News Summary
Generated by OK AI. Editorially reviewed.- एलन मस्कले आगामी १० वर्षभित्र चन्द्रमामा सेल्फ ग्रोइङ सिटी स्थापना गर्ने योजना सार्वजनिक गरेका छन्।
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगल ग्रहभन्दा अगाडि चन्द्रमामा बस्ती बसाल्ने भएका छन् ।
आगामी १० वर्षभित्रमा चन्द्रमामा एउटा शहर स्थापना गर्ने योजना मस्कले सार्वजनिक गरेका छन् । मस्कको अवधारणाको त्यो शहर कुनै सामान्य शहर हुनेछैन । त्यो हाम्रो अहिलेको कल्पना भन्दा बाहिरको शहर हुनेछ।
अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका संस्थापक समेत रहेका एलन मस्कले आफ्नो सोसल मिडिया प्लाटफर्म एक्स मार्फत् चन्द्रमामा मानव बस्ती विकास गर्ने एउटा महत्वाकांक्षी तथा अनौठो योजना सार्वजनिक गरेका छन् । मस्कका अनुसार अब स्पेस एक्सको मुख्य ध्यान चन्द्रमामा एउटा ‘सेल्फ ग्रोइङ सिटी’ अर्थात् आफै बढेर विस्तार हुने शहरको निर्माणतर्फ केन्द्रित गरिएको छ ।
यस्तो शहरको निर्माण १० वर्षभन्दा कम समयमै सम्भव हुनसक्ने उनको दाबी छ । तर मंगल ग्रहमा यस्तै शहर बसाउन भने २० वर्षभन्दा बढी समय लाग्ने मस्कको अनुमान छ ।
मंगल भन्दा चन्द्रमा किन बन्यो पहिलो लक्ष्य ?
फेब्रुअरी ८ मा एक्समा गरेको एक पोष्टमा मस्कले स्पेस एक्सको मूल उद्देश्य नै मानव जीवनलाई नक्षत्रसम्म विस्तार गर्नु रहेको उल्लेख गर्दै, रणनीतिक र प्राविधिक कारणले चन्द्रमालाई पहिलो प्राथमिकता दिइएको बताएका छन् ।
मस्कका अनुसार मंगल ग्रहको तुलनामा चन्द्रमामा पुग्न सजिलो र छिटो छ । मंगल ग्रहमा रकेट प्रक्षेपणको अवसर हरेक २६ महिनामा एक पटक मात्र मिल्छ र यात्रा करिब ६ महिना लामो हुन्छ ।

तर चन्द्रमातर्फ भने हरेक १० दिनमा रकेट प्रक्षेपण गर्न सकिन्छ र केवल २ दिनमै पृथ्वीबाट चन्द्रमामा पुग्न सकिन्छ । यसले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन मद्दत गर्ने मस्कको भनाइ छ ।
आफैँ विस्तार हुने शहरको अवधारणा
मस्कले प्रस्ताव गरेको ‘सेल्फ ग्रोइङ सिटी’ यस्तो शहर हुनेछ, जसले आफूलाई आफैँ विस्तार गर्ने क्षमता राख्नेछ । अर्थात् यो शहर आफैँ बढ्नेछ । सुरुवाती चरणमा रोबोट र स्वचालित प्रणाली प्रयोग गरी संरचना निर्माण गरिनेछ । त्यसपछि क्रमशः मानव बस्ती विस्तार गरिनेछ ।
स्पेस एक्सको अवधारणात्मक डिजाइनअनुसार चन्द्रमामा बन्ने शहरमा गुम्बज आकारका आवास हुनेछन् भने त्यहाँ सौर्य ऊर्जामा आधारित विद्युत् प्रणाली रहनेछ । निर्माण कार्यका लागि चन्द्रमाको माटो (रेजोलिथ) प्रयोग गरेर इँटा र भवन निर्माण गरिनेछ । त्यसैगरी चन्द्रमामा पानी र अक्सिजन उत्पादन केन्द्र समेत बनाइनेछ दीर्घकालमा खाद्य उत्पादन प्रणाली समेत स्थापना गर्ने स्पेस एक्सको योजना छ ।
स्पेस एक्सका अनुसार चन्द्रमाको उक्त शहरलाई दीर्घकालमा आत्मनिर्भर बनाइनेछ । त्यहाँ पानी, अक्सिजन र खाना आफैँ उत्पादन हुनेछ ।
अवधारणात्म तस्बिरहरूमा चाहिँ स्पेस एक्सको स्टारशीप रकेटलाई नै आवासको रूपमा प्रयोग गरिएको, वरिपरि सोलार प्यानल र विभिन्न गुम्बज संरचना जोडिएको देखिन्छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा बन्नेछ ‘मून बेस अल्फा’
स्पेस एक्सले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्र विशेष गरी श्याकलटन क्रेटर वरपरको क्षेत्रलाई शहर निर्माणका लागि मुख्य स्थानको रूपमा छनोट गरेको छ । त्यहाँ बन्ने प्रस्तावित बस्तीलाई ‘मून बेस अल्फा’ नाम दिएको छ।
यस क्षेत्रमा पानीको बरफ उपलब्ध हुनुका साथै केही स्थानमा लगातार सूर्यको प्रकाश प्राप्त हुने भएकाले ऊर्जा उत्पादन सहज हुने बताइएको छ । यही क्षेत्रलाई नासाले पनि आफ्नो आर्टेमिस कार्यक्रम अन्तर्गत प्राथमिकतामा राखेको छ ।
चन्द्रमामा वस्ती बसाल्नका लागि स्पेस एक्सले एक चरणबद्ध कार्ययोजना पनि तय गरेको छ । जस अनुसार शहर निर्माणका लागि संसारकै शक्तिशाली रकेट स्टारशीपको प्रयोग गरिनेछ । सुरुमा मानवरहित मिशन मार्फत रोबोटद्वारा निर्माण कार्य हुनेछ । त्यसपछि नासाको आर्टेमिस कार्यक्रमसँग सहकार्य गर्दै चन्द्रमामा मानिसलाई ओराल्ने योजना उसको छ । सम्भवतः सन् २०२८ सम्म स्पेस एक्सले चन्द्रमामा मानव अवतरण गराइसक्नेछ ।
एलन मस्कका अनुसार चन्द्रमामा बन्ने उक्त शहर केवल बसोबासका लागि मात्र वैज्ञानिक अनुसन्धान अन्तरिक्ष पर्यटन स्याटेलाइट उत्पादन केन्द्र तथा मंगल ग्रह यात्राको तयारी केन्द्रका रूपमा समेत विकास गर्न सकिनेछ ।
यद्यपि विज्ञहरूका अनुसार चन्द्रमामा मानव बस्ती विकास गर्दा विकिरण, कम गुरुत्वाकर्षण, स्वास्थ्य जोखिम र अत्यधिक लागत जस्ता चुनौतीहरू रहेका छन् । तर मस्कको विश्वास के छ भने योजना अनुसार काम अघि बढेमा आगामी एक दशकभित्र चन्द्रमामा मानव शहर देख्न सकिनेछ ।
मंगल ग्रहमा वस्तीको सपना : अझै टाढा
यसअघि सुरुमा मंगल ग्रहमा वस्ती बसाउने योजना वर्षौँअघि नै सार्वजनिक गरेका मस्कले अहिले आएर प्राथमिकता परिवर्तन गरेका छन् । यद्यपि चन्द्रमालाई प्राथमिकता दिए तापनि मंगल ग्रहमा शहर बसाउने योजना कायमै रहेको मस्कले स्पष्ट पारेका छन् । उनका अनुसार मंगल ग्रहमा वस्ती बसाउने योजनाका लागि आगामी ५–७ वर्षभित्र मंगलमा काम सुरु गरिनेछ ।
यसअघि मस्कले सन् २०५० सम्म मंगल ग्रहमा १० लाख मानिसको आत्मनिर्भर शहर बनाउने लक्ष्य सार्वजनिक गरिसकेका छन् । मंगल ग्रहको कठोर वातावरणलाई ध्यानमा राख्दै सुरुमा टेस्ला कम्पनीका अप्टिमस नामक ह्युमनोइड रोबोटहरू त्यहाँ पठाउने योजना मस्कको छ ।
एजेन्सी
प्रतिक्रिया 4