+
+
Shares

अनौठो खुलासा : पृथ्वीले आफैं चन्द्रमामा पठाइरहेछ हावा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते ९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरका वैज्ञानिकहरूले चन्द्रमामा अक्सिजनको प्राकृतिक स्रोत हुनसक्ने नयाँ अनुसन्धान प्रकाशित गरेका छन्।
  • नयाँ कम्प्युटर सिमुलेसनले पृथ्वीको चुम्बकीय क्षेत्रले चार्जयुक्त कणहरूलाई चन्द्रमासम्म पुर्‍याउने देखाएको छ।
  • चन्द्रमाको माटोमा नाइट्रोजन, कार्बनडाइअक्साइड र पानीका सूक्ष्म अंश फेला परेका छन्, जसले जीवन विकास बुझ्न सहयोग गर्छ।

चन्द्रमामा मानव बस्ती बसाउने सपना वैज्ञानिकहरूले दशकौँदेखि साँच्दै आएको भए पनि यो अहिलेसम्म वास्तविकताबाट निकै टाढा छ । यसको सबैभन्दा ठूलो कारण त्यहाँ जीवन टिकाइराख्न आवश्यक आधारभूत स्रोतहरूको अभाव हुनु हो । चन्द्रमामा न तरल पानी छ, न त मानिसले सास फेर्न सक्ने प्राणवायु छ।

यस्तो अवस्थामा चन्द्रमामा मानव बस्ती स्थापना गर्न सबैभन्दा पहिलो र अनिवार्य आवश्यकता सास फेर्नयोग्य हावा हो।

चन्द्रमामा बाँच्नका लागि चाहिने यस्तो प्राणवायु पृथ्वीबाटै त्यहाँ लैजानुपर्छ भन्ने मान्यता हालसम्म वैज्ञानिकहरूको रहँदै आएको थियो । यो प्रक्रिया अत्यन्तै खर्चिलो र प्राविधिक रूपमा कठिन काम हो।

तर यही डिसेम्बरमा प्रकाशित एक नयाँ अनुसन्धानले चन्द्रमामा पृथ्वीबाटै स्वास फेर्ने हावा लैजानुपर्ने पूरानो मान्यतालाई गलत सावित गर्न सक्ने संकेत दिएको छ । यस अध्ययनले चन्द्रमामा जीवन सम्भव बनाउने दिशामा नयाँ सम्भावनाको ढोका खोलेको वैज्ञानिकहरूको भनाइ छ ।

चन्द्रमामा अक्सिजनको ‘प्राकृतिक’ स्रोत !

कम्युनिकेशन्स अर्थ एन्ड इन्भायरनमेन्ट नामक जर्नलमा प्रकाशित एक अध्ययनले वैज्ञानिक जगतलाई नै चकित पारेको छ । अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरका अनुसन्धानकर्ताहरूले गरेको उक्त अध्ययनले चन्द्रमामा अक्सिजनको सम्भावना प्रकृतिले आफैँ सिर्जना गरिरहेको हुनसक्ने संकेत दिएको छ।

अनुसन्धानकर्ताका अनुसार अन्तरिक्षमा करिब १० लाख माइल प्रतिघण्टाको तीव्र गतिमा बहने सौर्य हावाहरूले पृथ्वीको वायुमण्डलबाट नाइट्रोजन, कार्बन डाइअक्साइड र हाइड्रोजन जस्ता ग्यासका कणहरू बोक्दै चन्द्रमाको सतहसम्म पुर्‍याइरहेका छन्। यसले भविष्यमा चन्द्रमामा जीवनको सम्भावनाबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।

करिब २० वर्षअघि गरिएको एक अध्ययनले पृथ्वी र चन्द्रमाबीच कणहरूको आदानप्रदान ४ अर्ब वर्षअघि नै समाप्त भइसकेको निष्कर्ष निकालेको थियो । तर रोचेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको नयाँ कम्प्युटर सिमुलेसनले यो धारणा गलत रहेको देखाएको छ ।

नयाँ अनुसन्धान अनुसार पृथ्वीको चुम्बकीय क्षेत्र नै ती कणहरूलाई चन्द्रमासम्म पुर्‍याउने मुख्य माध्यम बनेको छ । चुम्बकीय क्षेत्रका रेखाहरू चन्द्रमासम्म फैलिएका छन् जसले चार्जयुक्त कणहरूलाई मार्गदर्शन गर्दै त्यहाँसम्म पुर्‍याउँछन्।

वैज्ञानिकहरूका अनुसार पृथ्वीमा जीवनको विकास सुरु भएपछि यस्ता कणहरूको स्थानान्तरण प्रक्रिया झनै तीव्र भएको छ र यो प्रक्रिया आजसम्म पनि निरन्तर चलिरहेकै छ।

चन्द्रमाको माटो : इतिहास बोकेको ‘टाइम क्याप्सुल’

चन्द्रमाको सतहमा रहेको माटो, जसलाई लुनार रेगोलिथ भनिन्छ, वैज्ञानिकहरूका लागि ब्रम्हाण्डको सुरक्षित राखेको टाइम क्याप्सुलसरह मानिन्छ । अपोलो मिसनबाट ल्याइएका नमूनाहरूको अध्ययन गर्दा त्यसमा नाइट्रोजन, कार्बनडाइअक्साइड र पानीका सूक्ष्म अंशहरूसमेत फेला परेका थिए ।

यस खोजका महत्वपूर्ण वैज्ञानिक फाइदा छन् । यसले पृथ्वीको वायुमण्डल कसरी बनेको हो र जीवनको विकासका लागि कुन-कुन अवस्था आवश्यक पर्छन् भन्ने कुरा बुझ्न सहयोग पुर्‍याउँछ । वायुको निर्माणका लागि आवश्यक तत्वहरू चन्द्रमामै उपलब्ध रहेकाले अबको चुनौती भनेको तिनलाई प्रभावकारी रूपमा प्रयोग गर्ने प्रविधिको विकास गर्नु हो ।

यद्यपि चन्द्रमामा मानव बस्ती बसाउनु अझै पनि गम्भीर चुनौतीको विषय छ । किनकि त्यहाँको वातावरण रेडियोधर्मी विकिरणयुक्त र कठोर छ । तर यस अनुसन्धानले चन्द्रमामा मावन बस्ती बसाउने सपनालाई वास्तविकताबाट केही नजिक भने ल्याइदिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?