूपमा व्यायाम गर्न सक्छन्, जसले उनीहरूको प्रदर्शन राम्रो बनाउँछ ।
सबनाका अनुसार जिममा २०–२१ वर्षदेखि ६४ वर्षसम्मका सदस्यहरू महिलाहरू आउने गरेका छन् । ‘कतिपय परिवारले बुझ्दै छन् । घरमा भएका दिदी, आमाहरूलाई पनि बाहिर निस्किन, साथी बनाउन मन लाग्छ त्यसैले जिममा पठाउनु भएको छ’ उनी सुनाउँछिन् ।
जिमका गतिविधि
सबाना फिटनेस जिम मात्र होइन, एक समुदाय हो । यहाँ दैनिक विभिन्न क्लासहरू हुन्छन् जुम्बा, एरोबिक्स, योगा, पिलाटिस । ‘जिम मात्र गरेर अल्छी लाग्छ भने मनोरञ्जन हुने तरिकालेव्यायाम गराउँछौँ’ उनी भन्छिन्, हप्तामा विभिन्न प्रकारका वर्कआउटले रुचि बढाउँछ ।’ यसबाहेक अरू विशेष कार्यक्रमहरू छन् ।
जिममा आएका महिलाका बच्चाहरूका लागि विन्टर क्याम्प पनि सञ्चालन हुन्छ, जसमा पेन्टिङ, क्ले क्राफ्ट, गुड टच–ब्याड टच शिक्षा, बुलिङबाट बच्ने तरिका सिकाइन्छ । ‘आजभोलि बच्चाहरू फोनमा मात्र व्यस्त हुन्छन्, तर यस्ता क्रियाकलापले उनीहरूलाई मोटिभेट गर्छ र आमाहरुलाई पनि खुसी दिन्छ’ उनी भन्छिन् ।
हरेक चाडपर्वहरू मनाउनु यो जिमको अर्को विशेषता हो । दशैं, तिहार, तीज, क्रिसमस, लोसार, ईद सबै मनाइन्छ । फिटनेस ट्रेनर सबाना मुस्लिम हुन् । तर, उनी जिममा आउने हरेक महिलाहरूको चाडलाई प्रथमिकतामा राखेर मनाउँछिन् ।
‘सबै पर्व मनाउँदा एक-अर्काको सँस्कृति बुझिन्छ, एकता बढ्छ’ उनी भन्छिन्, ‘फरक-फरक सँस्कृतिका व्यक्तिहरू एक ठाउँमा भेला भएर रमाइलो गर्दा छुट्टै खुसी मिल्छ ।’
चुनौती र समाधान
नेपाली समाजमा महिलाहरूको जीवन कठिन छ । बुहारीलाई मोटायो भन्ने, तर जिम जाऊ भन्न नसक्ने । घरेलु कामले तौल बढ्छ, मानसिक तनाव बढ्छ । ‘घरमा मात्र बस्दा तनाव हुन्छ,’ उनी भन्छिन्, ‘जिमले दिनको एक घण्टा भए पनि रिफ्रेस गर्ने अवसर दिन्छ ।’
फिटनेस शारीरिक मात्र होइन, मानसिक पनि हो । शरीरलाई दुब्लो वा कसिलो बनाउनु मात्रै जिम नभएको उनको भनाइ छ । महिलामा आत्मविश्वास बढाउनु, उत्प्रेरणा दिने काम पनि जिमले गर्ने सबना बताउँछिन् ।
सबानाको जिमले फिटनेस इन्डस्ट्रीमा परिवर्तन ल्याएको छ । उनका ट्रेनरहरू शारीरिक सुगठन प्रतियोगितामा भाग लिन्छन्, जसले महिलाहरूलाई प्रेरित गर्छ । ‘महिलाहरू पनि प्रतियोगितामा जान सक्छन् र जित्न सक्छन्’ उनी भन्छिन् ।
महिलाको शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुँदा समुदाय नै सकारात्म दिशामा अघि बढ्ने दावी उनको छ ।
प्रतिक्रिया 4