+
+
Shares

दुई चरण निर्वाचनको प्रस्तावबाट पछि हटिन् प्रधानमन्त्री

दलहरूको आपत्तिपछि प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा निर्वाचन सर्न सक्ने आफ्नो अभिव्यक्ति सच्याएकी छन् ।

सइन्द्र राई सइन्द्र राई
२०८२ माघ २२ गते २२:२२

२२ माघ, काठमाडौं । नवलपुरको एक कार्यक्रममा भाग लिन पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमपात पर्ने क्षेत्रमा २१ फागुनमा निर्वाचन हुन नसके अर्को चरणमा गराउने बताएकी थिइन् ।

यद्यपि प्रधानमन्त्री कार्कीको जोड एकै चरणमा निर्वाचन गराउने भन्ने नै थियो । ‘सरकारले जसरी पनि गराउँछ निर्वाचन । कहीँ रोकियो भने अर्कोपटक गराउँछ,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘थोरै (सानो क्षेत्र) ठाउँ भएकोमा त साधनको (सवारी साधन) प्रयोग गरेर, मान्छेलाई ओसारेर पनि गराउँला । त्यहाँ हुनै नसक्ने अवस्था हो भने विचार गरेर हुन्छ ।’

गत मंगलबार सञ्चारकर्मीहरूलाई संक्षेपमा प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री कार्कीले दिएको यस्तो अभिव्यक्तिप्रति दलहरूले आपत्ति जनाएका छन् । विशेषगरी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले एकै चरणमा चुनाव हुनुपर्ने सार्वजनिक अडान लिए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा चुनाव हुन नसक्ने अडान लिए । ‘म तपाईँलाई भन्न चाहन्छु । चुनाव हुन्छ नै, २१ फागुनमै हुन्छ । म सरकारलाई पनि के सुझाव राख्न चाहन्छु भने दुई चरण भनेर नगरियोस्, चुनाव एकै चरणमा होस्,’ प्रचण्डले भने ।

प्रचण्डले यस्तो सुझाव दिइरहँदा एमालेले पत्रकार सम्मेलनमार्फत खबरदारी गरिरहेको थियो । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै दुई चरणको कुराले चुनाव हुनेमै प्रश्न उठाएका थिए ।

प्रचण्ड र बादलले भन्दा चर्को स्वरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री कार्कीको भनाइप्रति आपत्ति जनाएका छन् । दुई चरणमा निर्वाचन गराउँदा निष्पक्ष निर्वाचन हुन नसक्ने र राज्यका संयन्त्रहरू दुरुपयोग गरिनसक्ने ओलीको शंका छ ।

‘उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिको आँखाबाट एक मिनेट पनि, एक सेकेण्ड पनि बक्सा ओझेल पर्न सक्दैन । भोट सक्किएपछि तत्काल उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा गन्ने ठाउँमा पुर्‍याइनुपर्छ । र बाक्सा खोलेर तत्काल मत गनिनुपर्छ,’ ओलीले अडान लिएका छन् ।

एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा प्रमुख वक्ता रहेका ओलीले दुईचरणमा निर्वाचन गराउँदा मतमेटिका दायाबायाँ हुन सक्ने शंका गरे । ‘सुन्दैछु, हिमाली भेगमा निर्वाचन हुन नसक्ने भयो, त्यसैले दुई चरणमा निर्वाचन गर्ने,’ ओलीले भने, ‘…अहिले पनि हामी भन्न चाहन्छौं, भ्याइँदैन भने मिति सार, एकै दिन निर्वाचन हुनुपर्छ । सोझै निर्वाचन भइसकेपछि मत गणना गरिनुपर्छ । धाँधली गरेर निर्वाचनको नाटक चल्दैन ।’

२१ फागुनको निर्वाचन सार्ने विकल्पमा आफूलाई खुला राखेका ओलीले निर्वाचनमा धाँधली भए देशमा अनिष्ट निम्तने चेतावनी नै दिए । ‘म फेरि भन्न चाहन्छु– कुनै रोदन भन्ने नठान्नु होला, यो रोदन होइन,’ ओलीले भनेका छन्, ‘हन्ड्रेड पर्सेन्ट फ्रि फेयर इलेक्सन हुनुपर्छ, निर्भय बातावरणमा निर्वाचन हुनुपर्छ । पेलपाल चल्छ भन्ने सोचेको छ भने त्यो नसोच्दा हुन्छ । मैले अघि नै भने देशमा ठूलो अनिष्ट हुन्छ ।’

ओलीले आज बिहीबार बालुवाटार पुगेरै प्रधानमन्त्री कार्कीसँग कुरा गरेका छन् । आफू निकट नेता विष्णु रिमाल लिएर बालुवाटार पुगेका ओलीले निर्वाचनकै बारेमा कुरा राखेका थिए ।

प्रधानमन्त्री कार्कीसँग एकैचरणमा निष्पक्ष निर्वाचनको बातावरण बनाइनुपर्ने प्रस्ताव राखेका थिए । ‘निर्वाचन निष्पक्ष, धाँधली रहित र एकै चरणमा हुनुपर्‍यो भन्ने ओलीजीको कुरा थियो,’ बैठक स्रोतले भन्यो, ‘उहाँहरूबीच एकै चरणमा चुनाव गर्नेगरी एक खालको बुझाइ भएर छलफल सकिएको छ ।’

सार्वजनिक अडान एमाले र नेकपाबाट सुनिए पनि अरु दलहरू समेत दुई चरणमा निर्वाचन गराउने प्रस्तावमा मञ्जुर देखिदैन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे २१ फागुनकै तयारी गरिरहेको बताउँछन् । ‘सरकारले पनि दुई चरणमा हुन्छ भनेको छैन । निर्वाचन आयोगले पनि एकैदिन गराउने तयारी गरिरहेको छ,’ चालिसेले भने, ‘अपुष्ट कुराको पछाडि हामी प्रतिक्रिया जनाएर बस्दैनौं ।’

दलहरूको आपत्ति देखिएपछि प्रधानमन्त्री कार्कीले २१ फागुनमा एकैदिन निर्वाचन हुने सार्वजनिक सन्देश दिएकी छन् । मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको अवलोकन गर्दै प्रधानमन्त्री कार्कीले शंका मेट्ने प्रयास गरेकी थिइन् ।

‘मतपत्रहरू हेर्ने काम भयो, हामीलाई लाग्यो कि अब निर्वाचन आयो । अब खाली जनताले छाप लाउन मात्र बाँकी छ,’ मतपत्र छपाइको अवलोकनबाट बाहिरिँदै प्रधानमन्त्री कार्कीले भनिन् ।

नवलपुरमा आफूले बोलेको कुरालाई लिएर दलहरूले आपत्ति जनाएपछि प्रधानमन्त्रीले आज प्रष्ट शब्दमै भनिन्– एकैचरणमा निर्वाचन हुन्छ ।

‘ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुई चोटी हुनेवाला छैन, तोकिएकै मितिमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । सबैले मतदान गर्न पाउनु हुनेछ । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौं र आफ्नो घर जान्छौं ।’

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?