+
+
Shares

रातिको विवाह र विश्वासको भोट

विवाहस्थलमै बस्नु मेरो बाध्यता थियो । तर त्यो बाध्यताभित्र पनि एउटा मिठो रमाइलो लुकेको थियो ।

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८२ माघ २३ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेसमा विवाह प्रायः राति हुने परम्परा छ, जसमा रातभर जाग्राम बस्नुपर्ने, व्यवस्थापनको सकस र खर्च बढी हुन्छ।

मधेसमा विवाह अझै पनि धेरैजसो राति हुन्छ । धेरैलाई यो झन्झटिलो लाग्न सक्छ । यसमा रातभर जाग्राम बस्नुपर्ने, व्यवस्थापनको सकस हुने र खर्चको चाप अलिक बढी हुन्छ । तर मलाई भने रातिको विवाह सधैँ प्रिय लाग्छ ।

दिनभरि आफ्नो कर्म सकेर, जिम्मेवारीको भारी थन्क्याएर, मनलाई अलिक शान्त बनाइ सकेपछि विवाहको उत्सवमा पस्न पाउनु आफैँमा एउटा आनन्द हो । दिउँसोको विवाहमा विदा लिनुपर्ने झन्झट हुन्छ । विदामै बसेपनि बारम्बार मोबाइल बज्छ । दिउँसो नाच्न मन लाग्दैन अनि रमाउने मनले फुर्सद खोजिरहन्छ । राति त मनसँगै समय पनि फुर्सदिलो हुन्छ । त्यसैले रमाइलो हुन्छ ।

माघको रात । रात छिप्पिँदै जादा चिसो पनि बढ्दै जान्छ । रंगीचंगी बत्तीहरू टल्किरहेका हुन्छन् । मैथिली गीतहरूको धुन हावामा फैलिएको छ । संगीत र नृत्यको आफ्नै लय छ । यसमा हतार छैन, देखावटीपन छैन । जन्ती आएका मानिसहरू पनि अधैर्य छैनन् । कोही–कोही लामो समयपछि भेटिएका आफन्तहरूसँग गफिएका छन् । पण्डाल र गेटको सजावटलाई पृष्ठभूमि बनाएर टिकटिक, रिल बनाउन युवायुवतीहरू व्यस्त छन् । यहाँ नयाँ सम्बन्ध र नातासँग चिनजानका अवसर मिल्छ । भलाकुसारी हुन्छ, जिन्दगीका कुराहरू निस्किन्छन् । सायद त्यसैले हो-रातिको विवाहमा मान्छेहरू अलिक मान्छे जस्ता देखिन्छन् ।

छिमेकीको छोरीको विवाह थियो । विवाहस्थलमै बस्नु मेरो बाध्यता थियो । तर त्यो बाध्यताभित्र पनि एउटा मिठो रमाइलो लुकेको थियो । मानौ जिन्दगीले अनायासै कुनै कथा सुनाउन विवाह अवसरमा बसाएको छ ।

जन्ती झापाबाट आएको रहेछ । तर जन्तीमै एक जना मेरो आफ्नै गाउँ, रामधुनी नगरपालिकाका व्यक्ति पनि रहेछन् । नगरपालिका एउटै भए पनि उनी वडा नम्बर ५, झुम्का बजारतिरका, म चाहिँ वडा नम्बर ९, डुम्राहातिरको । मैले उनलाई खासै चिनेको थिइनँ । तर उनले मलाई चिनेका रहेछन् । यहीँ चिनाजान भयो । नाताले उनी बेहुलाका फुफा, र बेहुली मेरी छोरी जस्तै । त्यसैले हामी एक–अर्कालाई ‘सम्धी’ भनेर सम्बोधन गर्न थाल्यौँ ।

मैले पण्डालबाट नै आफ्नो घर देखाएँ । कुरा झुम्कातिरको उन्नति–प्रगति, बजारको चाल, व्यापारको अवस्था हुँदै समसामयिक विषयतिर बग्यो । झुम्कामा सानो व्यापार गरेर घरपरिवार धानेका ती सम्धीले छोरो इटहरीमा +२ पढ्दै गरेको र छोरी रामधुनीकै सरकारी स्कुलमा पढ्दै गरेको कुरा सुनाए । साधारण लाग्ने ती वाक्यहरूभित्र संघर्ष, धैर्य र जिम्मेवारीको गहिरो इतिहास लुकेको थियो । एकातिर आफूले उच्च शिक्षा गर्न नसकेको पीडा थियो, अनि अर्कोतिर दुःख गरेर पनि छोराछोरीलाई पढाउन सकेको सफलताको कथा थियो ।

देशमा चुनाव लागेको छ । राजनीति नछेडौँ भनेर सोच्दा सोच्दै पनि कुरा त्यतैतिर मोडिन पुग्छ । त्यसमा पनि हामी दुवैको चुनावी क्षेत्र पनि एउटै, अर्थात सुनसरी क्षेत्र नम्बर २ । यहाँ उठेका उम्मेदवारहरूको बारेमा चर्चा भयो । पुराना र नयाँ भनिएका बीचको तुलना भयो । राजनीतिमा धैर्‍यता र लगन आवश्यक पर्ने निष्कर्ष हाम्रो रह्यो।

रात झन् गहिरिँदै गयो ।मैले सम्धीलाई आफ्नै घरतिर आउन आग्रह गरेँ । तर उनी जन्तीका लागि व्यवस्था गरिएको लजतिर जान चाहन्थे । हामी छुट्टियौँ । म घर फर्किएँ । बाहिर अझै संगीत घन्किरहेको थियो। मैथिली गीतहरू कानमा ठोकिरहेका थिए ।

सायद यही हो रातिको विवाहको असली सौन्दर्य । यहाँ केवल बेहुला–बेहुलीको मात्रै मिलन हुँदैन, यहाँ विचारहरू पनि भेटिन्छन् । अनुभवहरू जुध्छन् । संस्कृतिको उज्यालोभित्र बसेर मान्छेले आफ्नो भोलिको निर्णय तौल्छ ।

मलाई लाग्यो, राजनीति पनि सायद यस्तै हुनुपर्छ । दिउँसोको चर्को हल्ला होइन, रातको शान्त र गहिरो संवाद जस्तै हुनुपर्छ । जहाँ निर्णय आवेगले होइन, अनुभूतिको तापले लिइन्छ । जहाँ परिवर्तन देखावटी होइन, विश्वासमा आधारित हुन्छ । यही रात, माघको चिसोमा, रंगीचंगी बत्तीमुनि, एउटा विवाहले मलाई ‘भोट पनि आखिर एउटा संस्कार हो ’ भनी सम्झायो ।

संस्कारमा हतार होइन, धैर्यता परिपक्वता र सामूहिक भविष्यको चिन्ता हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?