News Summary
Generated by OK AI. Editorially reviewed.- नाइट क्लबहरूले सुरक्षा कारणले हुडी टोपी लगाएर आउनेलाई भित्र छिर्न अनुमति नदिने नियम लागू गरेका छन्।
नाइट क्लब भन्नेबित्तिकै धेरैको दिमागमा झिलिमिली बत्ती, चर्को संगीत र रमाइलोको दृश्य आउने गर्छ । एक हदसम्म रमाइलो गर्ने स्वतन्त्रता पनि त्यहाँ हुन्छ । तर, धेरै जना क्लबको गेटमा पुग्दा एउटा अप्रत्याशित अवरोधको सामना गर्न पुग्छन् । त्यो हो ड्रेस कोड ।
विशेष गरी हुडीको टोपी (हुड) जस्ता लुगा लगाएर आउनेलाई बाउन्सरहरूले भित्र छिर्न अनुमति दिँदैनन् । कतिपयलाई यो नियम व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेपजस्तो लाग्न सक्छ । तर, यसको कारण सुरक्षा हो । तीमध्ये केही कारण यस्ता छन्:
१.सीसीटीभीमा अनुहारको पहिचान
नाइट क्लबहरूमा सयौँको संख्यामा मानिसहरू हुन्छन् । यस्तो भीडभाडमा कुनै पनि अप्रिय घटना, जस्तै कुटपिट, चोरी वा यौन दुर्व्यवहार हुनसक्ने उच्च जोखिम रहन्छ । यदि कसैले हुडीको टोपी लगाएका छन् भने क्लबमा जडान गरिएका सीसीटीभी क्यामेराले उसको अनुहार स्पष्ट रूपमा कैद गर्न सक्दैनन् । तर, सुरक्षाको दृष्टिकोणले क्लबभित्र छिर्ने हरेक व्यक्तिको अनुहार स्पष्ट देखिनु अनिवार्य हुन्छ ।
२.प्रतिबन्धित वस्तुहरूको ओसारपसार
हुडीको बनावट अन्य लुगाको तुलनामा अलि फरक हुन्छ । यसमा ठूला गोजीहरू हुन्छन् । यो प्रायः ओभरसाइज्ड अर्थात् खुकुलो पनि हुन्छ । यस्तो लुगामा लागुऔषध वा बाहिरबाट ल्याइएका पेय पदार्थ, साना चक्कु, ब्लेड वा अन्य धारिलो हतियार अथवा चोरीका सामान लुकाउन सकिन्छ । यसकारण सुरक्षाकर्मीहरूले सुरक्षा जाँच गर्दा हुडी लगाएका व्यक्तिहरूमाथि बढी शंका गर्छन् ।
३.’ग्याङ कल्चर’ र झै-झगडाको डर
विगतका केही दशकहरूमा ‘हुडी’लाई विश्वव्यापी रूपमा ‘स्ट्रीट ग्याङ’ वा विद्रोही समूहहरूसँग जोडेर हेर्ने गरियो । कतिपय अवस्थामा टोपीले अनुहार छोपेर आउने व्यक्तिहरूले आफ्नो पहिचान लुकाएर झगडा गर्ने मनसाय राखेका हुन सक्छन् भन्ने क्लब सञ्चालकहरूको बुझाइ हुन्छ । अन्य ग्राहकहरूले पनि यस्तो टोपी लगाएर बसेका व्यक्तिहरूलाई देख्दा असुरक्षित महसुस गर्न सक्छन् । क्लबको वातावरणलाई मित्रवत र सुरक्षित बनाउन ‘क्लिन लुक’ लाई बढावा दिइन्छ।
४.ब्रान्डिङ र लक्जरी
हरेक नाइट क्लबको एउटा निश्चित स्तर र पहिचान हुन्छ । केही क्लबहरू आफूलाई ‘लक्जरी’ वा ‘प्रिमियम’ मान्छन् । तर, हुडीलाई सामान्यतया ‘क्याजुअल’ वा घरमा बस्दा लगाउने लुगाको रूपमा लिइन्छ । क्लबहरूले आफ्ना ग्राहकहरूले अलि राम्रो, सुकिलो र ‘स्मार्ट’ लुगा (जस्तै: सर्ट, ब्लेजर वा टिसर्ट) लगाएर आऊन् भन्ने चाहन्छन् । यसले क्लबको भाइबलाई लक्जरी देखाउन मद्दत गर्छ ।
यस्ता कारणहरूका कारण क्लबभित्र प्राय: हुडलाई अलि समस्याको रूपमा हेरिन्छ । जाँदा लगाउनै नमिल्ने त होइन । तर, क्लबभित्र लगाएर जाँदा बारम्बार बाउन्सर अथवा सुरक्षाकर्मीले खोल्न लगाइरहन्छन् ।
प्रतिक्रिया 4